तिलक पाैडेल
नौ दशक पार गर्नुभएका पूज्य पिताज्यूको धोको गोरखनाथ बाबा र गोरखकालीको दर्शन गर्ने पूरा गराउनका लागि अठसट्ठी साल वैशाख २४ गते म गोरखाबाट स्याङ्जा चिलाउनेबास – ५ झारखोला, स्यार्कोट आए । हिजो मात्र प्रकृतित: सिँचाइको व्यवस्था भएका कारण अधिकांश गाउँलेहरू मकै गोड्न आ-आफ्ना खेतबारीमा देखिन्थे । म पनि घर पुग्दा दाजु-भाउजु खेतमा खेतालासहित मकै गोड्दै हुनुहुन्थ्यो । आमा गोठमा भैँसीलाई पानी दिँदै हुनुहुँदो रहेछ, दर्शन गरेर आशिष लिँदो भएँ । बुढो घर अर्थात् मेरो घर, बुबा हुनुहुँदो रहेछ र दर्शन गरी आशिर्वाद सङ्कलन गरेँ । सीताले पानी खान दिइन् । कमल बाबु तल चिलाउने बासमा बाटोको ठेक्का गराउने हिसाबले उखुबारीको एकजना भाइ आएपछि उतै लागे ।
९/१० दिनदेखि बिजुली आएको रहेनछ । टेलिफोनको टावर पनि छैन रहेछ। सबैजना ठण्डाराम भयो भन्ने प्रतिक्रिया दिँदै थिए – सहरीया ढर्राप्रतिको गाउँले तादात्मता ! म आएको खबरले भाउजुलाई घरतिर दौडाएछ । हस्याङफस्याङ गर्दै आइपुग्नुभयो । उहाँको विचारमा हामी भोकै छौँ होला भन्ने रहेछ तर हामीहरूले जुग्लेमा खाना खाएर आएका थियौँ । ‘अब तल्ला घर गएर सुत्नुहोस्; हामी मकै दोहोर्याउँदै छौँ’ भन्नुभयो । ‘म पनि मकै गोडौँ कि ?’ भन्दा भाउजुले ‘अँ… मैले मकै उप्काउँदा मात्रै त पातले पाछेर कस्तरी भवाएकोछ, अब तपाईंले गोड्नु भयो !’ भन्नुभयो – अभिभावकीय ममत्वको जीवन्त नमुना !!!
मैले पनि ‘त्यसोभए म पनि गाउँघरमा घुमेर सबैलाई बोलाउँछु’ भनी उहाँसँगै तलतिर झरेँ । टाढैबाट दाजुलाई अभिवादन टक्र्याएँ । ‘मकै उप्काइदिए भो नि !’ भनी भन्नुहुन्थ्यो तर हिम्मत आएन – कामप्रतिको विकर्षणले सिर्जाएको यथार्थता !!! म सरासरी थरी चन्द्रकान्त दाइकोमा गएँ । किनभने बालकृष्ण, विष्णुका घर धन्सारहरू उनीहरू पोखरामा बस्ने हुँदा खाली थिए; रुद्रकोमा सायद मकै गोड्ने मेलो हुँदो हो ! ढोकामा साँचो लगाएको थियो । पोखरीको डिलबाटै लक्ष्मीको र गणेशको घरहरूको भग्नावशेष अवलोकन गरेँ । लाग्थ्यो – गाउँघरमा सहरीकरणको भूत पस्यो, अनि घरहरू खण्डहर हुँदैछन् ।
तर चन्द्रकान्त दाइले भने ढुङ्गाको छानोलाई टिनको छानाले प्रतिस्थापन गरेर नवनिर्माण गर्दै गरेको सूचना गरेझैँ लाग्यो । त्यहीँबाट गणेशको घर अरू प्रष्ट देखियो । चन्द्रकान्त दाइसँग बिदा भई हिँडेँ । त्यही घरको बाटो हिँडेकोले मेरो कल्पनाका दृश्यहरू मनभरि आलिए –
ठन्डीका समयमा गुन्द्री ओछाएर बसिने बाँसको घारी नजिकैको जग्गामा सिरु मौलाएको थियो भने बाँस उग्लिसकेको थियो । घरहरू छाना एवम् झ्यालढोकाविहीन बनेर कङ्काल ठडिएको प्रतीत हुन्थ्यो भने धनसारको निशानै थिएन । वास्तवमा त्यो घरसँग मेरो प्रगाड सम्बन्ध छ । किनभने गणेश सात कक्षामा पढ्दा म चार कक्षामा पढ्थेँ । उनी कक्षामा प्रथम हुने हुँदा मेरो हजुरआमाले उनीसँग पढ्न र सुत्न त्यही घरमा पठाउने व्यवस्था मिलाउनु भएको थियो । परिणाम मेरो बुवाले हरेक साँझ खाना खाएपछि मट्टीतेल र मलाई गणेश कहाँ ल्याइदिनु हुन्थ्यो ।
एकदिन तल्लो बारीको बडरको बोटमा हुकुचिल – हुचिल नामको पन्छी रहेछ, जुन मलाई जानकारी थिएन; आएर कराउन थाल्यो – हु… क्रिक ! करिब १०-१५ सेकेन्डको अन्तरालमा कराउने उल्लिखित स्वरले मेरो बाल मस्तिष्क साह्रै त्रसित एवम् चिन्तित भएथ्यो जुन गणेश मस्तसँग निदाएकोले चालै पाएनन्, म भने साह्रै डराएथेँ ।
अर्कोदिन बुढापिपल मुनिको मुडुलो चौतारोमा फेरी लगाउने जोगी आएर भेडाको सिङ बजाई के के भन्दै अन्तत आँगनमा आएर ‘आकाशै बाँधौँ, पातालै बाँधौँ …’ भनी फलाक्दै भेडाको सिंह रहेछ – टुइँटुइँ गर्दा पनि मेरो सातो उडेथ्यो । गणेश मस्तसँग घुरिरहेका थिए, मैले घच्घच्याउँदा ‘अँ…’ गर्दै कोल्टे फर्कन्थे । म भने अत्याधिक डराएको थिएँ । यसमा गणेशकी आमालाई सबेरै कुवापानीबाट पानी लिएर आउँदा वनकाले छलेको भनी कान्छी भाउजुलाई सबै महिलाहरू मिलेर समाएर, अठाएर राख्दा पनि उहाँ अनियन्त्रित ढङ्गले बतुराएका क्षण ताजै रहनु पनि प्रमुख कारण थियो । अझ बाढी पहिरोले मेरो परिवार घरबारविहीन हुँदा दुई रातको आश्रय पनि त्यसै घरमा मिलेको थियो, जसको कारण आजको अवस्थाले मलाई नमज्जा लाग्नु स्वभाविकै ठहरियो।
जेहोस्, बुढो पिपल नभएपनि वरिपरिका काहुरा र बाँसका झ्याङहरूले मप्रति ‘तिमी टाढिए पनि हामीहरू यहीँ छौँ, पिपल भने तिम्रै दाजुभाइले काटिदिए -छोराछोरी पढाउने स्कुल बनाउने भनेर …’ जस्ता वाक्यहरू बोलिरहेको जस्तो लाग्दथ्यो । म कुवापानीको बाटो हुँदै खेताघरतिर लागेँ । घरमा कोही पनि थिएनन्; दक्षिणपूर्व फर्केको भकारो ओबानो थियो; भैसीहरू उग्राएर बसिरहेका थिए । म उपल्लाघरतिर लागेँ । घरमा कोही नभए पनि धेरै काइयासँग फक्रिएको केरा उभिएर मलाई स्वागत गरे झैँ लाग्यो । भाउजु, सीता हुनुहुन्थेन । बाटेगरामा लाटा बासुकी बुहारी अर्थात् भीमेकी श्रीमतीले बाक्ला भएका मकैहरू उप्काइरहे”की थिइन् । दुई महिना पहिले छोरो पनि पाएको बताइन्; खुसी लाग्यो । तसर्थ त्यो नवजात शिशुलाई कोर्कोमा हल्लाइरहेका बासु दाइले पनि डाक्दा मलाई पनि जान मन लाग्यो । म पनि उनको घरतिर लागेँ, जुन घर बनाउनका लागि मैले पनि सहयोग गरेको थिएँ भने हरेक भेटमा बासु दाइलाई केही रकम दिने गर्दथेँ ।
यसपालि पनि ‘दाह्री काट्ने ब्लेड किन्न २० रुपैयाँ दिनु न !’ भनिहाले । मैले ५० रुपैयाँ नवजात शिशुका काखमा राखिदिई नयाँ अनुहारसँग परिचय गरेँ; यस धर्तीमा स्वागत गरेँ अनि बासु दाइलाई अब तिमीलाई हैन, यो नातीलाई है पैसा ! भन्दा हुन्त, हुन्त भने ।
मेरो सोच विगततिर धकेलियो । बासुदेव लठेप्रो भएकोले साहुहरूले उनको जग्गा राँडीआमाबाट आफूहरूले हत्याएका थिए – अपुताली स्यारे जस्तै ! मेरो बुवा र मामाले एउटी आइमाई ल्याएर लाटादाइको विवाह गराइदिएका थिए । त्यसैबाट जन्मेको हो – भीम, जो अहिले होटलतिर काम गरेर घर पैसा ल्याउने गर्दछ । त्यसको विवाह गरेपछि पहिले छोरी जन्मेकी छ भने अहिले छोरा जन्मेको पाउँदा तमाजेको पनि अपुताली परेन भन्ने भयो – आध्यात्मिकतामा ! यसको जस अथवा धर्म हाम्रा बुढाहरूलाई लाग्छ । फेरि मैले पनि बासुको जग्गा फिर्ता गर्न भनेर साहुथर महेन्द्रलाई गाउँलेको मृत्यु संस्कारमा मोदीबिनी गएको समय भन्दा स्वीकार गरेथे । विगतका यस्तै सन्दर्भहरूमा डुब्दै म उपल्लो खेताघरतिर लागेँ; जहाँ पल्तिर भाउजु र ढकाल्नी दिदी हुनुहुन्थ्यो भने शौचालय बनाउने कर्मीहरूलाई कार्यनिर्देश गर्दै थिए – ध्रुव ! म बेलौतीको रुखमुनि बसेँ र बासुको उपर उल्लिखित प्रसङ्ग उप्काएँ । अँ त नी ! यसको जस त स्यार्कोट हजुरबालाई नै जान्छ नत्र त तमाजेहरूको अपुताली नै पर्थ्यो नि – उहाँहरूको प्रतिक्रिया थियो ।
कुरैकुरामा मोटरका बाटाहरू बनेका; मोबाइलको सुविधाले बेलायत, अमेरिकामा पनि कुरा गर्न सकिने भएको; बिजुलीले गर्दा मट्टीतेलको ढेउरीको बन्दोबस्त र लाल्टिन, टुकीको व्यवस्था गर्नु नपरेको; टेलिभिजन हेर्न पाइने भएको जस्ता सुविधा विस्तार भएका प्रसङ्गहरू निस्के । आज हप्तादेखि बिजुली नआउँदा अध्यारोको अलावा टिभी हेर्न, मोबाइल चार्ज गर्न नपाउँदा साह्रै हर्कच्च भएका यथार्थताहरू प्रकट भए । मट्टीतेलको कुरा आउँदा बुवाहरू बटौली गएर नुनतेलको व्यवस्था गर्नुपरेको विगतहरू आलिए । मैले पनि नुन बटौलीबाट बुवाहरू फर्कनुभयो भन्दा थरीबाट चिन्तेचौरतिर नियालेको; घर आएपछि पिपलगेडीहरू खाएको क्षणहरू स्मरण गर्दो भएँ ।
दिदीले पाँच पैसा लिएर भाटीको बजारमा जाँदा लोहरा जत्रो मिश्री र हत्केला जत्रो नरिवल पाइएका व्यहोरा पनि सुनाउनुभयो । यस्तै कुराकानी गरी म मुन्तिर आमालाई बोलाउन गएँ । भाँचिएको खुट्टामा स्टिलको रड राखेको र हाल झिकी सकिएको भएपनि अझै पोलिरहने व्यहोरा जनाउनुहुन्थ्यो । म पनि आडैमा बसेर ढाडस दिँदोभए । हरि गोरखा बसेको हुँदा त्यताका प्रसङ्गहरू पनि चर्चा भए । आमाले भन्नुहुन्थ्यो ‘गोरखा हेर्ने भनेको पनि त्यत्तिकै भयो। हजुरका बुवालाई लाने भन्नुभएको रहेछ हैन ? …’
वास्तवमा म बुवाको कुरा गोरखनाथको दर्शन गर्ने रहर पूरा गराउने हिसाबले नै आएको हुँ तर आमाको रहर पुरा गराउन असजिलो हुँदा प्रसङ्ग अन्यत्रै मोडेर बिदाबादी भई घरतिर आएँ । सोचेँ – गाउँघर त युवा जमातको खडेरी र भवनहरूको खण्डहरूमा पो परिणत भएछ !
२०६८ साल वैशाख २४ गते शनिबार
झारखोला, स्याँर्कोट ।


