गाेरखा । कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो । कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशेऔँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
कुशे औँसीका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णेऔँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठुलो घुइँचो लाग्छ ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक मा उल्लेख छ ।



