गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा पानी परेको छ ।
जसकाे प्रभावले अहिले कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने छ ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।
आजै राति देशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।
महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा १-२ स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।
भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान समेत महाशाखाले अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।


