तिलक पाैडेल
अस्ति १५ गते कार्यालयीय कामको सिलसिलामा जिल्ला बाहिर जानु परेकोले हिजोको मितिबाट सह-योजनाकार श्री श्यामकुमार थपलियाजीलाई निमित्तको कार्यभार सुम्पेको थिएँ । संयोग हिजो बिहानै वरिपरिका डाँडाहरूमा हिउँपात भएको दृश्यले नयनेश्पर्स गर्यो । पहिला-पहिला आकास बादलिंदा अब हिउँ पर्ने भयो भन्ने मनमा लाग्दथ्यो तर भोलिपल्ट मौसम सफा हुन्थ्यो । आखिर म जिल्ला बाहिर जाने योजना बनाउँदाका दिन (१५ गते पौष) बहुत सफा मौसमको दिनलाई बिदाइ गरेकोमा हिजो बिहानैको मौसमले अन्तरमन हिउँ हेर्ने रहर पूरा हुन लागेको जस्तो परिवेशले आल्हादित बनायो । नभन्दै हिजो दिनभरि र राति कति बेलासम्म हो ? हिउँपात हुँदा, अहिले बिहान करिब आधा फिट जति हिउँ यहिँ दुनैमा छ ।
आत्मानुशासित मेरा नित्य कर्मले हिउँ परेको चिसोमा पनि क्रम अविच्छिन्नताका लागि मेरो स्थूल शरीरलाई शयनागनरमा दीर्घावधि रहन दिएन । परिणमस्वरूप कोठाभित्रका कार्यहरू पूरा गरेपछि म सदा झैँ प्रातःकालीन हिँडाइका लागि कोठाबाट अवकाश लिँदो भएँ । कालिका मन्दिरको दर्शन गरी मिलन पार्कसम्म पुगेर फर्केँ । पारीबाट दुनैको दृश्य हेर्ने रहर पल्हाएको नतिजास्वरूप पुल तरेर भेरी पारीको यात्रा गरेँ । राष्ट्रिय अनुसन्धानका निरीक्षक श्री भीम बहादुर बुढाथोकी, चौधरीजी र घरेलुका सुवेदीजीहरू भेटिनु भयो । बुढाथोकीजीको जीवनको पहिलो अनुभव रहेछ, प्राकृतिक कलुषणहिनताको सफेदपनामा रमाइलो मानी रहनु भएको प्रतीत हुन्थ्यो । म त्यहाँबाट दुनै बोर्डिङ्ग स्कूलमाथि गई दुनै बजारलाई लोचनमार्गबाट मनभित्र लगेर कैद गरेँ, जुन यहाँ उल्लेख्न नसक्नु मेरो कमजोरी हो – सहर्ष स्वीकार गर्दछु ।
जेहोस्, हिँड्दाखेरी गुञ्जिने कुरुम-कुरुमको आवाजले बिस्कुटादि शुष्क बस्तुहरू खाँदाको झल्को दिन्थ्यो, सेतो कनिकाजस्तो बनेको हिमखण्डले वास्तवमा बिना गुलियाको चिनीको झल्को मेटाउँथ्यो । दुनै बजारका घरहरू सल्लाको धूवाँले मैलिएकोमा शर्माएर आज श्वेतघुम्टो ओडेर आफूलाई सफा छु भन्न खोजिरहेको झैँ लाग्दथ्यो । प्रस्तुत परिवेशहरूले मनभित्र कता हो कता, कस्तो हो कस्तो किसिमको रमाइलोपन दिएको भान हुन्थ्यो । क्रमशः रविले आफ्नो किरणहरूद्वारा सेतो च्यादरभित्र गम्भीर अस्तित्व बोकेको प्रतीतिने टाकुराहरूमा स्पर्श गर्यो । म पनि दुनै बजार झर्न थालेँ । सम्झेँ –
उन्चालीस् साल फगुन, नौ गते आज मङ्लबार ।
हिजो राती हिउँ पर्यो, लेख्दैछु त्यसइको सार ।।
भनी २०३९ सालमा मुगु हुँदाको क्षण ! अनि आज पनि यो प्रासाङ्गिकी लेख्ने विचार गरेँ । होटेल ब्लूशीपमा पसेर विश्व वन्यजन्तु कोषका श्री तिलक ढकालजी, श्रीधरजीलाई भेटी फोटा खिचाई कफीपान गरेँ । “अब भने दुनै आक्रमणमा आउने सबै नाकाहरू बन्द भए, २/४ महिनाका लागि ढुक्क भए भो ..” भन्ने साथीहरूको प्रतिक्रियाले झस्कायो । अँ त नि ! यस्तो प्राकृतिक अनुपम सुन्दरतालाई पनि हाम्रो सुरक्षा कवचको रूपमा परिभाषित गर्नु पर्ने वर्तमान स्थितिका सर्जकहरूलाई के संज्ञा दिने होला ? हुन पनि कतिपय रातहरू आफ्नो आवास बाहिर बिते, कतिपय सन्ध्याहरूले सन्त्रस्तताको खोल ओढी निराहार बसाले, पाकेर खाना खान समय लाग्ने हुँदा जीवनलाई मृत्युको दोसाँधमा उभ्याउनु भन्दा बँचेदेखि भोलि खाए भैहाल्यो नि ! भन्दै भान्सेले माड काट्दै गरेको खाना तयारी त्यत्तिकै छाडेर हिँडेको क्षणहरू वास्तवमै अविस्मरणीय छन् ।
नेपाल बैङ्क लिमिटेडको कार्यालय नजिक रहेको हाम्रो आवासघर आक्रमणको अवस्थामा सुरक्षित पनि देखिँदैन । अधिकांश साथीहरू यहाँ नबस्ने राय दिनुहुन्छ । ७/८ वर्षकी सानी छोरीलाई साथै राखेको हाम्रो भान्से – साँच्चै त्यो दिन आफू त हामी सरह भोकै बस्यो नै तर त्यस अबोध छोरीलाई के भनेर भोकै सुताए होला ? के प्राकृतिक यस्तो वैभवसम्पन्न धर्तीमा हामीहरूको नियति नै यस्तै हो भनेर चित्त बुझाउनै पर्ने हो त ?
खैर ! घाम परुञ्जेल त्यहिँ बसेर म आफ्नै आवासतिर आएँ । बीच-बीचमा माटाको छत भएका घरधनीहरू छतको हिउँ फाल्न व्यस्त देखिन्थे । मलाई तरकारी फर्मका काउली देखेर स्वर्गकी परीलाई डाक्न मन लाग्यो –
वरिपरि सेतो हिउँ, बीच्मा बोट काउ्ली,
झर परी स्वर्गबाट, त्यस्कै तिहुन् खाउ्ली ।।
मीठो स्वादको पारखका, गीद तिमी गाउ्ली,
हिउँ लिएर जान सके, हिउँकै छाना छाउ्ली ।।
हिउ्माँ नाच्दै रमाउँदै, पछि फर्की जाउ्ली,
मनोरम दृश्य हेर्न, फेरि-फेरि धाउ्ली ।।
हिउँका लठ्ठी बनेका छन्, आज हाम्रा नाउ्ली,
यो रमाइ्लो हेर्न अन्त, तिमी कहाँ पाउ्ली ।।
अङ्कमाल गर्ने भए, फुकाएर बाउ्ली,
झर परी यै धर्तीमा, यतै माया लाउ्ली ।।
बरु निम्ता सुनाइ्दिनु, कान्छी पनि आउ्ली,
यस्तो रम्य दृश्य हेर्न, तेल्ले कहाँ पाउ्ली ??
साँच्चै राम्रो देखिन्थ्यो – वरिपरिको दृश्यहरू ! आवास कोठामा आउँदा कार्यालयका सहकर्मी साथीहरू फोटा खिच्ने निम्ता लिएर आउनु भयो । कार्यालयका भवनहरूलाई भूमिकामा राखेर फोटाहरू खिचिए । म आएर यो बिहानीकृत लेखेँ । अब नववर्ष २००६ को उपलक्ष्यमा उत्तरी पहाडी संरक्षण आयोजना/विश्व वन्यजन्तु कोष र शे-फोक्सुम्दो राष्ट्रिय निकुञ्जका साथीहरूले दिवाकालीन भोजको आयोजना गरी मलाई पनि आमन्त्रण गर्नु भएकोले त्यतै लाग्ने शुरकसी यसको बीट मारेँ, दिन पनि रमाइलोमा नै बित्ने अभिलाषा राख्दै र सबैमा नववर्षको सुखदोपलक्ष्यमा मनचिन्ते प्रगतिको मङ्गलमय शुभ-कामना व्यक्त गर्दै ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०६२ पुस १७
दुनै, डोल्पा ।




















