डा. लोक भट्टराई
यो लेखमा म गोरखाको सन्दर्भमा सडक विस्तार र विकासको सम्बन्ध बारे छलफल गर्दैछु l धेरै मान्छे सोच्दछन कि सडक बनाउनु वा बन्नु भनेकै विकास हो झट्ट हेर्दा त्यस्तो लाग्छ, तर खासमा विकासलाई त्यसरी बुझ्न हुन्न l सडकको विस्तार र सुधारले देशको आर्थिक सामाजिक विकासमा मद्दत चाहिं गर्छ तर त्यो आफैमा विकास हैन विकासको ‘आधार’ (base) मात्र हो l त्यसैले विकासको भाषामा त्यस्ता संरचनालाई पूर्वाधार भनिन्छ l गोरखा जिल्लाको सन्दर्भमा सडक विस्तार र विकासको चाख लाग्दो इतिहास छ l
गहिरो गरी हेर्यो भने त्यस क्रममा के के कमजोरी भएको रहेछ राम्रोसंग देख्न पनि सकिन्छ l त्यति बुझी सकेपछि सबैलाई लाग्नेछ यदि त्यस्तो कमजोरी नभएको भए ति सडक, जो बने, तिनका कारण गोर्खाको विकासको स्तर धेरै माथि पुग्ने रहेछ l २०३७ सालमा सम्पन्न नारायणगढ़-गोरखा राजमार्ग (लोकमार्ग भन्नु पर्ने हो कि?) गोरखाको विकासको इतिहासमा एउटा कोशेढुङ्गो त बनेको छ तर संगै त्यसबाट गोर्खालीले जति फाइदा लिन सक्नु पर्ने हो त्यो आज सम्म पनि लिन सकिरहेको देखिन्न l सडकका साथ यातायातले प्रभाव पार्ने अरु थप योजना पनि साथमा हुन्थ्यो भने सुनमा सुगन्ध हुन्थ्यो l
तर त्यस्तो नभएका कारण, गोरखा नारायणगढ़ राजमार्ग बनेको ३७ बर्ष पुरा भैसक्दा पनि तराई मधेशको खाद्यान्न गोरखा ल्याएर बेच्ने र गोरखालीलाई गाडी चढेर जिल्ला बाहिर जाऊ-आउ गर्ने काम बाहेकमा खासै उपयोग भएको छैन l यसो भनिरहदा कसैलाई के लाग्न सक्छ भने सडकको कामै त्यत्ति हो, त्यो भन्दा बढी के खोज्नु त ? यो कुरा गहिरिएर बुझ्न एउटा लामो छलफल आवश्यक हुन्छ l यहाँ नेर के कुरा बिर्सन हुन्न भने यो सडक मित्रराष्ट्र चीनको सहयोगमा बनेको हो र चाइनिजहरुको विकास पद्दति ज्यादा जसो पुर्बाधार निर्माणमै केन्द्रित हुन्छ l साथमा के पनि हो भने यो प्रोजेक्टलाई विकास प्रोजेक्टका रुपमा भन्दा सडक प्रोजेक्टको रुपमा बनाईएको थियो l
नत्र भने नेपालका कत्ति सडकहरु समग्र विकासको एउटा पाटोका रुपमा पनि बनाईएका हुन्छन l सडकको कुरा गर्दा यो भन्दा पनि अझ चुकचुकाउनु पर्ने कारण छ- पृथ्वी राजमार्गको बिषयमा l २०३० वरपर बनेको यो राजमार्गलाई पनि गोरखा-नारायणगढ़ राजमार्ग झैँ नै विकास योजनाभन्दा सडक योजनाको रुपमा अघि बढाईएको थियो l यसको बास्तविक उद्धेश्य त नेपालका दुई मुख्य शहर काठमाडौँ र पोखरालाई जोड्ने भन्ने नै थियो र यस बिचको मध्य पहाडी भूभागको विकास गर्ने भन्ने चाहिं सोचमा थियो भने पनि योजना डिजायेनले चाहिं त्यस्तो देखाउदैन l यो योजना पनि चिनियालाई नै दिईएको थियो र आखिर उनीहरुले पनि छिटो भन्दा छिटो काम जसरि सकिन्थ्यो त्यहि गरेर हिंडे l

यो योजनाको बैकल्पिक सम्भावनालाई किन उपयोग गरिएन होला, किन यसलाई पुरै धादिंग, नुवाकोट, गोर्खा, लम्जुङ्ग, तनहुँ समेतको बिकासको मेरुदण्ड बन्नबाट रोकेको होला भन्ने प्रश्न धेरै समयदेखि मेरो मनमा थियो र एकपटक सडक विभागका उच्च अधिकारीहरुसंगको भेटघाटको बेला यो कुरा मैले राखें पनि l मेरो खास प्रश्न थियो कि किन यो राजमार्गलाई मुख्य बस्ति त्रिसुली, धादिंग, सल्यानटार, आरुघाट, गोर्खा, लम्जुङ्ग, तनहुँ (कमसेकम यी मध्य धेरै जसो) हुँदै पोखरासम्म जाने रुट नलिएर सर्टकट रुपमा बनाईयो भन्ने थियो l मेरो खास उत्सुकता नेपालले के कस्तो सम्झौता गरेको थियो भन्नेमा थियो l प्रस्ट थियो यो राजमार्ग त्रिशुली, बुढी गण्डकी, मर्स्यङ्ग्दिको किनार किनारै लैजानुको सट्टा माथि भने जस्तै मूलबस्ति हुँदै लगिन्थ्यो भने गोर्खा लगायत ति जिल्लाहरुको बिकासको स्थिती नै अत्यन्तै बेग्लो हुने सम्भावना थियो l
पछि थाहा लाग्यो कि बास्तबमै नेपालको जोड पनि काठमाडौँ पोखरा जोड्ने मै बढि थियो मध्य भागको बिकासमा भन्दा l त्यति बेला त्यो नदिको खोच एक हिसावले अनकन्टार, कम आवादी भएको क्षेत्र थियो जसले गर्दा जग्गाप्राप्ति लगायत अन्य सामाजिक समस्या कमै आउने वाला थियो l अनि त कामको जिम्मा लिनेलाई त्यो नै काम सम्पन्न गर्ने सजिलो बिकल्प हुन्थ्यो l निश्चित रुपमा माथि भने जस्तो बस्तिहरु हुँदै जाने बिकल्प रोजिएको हुन्थ्यो भने यो राजमार्ग निर्माणमा जटिलता त थपिन्थ्यो र सम्पन्न हुन केहि बढि समय त पक्कै लाग्ने थियो l तर प्रश्न के हो भने छिटो र सजिलोसंग सक्नका लागि जे गरियो त्यसको तुलनामा गुमेको चिज कति महत्वको थियो भन्ने हो l २०४६ सालको परिवर्तनपछि जर्मन सहयोगमा गोरखा विकास परियोजना लागु भएको थियो l व्यक्तिगत फाइदा पाउनेले राम्रो भयो भन्ने भिन्दै कुरा भयो नत्र यो परियोजनाले पनि जे जति सम्भावना थियो त्यो गर्न सकेन, सक्दै सकेन l अरु कुराको अतिरिक्त यस परियोजनामा सडक विस्तारको कामलाई पनि प्राथमिकता दिईएको थियो l यसले त झन् बातावरणमैत्री प्रबिधिको साथ हरितसडकको कुरा गरेको थियो l
भने अनुसार काम हुन्थ्यो भने यो परियोजना र यसले बनाउने सडक एउटा सन्दर विकासको नमुना बन्न सक्थ्यो किनकी परियोजना अन्तर्गत सडकको कुरा मात्र थिएन यो त एउटा एकीकृत विकासको सोच अन्तर्गत तर्जुमा गरिएको परियोजना थियो तर गोर्खालीको दुर्भाग्य ति सबै कुरा कागजमै सिमित रहे l यी त सबै अल्लि पहिलाका कुरा भए, अरु त अरु अहिले भर्खरै निर्माणाधीन मध्य पहाडी लोकमार्गमा पनि गोर्खाका नेताले गोरखालीलाई ठगे l आखिर त्यो लोकमार्गलाई गोरखा बजार हुँदै गरी जाने योजना गरेको भए कसको के जान्थ्यो ? यी मुख्य परियोजनाहरु बाहेक पनि गोरखामा जनताको पहलमा गएका २०-२५ बर्षमा धेरै नै सडकहरु बनेका छन् l यिनीहरुले दिने फाइदा त आफ्नो ठाउँमा छंदै छ तर संगै यसले बातावरणमा परेको बिनासको कुरा थोरैले मात्र बुझेको देखिन्छ l
गोरखा-नारायणगढ़ राजमार्ग तत्कालिन राजा बिरेन्द्रको बिशेष अग्रसरतामा सम्भव भएको थियो र एउटा जिल्लाको सदरमुकामलाई मात्र लक्ष्य गरेर बनाईएको यो देशकै थोरै सडक योजना मध्यको थियो l राजाको निश्चित रुपमा चासो र सद्भाव थियो गोरखा दरबारप्रति र उनलाई थाहा थियो कि दरबारसम्मै सडक पुर्याउदा त्यसको सकारात्मक भन्दा नकारात्मक असर बढि हुन्छ, त्यसैले उनले सडकलाई गोरखा दरबारसम्म नलग्नका लागि प्रत्यक्ष्य निर्देशन दिएकाथिए l बातावरणका हिसावले हेर्दा त्यो जे भएको थियो, ठिक भएको थियो l आखिर आवश्यक परे बैकल्पिक यातायात जस्तो कि ‘केबुल कार’ बनाउन सकिन्थ्यो भन्ने त प्रष्टै थियो l
तर त्यसमा फेरी बिस्मात के भो भने जताततै सडक खनेर विकासको लहर आइरहेको बेला त्यता माथिका बासिन्दाले पनि आफ्नो घरैसम्म मोटर आएको हेर्न चाहे र दरबारकै छेउसम्म बाटो खनियो l त्यसपछि अरु त के र जे जस्तो सुन्दरता त्यो रास्ट्रिय सम्पदाको थियो, बनेको सडकको कारण त्यो घटेको छ बढेको छैन l यस्तो कुरामा धारणा राख्नै पनि गार्हो, कसैले मेरो घरसम्म जाने बाटो बनाउन डोजर लगाऊछु भन्दा हुन्न भन्ने कसले र कसरि ? यति कुरा गरी सकेपछि कतिलाई लाग्न सक्छ, म बाटो बन्नु हुन्न भन्ने पक्ष्यमा छु; हैन, कुरा त्यस्तो हैन l
म भन्छु, सडक बन्नु पर्छ, त्यसले सबैको आवस्यकता सम्बोधन गर्ने गरी बन्नु पर्छ l सडक तल तल मात्र हैन छेकम्पार र सामागाउ पनि पुग्नुपर्छ तर त्यसरी सडक योजना गर्दा बातावरण जोगाउने कुरालाई कहिल्यै बिर्सनु हुन्न; सडकहरु बातावरणमैत्री हुनुपर्छ; सडक जनताका आवश्यकता पुरा गर्नलाई मद्दत गर्ने खालको हुनुपर्छ; र सडक बनेपछि उद्द्यम र रोजगारीको बाटो खुल्ने गरी योजना गर्नु अत्यावश्यक छ l लेखक बिकाशबिद हुनुहुन्छ, र गोरखामा उहाँको स्थाई ठेगाना गोरखा नगरपालिका वार्ड नम्बर ५, पश्लांग हो l
सम्पर्क इमेल : [email protected]
फोन नम्बर : ९८६१५८५१४१ फेसबुक: Lok Bhattarai
(लेखक गोरखा निवासी बिकाशबिदु हुनु हुन्छ)


