गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएकाे छ ।
भाेली मङ्गलवार दिउसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मङ्गलवार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बुधवार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागकाे केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।
बिहीबार देशभर साधरणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।


