गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बिच खेल हुँदै छ । पोखराले यस सिजनकाे पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित भएको छ ।
अघिल्ला २ संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै लय समात्ने लक्ष्यमा हुनेछ । अर्कोतर्फ, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम हारबाट माथि उठ्दै प्रतियोगितामा फर्कन चाहन्छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजन विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ । बंगलादेशका शाकिब अल हसनसहित अनुभवी विदेशी खेलाडी टोलीमा छन् ।
सुदूरपश्चिमसँग भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा अनुभवी नेपाली र विदेशी खेलाडीको संयोजन छ । दुवै टोलीका लागि यो खेल अंकतालिकामा अघि बढ्ने मात्र नभई आत्मविश्वास बढाउने अवसर समेत पनि हुनेछ ।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले ब्याटिङ राम्रो हुन नसकेको र आगामी खेलमा उक्त कमजोरी सुधार्न जरुरी भएको बताएका थिए । सोही अनुरुप सुदूरपश्चिम आज पुनरागमनको खोजीमा हुनेछ ।
दुवै समूह बिचकाे खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बुधबार साँझ ५ बजेदेखि सुरु हुने छ ।


