तिलक पाैडेल
धेरै वर्ष पछि म एक्लै हिडे-त्यो बाटो,
शायद गाउँ सुनसान भएछ !
दुई बीसे दुई वर्ष विताएको म,
माध्यमिक स्तरको पढाईमा १६ औ वर्ष यही विताएको म,
हाफ छुट्टीमा पौडी खेल्ने रहको छेउसम्म आज एक्लै आएको म,
पाँच बज्दा जुग्ले आई निस्परवाह घर तर्फ पयर बढाएँ,
सोचाइ नै थिएन बाटोमा मुखबोलाउ नपाइएला भन्ने !?
तर,
आधा घन्टासम्म पैदल यात्रामा एकजनासम्म भेटिन,
सम्भवतः यतिका वर्षमा यो बाटो एक्लै हिंडें म,
शायद गाउँ सुनसान भएछ !
टाढा-टाढा सम्म नियालेँ नराकृति र धून सुन्न,
वरिपरि गौर गरेँ जन्मस्थानमा माया बुन्न,
तर,
वसन्ते अवाइमा पालुवा फेरेका चिलाउनेहरु,
पतझडको मैसम आत्मसात गरेको सालका वृक्षहरु,
बीच-बीचमा ठडिएका तीजु/खल्लुका रुखहरु,
पूर्ववतै उभिएर मलाई साथ दिए झैँ लाग्यो –
नत्र म त धेरै वर्ष हैन अहिलेसम्ममा एक्लै हिंडे-त्यो बाटो !
शायद गाउँ त सुनसान भएछ !
उल्लिखित जङ्गल छातिमा उमारेका उनै परिचित पाखाहरू, तिमेरु हिँड्न गाह्रो भएर मोटर हिँड्ने बाटो ल्याउन हाम्रो अप्रेशन गरियो ।
हेरे! घाउ पाकेर पहिराहरु गएको ?!
तिम्रा जमानाको जस्तो जाँगर कसको छ र अचेल !
धन्य उसैवेलाका पन्छी अनुजहरू यतै वस्दैछन्,
तिमेरु बसाइ सरेपनि हामी यतै र उस्तै छौं-देखेनौ ?
भन्दै ढिकुर कुर्लीरहे झैँ लाग्यो, चिरबिरे आवाजमा,
बीउ कुह्यो ! को स्वर स्पष्ट गुन्जिन्थ्यो ।
बाँकी त एक्लै हिँडेँ म त्यो बाटो –
शायद गाउँ सुनसान भएछ ।
२०६२/१/१३ मङ्गलबार
५.३० बजे, सेम्कीरहको तीरमा ।





















