गाेरखा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा सतर्कता बढाएको छ ।
सर्वसाधारण नागरिक दशैं लगायत चाडपर्वको उल्लासमा व्यस्त रहेका बेला हुन सक्ने मानबिय र भौतिक क्षतिलाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले हात्ती प्रभावित क्षेत्रमा निगरानी र निरन्तर गस्ति बढाएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह प्रबक्ता शैलेन्द्रा थापाले जानकारी दिए ।
उनका अनुसार चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान बेलुका झिसमिसे तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले गाउँ गाउँमा पुगेर माइकिङमार्फत नागरिकलाई सचेत गराइरहेको छ ।
टोलीले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको हाे ।
पाकेको धानबाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम सामना गरिरहेका झापावासीलाई हात्तीसँग जम्काभेट भएमा नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न तथा सुरक्षित स्थानतर्फ जान सशस्त्र प्रहरीले माइकिङ मार्फत अनुरोध गरेको छ । साथै गाउँमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल गर्न र उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिनसमेत आग्रह गरिएको सह प्रबक्ता थापाले बताए ।
हात्तीको आवतजावत र सम्भावित जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको समेत उनले जानकारी दिए ।
हात्तीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसँगै स्थानीय बासिन्दालाई सचेत गराउने कार्यलाई निरन्तरता दिइएको छ । सशस्त्र प्रहरीले आफ्नो घर, गोठ तथा आँगन वरपर हात्तीले मन पराउने खालका खानेकुरा नराख्न वा त्यस्ता बोटबिरुवाहरु सकेसम्म नरोप्न, रातको समयमा घर आसपास उज्यालोको व्यवस्था गर्न तथा बाक्लो झाडी सफा राख्नसमेत अनुरोध गरेको छ ।
हात्ती प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीले उपलब्ध स्रोतसाधन परिचालन गर्दै स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गरी हात्तीको निगरानी, सूचना आदानप्रदान र जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाइरहेको बताएको छ ।
सशस्त्र प्रहरीले हात्ती गाउँमा प्रवेश गरेको देखेमा वा कुनै समस्या परेमा तत्काल सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।


