गाेरखा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोशी प्रदेशअन्तर्गत ३५ वर्षमुनि (खुला) समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित ई.हेमकाजी बस्नेतको शैक्षिक प्रमाण पत्र छानबिनका लागि उजुरी परेको छ ।
महाधिवेशनमा पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा केन्द्रीय सदस्यमा निर्वाचित नेता बस्नेतको शैक्षिक प्रमाण पत्र छानबिनको माग गर्दै उजुरी दिएका हुन् ।
बस्नेतको शैक्षिक योग्यतासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाउने तथ्य तथा प्रमाणहरू प्राप्त भएकाले ईमेलमार्फत उजुरी दिएको ती उम्मेदवारले बताएका छन् ।
उजुरीकर्ताले नेपाल इन्जिनियरिङ परिषद्को दर्तासम्बन्धी उपलब्ध विवरण र विषयसँग सम्बन्धित अन्य सान्दर्भिक प्रमाणहरू समितिलाई ईमेलमार्फत उजुरीसँगै संलग्न गरेका छन् ।
शैक्षिक प्रमाणपत्रको आधिकारिकता तथा वैधताबारे सम्बन्धित विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद्सँग आवश्यक जानकारी लिई सत्यतथ्य पुष्टि गर्नुपर्ने माग पत्रमा गरिएको छ ।
यसअघि १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्य (खुल्लातर्फ) मा निर्वाचित सुशील भट्टविरुद्ध पनि उजुरी परेको थियो ।


