गाेरखा । अवैध क्रिप्टोकरेन्सीमा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने १ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पुष्टी गरेकाे हाे ।
कार्यालयका अनुसार यादवले ‘बाइनान्स’ एपमार्फत ठूलो मात्रामा अवैध क्रिप्टो कारोबार र अनलाइन सट्टेबाजी (बेटिङ) गराउने गरेको विशेष सूचना प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गर्दा उनले बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार गरेको खुलेको हो । प्रति डलर १५१.५३ रुपैयाँको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन आउँछ ।
यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ गरी थप कारबाहीका लागि काठमाडौं ल्याइएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ र दफा २६२ (क) १ अन्तर्गत ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा मुद्दा अघि बढाइएको छ ।
यस सम्बन्धमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको कार्यालयले जनाएकाे छ ।


