एजेन्सी । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ ।
बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र आश्रयस्थलमा सारिएको छ ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले शुक्रबार दिएको जानकारी अनुसार बाढीले गसा जिल्लामा रहेको प्रसिद्ध पर्यटन स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारहरू बगाएको छ । घटनामा हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको खबर प्राप्त नभएकाे बीबीएसले जनाएकाे छ ।
रातिको समयमा आएको बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ । अध्याँरो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न समस्या भइरहेको बीबीएसले जनाएको छ । बाढीले २ वटा बेली ब्रिज बगाएको आशंका गरिएको छ ।
भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ भने बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै सो क्षेत्रलाई खाली गराइएको थियो ।
भुटानको लेम्थाङमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ । सङ्कोश र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ ।
दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ । दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।


