गोरखा । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३-०८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ ।
चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार बैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ । त्यसैगरी कोशी, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशबाट समेत पटका बरामद गरिएको छ ।
थापाका अनुसार मधेस प्रदेशमा ७४ लाख ३१ हजार ९०९ रुपैयाँ, कोशिमा ११ लाख ४९ हजार ३५० रुपैयाँ, लुम्बिनीमा १८ लाख ३२ हजार २१२ रुपैयाँ, बागमतीमा २ लाख ३५ हजार र सुदुर पश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३९८ रुपैयाँ बराबरको पटका बरामद भएको छ ।
सशस्त्र प्रहरीले पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको पटका थप बरामद भएको छ ।
तिहार तथा छठ पर्वका समयमा अवैध रूपमा पटका भित्र्याउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ ।
अवैध पटका प्रयोगले आगलागी, जनधनको क्षति तथा वातावरणीय प्रदूषणको जोखिम बढाउने भएकाले यसको नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई निरन्तरता दिएको सहप्रवक्ता थापाले बताए ।


