तिलक पाैडेल
२०६८ साल मङ्सिर ११ गते आइतबार भोलिपल्ट लाप्राकमा हुने कार्यक्रमको लागि सिडियो साहेबलाई पनि निमन्त्रणा गरी यात्रारम्भको तयारी गर्यौँ । अन्तत: जिल्ला शिक्षा अधिकारी लोकनाथ पौडेलसाथ राजनीतिकर्मीहरू नेकपा माओवादीबाट भगवती तिवारी, नेपाली कांग्रेसबाट हरि घले र कृष्ण आले अनि नेकपा एमालेबाट रामशरण बस्नेत साथै सुरक्षाकर्मीहरू अगाडिको गाडीमा हिँड्नुभयो भने हाम्रो गाडीमा सिडियो, डीएसपी, म र सुरक्षाकर्मी भएर यात्रा अघि बढायौँ । झ्याल्लाफाँटमा पुगेर चियापान गरेर यात्रा अघि बढाउँदा बालुवा भन्ने ठाउँबाट अँध्यारो भएकोले बिस्तारै अघि बढियो ।
बारपाकमा पुग्दा त्यहाँ स्वागतका लागि गाउँलेहरू रातको समयमा पनि बसपार्कमा जम्मा हुनुभएको रहेछ । रत्ना गुरुङ आमाले टीका लगाई गालामा म्वाइँ खाएर सबैलाई छोराछोरी सरहको स्वागत गरेको पाउँदा ‘साँच्चै घरै पुगिएछ कि !’ जस्तो महसुस भयो । सबैजना जित घलेजीकोमा गई सामान्य हात मुख धोई पिर हरण गर्ने टोनिक (पिहटो) अथवा ठन्डी हरण गर्ने टोनिक (ठहटो), तातोपानी र दुनामा सजिएका साधेको भटमास र आलुको सितनसँगै मुख चल्न सुरु भए । सामान्यत: एक्लै, निस्तै, लोकल, सवारी चालन, जन्मस्थान र कर्मस्थानमा मदिरापान नगर्ने मेरो मान्यतालाई गोरखा अब कर्मस्थलबाट परिवर्तन हुँदै गरेको प्रसङ्गले र ठण्डीका कारणले ठहटो लिन उक्सायो । हरिदाइले र मैले अलग्गै बसेर भोलिपल्टको योजना बनाउँदै आनन्द लियौँ । अरूहरूले खाना खानुभयो । वहाँहरूको भोजनपछि रामशरणजी र म हरिदाइसँगै उहाँकै घरमा खाना खाई वहाँको दाजुको घरमा सुत्ने व्यवस्था मिलाए बमोजिम एउटा कोठामा आराम गर्यौँ ।
भोलिपल्ट १२ गते सोमबार बिहान उठी नित्यकर्म गरी चिया पिएपछि मन्दिर भएको ठाउँमा पुगियो । वास्तवमा त्यहाँबाट नियालिने प्राकृतिक दृश्य मनोहर लाग्यो । अर्को समूह पनि त्यही भेट भएपछि अब लाप्राकतिर साइत गर्ने सल्लाह गर्यौँ । हिजो जस्तै समूहमा हाम्रो गाडी अघि बढ्यो। धार्केको लेकमा पुगेपछि बुद्ध, मनास्लु आदि हिम शृङ्खलाको अवलोकन गर्ने हिसाबले पैदल हिँडी टाकुरामा पुगियो । वरिपरिको प्राकृतिक अनुपम दृश्य आफैँमा रमणीय थियो । मलाई वरिपरिका गुराँसका रूखहरूले ‘तिम्रो गाउँमा पनि हाम्रा सगोत्रीयहरू खडै छन्, तिमी नगएको धेरै भयो, भेटघाट पनि हुँदैन अचेल भन्ने खबर थियो । तिमीले त हाम्रो भेट यो नै पहिलो हो जस्तो गर्दैछौ त !…’ भनी उनीहरूको बारेमा चर्चा गर्दा जिस्काए जस्तो लाग्यो । यो ठाउँमा म २०५१ सालमा लाप्राक हुँदै बारपाक आउँदा पैदल हिँडेको थिएँ । हुनपनि ति डाँडापाखाहरूले मानवीय अतिक्रमणको विभीषिका नियालेर निष्कलङ्कित हिसाबले पूर्ववत् पहरेदारी गरिरहेको प्रतीत हुन्थ्यो ।
अलि-अलि भोकको आभास भयो । संयोग भीमकुमारी घले बहिनीले उनको आमाले भुटेर पठाएको मकै र भट्टको झोला फुकाइन् । बडो मिठोसँग मकै भट्ट खाइयो । मलाई कुनैदिन स्कूलबाट घर आउँदा अति भोक लागेको बेलामा आमाले राखिदिएका भुटेका मकै खाँदाको झझल्को लाग्यो । सायद यति मिठो खानेकुरा सनातनी खान पाइँदैन । अर्को समूह समेत आएपछि फोटाहरू खिची रमणीय दृश्यको आनन्दावलोकन गरियो ।
अबको बाटो डोजर अघि-अघि हामी पछि-पछिको अवस्थाको रहेछ । केही तल झर्दा पर्व मनाउने हिसाबले आएका गाउँलेहरूसँग भन्ज्याङमा भेट भयो । उनीहरूले सिमेभूमेको पूजा गर्दा रहेछन् अर्थात् माटो, पानीलाई ‘आफू अनुकूल भएर सहयोग गर’ भनी गरिने पूजा रहेछ, त्यो । सेल रोटीका टुक्रा, मार्स्या/लट्टेका खाजा, उसिनेका अण्डाका टुक्रा, तिलको छोप, रक्सी आदिको नास्ता लोभलाग्दो थियो । हामीहरू तस्विर खिचेर गाडीबाट ओरालो लाग्यौँ ।
हाम्रा चालक पुतबहादुर गुरुङ् ‘कान्छा’ले फर्कँदा गाडी फँस्न सक्ने सङ्केत गरे । जे होस् हामीहरू त्यस बेलासम्म खनिएको ‘रोड हेड’ सम्मै पुगेर उत्र्यौँ । अब हाम्रो पदयात्रा सुरु भयो । पैदल हिँड्दै जाँदा डोको नाम्लो देखेर प्रमुख जिल्ला अधिकारीले बोकी टोपलेको फोटो खिचाउनु भयो । मलाई भने केटाकेटी हुँदै बुवाबाट चुइया-कोत्राको काम सिकी डोको, नाम्लो बुन्दा चुइयाले औँलामा उचेरा गएर हात धुँदा भबाएको/चहर्याएको क्षण स्मरण भयो । उस्ता दिन यस्ता भए भन्ने कल्पनाको दहमा पौडँदै गर्दा हामी कार्यक्रम स्थल पुगेछौँ । गेटभित्र हिँड्ने बाटोको दायाँ-वायाँ सेता, राता रिवन झुण्ड्याएर सजाइएको, बाटोमा त्रिपाल ओछ्याएर त्यसमाथि कुर्ची मिलाइएको र पूर्वोत्तर मुख गरी “बारपाक-लाप्राक-माछाखोला मोटरबाटो खर्च सार्वजनिकीकरण समारोह” लेखिएको ब्यानर टाँगिएको, हजार-बाह्रसय जनासम्म अट्ने चौरमा बुढाबुढीदेखि बालबच्चाका आमाहरू अनि युवा जमातदेखि बालबालिकाहरूसम्मको उपस्थितिले यथार्थमा जमघट रमाइलो लाग्यो । हामी पुग्दै गर्दा कार्यक्रम सञ्चालक – गाउँ विकास समितिका सचिवले सबैलाई अतिथिहरूको सम्मानमा तालीमारेर कर्तलध्वनि सिर्जाउँदै ‘लौ अब प्रमुख र विशेष अतिथिहरूबाट रिबन काटेर प्रवेश गरी कार्यक्रमको उद्घाटन गरिदिनु हुन अनुरोध गर्दछु, त्यसपछि लाप्राक गाउँको अवलोकन गरेर फर्केपछि यहाँको औपचारिक कार्यक्रम सञ्चालन गरिनेछ’ भन्ने उद्घोषण अनुसार मैले र प्रमुख जिल्ला अधिकारीले रिवन काटी कार्यक्रम स्थल प्रवेश गरियो । त्यसैको पश्चिमोत्तर छेउमा खाना पकाइँदै थियो ।
हामीहरूले लाप्राकको स्कुल र गाउँको अवलोकन गर्ने कार्यक्रम रहेकोले लठ्ठीको जोहो मिलाई ओरालो यात्रारम्भ गरियो । २०५१ सालमा ‘योजना तर्जुमा तथा समीक्षा गोष्ठी’ सञ्चालनका क्रममा गुम्दाको कार्यक्रम सकिएपछि लाप्राक आई खाना खाएर यहीबाट बारपाक गएको व्यहोरा स्मरण भयो । सो व्यहोरा सुनेर प्रहरी नायब उपरीक्षकले ‘२०५१ भनेपछि जनयुद्धको सर्भे गर्न आएको भनौँ न !’ भन्दा सबैमा हाँसो छायो । ओरालोमा दुईटा ढुङ्गाहरू देखाउँदै ‘त्यहाँ हतियार उध्याइँदैन तर जब उध्याएको जस्तो लाग्छ तब गाउँमा मृत्यु पर्छ’ भन्ने स्थानीय किम्बदन्ती सुनाइयो । करिब डेढ घण्टाको ओरालै ओरालो यात्रा तय गरी स्थानीय माध्यमिक विद्यालय, लाप्राक पुग्यौँ । माथिबाट नागबेली आकारमा उभिएका छात्र छात्राको दृश्य बहुत रमाइलो देखिन्थ्यो । हाम्रो मोटर बाटो यस्तै नागबेली हुनेछ; अतिथिहरू यस्तै नागबेलीबाट पार गरेर आउनुभयो भन्ने सन्देश दिन त्यसरी उभ्याइएको अड्कल मिल्ने देखिन्थ्यो तर यथार्थता अलि फरक अर्थात् बीचबाट अतिथिलाई हिँडाउने मैदानसम्म रहेनछ, सोझो लाइन मात्रै मैदानमा नअट्ने हुँदा त्यसरी मिलाइएको रहेछ । सयौँ विद्यार्थीहरूको कर्तलध्वनि र फुलमालाको स्वागत ग्रहण गर्दै विद्यालयको अफिस कोठामा गइयो । प्रमुख जिल्ला अधिकारी भन्नुहुन्थ्यो – यस्तो भव्य स्वागत जीवनको पहिलो हो, जुन मेरा लागि पनि साबित भयो । हुन त यस्तै जमातले दुल्लु उच्च माध्यमिक विद्यालय, दैलेखबाट बिदा हुँदा भव्य विदाइ गरेका थिए, जुन व्यहोरा पनि अन्तरमनमा छल्कियो ।
आलुमा प्रख्यात लाप्राक गाउँको पुछारतिर पहिरो गएर गाउँलाई नै जोखिमयुक्त बनाएको रहेछ । चिया र बिस्कुट खाँदै परिचय गर्यौँ । जिल्ला शिक्षा अधिकारीज्यूलाई प्रधानाध्यापकज्यूले ज्ञापनपत्र दिनुभयो । अन्तरक्रियात्मक छलफलमा करिब १ घण्टा बिताएर हामी पुन: कार्यक्रम स्थलका लागि उकालै उकालो रमाना भयौँ । बीचमा आलु र तिलको छोप खाँदै करिब २ बजेतिर मात्र कार्यक्रम स्थलमा पुगियो । खाना तयार भैसकेको रहेछ । खसीको मासु र झोल, तिल मिसाएको मुला र प्याजको अचारसँग भोकसमेत मिसिँदा वास्तवमा अति मिठोसँग भोजन ग्रहण गरियो ।
खाँदा खाँदै सूर्यलाई कुहिरोले ढाक्यो । हामीहरू कार्यक्रम सञ्चालनमा सरिकियौँ । चिसोले आफ्नो साम्राज्य फैलाउँदै हामीलाई अतिक्रमण गर्न थाल्यो । हुस्सु र कुहिरोले त्यही कार्यक्रम स्थलमै सबैलाई देख्न नसक्ने बनायो । रोमाञ्चकारी स्वागत गीत र नृत्यहरू अनि बयोवृद्धहरूको संलग्नता र सक्रियताले त्यहाँ यो नै हालसम्मको बृहत कार्यक्रम रहेको तथ्य प्रमाणित गर्दथ्यो । हुन पनि सबै दलका जिल्ला स्तरीय नेतागण, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी नायब उपरीक्षक, जिल्ला शिक्षा अधिकारीको एकैचोटिको उपस्थिति यो नै पहिलो भएको व्यहोरा लाप्राक स्कुलकै कार्यक्रममा अवगत गराइएको थियो । सबैलाई स्वागत गरी त्यहाँ पुगेका मोटर गाडीहरूलाई समेत माला र खादाले स्वागत गरिएको थियो । हुन पनि मान्छेका पिठ्युँले एकुण्टा गरी बोकेर लग्नुपर्ने साना जलविद्युत्का पाइपहरू ट्रकले एकै ट्रिपमा वहीँ पुर्याइदिएको थियो । फेरि टेलिभिजनको सुविधा उपभोग गर्नसम्म नपाएका बालबालिकाहरू र मोटर गाडी पनि नदेखेकाहरूलाई यो एउटा ठुलै उत्सवको रूपमा प्रतीत हुनु आफैँमा स्वभाविक देखिन्थ्यो । चिसो अत्याधिक बढ्दै गएकोले र अन्य गाडीहरू, जेभिसी समेत अघि बढेकोले हामीहरूलाई ‘चाँडै फिर्ता हुन पाए’ भन्ने लाग्दा मैले र प्रमुख जिल्ला अधिकारीले संक्षिप्त मन्तव्य राख्ने राय गरियो । जे होस् ४ बजेतिर कार्यक्रम समापन गरी बारपाकतर्फ यात्रा आरम्भ भयो । बारपाक फर्कनेहरूमा हामी नै सबैभन्दा पछि थियौँ ।
पाँच मिनेट जति उकालो चढेपछि बाटो अवरुद्ध भएको पाइयो । विविध प्रयासहरू विफल भएपछि जेभिसीलाई मगाउन पठाइयो । हामीहरू गाडी भित्रै थियौँ; चिसो अधिक थियो; कार्यक्रम स्थलबाट छुट्ने बेलाको कफीपानमा कल्पिएको व्यहोरा खस्दा भीमाले सुनिरहेकी रहिछन् । कान्छा भाइ आउँदा उनकै खाम भाषामा के के कुरा पो गरिन् ? भित्र मिठो तिनपाने भरिएको युरोकोलाको बोतल अनि उसिनेको आलु खाने कि सर भनेर कान्छाले आलु उपलब्ध गराएपछि हाम्रा लागि ठन्डी हरण गर्ने टोनिक र अर्नी दुवै प्राप्य भयो । मिठा हँसिमजाकका अनौपचारिक कुराकानीसँग सहजभावले समयानुकूल हात पारिदिएका वस्तुहरू उपभोग गरी शरीरलाई चाहिने बराबरको क्यालोरी आपूर्ति गरियो । जेभिसी पनि आएर खन्नेतिरको (डिगर) भागले गाडीहरूलाई धकेलेर त्यहाँबाट अघि बढायो । वास्तवमा बिहानै कान्छाले भनेजस्तै नयाँ माटो अनि अरू पाँच सातवटा गाडी कुदेर बनेका खाल्टामा सबै टायरका खुबिल्टाहरू टालिने अवस्था हुँदा चिप्लिएर अघि बढ्न नसकेर हाम्रै गाडीहरूलाई भन्ज्याङसम्म निकाल्न पनि सकस भयो ।
कतिपय ठाउँमा त ओर्लिएर गाडी धकेल्नु पर्ने कार्य पनि जीवनमा पहिलोपल्ट सम्पादन गरियो । होस्टे-हैँसेका चर्का आवाजसँग गाडी धकेल्दा आफ्ना जुत्ता, पाइन्ट हिलाम्मेप्राय: भए । वरिपरिका रुख बिरुवाहरूले खिसी गर्दै ‘तिमीहरू सहरिया भएपछि, सरकारी जागिरे भएपछि हामीसँगको सम्बन्ध विच्छेद गर्यौँ । तर हामीले नै प्रदान गरेका अनाजहरू खाँदैछौ र हाम्रै मातृभूमिमा पैदल नहिँडेर पैया गुडाउँदै छौ…’ भनेर जिस्काएको महसुस भयो । साथीहरूले ‘भट्ट खाने सर ?!’ भनेर दिनुहुँदा थप आनन्द मान्दै निकोटिनमा आगो झोसी वायुमण्डल धुवाएर पनि ठन्डीलाई हरण गर्न असफल प्रयासहरू भएको सम्झनाले अहिले पनि शर्मालु बनाउँछ । अन्तत: दुई तीन घण्टाको प्रयासको परिणाम हामीहरू भन्ज्याङ निस्क्यौँ ।
गाविस सचिव, उपभोक्ताका अध्यक्ष लगायत जेभिसीमा झुन्डिएका ससाना केटाकेटीहरूलाई अन्तर हृदयबाट सफलताको कामनासँगै धन्यवाद प्रकट गरेर हामीहरू बारपाकतिर ओरालो लाग्यौँ । ओरालोमा ‘त्यो जाडो, हिलो, अँध्यारो नभनी विद्यालयमा पढ्ने केटाकेटीहरू अब रातारात घर पुगेपछि आ-आफ्ना घरमा गाडी, मोटर, जेबीसीको बारेमा बताउँदै भरखरैका प्रयासहरूको सप्रसङ्ग व्याख्या गर्नेछन्; घरका श्रोताहरूले पनि आफूहरू मेलापात गएकोले त्यस्ता चिज देख्ने अवसरबाट वञ्चित भएको ठान्दा हुन्; अब त बाटो माछाखोलासम्म पुग्ने भएपछि त भोलि-पर्सि पनि देख्न मात्रै किन चढ्न पनि पाइएला भनी चित्त बुझाउँदा हुन्’ जस्ता काल्पनिक व्यहोराहरू मन्थन भए । फेरि ‘म त आउने थिइन, यही चाल हुन्छ भन्या भा’ भन्ने गीत सुन्दै त्यसका सबै हरफहरूका विषयमा चिन्तन मनन गर्दै अन्तत ९ बजे बारपाक पुगियो ।
हरि घले दाइ पैदल हिँडेर जितजीकोमा आई हाम्रा लागि बारपाक कफी बनाउन लगाई प्रतीक्षा गर्नुभएको रहेछ । मुला, प्याज, मटरमा तिलको छोप मिसेको बहुत मिठो अचारसँग युरोकोलाको निरन्तरता दिन थाल्यौँ । प्रसङ्गमा मैले फिलिमसम्मको यात्राका सिर्जनाहरू सुनाउँदो भए । अन्तत: खाना खाई भोलि बिहान ठिक ७ बजे गोरखाको लागि फिर्ता रमना हुने सल्लाह गरी नेपाली कांग्रेस गाउँ समिति, बारपाकका सभापतिको घरमा हिजोजस्तै रामशरणजी र म गई आराम गर्यौँ ।
१३ गते मङ्गलबार बिहान ७ बजे हामीहरू पूर्ववत गोरखा सदरमुकाम फिर्ता रमना भयौँ । अस्ति जाँदा राति भएकोले बाटो अड्कल भएको थिएन । नयाँ बाटोमा ढुङ्गाहरू निकालिएको, एक घनमिटरका चट्टा बनाई उस्तैपर्दा गाडी पास हुन पनि गाह्रो पर्ने अवस्था रहेको तर गाविस/जिविसले कुनै कारबाही वा करारोपण नगरेको पाइयो । परिणाम तल पुगेर चिया नास्ता खाँदा करको दायरामा ल्याउनुपर्ने र अटेरीलाई सख्त कारबाही गर्नुपर्ने व्यहोरा अनुमोदन गरियो । एघार बजेतिर कार्यालयीय आवासमा पुगी ‘फ्रेस’ भई खाना खाएर पूर्ववत् कार्यालयका काममा सरिक भएँ । यसरी गोरखाबाट माछाखोलासम्म जाने गाडीको मोटरबाटो अवलोकन गरी खर्च सार्वजनिकीकरण कार्यक्रममा सरिकिई गाउँलेहरूको मायालु आत्मीय स्वागत सत्कार ग्रहण गर्दै माछाखोला गाडी पुग्दाको दिनको यात्रा स्मरण अन्त्य गरेँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०६८ मार्ग १४ गते बुधबार
हरमटारी, गोरखा ।










