साँकेतिक तस्विर
गाेरखा । जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ जनामध्ये ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप २ जना पक्राउ परेकाे डाेल्पा प्रहरीले जनाएकाे हाे ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी बन्दी हुन् ।
यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियार पक्राउ परेका थिए ।
कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए । यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेका थिए ।
भागेकामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी २ कैदीबन्दीको ब्यापक रुपमा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


