तिलक पाैडेल
करिब साढे दुईदशक पहिले म डोल्पा जिल्लामा स्थानीय विकास अधिकारीको रूपमा कार्यरत थिएँ । संयोग ANSAB (Asian Network for Sustainable Agriculture and Bio-resources) को आयोजनामा स्थानीय विकास अधिकारी, कार्यक्रम अधिकृत, घरेलु अधिकृत, रेञ्जर गरी हुम्ला, जुम्ला, मुगु, डोल्पा र बझाङ्ग जिल्लाका जम्मा १३ जना र ANSAB कै २ जना गरी जम्माजम्मी १५ जनाको अवलोकन भ्रमणमा म पनि २०५९ पौष २६ गतेदेखि सहभागी भएको थिएँ ।
कार्यक्रमानुसार ११:३० बजे FECOFUN = Federation of Community Forest User’s Nepal को कार्यालय पुरानो वानेश्वरमा गइयो । ६३ जिल्लामा District Level FECOFUN गठन गराइसकेको त्यस संस्थाले Village Level FECOFUN गठन गर्ने सोच राखेको रहेछ । संस्थाकी उपाध्यक्ष अप्सरा चापागाईंका अनुसार हरेक इकाइमा ५०% महिला सहभागिता रहने गरेबाट त्यस संस्थाले महिलालाई मूलप्रवाहीकरण गराएको पाइयो – सामुदायिक वन विकासको क्षेत्रमा ।
त्यहाँबाट १२:५० बजे ANSAB को मुख्य कार्यालयमा गइयो । सहयात्रीहरूमध्येबाट मुगुका घरेलु अधिकृत कमल कार्कीजीले त्यस दिनसम्मको पुनरावलोकन/समीक्षा सुनाउनु भयो भने रामहरी सुवेदी र सूर्यबन्धुले ANSAB का क्रियाकलापबारेमा प्रकाश पार्नुभएको थियो । Bio-Diversity Conservation लाई ANSAB ले आफ्नो Mission मानेको रहेछ ।
æEnterprise demands raw materials related to Bio-diversity, Which ultimately creats owenership to the people for Bio-diversity Conservation.Æ
सोही कक्षमा HBTL = Himalayan Bio Trade (P) Ltd का पार्वत गुरुङ्गले जानकारी गराउनु भयो । वास्तवमा HBTL उद्यममा आधारित सामुदायिक संस्था रहेछ । उक्त संस्थाको जानकारी लिए पछि हामी शान्तिनगर, वानेश्वर निस्केर नास्ता खाई धुलिखेलतर्फ रमाना भयौँ । करिव ५:४५ तालीम केन्द्रमा पुगेर त्यस दिनको याक्रान्त्य गरियो ।
बिसाइको त्रममा केही सहभागीहरूबीच मुगु जाँदाका क्षणहरू स्मरण गरियो । जसमा एकपटक ७/८ जना साथीहरू मिलेर जहाज नपाइएकाले हिँडेर मुगु गएको क्षण स्मरणीय बन्यो । त्यसबेला मैले चुरोट नपिउने सोचाइ राखेकाले जुम्लाको पाथ्रेसाँगुनेर पुगेर चिया पिएपछि त्यहीं बस्दा अरू साथीले चुरोट खाँदा आफूलाई पनि खान मन लाग्ने ठानेर, अघि-अघि हिँडें । तीलानदी तरेपछि, खै के मन भएर हो ? चुरोट खान मन लागी दोकानमा सोधनी गरेँ । एउटी बूढी आमा दोकानमा थिइन् । मैले भनेँ : आमै ! चुक्रि बेचाऊ छिन् ?
दोकानी : नाईं त भाऊ ! बिँडी खादो है ? खोचीको कति गद्दी हौ प ?
– एक हुपिऊँ । दे एक खोची देऊ प !
अनि बिँडी सल्काएर खान थालेँ । दोकानी आमैलाई मेरो भाषा आफ्नै माइतीको जस्तो लागेछ र सोधिन् – काँका भएऊ त भाऊ ? हप गमगढीको हुँ ।
– गम को दराको धेऊ ? स्होरु दराको र्वाईंदिहौ क्या ?
– स्होरु दरा ! को गाउ्कोँ भइ्र धेऊ ? धैनकोटको ।
– न्हँ….! धैन कइको छोट्टे होइ त ? पध्धानको काण्ठो भाइ हुँ त ? तिमी काँकी भएऊ धेऊ ?
– म पन हप लोली (धैनकोटमाथिको गाउँ) की हुँ त । दे यत्तो भैहै, के र्वाईंदी हुँ त ? अँदेइ काँबाट आयौ प ? नेपालगञ्जा गया छियाँ, जानेबोला चिलगाडीथी बाइगिएँ तर आइनेबेला छराको केइ पाइएन । अँदेइ ५/६ जुना गोर्खाली स्हाथलाइकन आया हुँ देखिनौ ? (सुरुवाल र कमेजको पोशाकमा रुकस्याक झोला भिरेको पहिरन ४/५ दिनको हिँडाइले मैलिएको थियो । भाषा मिलेपछि मुगाली भन्न सुहाउँथ्यो)
साथीहरू आए । लौ हेर स्याङ्जाली ! अघि चुरोट नखाने भनेको यहाँ आएर बिँडी तान्दै के-के गफ हाँकिरहेको छ ? भन्दा “हल्ला नगर भो” भनेँ ।
– गोर्खाली भाषा पन उम्तै जान्दो भएहै त ?
– के भन्यो र आमै ? यो त गोर्खाली हो – स्याङ्जाको भनेर साथीहरूले भन्दा पनि “फाक्टा गद्दा हौ” भनेको क्षण वास्तवमा आलियो । एक सीताको पनि मूल्य हुन्छ भन्ने कथा पनि सुनाएँ । अन्ततः खाना खाई जुम्ला जिल्लाका घरेलु अधिकृत – विश्वप्रेम ढकाल (स्याङ्जा, निउवाबोट) साथ आराम गरेँ ।
२७ गते शनिबारको दिन, नित्य साप्ताहिक कर्महरू सम्पादन गरी सबैजना दोलखा तर्फ ८:०० बजे रमाना भइयो । ८:५० बजे दोलालघाटमा पुगेर नास्ता गरियो । चना, अण्डा, आलु र चियाको नास्ता स्वादिष्ट थियो । एकजना मित्रले “मेरा दुईटा आलु र अण्डाको पैसा कति भयो ?” भनी सोधनी गर्दा यौवनावस्थाकी साहुनी रोमाञ्चित भई अनुहारमा लालिमा चढेको दृश्य स्मरणीय थियो । वास्तवमा समान उमेरका विपरीत लिङ्गीबीचको प्राकृतिक प्रतिक्रिया ठहरिन्थ्यो – त्यो क्षण । हामी धुलीखेलबाट खावा, केराघारी, तिनपिप्ले, तामाघाट, पाँचखाल, लामीडाँडा, बाउन्नकिलो, चौवन्नकिलो हुँदै दोलालघाट आएका थियौँ । त्यहाँसम्म हामी इन्द्रावतीको तीरतीरै यात्रा गरेका थियौँ । खोलामा उत्खनन गरिएका ढुङ्गा र बालुवाका थुप्राहरूले वातावरण संरक्षणको हिस्सी उडाएको प्रतीत हुन्थ्यो भने न्यून आय भएका, बेरोजगारहरूलाई सहज आयको स्रोत बनेको जस्तो लाग्दथ्यो ।
जेहोस्, दोलालघाटबाट इन्द्रावतीको पुल तरी हामी काभ्रे जिल्लालाई छाडी सिन्धुपाल्चोक प्रवेश गर्यौँ । चेरे, सुकुटे, बलेफी, कोथे, अँधेरी हुँदै १०:०० बजे खाडीचौरमा पुगेर खाना खाइयो । तातोपानीबाट नेपाल भित्रिने खासाका उत्पादनको बजार रहेछ – त्यो ठाउँ । केही साथीहरूले जकेटादि खरिद गर्नुभयो ।
११:०० बजे खाडीचौरबाट यात्रा अगाडि बढाइयो । एकसरो बाटो १६ घुम्तीमा घुम्दै ११:३० बजे टुकी संघ सुनकोशी – थुमपाखर निस्कियो । बाटो उकालो पनि थियो, शायद डाँडामा गाडी पुर्याउन त्यत्तिका घुम्तीहरू निर्माण गरिएको होला । समय ठण्डीको भएर हुनसक्छ , विविध उमेर, लिङ्ग, नाता आदिका व्यक्तिहरू विविध खालका कृत सम्पादन गर्दै अन्ततः घाम तापेको देखिन्थ्यो । त्यतिमात्र कहाँ ? निजी आवादीका हुन् रे ! उत्तीस आदिका काठ आह्राले मुठारेर गिँडी पारेका मूढाहरूका चाङहरू समेत घाम तापेको प्रतीत हुन्थ्यो । पहिलै घुम्तीमा ४ जना साथी नाता पर्ने जस्ता पुरुष ठिटाहरू द्यूतक्रीडामा व्यस्त देखिन्थे भने पाहारिलो पाटोमा हजुरामा-नातिनी नाताका जस्ता लाग्ने महिलाहरू मोटर बाटोमा, गाडीको टायर गुड्ने स्थानमा गहुँका बाला र कोदाका कपनीहरू मिलाउँदै देखिन्थे, शायद मोटरबाटो पीच भएपछि आँगनमा सुकाई हातमा ठेला उठुञ्जेल लौराले चुट्ने कार्य विस्थापित भैसकेछ क्यारे ! अर्को ठाउँमा श्रीमान्-श्रीमती नाताका जस्ता देखिने विपरीतलिङ्गी अधबैँसे, पुरुष स्त्रीको काखमा शिर र सूर्यकिरणतिर पिठ्युँ पारेर पल्टेको पनि देखियो । यात अति प्रेमको अभिव्यक्ति वा स्त्रीसेवाको पौरुषीय दृष्टान्त हुनुपर्दछ अथवा श्रीमान् बिरामी परेकोमा डाक्टरले अर्थ्याएको औषधि ख्वाई आफ्नो काखमा सुताइएको श्रीमतीय कर्तव्यबोधको नमूना हुनपर्छ – गाडी बढी गतिमा साइलेन्सरबाट अटाइ-नअटाइ धुँवाको मुस्लो फ्याँक्दै उकालो चढेकाले अड्कल गर्न नसकेर सामान्य लख काटिएको हो । यसरी ११:४० बजे डाँडापाखर हुँदै १२:०५ बजे ज्याठल गाविस वडा नं. ७ सिग्दे हुँदै गुरुमहलीस्थित जडीबुटी एवम् वन पैदावार व्यवस्थापन अन्तर समितिको कार्यालय भवनमा १२:१५ बजे पुगियो ।
वि.सं. २०५२ सालमा सामुदायिक वनको रूपमा दर्ता भई २०५५ सालमा सहकारी संस्थाका रूपमा दर्ता गरिएको सो संस्थाका विषयमा क्षेत्रबहादुर श्रेष्ठले प्रकाश पार्नु भयो । अष्ट्रेलियाद्वारा सहयोग प्राप्त नेपाल कृषि वन परियोजना -NAFP – Nepal Agro-Forestry Project_ ले नर्सरी स्थापना लगायतका क्रियाकलापहरूमा समुचित सहयोग पुर्याई हाल सोही संस्थालाई हस्तान्तरण गरेको पाइयो । साविकमा स्थानीय फौवञ्जारहरूले न्यून मूल्यमा वन पैदावार खरीद गर्ने, जनावरहरूलाई वनमा स्वतन्त्ररूपले चराउन पाइने एवम् जडीबुटीको दुरूपयोग भएकोमा हाल पशुहरूलाई बाँधेर पाल्ने, साविककोभन्दा बढी मूल्य उपभोक्ताहरूले पाउने, संस्थागत रूपमा बजारको खोजी सुगम भएको जस्ता अनुभवहरू सुनाउनु भयो । पहिले तीनतले बाँको भनी महत्त्वहीन मानिने बिरुवा सतुवा पो रहेछ ! “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बींड” भन्ने उखान चरितार्थ भए झैँ आश्चर्य प्रकट गर्नुहुन्थ्यो । हामीहरू त्यहाँबाट २:३० बजे चरिकोटतिर यात्रा बढायौँ । अलि वरसम्म पैदल यात्रा गर्दा ओसेपीला खोँचहरूमा अलैँची लगाएको देखिन्थ्यो । सप्रिएको अलैँची देख्दा हाम्रो नेपालका यस्ता अनगिन्ती खोँचहरूमा यसको खेती गर्न सकिने अड्कल गर्दै अघि बढियो । त्यही बाटोमा १०/१२ वर्षे छोराछोरी साथ लिएर आएकी आमा, बसको आवाजले तर्सिएर सडकको छेउमा (तल खसिन्छ कि ? जस्तो छेउमा) दौडिँदै किनारा लागेको दृश्यले हामीकहाँ कहिले होला डाँडापाखामा यातायातको सुविधा पुग्ने र बस हिँडिरहेकोमा पनि ब्रेक लगाई ड्राइवरले रोकेर मानिसादिलाई मर्नबाट जोगाउनु पर्दछ भन्ने व्यहोराको ज्ञान हुने ? जस्ता प्रश्नहरू मनमा उठ्थे । फेरि संस्थाको परिचय गराउने व्यक्तिहरूलाई चियासम्म सँगै खाऊँ भनेर वल्तिरसम्म आउँदा कालो चियासम्म खान नपाउँदा पुनः मन अमिलो भएको क्षण पनि हामीकहाँ सुधारका लागि धेरै ठाउँ छन् भन्नेमा सहायक देखिन्थ्यो ।
यसरी एक्काइस किलोबाट २:३० बजे हिँडी ३:०० बजे मुढेबजार पुगेर चिया नास्ता गरियो । त्यहाँ खरीढुङ्गाबाट कुँदेर अनेक किसिमका गिलास, खरानीदानी, धुप बिसौनी, धुपौरा जस्ता सामानहरू बिक्रीका लागि राखेको पाइयो । केही सहभागीहरूले खरिद पनि गरे, मैले पनि एउटा कलम बिसौनीका रूपमा प्रयोग गर्ने मनशायले गिलास खरिद गरेँ ।
त्यहाँबाट हामीले वाग्मती अञ्चल छाडेर जनकपुर अञ्चल प्रवेश गर्यौँ । खरीढुङ्गा, बोचा, चरङ्गी, साखिनी, मकैवारी, चोथान हुँदै ५:०० बजे दोलखा जिल्लाको सदरमुकाम चरिकोट पुगियो । एउटै होटेलमा बस्न नअटेपछि सुभेच्छा होटेल र अर्को होटेलमा बाँडिएर बास बस्ने प्रबन्ध मिलाइयो । बाटोमा चरङ्गी (?) वरिपरि हिउँ पनि देखिन्थ्यो, शायद उचाइमै पर्दोरहेछ क्यारे ! डोल्पाको झझल्को अलि ताजा भएर आयो । अर्को आश्चर्य, ढुङ्गाका चट्टाहरू एकदम काला याने काला ढुङ्गाका चट्टा जस्ता देखिन्थे, जबकि नयाँ माटो ढुङ्गो वास्तवमा कालो/काला थिएनन् । सोधनी/जिज्ञासामा शीत र धूलोको संयोजनले कालो भएका भन्ने तर्क प्रतिउत्तरमा प्राप्त हुन्थ्यो । हुन त बाटो उकालो भएर हुनुपर्दछ (साथै साँगुरो पनि) – गाडीको साइलेन्सर पाईपको साइडमा घाँसपात, ढुङ्गोमाटो पनि शायद धुँवाले होला कालै भएको देखिन्थ्यो ।
साँझ, दैनन्दिक पुनरावलोकन गरी खाना खाइयो । पुनरावलोकनका समयमा मैले निम्नानुसारको व्यहोरा Sharing गर्दो भएँ –
यात्राको रमझममा सबै सहभागीहरू झुमेको पनि देखियो ।
इन्द्र्रावतिको किनारमा ढुङ्गा-बालुवाका थुप्रा देख्दा,
कुन्नी (?) बातावरण गुमेको पनि देखियो ।
एक्काइस किलोमा विविध उत्पादन देख्दा,
प्रकृतिले धर्ती चुमेको पनि देखियो ।
खाडीचौरबाट थुम्पाखर निस्कँदा एक्सरो बाटो,
सोह्र ठाउँमा घुमेको पनि देखियो ।
साँच्चै भात लागेकै होला ? खाडीचौरको खाना पछि –
अधिकांश सहभागी उमेको पनि देखियो ।
साथीहरूले कस्तो ठान्नु भो कुन्नी ? व्यहोरा –
तर, वास्तवमा जे-जे देखियो, त्यही-त्यही लेखियो ।
तर, वास्तवमा जे-जे देखियो, त्यही-त्यही लेखियो ।।
रमाइलोसँगै खान खाई, भोलिपल्टको प्रतिक्षाका लागि शयनागारमा आराम गरियो ।
२८ गते आइतबार बिहान उठी प्रात:कालीन नित्यकर्महरू सकाई ६:५० बजे होटेलबाट बाहिरिइयो । अन्ततः ७:०५ बजे चरिकोटबाट भीमेश्वर महादेवको दर्शनार्थ अघि बढियो । ७:२५ मा दोलखाबजार (अभयपुर) हुँदै बसबाट ओर्ली पैदल हिँडेर ७:४० बजे भीमेश्वरको दर्शन गरियो । फर्किंदा म ८ मिनेटमा ७६३ पाइला हिँडेर बस भएको ठाउँमा आइपुगेथेँ । ८:२० मा फिर्ती यात्रा शुरु गरी ८:२५ मा भीमेश्वेर – १ लामपातेमा प्रोपाइटर ज्ञानबहादुर थापाद्वारा सञ्चालित भीमेश्वर नेपाली कागजी उद्योगको अवलोकन गरियो । २०५४ सालमा स्थापित सो उद्योगबाट प्रत्यक्षतः १४ जनाले रोजगारी प्राप्त गरेको पाइयो । नेपाली कागजका लागि लोक्ता (सेतोबरुवा), अर्गेलीभन्दा राम्रो हुने भए तापनि जापानी रुपैयाँ (येन) अर्गेलीबाट बनेको कागजमा छापिइन्छ भन्ने व्यहोराको पनि चर्चा भयो । खासगरी जापान, जर्मन, फ्रान्स, चीनमा नै नेपाली कागज र कागजी पैदावार निर्यात हुने रहेछ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…


