×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एकतर्फी बुझाइको खतरा

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरः एजेन्सी

    चिमामाण्डा अदिचि

    चिनुवा अचेवे, वेन ओक्री, क्रिस आवानीजस्ता संसार हल्लाउने लेखकहरूको देशकै पछिल्लो पुस्ताका उस्तै चर्चित नारी लेखक हुन्– चिमामाण्डा अदिचि । अदिचिले सन् २००९ मा दिएको मन्तव्यलाई गणेश खनियाँले गरेको नेपाली रुपान्तर:

    म आफूलाई कथावाचक नै भन्न रुचाउँछु । आज तपाईंहरूलाई मेरा केही व्यक्तिगत सन्दर्भहरू सुनाउँदैछु । यी प्रसंगलाई म डेन्जर अव सिंगल स्टोरी (एकतर्फी बुझाइको खतरा) भन्ठान्छु । म पूर्वी नाइजेरियास्थित विश्वविद्यालय क्याम्पसमा हुर्केबढेँ । मैले दुई वर्षको उमेरदेखि पढ्न थालेको बताउँछिन् मेरी आमा । तर चार वर्षदेखि भन्दा चाहिँ पत्यारलाग्दो सुनिएला । जे होस्, म सानैदेखि पढन्ते थिएँ । सानै छँदा नै मैले धेरै अमेरिकी र बेलायती बालपुस्तकहरू पचाइसकेको थिएँ ।

    मैले लेख्न पनि चाँडै सुरु गरेँ । झन्डै सात वर्षको उमेरमा । मेरा प्रारम्भिक रचना सिसाकलमले लेखिएका र त्यसउपर जथाभावी रङहरू पोतिएका हुन्थे। जस्ता कथाहरू पढेँ, त्यस्तै बान्कीका लेख्ने प्रयत्न गरेँ मैले । मेरा कथाका पात्रहरू गोरा मात्र हुन्थे, नीलो आँखा भएका ।

    ती हिउँमा चिप्लेटी खेल्थे, स्याउ खान्थे अनि मौसमबारे कुराकानी गर्थे, ‘कति रमाइलो है, घाम उदायो’ खालका । वास्तवमा म नाइजेरियाबाहिर कहिल्यै गएकी थिइनँ । हामीले हिउँ पनि देखेका थिएनौं । फलफूलमा हामी स्याउ होइन, आँप खान्थ्यौं । अनि हामी कहिल्यै मौसमबारे कुरा गर्दैनथ्यौं, कारण हाम्रो प्राथमिकता अरू नै हुन्थे । मेरा कथाका पात्रहरू अदुवाको बियर प्रशस्त पिउँथे । किनकि मैले पढेका बेलायती किताबका पात्रहरूले त्यही पेय सेवन गरेको भेट्थेँ । क्षमा गर्नुहोला, मलाई यो कस्तो पेय हो केही थाहा थिएन ।

    अफ्रिकी किताबहरू पढ्न थालेपछि मेरो बुझाइको धरातल बढ्दै गयो । तर अफ्रिकी किताबहरू धेरै लेखिएका थिएनन् र विदेशी किताबजस्तो सजिलै उपलब्ध पनि थिएनन् । विस्तारै चिनुवा अचेवे, क्यामरा लायेजस्ता अफ्रिकी लेखकका किताब भेटेँ मैले । अनिमात्र साहित्यबारेको मेरो धारणामा व्यापक परिवर्तन आउन थाल्यो । तिनै किताब पढेर मैले बुझेँ, चकलेट रङको छाला र जख्रक्क परेको कपाल भएका मजस्ता केटी पनि उपन्यासका अंश हुन सक्छन् । यही प्रभावले बिस्तारै आफूलाई थाहा भएकै कथाहरू लेख्न थालेँ मैले पनि । यसैले त ती अग्रज अफ्रिकी लेखकहरूप्रति सधैं नतमस्तक हुन्छु म जसले किताबबारे बन्दै गरेको मेरो एकपक्षीय धारणाबाट मलाई बाहिर ल्याइदिए ।

    नाइजेरियाको मध्यम वर्गीय परिवारमा मेरो जन्म भएको थियो । बाबु प्राध्यापक थिए अनि आमा प्रशासनिक काममा । म आठ वर्षको उमेर पुग्दाको एउटा प्रसंग सुनाउँछु । घरेलु कामदारका रूपमा हामीकहाँ नयाँ केटो आयो । नाम थियो, फिडे । मेरी आमाले ऊबारे यत्ति भनेकी थिइन्– उसको परिवार गरिब छ । आमाले बेलाबखत पिँडालु, भात र हाम्रा पुराना कपडा उसको परिवारलाई दिन्थिन् ।

    मैले कुनै दिन आफ्नो भागको खाना खान नसक्दा मेरी आमा मलाई बेस्सरी हकार्थिन्, ‘छिटो खाना खाऊ । बुझिराख, फिडेजस्ता कति परिवारमा खानलाउनलाई केही छैन ।’ त्यसैले फिडेको परिवारप्रति मलाई साह्रै दया लाग्थ्यो । घुम्दै एक दिन हामी उसको घर पुग्यौं । फिडेकी आमाले हामीलाई आकर्षक बुट्टा कुँदिएको ढकिया देखाइन् । खजुरको रेशाबाट निर्मित त्यो ढकिया फिडेको दाइले बनाएको रहेछ । म दंग परेँ । उसको परिवारको कसैले केही बनाउन सक्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । तिनीहरूको गरिबी नै मेरो एकपक्षीय बुझाइ थियो ।

    धेरै वर्षपछि जब म नाइजेरिया छाडेर संयुक्त राज्य अमेरिका पुगेँ, फिडे प्रसंग फेरि सम्झिएँ । त्यतिखेर म उन्नाइस वर्षको थिएँ । पहिलो भेटमै मेरी अमेरिकी रुममेट मलाई देखेर तर्सिन् । मैले यति राम्ररी अंग्रेजी बोल्न कहाँ सिकेँ, उनको जिज्ञासा थियो । नाइजेरियाको आधिकारिक भाषा नै अंग्रेजी हो, मेरो यो जवाफ सुनेर उनी अलमलमा परिन् । मलाई होच्याउँदै मबाट केही ‘आदिवासी संगीत’ सुन्न चाहिन् उनले । जब मैले मसँग रहेको म्यारिया क्यारीको चक्का झिकेँ, उनी खिस्रिक्क भइन् । उनलाई लागेको हुँदो हो, मलाई स्टोभसमेत चलाउन आउँदैन । मेरो अफ्रिकी पहिचानकै कारण ममाथि उनी हावी हुन खोज्दै थिइन् । हैकम जमाउने खालको थियो उनको रवैया । त्यहाँ न कुनै समभाव झल्कन्थ्यो न कुनै मानवीय सम्बन्ध । बरु मप्रति दया देखाउँथिन् उनी घरिघरि । अफ्रिकाबारे मेरी रुममेटको एकपक्षीय बुझाइ थियो– अफ्रिका असफलताको पर्याय हो ।

    मैले भन्नैपर्छ, अमेरिका पुग्नुअघिसम्म सचेत रूपमा म अफ्रिकी हुँ भन्ने आभास आफैंलाई थिएन । अमेरिकामा रहँदा जब अफ्रिकाको प्रसंग आउँथ्यो, मान्छेहरू मलाई घुरेर हेर्थे । माफ गर्नुहोला, त्यति बेलासम्म नामिबिया जस्ता अफ्रिकी देशहरूबारे मलाई नै केही थाहापत्तो थिएन । तर यो नयाँ पहिचानसँग जोडिन आइपुगेँ म । अफ्रिकीको रूपमा केही वर्ष अमेरिका बसेपछि मात्र मेरी रुममेटले मप्रति किन त्यस्तो व्यवहार गरिन् भन्ने कारण बुझ्न थालेँ ।

    नाइजेरियामा नहुर्केको भए र अफ्रिकाबारे प्रचलित मान्यताका आधारमा मात्र बुझेको भए म पनि सोच्थँे होला– अफ्रिका भनेको सुन्दर भूगोल, हेरिरहूँझैं लाग्ने थरीथरीका जंगली जनावर पाइने ठाउँ हो । त्यहाँँ अर्थहीन युद्ध लडिरहने, गरिबी र एड्सबाट मरिरहने अनि कहिल्यै आफ्ना लागि बोल्न नसक्ने तर दयालु कुनै गोरो विदेशीबाट उद्धारको अपेक्षामा रहेका अचम्मका मान्छेहरू बास गर्छन् । सानो छँदा फिडेको परिवारलाई आमाको नजरबाट जसरी हेरेकी थिएँ, त्यसरी नै बुझ्थेँ होला अफ्रिकीहरूलाई म पनि ।

    मेरी रुममेट लगायतका मान्छेको अफ्रिकाबारेको एकपक्षीय बुझाइको आधारस्रोत पश्चिमी साहित्य हो भन्ठान्छु म । सन् १५६१ मै पश्चिम अफ्रिका पुगेका र उक्त जलयात्राको चाखलाग्दो विवरण तयार पारेका जोन लक नामका लन्डनका व्यापारीको लेखको एउटा उद्धरण छ यहाँ । काला अफ्रिकीलाई ‘घर नभएका जंगली’ भनी किटान गरेपछि उनी लेख्छन्, ‘ती मुर्कट्टा मानव हुन् जसका मुख र आँखा तिनका छातीमा टाँसिएका छन्’ ।

     

    पश्चिमी जगत्मा अफ्रिकी कथाहरूलाई जथाभावी प्रस्तुत गर्ने परम्पराको थालनी यसैगरी भएको हुनुपर्छ । यस्तो परम्परा जसमा सहारास्थित अफ्रिकालाई नकारात्मक, अनौठो अनि अन्धकार स्थानको रूपमा देखाइएको छ । चामत्कारिक बेलायती कवि रुड्यार्ड किप्लिङको विवरणमा त झन् ‘आधा सैतान, आधा बच्चा’ को रूपमा हियाइएको छ अफ्रिकीलाई । विस्तारै मैले बुझ्दै गएँ– मेरी अमेरिकी रुममेटले सधैंसधैं यही एकपक्षीय कथालाई विभिन्न रूपमा सुन्दै र हेर्दै आएको हुनुपर्छ । ठीक यसैगरी एउटा छलफलमा मेरा अमेरिकी प्राध्यापकले मेरो उपन्यास ‘साँच्चै अफ्रिकी’ चरित्रको नरहेको जिकिर गरे । मेरा उपन्यासमा धेरै त्रुटि होलान्, धेरै ठाउँमा प्रसंगहरू चिप्लिएका होलान् । तर उनले भनेजस्तो अफ्रिकी यथार्थ भिœयाउन मेरो उपन्यास असफल भएजस्तो चाहिँ मैले कहिल्यै ठानिनँ ।

    तर मैले स्वीकार्नैपर्छ एकपक्षीय दृष्टिकोणबाट म आफैं पनि ग्रस्त रहेछु । केही वर्षअघि अमेरिकाबाट मेक्सिको घुम्न गएकी थिएँ म । अमेरिकाको राजनीतिक वातावरण तनावपूर्ण थियो त्यतिखेर । आप्रवासनबारे तर्कवितर्क जारी थियो । सधंैजस्तै अमेरिकामा आप्रवासनलाई मेक्सिकालीहरूले थुपारेको समस्याको पर्याय मानिँदै थियो ।

    अमेरिकी स्वास्थ्यसेवाबाट नाजायज फाइदा उठाउने, लुकीछिपी सीमा पार गरी अमेरिका छिर्न खोज्ने अनि सीमामा समातिने सबै मेक्सिकाली हुन् । यस्ता कैयौं किस्सा बनेका थिए उनीहरूबारे । काममा जाँदै गरेका मान्छेहरूलाई हेर्दै मेक्सिकोको ‘ग्वादालाजारा’ सहरमा टहलिँदाकोे पहिलो दिन सम्झन्छु म । चुरोट तान्दै र हाँस्दै गरेका मान्छेहरू, अनि पसलमा सजाएर राखिएका मेक्सिकाली रोटी देखेँ मैले । ती अलग तर लोभलाग्दा मेक्सिकाली विम्ब देखेर चकित परेँ म ।

    मेक्सिकालीबारे सञ्चारमाध्यमले बाँडेका सूचनाबाट कत्ति धेरै प्रभावित रहेछु भन्ने बल्ल बुझेँ मैले । वास्तवमा मेरो दिमागमा उनीहरूको एकल चित्र बनेको रहेछ– केही नभएका तन्नम आप्रवासीको चित्र । आफ्नै पूर्ववत् धारणाले लज्जित बनेँ त्यतिखेर । मेक्सिकालीबारे एकपक्षीय धारणा लिइहिँडेको रहेछु म स्वयं । यसरी नै त हो एकपक्षीय विचार बन्ने– मान्छेलाई एउटै कोणबाट मात्र देखाउने, बारम्बार त्यही स्वरूपमा चिनाउने । कालान्तरमा त्यही उनीहरूको स्थायी परिचय बनिदिन्छ ।

    प्यालेस्टाइनका कवि मौरिद वार्गौटी लेख्छन्– कुनै समुदायलाई कमजोर बनाउने सजिलो तरिका छ– उनीहरूकै कथा भन्ने अनि अरू प्रसंग बाँकी छ भन्दै आफ्नोतर्फबाट थप्दै जाने । रैथाने अमेरिकीबारे सुनाउनु छ भने धनुकाणबाट कथा सुरु गर्नोस् । तर युरोपेली प्रवेशको प्रसंगलाई भुलिदिनोस् । अफ्रिकी देशहरूबारे उल्लेख गर्दा उनीहरूका असफलताबाट विषय प्रवेश गर्नोस्, न कि उनीहरूलाई उपनिवेश बनाइएको प्रसंगबाट । अनि हेर्नोस् कस्तो कथा बन्छ ? हालसालै मैले एउटा विश्वविद्यालयमा मन्तव्य राखेको थिएँ । त्यही कार्यक्रममा एकजना अमेरिकी विद्यार्थीले मलाई भने, ‘साह्रै लाजमर्दो कुरो हो– तपाईंको उपन्यासको बाउ पात्रजस्तै सबै नाइजेरियाली पुरुषहरू परपीडक हुँदा रहेछन् ।’ मैले उनलाई भनेँ, ‘मैले भर्खरै ‘अमेरिकन साइको’ नाम गरेको उपन्यास पढिभ्याएँ ।

    कति लाजमर्दो कुरा हो यो– अमेरिकी युवाहरू सिरियल किलर बन्दैछन् ।’ म स्वीकार्छु, थोरै आक्रोशमा आएर मैले त्यसो भनेको थिएँ । तर सिरियल किलर पात्र रहेको एउटा उपन्यास पढेकै भरमा म कहिल्यै सोच्दिनँ– सबै अमेरिकीहरूको प्रतिनिधि हुनसक्छ ऊ । टेलर, अपडाइक, स्टेनव्याक, गैटस्किल आदि विविध खालका अमेरिकी लेखकलाई पढेको छु मैले । अमेरिकाबारे मेरो एकोहोरो बुझाइ बिल्कुलै छैन ।

    सफल लेखक बन्नका लागि दुःखद बाल्यकालबाट गुज्रिनुपर्छ । केही वर्षअघि सुनेको यो भनाइले म गम्भीर सोचमा परेँ केही दिन । बाउआमाले ममाथि कहिल्यै नगरेको जघन्य व्यवहार कसरी काल्पनिक रूपमा ल्याऊँ आफ्नो लेखाइमा । साँचो कुरा– हाँसो र प्रेमबीच आत्मीय पारिवारिक वातावरणमा साह्रै रमाइलो गरी बितेको थियो मेरो बाल्यकाल । तर अर्को सत्य के भने, दुवैतर्फका मेरा बाजे शरणार्थी शिविरमा मारिएका थिए । राम्रो स्वास्थ्यसेवा नपाएर मेरो काकाको छोरा अल्पायुमै बित्यो । दमकलमा प्रशस्त पानी नहुँदा मेरो मिल्ने साथी विमान विस्फोटमा परेर मारियो ।

    शिक्षालाई महत्व नदिने दमनकारी सैनिक शासनकालमा म हुर्केंबढेँ । त्यसैले त मेरा बाउआमाले नियमित तलब पाउँदैनथे । अनि त्यति बेला मैले थाहा पाएँ, खाजामा सधैं समावेश हुने जाम कटौती भएको । अर्को दिन बटर हुन्थेन टेबलमा । कालान्तरमा पाउरोटीको भाउ बढ्यो । दूध कहिलेकाहीँ मात्र पाइन्थ्यो । अनि त्योभन्दा माथि, राजनीतिक त्रास हाम्रो जीवनको अप्रिय दैनिकी बन्दै गयो । यी नमीठा सन्दर्भले मेरो परिचय दिन्छन् । तर यी नकारात्मक प्रसंगमा मात्र आफ्नो परिचय खोज्नु भनेको अनुभवको एउटा पाटो मात्र सुनाउनु हो । अरू थुप्र्रै पक्षलाई बेवास्ता गर्नु हो । एकतर्फी दृष्टिकोणले त प्रचलित मान्यतालाई झन् मलजल गर्छ । प्रचलित मान्यता असत्य हुन्छ भन्ने होइन तर अपूर्ण भने अवश्य हुन्छ । यस्तै मान्यताले गर्दा हो, एकपक्षीय कथानक कालान्तरमा एकमात्र कथानक बन्न पुग्छ ।

    अफ्रिकी महादेशमा निराशाका खबरहरू धेरै सुनिन्छन् । बलात्कारका घटनाले बदनाम छ कंगो । नाइजेरियामा जागिरका लागि खोलिएको एउटा पदका लागि पाँच हजारको आवेदन पर्छ । तर बर्बादीबाहेक अन्य विषय पनि छन् यो भूगोलमा । तीबारे पनि बोल्नु अति आवश्यक छ । कुनै स्थान र व्यक्तिबारेका सबै सन्दर्भ समावेश नभएसम्म यथार्थ ओझेल पर्छजस्तो लाग्छ मलाई । एकपक्षीय बुझाइको परिणति हो– मानव सम्मान धुलिसात हुँदै जानु । यसले मानवतालाई समभावमा बुझ्न खोज्दैन । हामी कति समान छौं भन्दा पनि हामी कति अलग छौं भन्ने कुरामा यसले जोड दिन्छ । त्यसैले म गम्छु, मेक्सिको यात्राभन्दा पहिले नै आप्रवासन विवादलाई अमेरिकी र मेक्सिकाली दुवै दृष्टिबाट हेरेको भए कति सन्तुलित हुन्थ्यो मेरो बुझाइ ? मेरी आमाले हामीलाई फिडेको परिवार गरिब त छ तर परि श्रमी पनि छ भनी सुनाएको भए के हुन्थ्यो ? हाम्रो अफ्रिकी टेलिभिजन नेटवर्कले संसारभरका भिन्नभिन्न अफ्रिकी कथाहरू प्रसारण गरेको भए के हुन्थ्यो ?

    यही कुरालाई नाइजेरियाका लेखक चिनुवा अचेवेले ‘कथाहरूमा सन्तुलन’ पदावलीले बुझाएका छन् । मेरी रुममेटले मेरा नाइजेरियाका प्रकाशक मुक्त बाकारेबारे केही थाहा पाएको भए के हुन्थ्यो ? नाइजेरियावासीबारे आम धारणा छ– यिनीहरू पढ्दैनन् । तर बाकारे त्यसमा रत्तिभर सहमत छैनन् । बैंकको आकर्षक जागिर छाडी आफ्नोे सपना साकार पार्न प्रकाशनगृह सुरु गरेका छन् उनले । उनको बुझाइ छ– साहित्यलाई आममान्छेको पहुँच र सामथ्र्यमा ल्याउने हो भने पढ्न चाहनेले पढ्छन् । उनले मेरो पहिलो उपन्यास छापेपछि एउटा अन्तर्वार्ताका लागि म लेगोसस्थित टीभी स्टेसन पुगेँ । त्यहाँकी एउटी कर्मचारी मछेऊ आइन् र भनिन्, ‘मलाई तपाईंको उपन्यास मन प¥यो तर यसको अन्त्यचाहिँ रुचाइनँ मैले । अब तपाईंले यसको अर्को भाग लेख्नुपर्छ, अनि मात्र चित्तबुझ्दो हुनेछ ।’ अनि अर्को भागमा केके लेख्ने भन्दै गइन् उनी । नाइजेरियाकी सामान्य एउटी महिला थिइन् उनी । पाठकका रूपमा प्रायः गणना गरिन्न यस्ता मान्छेलाई । तर उनले मेरो आगामी उपन्यासमा के लेख्ने भनेर सुझाएका विषय मनासिब लाग्यो मलाई ।

    मेरी अमेरिकी रुममेटलाई नाइजेरियावासी मेरी साथी फुमी वोन्डाबारे पहिल्यै थाहा भएको भए के हुन्थ्यो ? एउटी निडर महिला जो लेगोसमा टीभी कार्यक्रम चलाउँछिन् । अनि हामीले बिर्सन खोजेका कथाहरू उधिनिरहेकी छन् निरन्तर । ती रुममेटले नाइजेरियाली संगीतको नालीबेली अगाडि नै बुझेको भए के हुन्थ्यो ? जे जेडदेखि फेलासम्म र बब मार्लीदेखि उनीहरूका बाजेसम्मका संगीतबाट प्रभावित भएका एक से एक नाइजेरियाली छन् जो अंग्रेजी, पिजिन, इबो, योरुवा, इजो लगायतका भाषामा गीत गाइरहेका छन्, संगीत दिइरहेका छन् ।

    उनले पहिल्यै ती महिला वकिलबारे चाल पाएको भए के हुन्थ्यो ? राहदानी नवीकरणका लागि समेत आफ्ना लोग्नेको सहमति खोजिने हास्यास्पद नाइजेरियाको कानुनको विरुद्ध हालसालै अदालत पुगिन् उनी । मेरी रुममेटलाई कैयौं प्राविधिक अप्ठ्याराका बीच सिनेमा बनाइरहेका मेधावी पुस्ताको प्रवेश भइसकेको नलिउडबारे पूर्वजानकारी भएको भए के हुन्थ्यो ? मेरी रुममेटले अद्भुत केशविन्यास गर्ने मेरी हेयरब्रेडर महिलालाई भेटेको भए के हुन्थ्यो जसले भर्खरै आफ्नै नयाँ व्यवसाय सुरु गरेकी छन् ? लाखौं नाइजेरियालीबारे उनले पहिल्यै सुनेको भए के हुन्थ्यो जो रुचि अनुसारका आआफ्ना व्यवसायमा छन्, कहिलेकाहीँ असफल हुन्छन् तर कहिल्यै हार खाँदैनन् ?

    लेगोसमा हरेक गृष्मयाममा म लेखन कार्यशालामा उपस्थित हुन्छु । कति धेरै मान्छेले आवेदन भरेका हुन्छन्, कति धेरै मान्छे लेख्न चाहन्छन्, आफ्ना कथा भन्न चाहन्छन् त्यहाँ । यो सब देखेर निकै आशावादी हुन्छु म । हालसालै मेरा नाइजेरियाली प्रकाशक र मैले मिलेर फाराफिना ट्रस्ट स्थापना गरेका छौं । धेरै पुस्तकालय खोल्ने सपना बुनेका छौं हामीले । केही नभएका क्षेत्रीय विद्यालयका पुस्तकालयमा किताबहरू पु¥याएर तिनीहरूलाई पठनमैत्री बनाउने योजना छ हाम्रो । अनि आफ्ना कथाहरू सुनाउन इच्छुक भाइबैनीका लागि व्यवस्थित पढाइलेखाइ कसरी गर्ने भनेर कैयौं कार्यशाला चलाउने अठोट पनि गरेका छौं ।

    कथाहरूको महत्व छ । अझ धेरै कथाको महत्व छ । कथाहरू व्यक्ति, समुदाय, क्षेत्र या देशलाई अधिकारविहीन र दुर्वल बनाउन प्रयोग गरिएका होलान् । तिनीहरूलाई सबल गराउन र मानवीयता बढाउन पनि प्रयोग गर्न सकिन्छ । मानवीय सम्मान हनन गर्न पनि कथाहरू प्रयोग भइआएका छन् । तर टुटेको त्यो सम्मानलाई फेरि फर्काउन पनि कथाहरू नै चाहिन्छ । एलिस वाकरले एउटा किताबमा अमेरिकाको उत्तरतिर बसाइँ सरेका आफ्ना दक्षिणस्थित आफन्तहरूबारेको प्रसंगमा लेखेकी छन्– झुरुप्प भएर एकसाथ बसे उनीहरू । अनि कहिले आफैं किताब पढ्दै त कहिले मैले पढेको सुन्दै रहे । यसरी एक किसिमको स्वर्गीय आनन्दमा लिप्त बने उनीहरू, कथा सुन्दै र सुनाउँदै । मन्तव्य टुंग्याउनुअघि एकपटक दोहो¥याउँछु– जब हामी एकतर्फी सोचलाई अस्वीकार गर्छौं, जब कुनै ठाउँको बारे एकपक्षीय सन्दर्भमात्र हुँदैन भनी हामी सहमत हुन्छौं, अपार खुसी मिल्नेछ मलाई ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.