गाेरखा । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
उक्त प्रकरणमा गोरखा घर भएर टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी सहित कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनरायण नगरपालिका–९ बस्ने ४० वर्षीय रविन्द्र केसी र सर्लाही घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरूले म्याक्रोटेक प्रालि नामको कम्पनीमार्फत मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्क लिएर ठगी गरेको सीआईबीको अनुसन्धान निष्कर्ष निकालेकाे छ । मेडिकल स्क्रिनिङको नाममा आरोपीहरूले अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर गैरकानुनी तरिकाले कामदारबाट रकम असुलेको ब्यूरोले जनाएकाे छ ।
असोज २९ मा पक्राउ परेका उनीहरूमाथि ब्यूरोले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
२०७५ को अन्तिमदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरेका थिए । त्यसबेलाको मूल्य अनुसार प्रतिकामदार म्याक्रोटेक प्रालिले ३ हजार १६० रुपैयाँ असुलेको प्रहरीले प्रमाण फेला पारेकाे छ ।
२०७५ अन्तिमदेखि २०८० सम्ममा म्याक्रोटेक प्रालिले मलेसिया जाने ७ लाख ३३ हजार कामदारसँग बायो मेडिकल सर्भिस शुल्क लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूबाट २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ गैरकानुनी रूपमा असुल गरिएको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।


