यदु अधिकारी
प्राचीन पुरातात्विक ग्रन्थहरुमानेपालको बारेमा विभिन्न प्रमाणहरु फेला पार्न सकिन्छ । लिच्छविकालमा केन्द्र शासित र जनपथ भनेर शासन गरेको पाइन्छ । वि.सं. १०५५ मा गुल्मीमा प्राप्त अष्ठ साहास्रिंंका प्रज्ञा पारमिता पुस्तकमा गोरखा केन्द्र अन्र्तगत शासित थियो भन्ने प्रमाण पाइन्छ । लिच्छविहरुले११२६ सम्मशासन गरेका थिए । विभिन्न अभिलेखहरु मध्ये शिवदेव द्वितीयको अभिलेख गोरखनाथ गुफामा पाइन्छ । सिजा प्रान्तलाई क्राचल्लले जितेपछि १३४४ मा जितारी मल्लले गोरखालाई पनि आफ्नो राज्यको अधीनमा लिए । आदित्य मल्ल, पुण्य मल्लले तागबाई (तेग) गुम्बा र साम्दो हिमाली गुम्बामा लामाहरुलाई ताम्रापत्र गरिदिएको प्रमाण पाइन्छ ।
पाल्पाका राजा मुकुन्द सेनले विशाल राज्य निर्माण गरी काठमाण्डौंलाई हमाला गरे । दुर्भाग्यवंश उनको अवशानपछि राज्य टुक्रियो । बाइसे चौबीसे र उपत्यका राज्यमा नेपाल विभाजित हुन पुग्यो भनी सो कुरालाई कर्क प्याट्रिकले उल्लेख गरेका छन् । गोरखा र लम्जुङ्ग चौबीसे राज्य अन्र्तगत प¥यो । कुलमण्डनशाहका कान्छा छोरा यशोब्रम्ह शाहले लम्जुङमा राज्य गरे । उनका नरहरि, नरपति, द्रव्य शाह गरी तीन भाइ छोरा थिए । कान्छा छोरा द्रव्य शाहले १६१५ मा लिगलिगकोटमा विजय गरी राजा भए ।
१६१६ भाद्र कृष्ण अष्टमी विहिबारका दिनमा गोरखाको राजगद्दीमा बसे । बारपाकदेखि सिरानचोकसम्मको ठाउँलाई स्यार्तान भनिथ्यो । त्यहाँका सिरानचोक र अजिरकोटलाई उनले आफ्नो अधीनमा लिए । बारपाक बलियो राज्य थियो । बारपाकको बसोबासको सम्बन्धमा इतिहास कोट्याउँदै जाँदा त्यहाँका पूर्वजहरुले बताए अनुसार निम्न कुरा पाइन्छ । त्यहाँका मंगोलियन घले गुरुङ्गहरु भोटखोलाबाट आएका हुन रे । विश्वमा वीर नामले ख्याति प्राप्त घले र गुरुङ्गहरु विभिन्नथरमा विभाजित छन् ।
यहाँ विश्वकर्मा, मगर, परियार र अल्पसंख्यक भट्ट, क्षेत्रीहरुको पनि राङरुङ्गमा बसोबास छ । आजभन्दा ७०० बर्षभन्दा अगाडि बसोबासको थालनी गरिएको यस ठाउँको नाम बार नै पहरो, बाह्र बाघ, एक मोहरमा बाह्र पाथी अन्न पाइने, बाघलाई बाँधेर घलेले राज्य गरेको हुनाले नै बारपाक नाम रह्यो भनी बताउँछन् (बारपाकमा गाइने लोकगीतको अध्ययन २०५२, अधिकारी) । पहिले गुरुङ्गहरुको बसोबास भएको यस ठाउँमा दाजुभाइको बीचमा बदेलको शिकारको विषयमा झगडा परेछ रे । खोर्लाका राजा बजर ग्याल्पोले आएर निसाप छिनी राजा भए रे । यिनका सन्तान चाङगा घले पराक्रमी थिए भनी बताउँछन । यी राजाले टिस्याङकुमा बाघ बाँधेर राज्य गरेको थिए रे भन्ने कुरा त्यहाँका बासिन्दाले किवदन्तीको रुपमा बताएका छन् ।
पूर्ण शाह बारपाकीसँगको युद्धमा पराजित भएपछि बारपाकी राजाले नून र पाखी बन्द गरे रे । तनँहुका राजाले गोरखाका राजालाई हात्ती सौगात दिए रे हात्ती हेर्न बारपाकका राजाका दाजुभाइलाई गोरखामा बोलाए रे । हात्तीदेखि खुशी भएका घले राजाले २१ मुरी नून र पाखीे छाडिदिए (चौबीसे राज्यको इतिहास, शर्मा, गोपी) । पूर्ण शाहले मितेरी लगाउन घले राजालाई बालुवामाबोलाए, त्यहाँ थर्पु खडा गरी षडयन्त्रबाट घले राजालाई पराजित गरे रे । उनले सिर्तो बुझाउँछु भनी छोडिदिए ।
त्यसपछिबारपाक स्वतन्त्र नै रह्यो । छत्र शाहले बारपाकको अधीनमा रहेको सिम्जुङलाई भने जिते । रामशाह गिरीराज चक्रचुडामणिले विभूषित श्री ५ पराक्रमी राजा हुन् । यिनले ६ थर सल्लाहमा लिगलिगकोटसँगैका पाँचथुमलाई जिते । गोरखासित रिसाएको लम्जुङले बारपाकीलाई उचाल्यो । बारपाकीहरुले रामशाहलाईबालुवामा आक्रमण गरे, उनी बचे । वास्तविक कुरा बुझेपछि बारपाकीलाई सम्झाएर पठाए रे । पछि गोरखा दरबारमा बारपाकीहरु छद्म भेषमा आए रे । उनीहरुलाई रामशाहले बारपाकमा नै पठाए भन्छन् । बुढापाका बारपाकीहरुको भनाइ अनुसार रामशाहले मितेरी लगाउने भनी निमेलमा बोलाए रे, षडयन्त्र गरेका रामशाहका सेना र घले राजाचाङग्या सेनाको बीचमा युद्ध भयो रे, त्यहाँ धेरै घलेहरुको मृत्यु भयो रे । निवेलकोखोलामा घलेहरुको रगत बगेको हुनाले त्यहाँको कुवाको पानी खुनीखोलाको पानी भनी आजसम्म पनि घलेहरुले पानी खादैनन् (बारपाकमा गाइने लोक गीतको अध्ययन, २०५२) । घले राजाले ९ जनालाई मुड्कीले हानेर मारे भन्छन् । मान्द्रेको ढुङ्गामा हात राखी राजा परमधाम भए भनी बताउँछन् । घले राजाका भाइ सुरतानभागेर बसेरीमा गएर बसेछन् । रामशाहले उनको बारेमा बताइदिने सिर्माल (सार्की) लाई भालु खोलाका स्वाँरा वा सिर्दी मालुनटार बित्र्ता दिए भनी गोरखा वंशावलीमा उल्लेख छ ।
गर्भवती रानीले छोरो जन्माएर पछि काशीगाउँहुदैँ बारपाकआएर बसेका हुन् भनी बताउँछन् । राम शाहले १८०० खोला तिब्बत,भोटको कुताङ,कुकुरघाटसम्म विजय गरेका थिए रे भनी सो कुरा त्यहाँका ढुङ्गामा देवनागरिक लिपी लेखेको लेखबाट प्रमाणित हुन्छ ।
घलेहरुले युद्धमा सहयोग गरे बापत गोरखाका ६ थर सरह द्धारे, उमरा, पदवी दिए रे । त्यहाँ गुरुङ्गका १६ खलक, घलेका डाँगे, साप्री, घ्याल्ताङ र रेलिङ (काजी, मुखिया र द्धारे) खलक छन् । विश्वकर्मा, पनि विभिन्न खलकले विभाजित छन् । पृथ्वीनारायण शाहले अमर घलेलाई उमरा पदमा, गीर्वाणयुद्धले रघु घलेलाई द्धारे पदमा नियुक्त गरे (मनिराम घले र सुब्दार मनधने गुरुङ्ग) । घले राजाको अवसानपछि त्यहाँका घले गुरुङले रीतिथिति बसाले भनी बूढापाका बताउँछन् । पृथ्वीपति शाहको पालामा बारपाकीसँग पुनः बालुवामा युद्ध भयो ।
रामशाहको पालाको सम्झौता अनुसार सिर्तो बुझाउँछु भनेपछिउनले बारपाकीलाई छोडिदिए । ऐतिहासिक महत्व बोकेको बारपाक कोटमा चार पुस्ताका बज्रर ग्याल्पो, च्याङगा,सुर्तान घले आदिले राज्य गरेकोबुढापाकाहरु बताउँछन् ।पराक्रमी बारपाकीहरुसँग पूर्ण शाह, छत्र शाह, रामशाह, पृथ्वीपति शाहका सेनाहरुले युद्ध गरे । पूर्ण शाहका पालामा बारपाकी विजयी भएपनि अरु राजाको पालामा भने पराजित भएको र सिर्ताे बुझाउने कबुल गरेपछि छोडि दिएको कुरा इतिहासकार गोपी शर्माले उल्लेख गरेका छन् ।
घलेका सेनालाई निभाएको हुनाले ठाउँको नाम निवेल, मित्रताको साटो शत्रुता वा उल्टो काम भएकोले उल्टे भन्ने नाम अभैm प्रचलित छ । इतिहासकारहरुले बालुवाबेसीमा युद्ध भयो भनी उल्लेख गरेको पाइन्छ । बालुवाबेसीमा पनि धेरै पटक युद्ध भयो होला, रामशाहको पालामा भने निवेलमा नै युद्ध भएको हो भन्ने कुरा अधिकांश बारपाकीहरु बताउँछन् । बाल्यकालदेखि गोरखा आवतजावत गर्दा आफ्ना पुर्खाले इतिहास भन्दै निबेलको पानीमा पुर्खाको रगत बगेको त्यो पानी नखाऊ भनेको कुरा सधैं सम्झी रहन्छु भन्दै लोकबहादुर, यमबहादुर घलेर हरि घलेले बताएकोबाट पनि पुष्टि हुन्छ ।
गोरखाका ६० गा.वि.स. र २ वटा नगरपालिका मध्ये बारपाक गा.वि.स. ऐतिहासिक ऐतिहासिक, पर्यटकीय, धार्मिक, सामाजिक रुपमा उच्च मानिन्छ । घले, गुरुङ्ग, विश्वकर्मा, परियार, क्षेत्री र मगरहरुको बासस्थान रहेको यस गा.वि.स.लाई बौद्ध हिमाल नारद पोखरी, रुवीनाला भन्ज्याङ्ग, धार्चेको लेकले शोभा दिएका छन् ।
लालीगुराँस फुलेर शोभायमान भएको यस गा.वि.स.लाई धार्मिक रुपमा कोटकी हिमालामाईले एकत्रित गरेकी छिन् । सदरमुकामबाट १८ कोष टाढा रहेको यस गा.वि.स.मा नापी पूर्व २५०० मुरी बीउ भएको प्रमाण पाइन्छ । ३६–६७–८०–३५ क्षेत्रफल रहेको यस गा.वि.स.को सीमाना लाप्राक, सिम्जुङ, दरौंदी, बौद्ध हिमाल, रुवीनाला भन्ज्याङ, सौरपानीसँग जोडिएको छ । यहाँदरौंदी, घट्टे, किसारा खोला छन् । १६ हजार फिटमा रहेको नारद पोखरी उत्कृष्ट ठाउँ हो । यहाँ जनै पूर्णिमामा मेला लाग्छ । सिमलसोती र केशरी खर्कका छाँगा उत्कृष्ट रहेका छन् । यहाँ जडीबुटी, निगालाका सामान, उनका राडी पाखी र फलफुल, सल्ला र चाँपका काठ पाइन्छन् ।
हिमाली चराचुरुङ्गी पाइने यो गाउँ घना वस्तीको रुपमा परिचित छ । ढुङ्गा, तामा र फलाम खानी रहेको यस ठाउँ सैनिक वस्ती, होम स्टे र भि.सी. सग्रालयले प्रसिद्ध छ । बुढापाकाहरुको विश्राम गर्ने माने डाँडा रमणीय पर्यटकीय स्थल हो । यहाँ किसान र नेपाली, भारतीय, बेलायती सेनामा काम गर्ने सैनिकहरुले बसोबास गरेका छन् । कार्यरत सैनिकहरु २ सय र भू.पू. सैनिकहरु ६ सय भन्दा बढी रहेको देखिन्छ । यहाँका बासिन्दाले घले, गुरुङ्गले स्थानीय भाषा बोल्दछन् । यो भाषा उत्तरी क्षेत्रका १४ गा.वि.स. सिर्दीबाससम्म बोलिन्छ ।
एउटै शब्दबाट लयको आधारमा दुई भन्दा बढी चार वटासम्म अनेकार्थ लागेको पाइन्छ । जस्तै ःच = (के, छोरा, नून, खा),म्या = (आँखा, घाम, निगाला, कान्छी आमा), स्याङ = (दाउरा, बहिनी, रुख, दाउरा बोक्ने मान्छे), ङ = (म, माछा, पाँच, ढ्याङग्रो बजाउने),¥या = (भिर, कालिज, नाम्लो, कन्याउनु), ल = (आत्मा, बोली, पात), सि = (फलफूलहरु), तङ्वो= (रुखहरु), से = (अन्नहरु), आले = (भाइ, छोरा, सानो बच्चा), सङ = (सोल्टिनी, भाउजु, बुहारी, छेपारो), स = (माटो, दाँत) हुन्छ आदि । यस भाषाका सामान्य भाषिका छन् (जनिबहादुर घले र मनबहादुर गुरुङ्ग) ।
प्रथम विश्वयुद्ध, द्धितीय विश्वयुद्धमा वीरता देखाएका सैनिकहरु मध्ये भि.सी. घले गजे घले पनि एक हुन् । उनको जन्म बारपाकको कोट डाँडामा भएको थियो । उनको परिवारमा १५ जना थिए । उनी साइला हुन् । भैंसी गोठाला भएका गजे घले १७ वर्ष उमेरमा वेलायती सेनामा भर्ती भए । हवल्दार घलेले भर्ती भएको १० वर्ष पछि जापानसँग वर्माको चिनहिल्स भन्ने ठाउँमा वीरताका साथ लडे । यस युद्धमा सहयोद्धाहरुको निधन भए पनि घाइते भएका घलेले ग्रिनेड र राइफल लिएर कमाण्डरले फर्क भन्दा पनि नमानी एक्ले लडी शत्रुलाई परास्त गरे, यही कारणबाट उनलाई भि.सी. पदक दिइ क्याप्टेन पदमा वढुवा गरियो ।
उनी युद्ध पछि बारपाकमा दुईपटक आए । नेपाल सरकारले बसोबासको व्यवस्था नमिलाएको उनी भारतको आल्मोडा गएर बसेका हुन् । नेपालका फुटबल खेलाडी वाइ वि घले उनका साइला छोरा हुन् भनी भाइ कमानसिंले बताए ।गोठमा बसी बेलायती सेनामा (भारतीय सेना) भर्ती भएका गजे घलेले जापान र इन्डियाको दोश्रो विश्वयुद्धमा लडी दोश्रो विश्वयुद्धको पहिलो भि.सी. तक्मा पाए। यिनले यमुना नदीको किनारामा युद्ध लडेका थिए । आल्मोडामा बसोबास गरेका भि.सी. घलेको निधन भैसकेको छ ।
उनका ३ पुस्ताले बहादुरीको पेन्सन पाउँछन् भनी भाइले बताए । प्रथम विश्व युद्धमा एक जनाले र द्धितीय विश्वयुद्धमा ४ जनाले बहादुरी पाए भनी लाहुरेहरु बताउँछन् । द्धितीय विश्व युद्धमा गोर्खाली पल्टनले जापानिजहरुलाई पराजित गरे । अंग्रेजले चलाख्याइँ गरेर जापानिहरु जस्तै गोर्खालीलाई छानेको थियो । हामीलाई हराउने गोर्खालीहरु कस्ता रहेछन् तिनीहरुको गाउँ कस्तो रहेछ भनेर ठूलो गाउँ वारपाकमा २०११ सालमा आए त्यसपछि गोर्खाको ठूलो गाउँ भि.सी.को जन्मभूमी वारपाकलाई अवलोकन गर्न जर्मनका राष्ट्रपति पनि आए त्यसपछि मात्र गोरखामा पर्यटनको विकास शुरु भयो । जापानिहरुले मनास्लु हिमाल त्यसपछि आरोहण गरेका हुन । (भवानी शम्शेर) यिनको जन्मभूमिमा २०७२ बैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प गयो । सेन्द्रा, मान्द्रे, बारपाक गाउँ हुँदै फैलिएको बारपाक भूकम्प विश्वमा गोरखा भूकम्पको नामले चिनियो ।
भूकम्पले बारपाक मात्र नभई गोरखा जिल्ला र देश नै ध्वस्त बनायो । यस पटकको भूकम्पले नेपालमा ८,८५६ जनाको अल्पायुमा देवहासन भएको छ भने २२३०९ घाइते भएका छन्, । ६०,४०,९३० घरहरु पूर्ण क्षति र २,८८,८५६ आंशिक क्षति भएका छन् । पशुचौपाया र चराहरुको क्रमशः५३,३४२ र ४,६०,८०५ मृत्यु भएको छ । यस भूकम्पले काठमाण्डौं ६० से.मी. चिप्लयो भने २०० प्रति सेकेण्ड कम्पन्न भएको थियो । नेपालको २९ वटा जिपिएस स्टेशनले रेकर्ड गरेको देखाइएको छ (शिक्षक मासिक २०७३, जेष्ठ) । गोरखा जिल्लामा यस भूकम्पले ४७० जनाको मृत्यु भयो भने यस मध्ये २० जना बेपत्ता छन् ।
१३४८ घाइते भए ।७० हजार भन्दा पशुपक्षीहरुको मृत्यु भयो । ५८,३५०निजी घर, ३५ वटा सरकारी कार्यालयका १६० वटा बढी भवनहरु, गुम्बा र मन्दिर २००, संघसंस्थाका भवनहरु २००, ४५७ स्कूल,६ वटा क्यापसका भवनहरु, १५० पैदल मार्ग, १०० कि.मीं सडक र खानेपानी, सिंचाईको कुलो, झोलुङे पुल, लद्यु जलविद्युत योजना ध्वस्त भए । ४ करोड भन्दा बढीको अन्नबालीको क्षति भयो । जुङकाङकोट भूकम्पको कारणबाट होचो भएको देखिन्छ ।भूकम्प गएको पहिरोको कारणबाट १५ गा.वि.स.का २८ वस्तीलाई सार्नु पर्ने देखिन्छ (जिल्ला दैवी प्रकोप समिति, गोरखा) ।
पछिल्लो तथ्याङ्क अनुसार गोरखामा ५८,३५० घरहरु क्षति भएको देखाइएको छ । बारपाकमा २०६८ सालमा १०६९ घरहरु र ४,९८५ जनसंख्या भएको तथ्याङ्क कार्यालयले देखाएको छ । भूकम्पले १,२९४ पूर्ण क्षति, ७आंशिक क्षतिर २० वटा घर क्षति नभएको देखाएको छ । ७२ जनाको मृत्यु भयो भने १६७ जना घाइते भए । ३,५८८ चौपाया, ८०.८.५ मेट्रिकटन खाद्यान्न (९० करोड ३२ लाख ८६ हजार ८ सय) क्षति भएको देखाएको छ । हाल बारपाकका उच्च मा.वि. १, नि.मा.वि. २, प्रा.वि.३ ध्वस्त भएका छन् ।
त्यस्तै गरी ग्रामीण बारपाक जलविद्युत योजना १ (१३० किलोवाट), ६ खाद्य मिल, ३ ढुङ्गा उद्योग, केबल टेलिभिजन ४ वटा, ४ वटा कुखुरा फाम, काठ उद्योग २, संग्रालय १, गुम्बा १, ऐतिहासिक कोट र पुरै गाउँ भूकम्पले ध्वस्त बनायो ((जिल्ला दैवी प्रकोप समिति, गोरखा) । बारपाक भूकम्पको नाममा कति राहत आए ती राहत के कति कस्ले पाए त्यसको सही तथ्याङ्क राज्यले दिन सकेको छैन । आफ्नो नाम बिकाएकोमा बारपाकीहरु खिन्न देखिन्छन् । राज्यले इन्जिनियरद्धारा पुनः घरको जाँच गरेको छ, कयौंका घरहरु छुटेको छन् । घरहरुलाई पुनः जाँची क्षति भएका घरहरुलाई राज्यले राहत उपलब्ध गराई सुविधा दिनु पर्दछ।
प्राचीन चौबीसे राज्यमा स्यार्तान नामले चर्चित बारपाककोट रमणीय ऐतिहासिक कोट हो । घले राजाको राज्य, घल,े गुरुङ, विश्वकर्मा आदिको बसोबास रहेको यस ठाउँलाई शाह खलकका चार राजाले युद्ध गरी गोरखा राज्यमा मिसाए । यस भूमिले कयौं युद्धवीर, शान्तवीर, दयावीर जन्मायो । विकासको दृष्टिले बामे सर्दै गएको यस गा.वि.स.मा होम स्टेबाट पर्यटकहरुलाई सुविधा पुगको थियो ।
भि.सी.गजे घलेको जन्मभूमि एंव भि.सी.संग्रालय लगायत प्रकृतिबाट सिर्जित र मानवबाट निर्मित सम्पूर्ण भौतिक संरचना भूकम्पले ध्वस्त भयो । यस ऐतिहासिक भूमि बारपाकमा गोरखा भूकम्पबाट साहदत प्राप्त गर्ने ४७० जनाको भूकम्प स्मृति पार्क निर्माण गर्न थालिएको छ । स्वदेशी र विदेशीहरुले यस ऐतिहासिक भूमिलाई पुर्नः निर्माण गरी आर्कषक बनाउनु पर्दछ । यस भूमि र बौद्ध हिमालले सबैको मन जित्न सक्छ भनी आशा गरिएको छ ।
सन्दर्भ सूची
- शर्मा, गोपी, २०७१, चौबीसे राज्यको इतिहास, काठमाण्डौं, मकालु प्रकाशन, डिल्लीबजार ।
- भण्डारी, ढुण्डिराज, २०३०, नेपालको ऐतिहासिक विवेचना, बाराणसी, कृष्णकुमारी देवी दूध विनायक ।
- पन्त, दिनेशराज, २०४५, गोरखाको इतिहास, काठमाण्डौं, श्री ५ को सरकार सञ्चार मन्त्रालय, मुद्रण तथा प्रकाशन विभाग ।
- अधिकारी, यदुप्रसाद, २०५२, बारपाक गा.वि.स.मा गाइने लोकगीतको अध्ययन ।
लेखक तथा संकलक गोरखा क्याम्पस गोरखाका विद्यार्थी कल्याण समितिका प्रमुख हुन् ।




















