मिसिगन अमेरिकाः हिलारीले सजिलै जित्ने भनी अनुमान गरिएको चुनाव ट्रम्पले आफ्नो झोलामा पार्दा मलाई अचम्म लागिरहेको थियो । आधा रातमा, क्यानेडियन इमिग्रेसन साइट बन्द भएकोदेखि लिएर भोलिपल्ट अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं हवाइजहाजहरू उड्ने ठट्टा सामाजिक सञ्जालमा भइरहेको थियो ।
भोलिपल्ट बिहान उठेर म सदाझैं आफ्नो अर्थशास्त्रको कक्षाकोठामा गएर बसें । तर त्यो दिन अरूजस्तो थिएन । सधैं उमंग र उत्साह भरिने मेरा सहपाठीहरू आज चुपचाप थिए । त्यो शून्यतामा राति चुनावको नतिजा हेर्दा नपुगेको निद्राभन्दा ‘गलत’ उम्मेदवारले जितेको असन्तुष्टिको गन्ध आइरहेको थियो ।
सधैं प्रश्नहरूको गुञ्जमा बित्ने त्यो कक्षा आलस्यमै बित्यो । त्यस कक्षालगत्तै म र मेरी मेक्सिकन मूलकी अमेरिकी साथी लन्च खान क्याफ्टेरियातिर लाग्याैं । तर त्यो बीचमा न ऊ केही बोली, न त मैले नै केही बोल्ने साहस गरें । केही खान मन नभएको भन्दै उसले एउटा कचौरामा मासुका दुई टुक्रा लिएर बसी ।
असहिष्णु आप्रवासी समूहको भावनालाई ठेस पु¥याउने ट्रम्प राष्ट्रपति बन्न पुगेकोमा सबै दुःखी थिए ।
अरू दुईजना साथी हामीसँग लन्च खान आए । चुनावको कुरा सुरु भयो । ‘म त यो समाजमा असुरक्षित महसुस गरिरहेकी छु भने तिमीलाई कस्तो अनुभव भइरहेको होला, म बुझ्न सक्छु’ भन्दै मेरी अमेरिकी मूलकी साथीले मेक्सिकन मूलकी साथीलाई सम्झाउन खोजी ।
त्यसपछि मेरी अर्की साथी आएर ती मेक्सिकन मूलकी साथीलाई कस्सेर अँगालो मारी । दुवैका आँखाबाट बगेको आँसुमा निराशा छचल्किरहेको थियो । त्यो अवस्था एक्कै छिनमा भावविभोर अवस्थामा बदलियो । एकैछिन कसैको बोली फुटेन ।
एउटा बाहिरी नागरिकको नाताले म त्यो पीडालाई आत्मबोध गर्दै केलाइरहेकी थिएँ । मेरो मुटुको कुनामा पनि डर र त्रास लुकिरहेको थियो । तर म निःसहाय थिएँ । कसरी त्यसलाई बन्द गरौं, मैले बुझ्न सकेकी थिइनँ ।
असहिष्णुता, लैंगिक विभेदको पक्षधर अनि विभिन्न आप्रवासी समूहको भावनालाई ठेस पुर्याएको मानिस अमेरिकाजस्तो सर्वशक्तिमान राष्ट्रको राष्ट्रपति बन्न पुगेकोमा सबै दुःखी थिए । उनीहरूलाई राम्रो महसुस गराउने शब्द थिएन मसँग ।
त्यसपछि म र मेक्सिकन मूलकी साथी अर्को कक्षाकोठामा गयौं । समयभन्दा अगाडि आइपुगेकाले कक्षा कोठामा ऊ र ममात्र थियौं । एक्कै छिनमा ऊ डाँको छोडेर रुन थाली । मसँग केही शब्द थिएन । मैले गएर उसलाई च्याप्प अँगालो हालें । कक्षा कोठामा बस्न सक्ने अवस्था नभएकाले उसले काउन्सिलिङ सेन्टर जाने निर्णय गरी ।
लगत्तै मेरी प्रोफेसर कक्षाकोठामा प्रवेश गरिन् । उनको पहिलो वाक्य थियो, ‘आज म भावविह्वल छु ।’ वाक्य टुंग्याउन नपाउँदै आँसुका धारा बग्न थाले उनका आँखाबाट । उनले आफूलाई समाल्न सकिनन् । कक्षा कोठामा सबै अन्तर्राष्ट्रिय विद्यार्थी थिए । कसैलाई के गर्ने पत्तो थिएन ।
गएर उनलाई पनि मेरी साथीलाई जस्तो अँगालो हालौं कि भन्ने सोचें तर फेरि उनी मेरी प्रोफेसर हुन् भन्ने सोचाइले मलाई रोक्यो । बिस्तारै सोचाइको दिशा परिवर्तन हुन थाल्यो । कक्षामा एकएकजनाले त्यो अवस्थामा पनि उज्यालोतर्फ कसरी हेर्ने भन्ने चुनौती फ्याँके । कसैले राष्ट्रपतिले मात्र सबै कार्यभार समाल्दैनन् भने । कसैले सोचेको जस्तो घिनलाग्दो अवस्थाको सिर्जना हुँदैन भन्दै प्रोफेसरलाई राम्रो महसुस गराउन खोजे ।
सबै अन्तर्राष्ट्रिय विद्यार्थी भएकाले अमेरिकी राजनीतिबारेमा धेरै ज्ञान कमैलाई थियो । तर प्रोफेसरलाई आश्वस्त गर्न हामी सबै जुट्यौं । विडम्बना ! सधैं हामीलाई मार्गदर्शन गर्ने शिक्षकलाई आज हामी सहारा दिइरहेका थियौं । योभन्दा मीठो र असल प्रयास त्यो दिनमा सायदै अरू केही हुनसक्थ्यो होला ।
उनले आफूलाई समाल्दै भनिन्, ‘मैले मेरो देशलाई चिनेकी छु जस्तो लागेको थियो तर म गलत रहेछु ।’ त्यो वाक्यले मेरो मुटु च्वास्स छोयो । जुन अनेकताले गर्दा अमेरिका महान् छ त्यही अनेकताको सम्मान गर्न नसक्ने उम्मेदारलाई अमेरिकाले राष्ट्रपति कसरी घोषित गर्यो ? यहाँ मान्छेहरूलाई त्रास अमेरिकालाई गलत मान्छेले नेतृत्व गर्दैछ भन्ने हैन तर त्यो संकीर्ण सोचाइलाई बहुमतको अनुमोदन बढी दुःखद् बन्य पुग्यो ।
५० प्रतिशतभन्दा बढी अमेरिकीले ट्रम्पलाई जिताएपछि मेरा साथीहरूले अमेरिकाले जति स्वतन्त्रताको कुरा गरे पनि मानिसको सोचाइ अझै संकीर्ण रहेको र अब यो सोचाइले विजय हासिल गरेपछि समाजले नराम्रो मार्ग लिने अनुमान गरिरहेका थिए ।
धेरै विद्यार्थी तनावमा रहेकाले आज कक्षाकोठा आउन कोही बाध्य थिएन । कलेजका अध्यक्षले सबैलाई चिठी पठाएर सम्झाउन खोजेका थिए । विभिन्न विभागहरूले निःशुल्क खाना बाँडिरहेका थिए । खुसी के कुराको थियो भने मेरो कलेजमा सबैले एकअर्कालाई सहारा दिइरहेको थियो । भविष्यका बारेमा त केही भन्न सकिँदैन तर अमेरिकामा यही एकता कायम रहने हो भने सायदै यसको महानतालाई एउटा निर्वाचन नतिजाले डगमगाउन सक्ला ।
(दाहाल मिसिगनस्थित कलामाजु कलेजमा अध्ययनरत छिन् ।
annapurnapost




















