दीपा राई
मेरो उजुरीका आधारमा कतार बस्दैआएका दीपक लामिछानेलाई त्यहाँको सरकारले ‘डिपोर्ट’ गर्न लागेको भन्ने समाचार सोमबार सेतोपाटीसहित अखबारमा पढेपछि म अचानक झस्केँ। सबैभन्दा पहिलो कुरा त मैले आजसम्म कसैको उठिबासै हुनेगरी त्यस्तो कुनै उजुरी कतै पनि गरेकै छैन। जहाँसम्म दीपक लामिछानेको कुरा छ, उनीसँग मेरो सामाजिक सञ्जाल (फेसबुक) मा विवाद भएको थियो। पहिले त त्यो सन्दर्भबाट कुरो उप्काउन चाहन्छु।
वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गत जुनको तेस्रो साता अष्ट्रेलिया भ्रमणमा आउँदै थिए। उनको भ्रमणको भव्य तयारी यहाँ चलिरहेको थियो। त्यतिबेलै मलाई भने त्यो समाचारले पिरोल्न थाल्यो। हामी बाँचेको पुस्ताका निम्ति उनी भयावह व्यक्ति हुन्।
आफ्नो राजनीतिक उद्देश्य परिपूर्तिका निम्ति उनकै आदेशमा चलेको सशस्त्र द्वन्द्वमा नेपालमा १७ हजार नागरिकले ज्यान गुमाउनु परेको थियो। त्यसयता माओवादीले पटक–पटक सत्ता सम्हालिसकेको छ। मुलुकको अवस्था दिनप्रतिदिन झन् विकराल बन्दै गएको सबैको सामुन्ने छर्लङ्गै छ। यतिबेलै मैले दिन प्रतिदिन डा. गोविन्द केसीको आन्दोलनलाई लिएर फेसबुकमा लेख्नु परिरहेकै छ। के को निम्ति भएको थियो त्यत्रो हत्या हिंसा? यो जवाफ आज कसैसँग छैन। त्यतिधेरै मानिस मारिएको र उत्तिकै ठूलो संख्यामा बेपत्ता पारिएको बारेमा कसैले जवाफ दिनुपर्दैन? सशस्त्र द्वन्द्वका बेला माओवादी र सेना दुबै तर्फबाट भएको हत्या र हिंसालाई मैले उतिबेलैदेखि उठाउँदै आएको छु।
मैले निकै अघिदेखि अष्ट्रेलियामा महिला र बालबालिकाका क्षेत्रमा आवाज उठाउँदै आएको छु। द्वन्द्वका बेला सबैतिर जस्तै नेपालमा पनि महिला र बालबालिका अचानो बने। त्यसका त्यति धेरै घटनाहरू हुँदाहुँदै पनि आजसम्म दोषीमाथि कारबाही त परको कुरा उल्टो बेथिति बढ्दो छ।
कसैको राजनीतिक सत्ता आरोहणकै निम्ति जनताले त्यत्रो दुःख पाए। मारिने र बेपत्ता पारिनेका पीडित आफन्तहरूको आँशु आज पनि जस्ताको त्यस्तै छ। यस्तो अवस्थामा हुनलागेको प्रचण्डको अष्ट्रेलिया भ्रमणले मलाई सताइरहेको थियो।
सन् १९९८ मा विद्यार्थीको रुपमा यो मुलुक भित्रिएको म अहिले यहाँको नागरिक भइसकेकी छु। सही अर्थमा लोकतन्त्रको स्वाद चाखेपछि त्यसले मान्छेको सोच्ने स्तर नै बेग्लै बनाउँछ। बिहान नौ बजेदेखि बेलुकी पाँच बजेसम्मको काम भ्याएपछि पनि संसारभरि कहाँ के भइरहेको छ भन्ने विषयमा जिज्ञासा हुन्छ, चिन्ता हुन्छ। सिरियामा भइरहेका मानवअधिकारको हनन्देखि लिएर अमेरिकामा अहिले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका भनाइहरूसम्म हाम्रा बहसका विषय बन्छन्। खाडी राष्ट्रमा तेस्रो मुलुकका मजदुरहरूमाथि भइरहेको शोषणलाई लिएर केही वर्षअघि मैले मेलबोर्न क्रिकेट ग्राउण्डमा खेल भइरहेकै बेला प्रदर्शन र नाराबाजी गरेपछि मलाई प्रहरीले समातेर लगेको थियो। शरणार्थी सम्बन्धि मुद्दालाई लिएर अष्ट्रेलियाकै प्रधानमन्त्रीको हामी खुला विरोध गरिरहेकै छौं। यस्तो अवस्थामा आफ्नै जन्मभूमि नेपालको अवस्थाबारे नसोच्ने त कुरै आउँदैन। त्यहाँ त्यतिधेरै पीडितहरू पिल्सिएर बाँचिरहेका छन्।
यस्तो अवस्थामा प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ। ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोष्ट गरेँ। अष्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो। त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘यस्तो मान्छे यहाँ आउँदै छन्। उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ?’ भनेर प्रश्न गरेकी थिएँ। लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो। उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चाँसो राखेछन्।
कुरो बुझ्दै जाँदा बेलायतमा पक्राउ परेका सेनाका कर्णेल कुमार लामाको केश तयार हुनकै निम्ति सात वर्ष लागेको रहेछ। यसरी ‘केश विल्डअप’ नभइकन कसैलाई समात्ने कुरा आउँदैन रहेछ। प्रचण्डको बारेमा चाहिँ केश विल्डअप भन्दा पनि प्रक्रिया नै सुरू भएको रहेनछ। यति थाहा पाएपछि म थामिएकी थिएँ।
त्यतिबेलै एक जना माओवादीबाटै हत्या गरिएको व्यक्तिका सिड्नीस्थित छोराले त्यहाँको प्रिमियर (मुख्यमन्त्री)को कार्यालयमा यो भ्रमणको उजुरी दिएको जानकारी पाएकी थिएँ। त्यतिबेलै प्रिमियर कार्यालयले जवाफी पत्र लेख्दै यसबारेको जानकारी डेपुटी प्रिमियर एवं न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई पठाइसकेको उद्धृत गर्दै न्युसाउथवेल्सको प्रहरीलाई पनि सजग गराइएको जनाएको थियो। उक्त पत्र सञ्चारमाध्यमहरूबाटै सार्वजनिक भएको थियो।
यस्तो अवस्थामा प्रचण्डको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा रद्द भएको थियो। त्यो रद्द हुने कारण के थियो भन्ने चाहिँ स्वयं हामीलाई नै पनि स्पष्ट जानकारी छैन।
यसरी प्रचण्डको भ्रमणको फेसबुकबाट विरोध गरिरहँदा मलाई धेरैतिरबाट प्रहार सुरू भयो। त्यसमध्ये एक मुख्य थिए, कतारस्थित युवक दीपक लामिछाने। उनले मलाई नागरिकता र पासपोर्ट डलरमा बेचेको आरोप लगाउँदै नेपालको विषयमा बोल्ने अधिकार छैन भनेर फेसबुकमा लेखे। बुझ्दै जाँदा उनी पहिले माओवादी लडाकु रहेछन्। उनी बहसभन्दा पनि गालीगलौचमा उत्रिएपछि मैले बाध्य भएर उनलाई फेसबुकमा ब्लक गरिदिएँ। त्यसपछि सामाजिक सञ्जालमा उनको अमर्यादित गतिविधिबारे अवगत गराउँदै फेसबुकलाई पत्र पनि पठाएको थिएँ। यतिबेला त उनले त्यतिखेर मेरो तस्बिरहरूसमेत राखेर गरेका आपत्तिजनक पोष्टहरू हटाइसकेका छन्।
मैले गरेको त्यतिमात्र थियो। वैदेशिक रोजगारीमा जानेहरुको हक अधिकारका निम्ति लडिरहेको मजस्तो मानिससँग उनी रिसाउनुपर्ने कुनै कारण थिएन। मेरो लडाइँ त उनीहरूजस्ता सोझा सिधाको दुरुपयोग गरेका माओवादी नेतासँग पो थियो।
यहाँ मेलबोर्नमै म बसेको ठाउँ अगाडि माओवादी संगठनै खोलेर बसेका नेपालीहरू छन्। मलाई घृणाको नजरले हेर्ने गरेको भए पनि मेरो उनीहरूसँग कुनै गुनासो छैन। मैले चाहेको भए उनीहरूलाई अप्ठेरोमा पार्न सक्थेँ होला। तर, म कदापि त्यस्तो गर्दिनँ। यो सबै हुँदाहुँदै उनीहरूका नेतालाई त तिनले गरेको कामका निम्ति ‘एकाउन्टेबल’ (जिम्मेवार) बनाउनै पर्छ। बाँकीका हामी सबै त आखिर मिलेर बस्नैपर्छ, आपसमा किन मनमुटाव राख्ने?
यसैबीच केही दिनअघि कतारस्थित कार्यवाहक राजदूतले मलाई फोन गरेर दीपक लामिछानेलाई त्यहाँका अधिकारीहरूले पक्राउ गरेको र नेपाल फिर्ता पठाउन लागेको जानकारी दिए। मेरै कारणले दीपकलाई समातेको भनेर सुनाइएपछि म आश्चर्यचकित भएँ। मैले कहिल्यै कतारका कुनै पनि निकाय वा अधिकारीलाई उनको बारेमा उजुरी गरेकै थिइनँ। फेसबुकमा गरिएका पोष्टहरूको आधारमा कुनै पनि मुलुकका अधिकारीले कारबाही गर्छन् वा गर्दैनन् भन्ने कुरा चाहिँ मैले बुझ्नै बाँकी छ। पक्राउ परेका दीपकलाई त्यहाँका अधिकारीले ‘तिमीले दीपालाई दुःख दिएको हो?’ भनेर सोधे भन्ने हल्ला पनि सुनेँ। यसको आधिकारिकता पनि पुष्टि भएको छैन।
यस्तो अवस्थामा कतारका कार्यवाहक राजदूतले मलाई एउटा पत्र दीपकलाई सहयोग पुग्नेगरी लेखिदिन अनुरोध गरे। त्यतिबेला अष्ट्रेलियाभित्रकै मेरा परिचितहरू (विशेषगरी एनआरएनका पदाधिकारी)ले पनि दबाब दिएपछि मैले राजदूतकै भनाइ मुताबिकको चिठ्ठी लेखेर पठाइदिएकी हुँ।
कुरो यति मात्र थियो। तर, प्रतिक्रियामा मैले नचिताएका समाचारहरू बाहिर आए। मैले कार्यवाहक राजदूतको अनुरोधमा ‘गुड फेथ’मा लेखिदिएको पत्रलाई नै आधार बनाएर दीपकलाई पक्राउ नै मैले गर्न लगाएको भन्दै समाचार नै प्रकाशित भयो। जिम्मेवार सञ्चारमाध्यमहरूले समेत मेरै बारेमा यत्रो आरोप लगाएर समाचार लेख्दा मसँग एकपटक सोध्नसमेत आवश्यक ठानेनन्। मलाई दुःख यसैमा लाग्यो।
कतारको यो प्रकरणपछि ममाथि आक्रमण फेरि बढेको छ। म मेरो परिवारको सुरक्षालाई लिएर सजग भएकी छु। जहाँसम्म मेरो कुरा छ, म कसैसँग डराउने मान्छे होइन। अहिल्यै पनि सयौं धम्कीयुक्त म्यासेजहरू आइरहेको छ। २०३१ सालमा प्रजातन्त्रका निम्ति लड्दा ओखलढुँगामा मारिएका कांग्रेसका स्वतन्त्रता सेनानी अगमणि राईकी छोरी हुँ म। त्यसो त मेरो बुवा पनि सशस्त्र युद्धको पक्षपाती हुनुहुन्थ्यो। बुवा मारिनु हुँदा म केवल तीन महिनाकी थिएँ। बुवाको विचारधारा र त्यो समयको बारेमा म पूरै अनभिज्ञ छु। मैले जानेको अहिलेको समय हो। म बाँचेको समयमा भएको होचो निचोको म पक्कै हिसाब गर्छु। संसारको कुना कुनामा भएका मानवअधिकार हननको बारेमा त बोल्दै हिँड्छु भने खुद म जन्मेको मेरो नेपालको बारेमा त नबोल्ने कुरै आउँदैन।
यसबीचमा मेरो विषयलाई लिएर गैरआवासीय नेपाली संगठन(एनआरएन)लाई पनि मुछ्ने काम भइरहेको छ। म त्यसको सक्रिय सदस्य भए पनि कुनै ओहदामा नरहेको सबैलाई स्पष्ट पार्न चाहन्छु।
म एक्लै लडिरहेकी छु। मसँग मेरो विश्वास छ, जुन मेरो एक्लो लडाइँ जारी राख्नका निम्ति पर्याप्त छ। यसको निम्ति मलाई कसैले केही दिएको पनि छैन र चाहिएको पनि छैन। म बाँचेको संसार राम्रो होस् भनेर कामना गरिरहेकी छु। मैले गरिरहेको त्यतिमात्र हो।
दीपक र उनीजस्ता मानिसहरूसँग मेरो कुनै दुश्मनी छैन। बरु वैदेशिक रोजगारीमा गएर ठगिनेहरूको मामलामा पहिलेजस्तै आगामी दिनमा पनि लडिरहने नै छु। फेसबुकमा उनले मविरुद्ध गरेका आक्रमणको मैले फेसबुकबाटै जवाफ मात्र दिएकी हुँ। कुरा त्यतिमात्रै हो।
मैले कसैका विरुद्ध कुनै मुलुकको अधिकारीहरुसँग कहिल्यै उजुरी नगरेको फेरि प्रष्ट पार्छु। र, मैले असल मनसायले कसैलाई बचाउन ‘गुड फेथ’मा लेखेको पत्रकै आधारमा मलाई अनावश्यक रुपले जबर्जस्ती त्यो घटनासँग जोड्ने कामको विरोध गर्दछु।
(मेलबोर्न रहेकी राईसँग कुराकानीमा आधारित)
setopati




















