मणि शर्मा
वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताएका थिए, तर उनका पार्टी अध्यक्षले अहिले समय नआएको भन्ने प्रतिक्रिया दिएको खुलासा पनि गरेका थिए । बल्लतल्ल मन्त्रिपरिषद् बैठकमा एकता दिवस मनाउने प्रस्ताव त आएको थियो तर सञ्चारमन्त्री रहेका मीनेन्द्र रिजालको विरोधका कारण तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले त्यो प्रस्ताव पारित गराउन सकेनन् ।
ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री शक्ति बस्नेतले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव राखे, तर पुष्पकमल दाहालको विरोधका कारण उक्त प्रस्ताव पारित हुन सकेन । अहिले प्रमुख दलका दोस्रो तहका नेताले पृथ्वी जयन्ती मनाउनुपर्ने आवश्यकता देखाउँदै उक्त दिन सार्वजनिक बिदा दिने कुरा मन्त्रिपरिषद्मा उठाउँदा फेरि दाहालले विरोध गरे ।
ओली सरकारले ख्रिस्तानलाई मात्र क्रिसमसमा बिदा दिएकोमा पश्चिमा शक्तिको आदेशमा दाहालले क्रिसमसमा सार्वजनिक बिदा दिन हुने तर जसको नेतृत्वमा नेपालको एकीकरण सुरु भयो उनीप्रति श्रद्धा व्यक्त गर्न मानेका हैनन् कि राजतन्त्र फर्किने डरले डराएका हुन् ? नेपाल एकीकरण गर्ने यिसुख्रिस्ट कि पृथ्वीनारायण ?
पृथ्वीनारायणलाई राष्ट्र निर्माता मात्र नभएर राष्ट्रपिता घोषणा गर्दै उनको जन्म जयन्ती मनाउनुपर्छ । उनको सम्मानमा सरकारी बिदाको घोषणा गर्नुपर्छ, तर कृतघ्न नेताहरूको हातमा सत्ता गएपछि नेपालीको गौरवपूर्ण इतिहासलाई मेट्ने काम भइरहेको छ । पृथ्वीनारायणको दिव्योपदेशलाई अनुशरण गरेको भए राजसंस्था त ढल्ने थिएन, नेपाल पनि आज गरिब हुनुपर्ने थिएन, न त विदेशी हस्तक्षेप नै बढ्ने थियो ।
राष्ट्रिय चेतनाका पिता
लिच्छवीकालमा यो हिमवत्खण्ड नेपाल नामले परिचित थियो र यसको क्षेत्रफल पश्चिम पन्जाबदेखि काम रूप (असम) सम्म दक्षिण पटनादेखि इलाहावाद हुँदै यूपीको बहराइच जिल्लासम्म थियो । यसको उत्तराद्र्धकालमा यो ससाना राजनीतिक एकाइमा टुक्रिन थाल्यो । मध्यकालको सुरुमा पुनः ठूलो भयो, तर यसको उत्तराद्र्धतिर राष्ट्रिय भावनाको अभाव र सुदृढ राजनीतिक प्रणालीको अभावमा यो ससाना राजनीतिक एकाइमा विभाजित हुन गयो ।
लिच्छवीकालमा द्वैध शासन प्रणाली र सामन्तको व्यक्तिगत महत्त्वाकांक्षाले राष्ट्रिय चेतनाको लोप हुँदै गएर विशाल नेपाल टुक्रिने अवस्थामा पुग्यो । साना एकाइहरूबीचको आपसी द्वन्द्वले विदेशी तथा ख्रिस्तानहरूलाई नेपाल निम्त्याउने मौका दियो । भक्तपुरका राजा रणजित मल्लले ख्रिस्तान पादरीलाई यहाँका जनताले आफूखुसी ख्रिस्तान धर्म अँगाल्न चाहेमा धर्म परिवर्तन गराउने अधिकार प्रदान गरे ।
कान्तिपुर नरेश जयप्रकाश मल्लले केपुचिनलगायतका पादरीलाई ख्रिस्तान धर्म प्रचारको लागि बगैंचासहितको दुईतले चौधरा भवनसमेत दिएका थिए । विभिन्न राजनीतिक एकाइबीचको कलहले नेपाल, नेपाली र हिन्दु धर्मकै अस्तित्व लोप हुने अवस्था आएको थियो ।
युगद्रष्टा पृथ्वीनारायणले यी सबै कुरा नजिकबाट बुझे । उनले नै सर्वप्रथम यो ऐतिहासिक तथ्य आत्मसात गरेका थिए कि नेपाल भन्ने शब्द केवल एउटा राजनीतिक एकताको प्रतीक मात्र होइन, अपितु यो चार जात छत्तीस वर्णको रीतिथिति, आचार-विचार, धर्म-संस्कृति, सभ्यता, परम्परा आदि गौरपवपूर्ण निधिलाई आत्मसात् गर्दै राष्ट्रिय एकताको पर्याय बनेको छ ।
कान्तिपुर, भक्तपुर, गोरखा, तनहुँ, लमजुङ आदि भूगोल र सेन, मल्ल, लिम्बू, किराँत आदि जातिविशेषको नामका आधारमा राजनीतिक एकाइ खडा हुँदा यहाँ विदेशी तथा ख्रिस्तानको अतिक्रमण भएर नेपाल भन्ने शब्द नै हराएर जानेछ । यिनै कारणले उनले राष्ट्रिय एकीकरण अभियानद्वारा राष्ट्रिय चेतनाको जग बसालेका थिए । जातीय वा भूगोलका आधारमा बनाउने संघीयताले विदेशी हस्तक्षेप बढाउँदै देशलाई टुक्राउने कुरा पृथ्वीनारायणले उहिल्यै बुझिसकेका थिए ।
पृथ्वीनारायणले चाहेको भए यो हिमवत्खण्डको नाम आफ्नो पुख्र्यौली राज्य गोरखाको नामबाट राख्न सक्ने थिए । तर उनले यसो गरेनन् । प्राचीन ग्रन्थ र इतिहासमा यो हिमवत्खण्ड नेपाल नामले सुपरिचित भएको र नेपाल शब्दले हिमालदेखि तराईसम्मको सबै जाति, धर्म, सम्प्रदाय, संस्कृति र परम्परा आदि सबैको प्रतिनिधित्व गर्ने हुनाले यो हिमवत्खण्डको नाम नेपाल नै राखे ।
चार जात छत्तीस वर्णको फूलबारी
पृथ्वीनारायणले दिव्योपदेशमा भनेका छन्, ‘मुलुक होइन सबै जातको फूलबारी हो सबैलाई चेतना भया ।’ उनले विभिन्न जातका फूलहरूको माला भनेनन् । फूलबारी भन्नु वा माला भन्नु एउटै जस्तो लागे पनि एउटै होइन । माला बनाउन फूलहरू चुँड्नुपर्छ । फूलले आफ्नो धरातल छोड्नुपर्छ । सुइरोले धागोमा उन्दा सुइरोको घोचाइ पनि सहनुपर्छ । माला गाँस्दा कुनै फूल तल त कुनै माथि हुनुपर्छ । फूलहरू मालामा बन्दीको अवस्थामा रहनुपर्ने बाध्यता हुन्छ । माला लगाउनेले पनि सधैंभरि माला लगाई राख्दैनन्, एकैछिनपछि त्यसलाई फालिदिन्छन् । भुइँमा कसैको पैतलामुनि माला कुल्चिन्छ । त्यो माला कुनै विदेशीको गलाका हार पनि बन्न सक्छ ।
तर फूलबारीको फूलको सम्बन्ध आफ्नो जन्मदाता बोट र जीवनदायिनी माटोसँग हुन्छ । उनीहरूसँग ऊ छुट्टिनु पर्दैन । झन् उसले मालीबाट स्याहार-सुसार, मलजल पाएर स्वतन्त्र रूपमा विकास गर्ने शक्ति पाउँछ । पृथ्वीनारायणले राष्ट्रलाई फूलबारी, प्रजालाई फूल र राजालाई मालीको रूपमा एकअर्काप्रति आश्रित भएर रहन उपदेश दिएका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राष्ट्रपिता घोषणा गर्दै नेपाललाई आफ्नै मौलिक तथा सांस्कृतिक पहिचानमा फर्काउनुपर्छ ।
जसरी फूलबारीका प्रत्येक जातका फूलले आआफ्नो सर्वांगीण विकास गर्ने समान अवसर पाउँछन्, त्यसरी नै चार जात छत्तीस वर्णका सबैले आफ्नो धर्म, संस्कृति, परम्परा, भेषभूषा, भाषा, रहनसहन आदिको सर्वांगीण विकास गर्दै नेपालको राष्ट्रियता, समृद्धि र विकासमा योगदान दिने समान अवसर पाउन भन्ने अभिप्राय थियो उनको ।
फूलबारीको कुनै बोटले अरू बोटलाई आतंकित पार्दै झांगिदै गएर अरू बोटको अस्तित्व नै समाप्त पार्न थाले त्यसलाई काँटछाँट गरेर आफ्नो थाङ्नोमा राख्ने काम मालीले गर्नुपर्छ । ठीक त्यसरी नै राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमानमाथि विदेशी हस्तक्षेप बढाएर जाति, क्षेत्र, धर्म, साम्प्रदायिक स्वार्थले अभिप्रेरित भएर राष्ट्र र राष्ट्रियता नै अन्त्य गर्न खोज्नेहरूलाई मालीले ठेगान लगाएर राख्नुपर्छ । पृथ्वीनारायणले भन्न खोजेको यही हो ।
राजा हुनु भनेको आफ्नो सर्वस्व राज्यमा एकाकार गरेर आफूलाई संस्थाको रूपमा परिणत गर्नु हो । राजसंस्थाको अर्थ हो राजा आफ्नाको मात्र होइन, ऊ राष्ट्रको सेवक हो । ऊ मायामोह, मोलाहिजामा रहनु हुन्न र यसमा फस्न पनि हुन्न । तर पृथ्वीनारायणपछिका राजामा यो नैतिकता कायम रहन सकेन । त्यसैले त २४० वर्षपछि पृथ्वीनारायणले स्थापना गरेको शाहवंशीय राजंस्थाको अन्त्य हुन पुग्यो ।
नेताहरूले पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गरी सार्वजनिक बिदाको घोषणा गर्नुपर्छ । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राष्ट्रपिता घोषणा गर्दै नेपाललाई आफ्नै मौलिक तथा सांस्कृतिक पहिचानमा फर्काउनुपर्छ । नेपालबाट राजदूततन्त्रको अन्त्य हुनुपर्छ ।
annapurnapost




















