तिलक पाैडेल
सनातनी रूपमा उपत्यकाका दर्शनीय स्थानहरूमा बिदाका दिन घुम्ने लक्ष्यानुसार आज बालाजु जाने निर्णय गरियो । वास्तवमा म आज स्याङ्जा जाने सोच बनाएको थिएँ, यही असोज २९-३० गते फर्कने हिसाबले । आखिर बिहान डोल्पा सहयोग मञ्चका कार्यालय सचिव लङ्क बहादुर शाही आएर २७-२८ मा सहयोग मञ्चको बैठक अनिवार्य रूपमा राख्नुपर्ने बारे राय गर्नु र सुजीत श्रेष्ठबाट ग्रामीण गरीबी निवारणका लागि पर्यटन कार्यक्रमको २९ गते बैठक भएको व्यहोरा फोनबाट जानकारी दिनुले स्याङ्जा जाने कार्यक्रम रद्द गर्न बाध्य भएँ । जसानुसार आज उपरोक्त बमोजिमको कार्यक्रम अल्पावधिमै तर्जुमा भएको हो ।
खाना खाई सकेर हामीहरू बालाजुका लागि रमाना भयौँ । सनातनीको खिचलो झिक्ने निर्मलाको बानीले आज पनि पूर्ण खुलस्तता दिएन । तापनि कलङ्की चेकबाट मिनीबसमा चढी अघि बढियो । बसका सीटहरूका रेग्जीनका खोलहरू च्यातेका, अश्लिल आकृति एवं शब्दहरू लेखेका व्यहोराले आफ्नै नेपालीपनप्रति घृण जागेर आयो । जेहोस्, बालाजु चक्रपथमा उत्रेर हामीले पैदल यात्रा अघि बढायौँ । बालाजुको बाइसधारा उद्यानको गेटमा पुगेर टिकट लिई प्रवेश गरियो । शायद ०४२ सालतिर त्रिचन्द्रमा अध्ययन गर्दा भतिजा नारायण, रामराजासँग नुवाइ-धुवाइका लागि त्यहाँ गएको थिएँ क्यारे ! तत्पश्चात् आजैमात्र त्यहाँ प्रवेश गर्दै थिएँ । सपरिवार साथै थियौँ । क्रमशः अघि बढ्दै जाँदा सुनौला माछाको खेल (स्वर्ण मत्स्यक्रीडा) देखेर सबै रमाए । पानी फोहार भएको व्यहोरा उपर “पानी सफा भएको भए कति राम्रो हुँदो हो हई बुवा !?” भनेर कान्छो छोराले अबोध व्यङ्ग प्रहार गर्यो । निर्मलाले जलक्रीडास्थल (Swimming Pool) को अवलोकन गर्ने भन्दै थिइन्, त्यहाँ त पौडी खेल्ने व्यक्तिहरूमात्रै जाने हो भन्ने उत्तर पाएपछि हामी रानीवनतिर लाग्यौँ ।
सिमेन्टको जडाइका कारण हिँड्ने बाटाहरू बेठीक भन्न नमिले पनि अनियन्त्रित ढङ्गले तलमाथि गर्ने गोरेटाहरू निर्माण भैसकेका देखिन्थे । दायाँ-बायाँ गरिने नि:सङ्कोच शौचले हरियाली भित्र पनि दुर्गन्ध स्पष्टिएको थियो । युवा जोडीहरू आफ्ना मुटुका स्पन्दन साटासाटमा अधिकाँश ठाउँमा व्यस्त देखिन्थे । हामी सिरानको वनभोजस्थल (Picnic Shed/Spot)मा पुगेर सुस्ताइयो । शौचालयको अस्पष्ट पहिचानले खुला शौचकृत गर्न बाध्य बनाउँथ्यो । वरिपरिको अनियन्त्रित झाडीले सो कार्य पनि असहजै हुन्थ्यो । अनि केही खाद्यवस्तुको खाँचो परे पर्खाललाई अलि होचो पारिएको स्थानबाट सडक पारिका पसलबाट मगाउने गरिँदो रहेछ । हाम्रा केटाकेटीले पनि त्यस्तै कार्यमा सहभागिता दर्शाउँदा भए ।
मैले सोच्न बाध्य भएँ – के यस्ता प्राकृतिक मनोरम स्थलहरूलाई पनि सर्वकालिक बनाउन मिल्दैन वा सकिँदैन ? सदा र जताकतै अव्यवस्थितताको पहिचान नै नेपालीत्व हो त ? हामी पल्लो वनभोजस्थलमा पुग्यौँ, देवताका आकृतिसमेत कुँदिएका थिए । तर पूजाआजा त परै जावोस्, सरसफाइ समेतको अभाव देखिन्थ्यो । मनमा यस्तै असन्तुष्टि खेलाउँदै हामी ओह्रालो लाग्यौँ । तलको ठूलो पोखरीमा पनि माछा र कछुवाहरू जलविहार गरेको घुर्मैलोरूपमा देखिन्थ्यो । बार बन्देज र पोखरीमा कुनै खाद्यवस्तु नफाल्ने सूचना साह्रै पुरानिएको गुनासो गर्दै थिए । भनौँ न आफ्ना जोडीसँग मन बहलाउने नवयुवा बाहेक नवीनतालाई पुरातनले गाँजी सकेको स्पष्ट भएतापनि प्रवेश शुल्क भने असुलिएकै थियो । जतकतैको अस्तव्यस्तता देख्दा त यसको सञ्चलन एवम् व्यवस्थापन निजी क्षेत्रलाई जिम्मा दिने हो भने थोर बहुत राजस्व पनि उठ्ने, पर्यटकहरूलाई पनि हेर्न लायक बन्ने, निजी क्षेत्रले पनि थोर बहुत नाफा आर्जन गरी प्रोत्साहित हुने व्यहोरा दिमागमा स्पष्टियो । यस्तै सोच्दै उद्यानबाट अवकास लिई गेट सम्मुखैको रेष्टुरेन्टमा नास्ता खाई बालाजु यात्रान्त्य गरियो ।
फर्किंदा हाम्रा सामु दुईटा विकल्पमा छलफल भए । एक सानी भर्याङ्ग मीतज्यू – ख्यामनारायण ढकालकहाँ पस्ने र दोश्रो सोझै जाने र स्वयम्भूको भ्रमण गर्ने । दोश्रो विकल्पले सर्वसम्मति पाएपछि हामी स्वयम्भूमा उत्र्यौँ । बुद्धको विशाल मूर्तिको परिक्रमा गरी माने रिंगाउँदै दायाँवर्त गरियो । धेरै नै रहेछन्, हातसमेत गल्यो । अन्ततः आनन्दकुटी विहार हुँदै स्वयम्भूको मूल मन्दिरतर्फ लागियो । यहाँ पनि नवयुवा धड्कनको आवाज एकापसमा सुन्ने क्रम चल्दो रहेछ । आनन्दकुटी विहारको प्राङ्गणबाट छोराछारीले तल हेर्दा विश्रामका लागि राखिएका प्लाष्टिकका कुर्चीहरू देखेछन् र सोधे – बुवा ! ती कुर्चीहरू केका लागि त्यहाँ राखेको ? मैले स्थानवलोकनै नगरी उत्तर दिँदो भएँ – कुर्ची पनि किन राखिन्छ होला भन त ! बस्नलाई हैन ? त्यसो भए त्यहाँ कताबाट जाने त ? वास्तवमा ती कुर्चीहरू त झाडी र झ्याङ्गहरूले ढाकिएका रहेछन् । यदि हरियो रङ्गका हुन्थे भने पक्कै देख्न गाह्रो हुन्थ्यो । तर सुन्तला रङ्गका हुनाले अलि दुरावलोकन गर्ने हो भने पल्लवित पुष्पको झल्को मेटाउने खालका देखिन्थे । जेहोस् वर्षयाममा आवागमन न्यून भएर त्यस्तो भएपनि अब हिउँदका दिनमा त्यो ठाउँ बस्नका लागि उपयुक्त बनाइन्छ भन्ने अड्कलबाजीको उत्तरबाट केटाकेटीको कौतुकी मनलाई थुम्थुम्याई अघि बढियो ।
हाम्रा पुर्खा अर्थात् हनुमानका सगोत्रीयहरूको बोलाबाला थियो । हामी विश्व शान्ति कुण्ड पुगेर सिक्का चढाई शान्तिको कामना गर्दै मूल मन्दिरमा पुगियो । दायाँवर्त गर्न तादी आगो लागेर जलेको भूभागका कारण असम्भव भएपछि बायाँवर्त गर्दै मूल प्राङ्गणतर्फ लाग्दा माने पनि बायाँ तर्फै घुमे – तर एकजना भिक्षु आएर त्यसरी घुमाउन नमिल्ने व्यहोरा जानकारी गराए । हामीले काठमाडौँ खाल्डोको अवलोकन शुरु गर्यौँ । एकजना अग्लो कदको, फ्रेञ्चकट दाह्री काटेको, कानमा कुण्डल लगाएको विदेशी आएर एकजना नेपाली भाइको मनीव्याग देखाउँदै आफ्नै भाषामा निकाल्न भन्यो । भाइले खल्तीबाट झिके, उसले खोल्न भने मुताविक खोले, मैले सोचेँ – बेवकुफ नेपाली ! किन त्यसको थैली चोर्नु परेको ? अनि पैसालाई इशारा गर्दै दिन भन्यो । विचरा भाइले रु.५।- झिकेर दिए । अब मलाई घृणा जाग्यो, साले मगन्ते भिखारी ! स्म्याक, हिरोइन, खाने जस्तो बोर परेको, नेपालीहरूको स्वच्छ मनमा कलुषण भरिदिने पापी….! त्यसप्रति केही भन्न नपाउँदै रु.५।- पाएकोमा खुशी हुँदै अन्यत्र लाग्यो ।
हामी पनि दृश्यावलोकन गर्दै स्वयम्भूनाथको फोटो खिच्यौँ । एकजना जापानीमूलकी देखिने महिलाले पनि मन्दिर सहितको फोटो खिचिदिन अनुरोध गरिन् । मैल क्यामराबाट हेर्दै “You will have no leg …” भन्दा उसले खुट्टा छामेको व्यहोरा छोराछोरीलाई हाँसोको विषय बन्यो । मैले “…in the picture.” भनेर वाक्य पूरा गरेपछि उनले “Ok, Ok …” भनिन् । साँझ पर्न थाल्यो, हामी पनि स्वयम्भूको यात्रा पूर्ण बिराम गरी घर फर्क्यौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०६० आश्वीन २५ गते आइतबार
अमृतनगर, कलङ्की, काठमाडौँ ।




















