एजेन्सी । राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारो देश छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन् ।आइतबार भएको निर्वाचनको नतिजापछि उनी मङ्गलबार अमेरिकातर्फ लागेका हुन् ।
उनको आगमनको पुष्टि हुनुअघि नै ट्रम्प प्रशासनले उनलाई र उनको परिवारलाई भिसा दिने तथा प्रवेश अनुमति दिने जनाएको थियो । फ्लोरिडा पुगेर फ्लाभियोले आफ्ना भाइ एडुआर्डोसँग भेट गरिसकेका छन् । उनी कुन मार्ग भएर अमेरिका पुगे र त्यहीँ बस्ने योजना छ वा छैन भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्झाण्डर डी मोराएसले फ्लाभियोको राहदानी जफत गर्न र देश छाड्न रोक लगाउन आदेश दिएको भोलिपल्टै उनी अमेरिका उडेका हुन् । उनलाई मङ्गलबार मध्याह्नसम्ममा आफ्नो यात्रा कागजात बुझाउने म्याद दिइएको थियो ।
प्रस्थान गर्नुभन्दा अघिल्लो दिन सोमबार एक भिडियो जारी गर्दै फ्लाभियोले भनेका थिए, ‘चुनाव हारेमा मैले देश छाड्नुपर्छ भनी अक्टोबर २३ मा एडुआर्डोले दिएको अभिव्यक्तिका आधारमा राहदानी जफत गर्ने कदम चालिएको हो ।’
उनले थपे, ‘मैले देश छाड्नेबारे कहिल्यै सोचेको थिइनँ ।’ उनीमाथि लागेको सम्पत्ति शुद्धीकरणको आरोपबारे भइरहेको अनुसन्धानका क्रममा राहदानी जफतको माग गरिएको थियो । उनले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । यो अनुसन्धान रिया डी जेनेरियोको डिजिटल भुक्तानी प्लेटफर्म र सट्टेबाजी क्षेत्रमा केन्द्रित छ ।
सो समयमा उक्त राज्य बोल्सोनारोका सहयोगी क्लाउडियो कास्ट्रोले चलाएका थिए, जो आफैँ पनि यस अनुसन्धानको घेरामा रहेका छन् ।


