गाेरखा । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ ।
लगातार ४ खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको छ । पोखराले ५ खेलबाट २ अंक जोडेको छ ।
उता सुरुवाती २ खेल जितेर राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार ब्यहाेरेकाे छ । यसले टोलीको प्लेअफ यात्रामा समेत धक्का लागेको छ । कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ । कर्णाली ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।
पोखराले दिएको यस सिजनकै सबैभन्दा ठूलो २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि पवन सर्राफले ३० बल खेल्दै १ चौका र २ छक्काकाे मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले १३ बलमा समान २ चौका र २ छक्का मदतमा २४ रन बनाए भने दीपक डुम्रेले आक्रमक ब्याटिङ गर्दै ७ बलमा १ चौका र ३ छक्का मदतमा २२ रन जोडे ।
कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी एनपीएलकै दुर्लभ विकेटका रुपमा आउट भए । १५ ओै ओभरको अन्तिम बललाई २ पटक प्रहार गरेपछि सोमपाल अब्सट्रक्टिङ फिल्डको रुपमा आउट भएका हुन् । सूर्य तामाङले १३ रन जोडे ।
बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर जिशान आलमले खाता खोल्न सकेनन् भने मार्क वाट ८, डेभिड मिलर ७, गुल्सन झा २, नन्दन यादव ३ रनमा आउट भए । युवराज खत्री १ रनमा अविजित रहे ।
कर्णालीलाई अलआउट गर्न पोखराका लागि धनन्जय लक्षणले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । धनन्जय लक्षण र कुशल भुर्तेलले समान २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि युवराज सिंह सम्राले यस सिजनकै पहिलो शतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
याे सिजनमा २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो ।


