×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

श्वेता खड्काः नयाँ आशा

  •  
  • शनिबार, माघ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्वेता खड्का

    दादा ( श्रीकृष्ण श्रेष्ठ) ठूलो बिरामी भएको थाहा पाएर मैले उहाँसँग विवाह गरेको होइन । तर, उति बेला मिडियामा यही विषयलाई लिएर धेरै चर्चा गरियो । चलचित्र ‘कोहिनुर’को छायांकनअगाडि मात्रै उहाँसँग मेरो भेटघाट भएको हो । करिब तीनचार महिना अघिदेखि नै उहाँलाई सामान्य खोकी लाग्न सुरु भएको थियो ।

    विवाहको करिब एक महिना अघिदेखि उहाँलाई सुक्खा खोकीले बढी नै च्याप्न थालेको थियो । त्यति बेला फिजिसियन शशीकुमार थापासँग उहाँको चेकअप गराउँदा कोल्ड एलर्जी भन्दै उहाँले केही औषधि दिनुभयो । हामीले त्यही औषधि चलाइरह्यौं ।

    विवाहको दिनमै पार्टी भएकाले हामीलाई धेरै नै दौडधुप पनि भयो । सायद, यही थकानका कारण उहाँलाई खोकी लागेको लाग्यै गर्‍यो । यसैले पनि परिवारका सदस्यले हामीलाई एकै छिन पनि छाड्नुभएको थिएन । बेलाबेला दादालाई तातो पानी खान दिएर आराम गर्न लगाइरहेका थियौं ।
    भोलिपल्ट मेरो माइतीबाट मुख हेर्नका लागि आफन्तहरू आउनुभयो । तर, उहाँलाई खोकी निको नभएकाले ममीहरूसँग जानसक्ने अवस्था नै थिएन । ममीले पनि अहिले ज्वाइँलाई सन्चो छैन, १६ दिनभित्र जहिले भित्रिए पनि हुन्छ भनेर जानुभयो ।

    दादाले पहिलेदेखि नै दिल्लीमा चेकअप गराइरहनुभएको थियो । त्यसैले परिवारको सल्लाहमा पुरानै डाक्टरसँग चेकअप गराउन दिल्ली लैजाने निर्णय भयो । विवाहको तेस्रो दिन हामी दिल्लीस्थित गंगाराम अस्पताल पुग्यौं । त्यहाँ नौ दिनसम्म आईसीयूमा राखेर क्याबिनमा सारिएको थियो । लगातार तीन सातासम्म उपचार गराउँदा पनि डाक्टरले कहिले कोल्ड एलर्जी त कहिले निमोनिया भन्थे ।

    स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएपछि उहाँको दाइले डाक्टरहरूलाई ‘किन रोग पत्ता लगाउन नसकेको’ भनेर सोध्नुभयो । यतिमात्रै होइन, आफ्नो शरीरको रोग पत्ता नलागेकाले दादा आफैं निराश भइसक्नुभएको थियो । उहाँले ‘डाक्टर मलाई के भएको छ भन्नुस्, कि मलाई मारिदिनुस् कि रोग पत्ता लगाइदिनुस्’ समेत भन्नहुन्थ्यो । त्यसपछि डाक्टरहरूले अन्य धेरै परीक्षण गरे ।

    मलाई अहिले ‘जीवन छ’ भन्ने लागेको छ । अब केही गर्नुपर्छ भन्ने आशा पलाएको छ । चाँडै नै नयाँ चलचित्र सरु गर्ने सोच बनाएको छु । दादालाई कुनै पनि हिसाबमा चोट पुग्ने काम म गर्दिनँ ।

    कुनै कुनै क्यान्सर अन्तिम अवस्थामा मात्रै थाहा हुने रहेछ । बायोप्सी टेस्टबाट बल्ल उहाँलाई फोक्सोको क्यान्सर लागेको भन्ने पत्ता लाग्यो । परिवारले पहिले त मलाई केही भनेको थिएन । तर, पछि दाइले बच्चालाई सम्झाएझैं सम्झाउँदै मलाई सबै कुरा भन्नुभयो । त्यो सुनेर म बेहोश भएँ । करिब चार घन्टापछि मात्रै होश आएर रुन थाल्दा दाइले रुन दिनुभएन । तिमी रोयौ भने भाइ झन् आत्तिन्छ र उसको उपचारमा गाह्रो हुन्छ भनेर दाइले भन्नुभयो । दाइ भन्नुहुन्थ्यो- हामीले उसलाई केही पनि भएको छैनजसरी सामान्य रूपमै व्यवहार गर्नुपर्छ ।

    उहाँहरूको पूरै परिवार मेडिकल लाइनको भएकाले कुन रोगमा के औषधि प्रयोग गरिन्छ भन्ने सबैलाई थाहा थियो । त्यसैले उहाँलाई औषधि दिँदा पनि बोतल परिवर्तन गरेर दिने भन्ने सल्लाह भयो । उहाँलाई पहिलो किमो पनि त्यसरी नै दिइयो । त्यति बेला उहाँ टेलिभिजनमा कार्यक्रम हेर्दै हुनुहुन्थ्यो । हजुरलाई सन्चो पार्न औषधि दिएको भनेर भुलाउँदै उहाँलाई किमो दिइएको थियो ।

    यसको करिब एक सातासम्म त केही भएन । तर, दोस्रो किमो दिने बेला अचानक उहाँलाई गाह्रो भयो । उहाँको आँखाबाट आँसु बगिरहेको थियो । आईसीयूभित्र लैजाने बेलामा गेटमा हात हल्लाएर मलाई बाई गर्नुभएको थियो । त्यति बेला मेरो मन निकै आत्तिसकेको थियो । भित्रैबाट एक प्रकारको निराशा छाइसकेको थियो । दैवको खेल त्यस्तै भयो । दादासँगको अन्तिम भेट त्यही भयो ।

    केही समयपछाडि ‘भाइले तिमीलाई भेट्न खोजेको छ’ भन्दै दाइले आईसीयूमा बोलाउनुभयो । तर, त्यहाँ नहुनुपर्ने घटना घटिसकेको रहेछ । त्यसपछि के भयो ? म नेपालसम्म कसरी आइपुगेँ ? केही सम्झना छैन ।

    उपचारका क्रममा उहाँलाई नदुख्ने औषधि थुप्रै दिइएको थियो । त्यसैले पनि होला, उहाँ मज्जाले गफ गरिरहनुहुन्थ्यो । खाना पनि डाइटिसियनको सल्लाहअनुसारै खानुहुन्थ्यो । उहाँ साई र शिवलाई धेरै मान्नुहुन्थ्यो । त्यसैले बिहीबार मासु खानुहुन्नथ्यो । घटना भएको दिन साउन २४ गते पनि उहाँले म आज मासु खान्नँ भनेर दूध र अन्य खानेकुरामात्रै खानुभएको थियो ।

    आफूलाई क्यान्सर भएको छ भन्ने जानकारी दादालाई नदिने मेरै योजना थियो । परिवारको साथ पाएर उहाँलाई अन्तिमसम्म पनि यो कुरा बताइएन । ‘मलाई कम त हुनुपर्ने, किन के भएको भन्नु न’ भनेर उहाँले डाक्टरहरूलाई धेरैपटक सोध्नुभयो । तर, हामीले नबताउनू भनेकाले डाक्टरले पनि भन्नुभएन । रोग पत्ता लागेपछि डाक्टरले राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि लैजाने सल्लाह दिएका थिए । तर, हामीले उहाँलाई मनोवैज्ञानिक असर पर्छ भनेर बरु उताका डाक्टर यता बोलाएरै उपचार गरायौं, राजीव गान्धी क्यान्सर अस्पतालमा लगेनौं ।

    उहाँको उपचारमा हामीले कुनै कमी गरेनौं । उहाँले दुख्यो भनेको म सहन सक्दिनथिएँ । त्यसैले उहाँलाई नदुख्ने र गाह्रो नहुने सर्तमा जति पैसा खर्च भए पनि औषधि दिनुस् भनेर डाक्टरलाई भनेँ । र, करिब एक लाख ३० हजार रुपैयाँ पर्नेसम्मको एउटै इन्जेक्सन दिइयो । तर, धेरै महिनासम्मको खोकाइ र बढी औषधि सेवनले उहाँको शरीर निकै कमजोर भइसकेको थियो । सायद यसैले, दोस्रो किमो अलि कडा भएकाले उहाँको शरीरले सहन सकेन । दिउँसो ३ बजेतिर किमो दिएको, राति उहाँले संसार छोड्नुभो ।

    उहाँको अवस्था देख्दा म बेलाबेला निकै रुन्थेँ । दाइहरू ‘तिमी कमजोर देखियौ भने भाइ झन् आत्तिन्छ’ भन्नुहुन्थ्यो । त्यसैले रुन मन लागे ट्वाइटेलमा गएर रुमालले मुख छोपेर रुन्थेँ । कहिले बार्दली त कहिले खाना खान गएको भन्दै चौरमा गएर रुन्थेँ । उहाँलाई सबैले चिन्छन् भनेर हामीले अस्पतालमा पनि नाम परिवर्तन गरेर राखेका थियौं । त्यहाँ उपचारका लागि आउने नेपालीले चिन्लान् भनेर मसमेत बाहिर निस्कँदा अनुहारमा मास्क लगाएर निस्कन्थेँ ।

    स्वास्थ्यप्रति उहाँ निकै सचेत हुनुहुन्थ्यो । प्रत्येक वर्ष भारत गएर नियमित रूपमा एकपटक सम्पूर्ण शरीरको चेकअप गराउने उहाँको बानी थियो । लामो समयसम्म नखाई नखाई सुटिङमा व्यस्त हुने बानीले उहाँको ग्यास्ट्रिक बिग्रिएर पेटमा अप्रेसन गरिएको रहेछ । त्योभन्दा बढी त केही भएकै थिएन । रोग पत्ता लगाउनै हामीलाई धेरै समय लागेको थियो ।

    …
    पशुपतिमा भएको एउटा कार्यक्रममा मनीषा कोइराला र म सँगै थियौं । पेट दुख्यो भनेर नर्भिकमा उपचार गराउन जाँदा मनीषा दिदीलाई क्यान्सर भएको पत्ता लागेको थियो । खबर सुनेर मलाई धेरै दुःख लाग्यो । गौशालाको एउटा पार्लरमा काम गर्ने दिदीको छोराको नाकबाट रगत आयो रे । जँचाउन लैजाँदा थाहा भयो- रक्त क्यान्सर भएको रहेछ । उहाँलाई राजीव गान्धी अस्पतालमा लगेर उपचार गरेपछि अहिले निको भएको छ ।

    दशा बाजा बजाएर आउँदैन भन्ने हाम्रो उखानै छ । क्यान्सर पनि खबर गरेर आउँदैन । क्यान्सर जहिले, जसलाई पनि हुनसक्छ । क्यान्सर मृत्युभन्दा पनि डरलाग्दो रोग हो । तर, बिरामीले आफ्नो आत्मबल बढाउँदै लगेर यसलाई जितेका उदाहरण पनि हामीले धेरै देखेका छौं ।

    दादाले अन्तिम समयसम्म यो रोगसँग लड्ने धेरै प्रयास गर्नुभयो । चलचित्र ‘कोहिनुर’को रिलिज मिति पहिले नै तय भएअनुसार साउन २३ गते रिलिज गरियो । उहाँले अस्पतालबाटै म उपचारमा छु भन्ने भ्वाइस बाइट पनि पठाइदिनुभएको थियो । साँझ चलचित्र कस्तो चल्यो भनेर निर्देशक र हलवालाहरूसँग रिपोर्ट मागिरहनुभएको थियो । चलचित्र राम्रो चलेको सुनेपछि निकै उत्साहित पनि हुनुभएको थियो । आफ्नै ब्यानर नेपा मुभिज प्रालिबाट अझै धेरै चलचित्र बनाउनुपर्छ भन्ने सल्लाह गर्नुहुन्थ्यो ।

    घटना हुनु एक दिनअघि उहाँले ‘भोलि मलाई केही भइहाले तिमी जिन्दगीमा धेरै खुसी हुनु, हिम्मत लिएर अगाडि बढ्नु’ भनेर जिस्कनुभएको थियो । ‘मेरो आत्माले तिमीलाई सधैं हेरिरहनेछ, तिम्रो हरेक दुःखमा साथ दिनेछु’ भनेर उहाँले भनेपछि म उहाँको मुठी समातेर धेरै रोएको थिएँ । मैले ‘यस्तो कुरा नगर्नुस्, तपाईंलाई सन्चो हुन्छ’ भनेको थिएँ । त्यस बेला उहाँले ‘खोइ त नि तिम्रो डाक्टरले के भएको भनेर भन्दै भन्दैन’ भन्नुभएको थियो । ‘म तिमीसँग कति कुरा गर्न चाहन्छु तर तिमी रोइरहन्छौ’ भन्नुहुन्थ्यो ।

    उहाँलाई कति कुरा भन्ने इच्छा थियो होला तर म भन्ने बाटै दिन्नथेँ । ‘हजुरलाई केही हुँदैन’ भनेर सधैं हौसला दिने प्रयास गर्थें ।

    उहाँ भन्नुहुन्थ्यो- विवाहलगत्तै मेरै कारणले अस्पतालमा बस्नुपर्‍यो, सरी ।
    म मन थाम्न नसकेर सँगै रुन्थेँ । उहाँ सधैं भन्नुहुन्थ्यो- मृत्यु खबर दिएर आउँदैन, आइहाले पनि नआत्तिनु, तिमी धेरै खुसी हुनु ।

    जे भए पनि विधिको विधानलाई स्वीकार्नैपर्ने रहेछ । म धेरै तनावमा गइसकेको थिएँ । यहाँसम्म कि मलाई अरूले नै नुहाइदिनुपर्ने भइसकेको थियो । एक हिसाबमा म पनि मरिसकेको थिएँ । धेरैजनाको परामर्शपछि मलाई ‘जीवन छ’ भन्ने लागेको छ । अब केही गर्नुपर्छ भनेर आशा पलाएको छ र यो ठाउँसम्म आइपुगेकी छु । चाँडै नै नयाँ चलचित्र सुरु गर्ने सोच बनाएको छु । दादालाई कुनै पनि हिसाबमा चोट पुग्ने काम म गर्दिनँ । उहाँको सपना र इच्छालाई साकार पार्ने बाटोमा अगाडि बढिरहन्छु ।

    (रामकला खड्कासँगको कुराकानीमा आधारित)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.