गोरखा । हिन्दु नेपालीहरुको दोस्रो महान चाढ तिहारको अवसरमा खेलिने देउसी–भैलो खेल रातको ९ बजेसम्म मात्र खेल्न पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर रातको ९ बजेसम्म मात्र देउसी–भैलो सञ्चालन गर्न अनुमती दिएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जारी गरेको सूचनामा आसन्न तिहार तथा छट जस्ता चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहना विरुद्वका क्रियाकलाप तथा समाजमा अशोभनिय कार्य नगरी स्वतन्त्र र खुशीयाली पूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्ष एवम् अमनचयनको अवस्था कायम गरी राख्न समेत अनुरोध गरेको छ ।
चाडपर्वका बेला पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री विरतरण तथा प्रयोग नगर्नु नराउनु भन्दै प्रशासनले जारी गरेको सूचनामा मादक पदार्थ सेवन गरी शान्ति एवम् सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झै–झगडा गर्ने जस्ता कार्य गरेमा कानून अनुसार कारवाही गरिने भनिएको छ ।
भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधीले समाजमा अशान्ति एवम् अशोभनिय हुने हुदा त्यस्ता कार्य नगर्न तथा अखाद्य र्रग मिलाईएका मिठाई, झिलाङ्गे रोटी जस्ता अस्वस्थ्य र गुणस्तरहीन खाद्य बस्तु विक्री वितरण नगर्न, म्याद गुज्रेका भाईमसला, प्लाष्टिक जन्य फुलमाला विक्री वितरण समेत नगर्न भनेको छ ।
नेपालीहरुको विभिन्न चाडपर्वका विविधता विचको एकता कायम राख्न र आपसी सहयोग र सद्वभावको भावना जागृत कायमै राख्न भन्दै दिपावली, छठ तथा नेपाल संवत जस्ता चाडपर्वको शुभकामना समेत ब्यत्त गरेको छ ।



