तिलक पाैडेल
आज म धेरै समयको अन्तराल पछि केही लेख्न थाल्दैछु । वास्तवमा व्यस्तताको आडमा पन्पिएको आलस्यता यसको मूल/खाटी कारण हो भने आत्मानुशासनमा भएको स्खलनता पनि कम आँक्न मिल्दैन । वास्तवमा जसका लागि पनि दिन र रातको लम्वाइ २४ घण्टाको नै हुन्छ । जसले त्यो समयलाई योजनाबद्ध रुपमा सदुपयोग गर्न सक्छ, तब नेपोलियनको शब्दकोष (जसमा ‘असंभव’ शब्द थिएन रे !) उसको जीवनमा प्रयोज्य देखिन्छ ।
छ घण्टाको औषत सुताइपश्चात् उठेर करिव १ लिटर पानी पिई मनपर्ने लोकधूनमा कम्मर मर्काई दिसा च्यापेपछि कुनै पुस्तक साथ लिई २/४ पाना पढ्दै शौच निवृत्त हुँदाको आनन्द छुट्टै किसिमको हुन्छ । तत्पश्चात् स्नानका नाउँमा चिसो पानीले सम्पूर्ण शरीरलाई भिजाई कोठामा आएर सामान्य योग – प्राणायाम गर्यो; त्यसपछि हिज्जसोबाटै भिजेका नरिवल, खिसमिस, काजू, छोहडा आदि चीज कपडा लगाउँदै खाँदाको क्षण पनि अविस्मरणीय हुन्छ ।
मानौँ ५ बजे उठी ५:३० सम्म स्नानादि कृत सकी कोठामा पसी ६:०० सम्म योग-प्राणायामी क्रियाकलाप सञ्चालन गरेर ६:१५ सम्म भिजाएका चिजबीज खाई कपडा लगाई करिव ३०-४५ मिनेटेको प्रातकालीन नि:शुल्के यात्रामा निस्कँदा प्राय: अनुपम आनन्दानुभव भएको हुन्छ । सरस्वती स्तोत्र, मनोकान्ति गीत गुन्गुनाउँदै हिँड्दाको आनन्द पनि मननयोग्यै ठहर्छ । प्रात:कालीन हिँडाइबाट फर्केपछि भेटारुहरूलाई भेट्यो, चिया पियो, कम्प्यूटरमा काम गर्यो । दिनमा पनि तयारी कार्य योजना अनुरूपका काममा सरिक भयो । कार्यालयीय समयपछि कोठामा फर्की कपडा फेरेर हातमुख पखाली नास्ता खायो । साविकका लेखनीहरूलाई ‘कम्प्यूटराइज्ड’ गर्यो । सात्विक खाना खाएर पुनः केही पढ्ने – त्यो पनि टिपोट सहित, नत्र यही लेख्ने – जुन हरेक सप्ताहमा एकपटक अनिवार्य हुने गर्थ्यो र करिव ११ बजेको हाराहारीमा मस्तिष्कमा पूरा दिनको पुनरावलोकन गर्दै विस्तारामा आराम गर्यो । हो ! यस्तै कृतहरूको नियमित अबलम्बकहरूमध्ये म पनि एक हुँ र करिब १ महिनाका नियमितताहरू नियाल्ने हो भने “थिएँ” भन्दा हुने भएछ । धन्य ! साँझको विस्तारामा जवाइ ११ कै करिबमा हुने गर्दैछ, स्थूल शरीर अल्छि गरेपनि आन्तरिक कृतहरू सम्पादन गर्ने वालाहरू शायद फूर्तिला र नियामक हुँदा रहेछन् क्योर प्रात:कालमा पिशाबले ५ बजेकै हाराहारीमा बिउँझाउँछ । त्यस बिउँझाइपछि पुनः विस्तारामा नफर्कने फूर्तीलाई अचेल टाउको दुखाइ, शनिबार भएकाले ८ बजेतिर नुहाउने विचारले, हिजो अबेरसम्म बसिएछ र ! जस्ता निहुँहरूले जकड्याउँदा फेरि आएर विस्तारामा तातो सिरकभित्र गुट्मुट्याई दिने गरेको छु । जेहोस्, पानी पिउने र विलम्बै भएपनि सामान्य योग प्राणायाममा सहभाग भने दर्शाउने गरेको छु । ६:३० बजे प्रात:कालीन हिँडाइ सकेर बिबिसीको हिन्दी सेवा सुन्ने बानी अचेल ८.३० बजे कोठामा फर्किदा पनि शर्म लाग्न छाडिसकेको महसुस गरेको छु – शायद अन्य व्यक्तिहरूको दैनन्दिक चर्या अझ ८:३० बजे (घाम पर्ने समय) सम्म विस्तारामै ‘बेड टि’ र चुरोट पिउने कृतद्वारा सम्पादित हुने गरेको व्यहोरा जानकारीमा आएर होला ।
कार्यालयीय काममा चुस्तता कायम नरहे पनि विलम्बताले बास मागी सकेको छैन नै तर सन्ध्याकालका कृतहरू म्लेच्छाहारी तामसी भोजनको सेवनबाट भरिभराउ हुँदै गाउने-नाच्ने जस्ता कृतको सम्पादनका कारण दैनिकी समेत भोलिपल्ट बिहान लेख्न पर्ने जस्ता अवस्था आउँदा आज “खेती बिग्र्यो कुनाकानी – मान्छे बिग्र्यो जानाजानी” भन्ने स्मरण यहाँ लेख्ने जमर्को गरेको हुँ । आशा छ – यो लेखनीको क्रम साप्ताहिक रूपमा सञ्चालन पुनः गर्ने छु । कृपया ! अरू महानुभावहरू मजस्तो आफैँप्रति वञ्चना गर्नेको पङ्क्तिमा नउभिनु होला है त !
दुनै, डोल्पा
२०६०/१२/०९, ११.४५ बजे बेलुका ।


