गाेरखा । सोलुखुम्बुमा आज बिहान भएको फिस्टेल एयर र एयर डाइनेस्टीका २ हेलिकोप्टर एकापसमा ठोक्किँदा १ जना भारतियकाे मृत्यु भएकाे छ भने अर्का विदेशी न्युजिल्यान्डका नागरिक घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको विवरण अनुसार दुर्घटनामा परी भारतीय नागरिक वसन्त कुमारको मृत्यु भएको छ भने एक न्युजिल्यान्डका नागरिक शैलेश किशन घाइते भएका छन् ।
प्राधिकरणका अनुसार यी दुवै विदेशी नागरिक दुर्घटनामा परेको फिस्टेल एयरको ९ एन–एजेआर कलसाइन भएको हेलिकोप्टरमा सवार थिए । क्याप्टेन रवीन्द्र प्रजापतिले उडाइरहेको उक्त हेलिकोप्टरमा चालक दलसहित जम्मा ३ जना सवार थिए ।
गोरकसेपबाट फेरिचेतर्फ उडान भर्ने क्रममा यो हेलिकोप्टर अर्को हेलिकोप्टरसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
यसैगरी, दुर्घटनामा संलग्न अर्को हेलिकोप्टर एयर डाइनेस्टीको ९ एन–एओडी रहेको प्राधिकरणले जनाएको छ । क्याप्टेन प्रज्वल केसीले उडाएको उक्त हेलिकोप्टर ३०० केजी कार्गो लिएर लुक्ला–फेरिचे हुँदै कालापत्थर सेक्टरको उडानमा रहेको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरमा भने कुनै पनि यात्रु सवार थिएनन् ।
दुर्घटनालगत्तै घाइते न्युजिल्यान्डका नागरिक शैलेश किशनको उद्धार गरी उपचारका लागि राजधानी पठाइएको छ भने प्राधिकरणले घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको जनाएको छ ।


