×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पश्चिम नेपालभन्दा काठमाडौंमुनि थुप्रिएको भुइँचालो ठूलो

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप श्रेष्ठ

    सर्लाहीको कर्मैया–४, वनटोलस्थित बाग्मती ब्यारेजनिरको क्षेत्र, जुन हिमाली क्षेत्रमा गएका भुइँचालोको अवशेष हो। यहाँ पछाडिपट्टि लगभग पाँच सय मिटर उत्तरबाट चुरे पहाड अग्लिन थाल्छ। अगाडिपट्टि बाग्मती नदी छ। बीचमा १० मिटर अग्लो फराकिलो ढिस्को देखिन्छ। चुरे र मधेस बीचमा रहेको यो १० मिटर अग्लो ढिस्को नयाँ पहाडी शृंखला बन्ने क्रमको सुरुआत भएको भूगर्भ वैज्ञानिक बताउँछन्। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी

    न्यूजिल्यान्डमा यही सोमबार ७.८ म्याग्निच्युडको भुइँचालो गयो। यो ठ्याक्कै त्यति नै शक्तिशाली हो, जति २०७२ वैशाख १२ गते नेपालमा गएको थियो।

    उता, पाँच दिन बीचमै प्रभावित क्षेत्रका चार सय व्यक्ति सुरक्षित स्थानमा सारिएका छन्। यता, डेढ वर्षमा पनि पुनर्निर्माण र पुनर्स्थापनाकै काम अलपत्र छन्। झन् त्यसबाट पाठ सिकेर अबको सम्भावित भुइँचालोका लागि गर्नुपर्ने तयारीमा न सरकारको ध्यान गएको छ न त सर्वसाधारणले नै सोचेका छन्।

    सबै ढुक्क देख्दा यस्तो लाग्छ, मानौं नेपालमा भुइँचालो जोखिम सधैंका लागि टरिसक्यो!

    तर, वास्तविकता अर्कै छ।

    नेपालसहित तीन देशका भूगर्भ वैज्ञानिकको गत साता प्रकाशित शोधपत्रले भूकम्पीय जोखिमका तीन नयाँ तथ्य सार्वजनिक गरेको छः

    पहिलो, वैशाख १२ को गोरखा भुइँचालोले मध्य–नेपालको भूकम्पीय जोखिम पूरै निमिट्यान्न पारेको छैन। काठमाडौंसमेत पर्ने यस क्षेत्रमा ८ म्याग्निच्युडभन्दा ठूलो विनाशकारी भुइँचालो जाने सम्भावना कायम छ।

    दोस्रो, पश्चिम–नेपालमा ठूलो भुइँचालो नगएको ५०० वर्ष नाघिसकेकाले बढ्ता जोखिम त्यतै छ भन्ने अहिलेसम्मको विश्वास थियो। नयाँ शोधपत्रले भने पश्चिमभन्दा मध्य–नेपालमा बढ्ता जोखिम देखाएको छ। मध्य–नेपाललाई केन्द्रविन्दु बनाएर पछिल्लोपल्ट सन् १२५५ मा ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो गएको थियो। त्यसयता त्यति नै ठूलो भुइँचालो नगएको ७६१ वर्ष भइसकेको छ। वैशाख १२ को भुइँचालो मध्य–नेपालमै गएको हो, तर ७६१ वर्षदेखि थुप्रिएको भूकम्पीय शक्तिलाई ७.८ म्याग्निच्युडले निष्कासन गर्न सक्दैन।

    तेस्रो, पूर्वी–नेपाललाई केन्द्रविन्दु बनाएर सन् ११०० र त्यसपछि १९३४ (विसं १९९० साल) मा ठूलो भुइँचालो गयो। यसअनुसार हिमाली क्षेत्रमा महाभूकम्प फर्किने अवधि (पुनरावृत्ति समय) ८३४ वर्ष हुन सक्छ।

    अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की, जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक दीपक चाम्लागाइँले यी तीन निष्कर्षसहितको शोधपत्र लेखेका हुन्।

    बर्दिबासदेखि बुटवलसम्म फेला परेका भूकम्पीय अवशेषको स्थलगत अध्ययनमा आधारित यो शोधपत्र ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ।

    तीन भूगर्भ वैज्ञानिकहरु (बायाँबाट क्रमश:) अमेरिकाका स्टेभन वेस्नोस्की, नेपालका दीपक चाम्लागाइँ र जापानका याशुहिरो कुमाहारा बाग्मती ब्यारेज किनारको उत्खनन् स्थलमा।


    चुरे क्षेत्रको अग्रभागमा पर्ने त्रिवेणीधाम र बाग्मती ब्यारेजमा जमिन उत्खनन् गरी हेर्दा पश्चिमभन्दा मध्यभाग बढी जोखिमपूर्ण रहेको निष्कर्षमा पुगेका छौं,’ भूगर्भविद् चाम्लागाइँले शोधपत्रबारे जानकारी दिँदै सेतोपाटीसँग भने, ‘यहाँ ठूलो भुइँचालोको खतरा अझै टरेको छैन।’

    उनीहरू यस्तो निष्कर्षमा कसरी पुगे त?

    गोरखा भुइँचालोपछि संसारभरका भूगर्भ वैज्ञानिकको ध्यान मध्य–नेपालमा सोहोरिएको थियो। सबै जना दुइटा तथ्य पत्ता लगाउन चाहन्थे– गोरखा भुइँचालोले जमिनको सतहमा दरार उत्पन्न गरायो कि गराएन? र, यस क्षेत्रमा गएका पुराना भुइँचालाका अवशेष कहाँ–कहाँ छन्?

    स्टेभन, कुमाहारा र चाम्लागाइँ यिनै प्रश्नको उत्तर खोज्दै गोरखा भुइँचालो गएको छ महिनापछि पूर्व–पश्चिम राजमार्ग भ्रमणमा निस्केका थिए।

    कुनै पनि ठूलो भुइँचालोले जमिनको सतहमा दरार पारेको हुन्छ। यो भुइँचालोले छाड्ने अवशेष हो। भूगर्भ वैज्ञानिकहरू भुइँचालोसँग जोडिएका कथा उधिन्न यही दरार पछयाउँदै हिँड्छन्। हिमाली क्षेत्रमा यस्तो दरार चुरेको फेदमा देखिन्छ। पूर्व–पश्चिम राजमार्गको अधिकांश हिस्सा चुरेको फेदमै छ। तराईको समथर भूमि सकिएर चुरेको नयाँ पहाडी शृंखला जुन ठाउँबाट सुरु हुन्छ, पूर्व–पश्चिम राजमार्ग लगभग त्यहीँ बनेको छ।

    करिब हजार किलोमिटर लामो यो राजमार्ग जतिबेला निर्माण भयो, त्यतिबेला भुइँचालो जोखिममाथि खासै अध्ययन भएकै थिएन। त्यसैले, जुन ठाउँमा पहाड सकिएर तराईको सम्म मैदान सुरु भयो, त्यहीँ सडक बनाउन उपयुक्त ठानियो। अहिले आएर भलै यो राजमार्ग जोखिमपूर्ण ठाउँमा रहेको थाहा होस्, भूकम्पीय अध्ययनलाई यसले सहज बनाएकै छ।

    तीन देशका तीन भूगर्भ वैज्ञानिकले २०७२ कात्तिक २३ देखि २९ को बीचमा बर्दिबासदेखि पश्चिम कञ्चनपुरसम्म यही राजमार्ग पछ्याएका थिए।

    उनीहरूका साथमा यस क्षेत्रको ‘स्याटलाइट म्याप’ थियो। ‘थ्री–डाइमेन्सन’ नक्साको मिहीन अध्ययनले कुन ठाउँमा जमिनको सतह अस्वाभाविक रूपले माथि उठेको छ भन्ने देखिन्छ। यसलाई हाम्रा अप्राविधिक आँखाले पनि खुट्टयाउन सक्छन्। तर, जमिन उठ्नुको कारण नदीको बहावले काटेर हो वा पुरानो भुइँचालो भन्ने थाहा पाउन वैज्ञानिककै आँखा चाहिन्छ। कति ठाउँमा त जमिन यस्तरी उठेको हुन्छ, दक्षिणतिर बग्दै गरेको नदी एकाएक पूर्व वा पश्चिम मोडिएको देखिन्छ। यसले वैज्ञानिकको काम सजिलो बनाइदिन्छ।

    त्यतिबेला स्थलगत भ्रमणबाट चाम्लागाइँ र उनको टोलीलाई यस क्षेत्रमा रहेका दरारबारे केही आधारभूत जानकारी प्राप्त भयो। उनीहरूले जमिन खनेर थप अनुसन्धान गर्न दुइटा सम्भाव्य स्थल फेला पारे– नवलपरासीको त्रिवेणीधाम र सर्लाहीको बाग्मती ब्यारेज। यी दुई ठाउँको अध्ययनले हिमाली भुइँचालोका धेरै रहस्य खोल्नसक्छ भन्ने उनीहरूको निर्क्यौल रह्यो।

    भुइँचालोको इतिहास पर्गेल्न दरार फेला परेर मात्र हुँदैन, कोइला पनि भेटिनुपर्छ। रुखबिरुवा कुहिएर बन्ने कोइलालाई ‘कार्बनडेटिङ’ गरेपछि दरारको उमेर पत्ता लाग्छ। यसबाट कति पुरानो भुइँचालोले दरार उत्पन्न गराएको थाहा हुन्छ। यही कोइला पत्ता लगाउन वैज्ञानिकहरू जमिन खनेर माटो वा चट्टान झिक्ने गर्छन्।

    ‘राम्रो दरार र त्यसमा पाइने कोइला भनेको भूगर्भविद्का लागि टाइम मेसिनजस्तै हो, त्यसकै आधारमा हामी विगतमा फर्केर दरार उत्पन्न गराउने भुइँचालो पत्ता लगाउन सक्छौं,’ चाम्लागाइँ भन्छन्, ‘र, भविष्यको पूर्वानुमान गर्न सक्छौं।’

    यही खोजका निम्ति चाम्लागाइँ र उनको टोली गत चैत महिना फेरि बाग्मती र त्रिवेणीधाम पुग्यो।

    जमिन खनेर त्यहाँको भूकम्पीय दरारमा कोइला खोज्नु उनीहरूको उद्देश्य थियो। यसका लागि सानो खाल्डोले पुग्दैन, १०–१५ मिटरसम्मै जमिन खन्नुपर्छ। समय पनि धेरै लाग्छ। उनीहरूले जग्गाधनीको अनुमति लिए। स्थानीय स्तरमै सडक बनाउने काममा प्रयोग भइरहेको एउटा एक्स्काभेटर भाडामा लिए। र, धमाधम जमिन खन्न थाले।

    बाग्मतीको उत्खनन स्थलमा यो टोलीसँग म पनि गएको थिएँ। बाग्मती ब्यारेजको पुल तर्नेबित्तिकै देब्रे मोडिएपछि राजमार्गबाट लगभग पाँच सय मिटर उत्तर एउटा यस्तो ढिस्को देखिन्छ, जुन राजमार्गको सतहभन्दा करिब १० मिटर माथि उठेको छ। कर्मैया–४, वनटोलमा पर्ने यो फराकिलो ढिस्कोमा अहिले त बस्ती नै बसिसक्यो। खेती पनि हुन्छ। म जाँदा बारीमा मकै फलेका थिए।

    बाग्मती नदी किनारमा एकाएक उठेको यो ढिस्को के हो?

    सर्लाहीको बाग्मती ब्यारेजनिर भुइँचालोले अग्लिएको जमिन र त्यहाँ बसेको बस्ती। यो जमिन सन् १२५५ को भुइँचालोले अग्लिएको नयाँ अनुसन्धानले देखाएको छ।


    हिमाली क्षेत्रमा गएका भुइँचालोको अवशेष चुरेको अग्रभागमा पाइन्छ भन्ने ज्वलन्त उदाहरण यही ठाउँ हो। यसको पछाडिपट्टि लगभग पाँच सय मिटर उत्तरबाट चुरे पहाड अग्लिन थाल्छ। अगाडिपट्टि १० मिटर होचो राजमार्गको सतह छ। अर्थात्, चुरे र मधेस बीचमा रहेको यो १० मिटर अग्लो ढिस्को नयाँ पहाडी शृंखला बन्ने क्रमको सुरुआत भएको चाम्लागाइँ बताउँछन्।

    ‘यसलाई हामी भूगर्भ विज्ञानको भाषामा ‘टेरेस’ भन्छौं,’ स्थलगत भ्रमण क्रममा बाग्मती ब्यारेजको ढिस्को देखाउँदै उनले भनेका थिए, ‘यो टेरेस कसरी बन्यो? या त बाग्मतीको पानीले काटेर तलको जमिन होचो बनाएको हो, या कुनै ठूलो भुइँचालोले जमिन माथि उठाएको हो। त्यसो हो भने यो चुरेभन्दा कान्छो पहाड उठ्ने क्रमको सुरुआत हो।’

    ‘यसैको जवाफ खोज्न हामीले यहाँ जमिन खन्ने निर्णय गरेका हौं,’ उनले भने।

    यस्तो अध्ययनमा भूकम्पीय दरार जति सजिलै फेला पर्छ, कोइला भेट्न उति मुश्किल हुन्छ। कतिपय अवस्थामा त जति खन्दा पनि भेटिँदैन। र, अन्ततः खाली हात फर्किनुपर्ने हुन्छ।

    यो टोली भने भाग्यमानी रहेछ।

    उनीहरूले दुवै ठाउँमा कोइला फेला पारे।

    कोइलाको ‘कार्बनडेटिङ’ गर्न अमेरिका पठाए। जब नतिजा आयो, मध्य–नेपालको भूकम्पीय इतिहास र त्यससँग जोडिएको भावी जोखिमको खाका उनीहरूका सामुन्ने थियो।

    बाग्मती ब्यारेज नजिकको उत्खननबाट थाहा भयो, यहाँको दरार सन् १०३१ देखि १३२१ बीचको ठूलो भुइँचालोले बनाएको रहेछ। यो भनेको १२५५ हुनसक्छ भन्ने उनीहरूको अनुमान छ। अर्थात्, १२५५ को भुइँचालोले यस क्षेत्रमा १० मिटर अग्लो ढिस्को बनाएको रहेछ।

    उता, बाग्मतीबाट लगभग दुई सय किलोमिटर पश्चिम त्रिवेणीधाम दरारको आयु १२२१ देखि १२६२ बीचमा रहेको पाइयो। यो पनि १२५५ नै हुनसक्ने उनीहरूको अनुमान छ।

    यसको अर्थ के भने, त्रिवेणीधाम र बाग्मती दरार आजभन्दा ७६१ वर्षअघि १२५५ को भुइँचालोले ल्याएको रहेछ। त्यो ८.२ देखि ८.४ म्याग्निच्युडको हुनसक्ने आँकलन छ। ऐतिहासिक दस्तावेजले त्यस वर्ष काठमाडौंमा ठूलो विनाश हुनेगरी महाभूकम्प गएको पुष्टि गर्छ। उक्त भुइँचालोले काठमाडौं उपत्यकाका एक–चौथाइ बासिन्दाको ज्यान लिएको र थुप्रै घर तथा मन्दिर भत्काएको रेकर्ड छ। भुइँचालोमा परेर राजा अभय मल्लको समेत मृत्यु भएको अभिलेख पाइन्छ।

    दुई सय किलोमिटर दुरीका अलग–अलग ठाउँमा एउटै भुइँचालोको दरार फेला पर्नुले के संकेत गर्छ त?

    ‘सन् १२५५ को भुइँचालोले कम्तीमा बाग्मतीदेखि त्रिवेणीधामसम्म दरार उत्पन्न गराएको र यो पूरै क्षेत्रलाई अलिकति माथि उठाएको हाम्रो अनुसन्धानको निष्कर्ष हो,’ चाम्लागाइँले भने।

    यो त भयो मध्य–नेपालमा गएको पुरानो भुइँचालो। यही आधारमा भावी जोखिमको आँकलन कसरी गरियो?

    सर्लाहीको बाग्मती ब्यारेजनिर भुइँचालोले बनाएको दरारमा कोइला खोज्न जमिन खनिँदै।


    यसलाई बुझ्न भूकम्पीय जोखिमका अन्य अनुसन्धान केलाउनुपर्ने हुन्छ।

    सबभन्दा पहिला, फ्रेन्च वैज्ञानिक लाभेको निष्कर्ष हेरौं। उनले सन् २००५ मा बर्दिबासको मरहा खोलाछेउ यसरी नै पुरानो भुइँचालोको दरार फेला पारेका थिए। उनले त्यहाँको जमिन खनेर कोइलाको ‘कार्बनडेटिङ’ गरे। मरहा खोला दरार सन् ११०० को भुइँचालोले बनाएको पत्ता लाग्यो। करिब ८.८ म्याग्निच्युडको उक्त भुइँचालोले चुरेको अग्रभागमा करिब २४० किलोमिटर चिरा पारेको थियो।

    त्यसपछि २००८ मा फ्रेन्च वैज्ञानिक पल ट्यापोनियर र नेपाली वैज्ञानिक सोम सापकोटाले बर्दिबासकै शिर खोला किनारमा अर्को दरार फेला पारे। यो मरहा खोलाबाट करिब सात किलोमिटर पूर्व पर्छ। झन्डै ३० मिटर चौडा शिर खोलाको दिशा नै परिवर्तन गराएको उक्त दरार सन् १९३४ अर्थात् १९९० सालको भुइँचालोले पारेको रहेछ। ८.४ म्याग्निच्युडको उक्त भुइँचालोले पूर्वी नेपालमा करिब १५० किलोमिटर लामो दरार उत्पन्न गरेको थियो। शिर खोला किनारको त्यो ठाउँमा पनि जमिनको सतह लगभग १० मिटर माथि उठेको छ। ट्यापोनियर र सापकोटाको यो खोज अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा प्रकाशित छ।

    यी दुई अनुसन्धानबाट के देखिन्छ भने, पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर ११०० र १९३४ मा ठूला भुइँचाला गएका रहेछन्। यी दुई बीचको अवधि ८३४ वर्ष हुन आउँछ। यस आधारमा हिमाली क्षेत्रको भुइँचालो फर्किने अन्तराल ८३४ वर्ष हुनसक्ने चाम्लागाइँ टोलीको अनुमान छ।

    अब यही अनुमानलाई मध्य–नेपालसँग दाँजेर हेरौं।

    पछिल्लो अनुसन्धानअनुसार त्रिवेणी र बाग्मती दरार १२५५ को भुइँचालोले ल्याएको हो। दुवै ठाउँमा ११०० र १९३४ को अवशेष भेटिएको छैन। यसको मतलब, ११०० र १९३४ को भुइँचालो दरार बाग्मती नाघेर पश्चिम आएन। १२५५ को दरार पनि बाग्मती नाघेर पूर्व गएन।

    ‘१२५५ बाट अहिलेसम्मको अवधि हिसाब गर्दा ७६१ वर्ष हुन आउँछ,’ चाम्लागाइँले भने, ‘हामी ८३४ को नजिक छौं।’

    हुन त २०१५ को गोरखा भुइँचालो मध्य–नेपालमै गएको हो। तर, त्यसले चुरेको फेदमा दरार उत्पन्न गराएन। भुइँचालोले उत्तरबाट सर्दै आएको जमिन काठमाडौंमुनि नै थुप्रिएर बस्यो। त्यतिबेला पनि १२५५ देखि सञ्चित भूकम्पीय शक्ति केही मात्रामा निष्कासन भयो। पूरै निमिट्यान्न भने नभएको चाम्लागाइँ टोलीको ठहर छ। यो भनेको काठमाडौंसमेत पर्ने मध्य–नेपालमा ८ म्याग्निच्युड हाराहारी भुइँचालो जाने सम्भावना बाँकी रहनु हो।

    उता, पश्चिम हिमालय क्षेत्रमा १५०५ यता ८ म्याग्निच्युड हाराहारी भुइँचालो गएको छैन। ठूलो भुइँचालो नगएको ५०० वर्ष नाघेकाले भूगर्भ वैज्ञानिकहरूका आँखामा यो क्षेत्र ‘अति जोखिमपूर्ण’ थियो। चाम्लागाइँ टोलीको पछिल्लो अध्ययनले भने पश्चिमभन्दा मध्यक्षेत्रलाई ‘बढी जोखिमपूर्ण’ देखाउँछ।

    ‘पश्चिममा ५११ वर्षदेखि ८ म्याग्निच्युड हाराहारी भुइँचालो गएको छैन, यहाँ त ७६१ वर्ष भइसक्यो,’ चाम्लागाइँले भने, ‘हिजोसम्म हामी पश्चिम–नेपाललाई खतरा भन्थ्यौं, तर त्योभन्दा खतरा मध्य–नेपाल हो। अब सबै कुरा नयाँ ढंगले सोच्नुपर्ने हुन्छ।

    हिमाली क्षेत्रमा भुइँचालो जानुको कारण इन्डियन र युरेसियन प्लेटबीच पाँच करोड वर्षदेखि हुँदै आएको घर्षण हो। यही घर्षणले हिमालय शृंखला समेतको उत्पत्ति गरायो। भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक २ सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि धस्सिनुपर्छ। सय वर्षमा यो २ मिटर हुन्छ। अर्थात्, ७६१ वर्षमा १५ मिटरभन्दा बढी धस्सिन बाँकी छ। यस आधारमा यहाँको भू–सतहमुनि ठूलो शक्ति सञ्चित भएर बसेको चाम्लागाइँ र उनको टोलीको निष्कर्ष छ।

    ‘भुइँचालो कसैले रोकेर रोकिन्न, तर पूर्वतयारी गर्न सकिन्छ,’ चाम्लागाइँले भने, ‘हाम्रा लागि सकारात्मक कुरा के भने, गोरखा भुइँचालोले जोखिम अलिकति भए पनि घटाएकै छ। हामीसँग तयारी गर्ने समय छ। आजैबाट लाग्ने हो भने काठमाडौं र देशका हरेक पर्खाललाई भुइँचालो प्रतिरोधक बनाउन सकिन्छ।’

    यो नयाँ अनुसन्धानमा केही विवादित विषय पनि छन्।

    सर्लाहीको बाग्मती ब्यारेजनिर भुइँचालोले अग्लिएको जमिनमाथि तीन भूगर्भ वैज्ञानिक।


    यसले १२५५ को भुइँचालो दरार बाग्मती ब्यारेज नाघेर पूर्व गएन भन्छ। जबकि, सापकोटा र ट्यापोनियरले शिर खेला किनारको जुन ढिस्कोमा १९३४ को दरार फेला पारेका थिए, त्योभन्दा केही मिटर तल १२५५ को दरार पनि फेला परेको ठोकुवा गरेका छन्।

    यी दुवै निष्कर्ष वैज्ञानिक खोजमै आधारित छन्, तर यिनमा विरोधाभाष छ।

    शिर खोला दरारमा १९३४ को तथ्यांक प्रस्ट देखिन्छ, तर १२५५ प्रस्ट नभएको चाम्लागाइँ दाबी गर्छन्। उनका अनुसार, जुन दरारलाई १२५५ को भनियो, त्यहाँको कार्बनडेटिङ नतिजा ६४४ देखि १२१० बीचमा थियो।

    ‘यो कसरी १२५५ हुनसक्छ?’ उनले भने, ‘बरु ११०० पो हुनुपर्ने हो!’

    उनले भनेजस्तो शिर खोलाको त्यो दरार १२५५ को सट्टा ११०० को हो भने पछिल्लो नतिजासँग ठ्याक्कै मेल खान्छ। होइन भने, यी दुईमध्ये कुनै एउटामा त त्रुटि अवश्य छ। तर, कुनमा?

    ‘हाम्रो शोधपत्रपछि अब अहिलेसम्म भएका अनुसन्धानलाई नयाँ ढंगले हेरिनुपर्छ,’ चाम्लागाइँले भने।

    भूगर्भ वैज्ञानिक सोम सापकोटा भने आफ्नो निष्कर्षलाई नै सही दाबी गर्छन्। ऐतिहासिक भुइँचालोको पृष्ठभूमि केलाउँदा कार्बनडेटिङलाई मात्र आधार मान्नु नै गलत भएको उनको भनाइ छ।

    ‘उहाँहरूले जमिन उत्खननबाट निस्केको कार्बनडेटिङ तथ्यांक मात्र हेर्नुभयो, जबकि ऐतिहासिक भुइँचालोको पृष्ठभूमि केलाउँदा वरिपरि सम्पूर्ण भूगोल अध्ययन गर्नुपर्ने हुन्छ,’ सापकोटाले सेतोपाटीसँग भने, ‘हामीले कार्बनडेटिङलाई मात्र आधार मानेका छैनौं, खोला छेउछाउ भुइँचालोले अग्लाएको टारको आयु पनि हेरेका छौं।’

    चाम्लागाइँसँग आफ्नो नतिजा पुष्टि गर्ने अर्को तर्क पनि छ।

    उनको भनाइमा, सन् ११०० को भुइँचालो ८.८ म्याग्निच्युडको हो। यति ठूलो भुइँजालो जाँदा जमिन लगभग १० मिटर सर्छ। दस मिटर जमिन सर्न ५०० वर्ष लाग्छ भन्नेमा सबै भूगर्भविद् सहमत छन्। ‘११०० र १२५५ को दरार यति नजिकै फेला पर्न १५० वर्षमै जमिन १० मिटर सर्नुपर्यो,’ उनले भने, ‘यो सम्भव छैन।’

    डेढ सय वर्ष अन्तरालमा यति ठूलो भुइँचालो जान सक्दैन भन्ने तर्कसँग सापकोटाको पनि सहमति छ। तर, उनी यसमा दुइटा सम्भावना देखाउँछन्।

    पहिलो सम्भावना, मरहा खोलाको जुन दरारलाई ११०० को भनियो, त्यो आफैंमा १२५५ को हुनसक्छ। ‘कार्बनडेटिङ तथ्यांकलाई केही प्रतिशत ‘प्लस–माइनस’ गरेर हेर्नुपर्छ, त्यसलाई ऐतिहासिक भुइँचालोसँग दाँज्नुपर्छ,’ उनले भने।

    ‘१२५५ मा ठूलो भुइँचालो गएको थियो भन्ने हामीसँग प्रस्ट ऐतिहासिक अभिलेख छ,’ उनले प्रश्न गरे, ‘त्योभन्दा जम्मा डेढ सय वर्षअघिको किन छैन?’

    दोस्रो सम्भावना, मरहा खोला र शिर खोला आसपासका क्षेत्र यी दुवै भुइँचालो दरारको ‘मिलन–विन्दु’ हुनसक्छ।

    ‘उहाँहरू ११०० को भुइँचालो पूर्व फैलियो, १२५५ को पश्चिम फैलियो भन्नुहुन्छ, त्यसो हो भने पनि बर्दिबास आसपासको क्षेत्र यी दुवै भुइँचालो दरारको मिलन–विन्दु किन हुन सक्दैन?’ सापकोटाले भने, ‘११०० को दरार यहाँबाट सुरु भएर पूर्व फैलिएको र १२५५ को दरार पश्चिमबाट फैलिँदै यहाँ आएर अन्त्य भएको पनि हुनसक्छ।’

    ‘१२५५ भुइँचालोको ठ्याक्कै केन्द्रविन्दु थाहा नहुनुले नै यस्तो बहस निम्त्याएको हो,’ उनले भने।

    नवलपरासीको त्रिवेणीधाममा भुइँचालोले बनाएको दरारमा कोइला खोज्न जमिन खनिँदै।


    भुइँचालो अध्ययनसँग जोडिएका यी विवाद आफ्ना ठाउँमा छन्, तर एउटा कुरामा दुवैको सहमति छ– नेपालमा ठूलो भुइँचालोको जोखिम टरेको छैन।

    बाग्मती ब्यारेजको दरार हेर्न जाँदा अमेरिकी भूगर्भ वैज्ञानिक स्टिभ (स्टेभन वेस्नोस्की) ले भनेका थिए, ‘भुइँचालोसँग जोडिएका चार प्रश्न छन्– भुइँचालो कसरी जान्छ? कहाँ जान्छ? कति ठूलो जान्छ? र, कहिले जान्छ?’

    अघिल्ला तीन प्रश्नको जवाफ विज्ञानसँग छ। एउटै प्रश्नको जवाफ भूगर्भ विज्ञानले दिन सकेको छैन, त्यो हो– भुइँचालो कहिले जान्छ?

    ‘हाम्रो सारा प्रयास नै यही आँकलन गर्नु हो, ताकि भुइँचालो जानुभन्दा अगाडि नै मानव जीवन सुरक्षित पार्न सकियोस्,’ स्टिभले भने।

    ‘मध्य–नेपालमा फेरि ठूलो भुइँचालो जाने खतरा चाहिँ पक्का हो त?’ मैले उनलाई सोधेँ।

    ‘म नेपालमा बसेँ भने गत वर्षको गोरखा भुइँचालोभन्दा ठूलोका लागि तयार रहन्छु,’ उनले जवाफ दिए, ‘कुरा यत्ति हो, त्यो कहिले आउँछ थाहा छैन। आज आउनसक्छ, भोलि आउनसक्छ, वा मेरो जिन्दगीमै कहिल्यै नआउन पनि सक्छ।’

    ‘तर, म प्रार्थना गर्छु, त्यो भुइँचालो आउँदा म नेपालमा नहोऊँ!’

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.