गाेरखा । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ ।
यसअघि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका श्रेष्ठलाई महाराजगञ्ज सारिएको हो ।
बिहीबार अदालतबाट म्याद थप गरेपछि उनलाई महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।
प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो । साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन् । उनीबिरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको परिषरले जनाएकाे छ । शुक्रबार प्रहरीले ललितपुरको झम्सीखेल स्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेर सीपीयू र ल्यापटप समेत लगेकाे छ ।
अनुसन्धानको सिलसिलामा कार्यालयमा खानतलासी गरेर विद्युतीय सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोमबार उनलाई सशरीर उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ ।




















