आदित्यमान श्रेष्ठ
भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण अविस्मरणीय रह्यो । तर कुन कुरामा अविस्मरणीय रह्यो भन्ने पक्ष भने विवादास्पद नै रहने भयो ।
सर्वप्रथम, राष्ट्रपति मुखर्जीको भ्रमणले एउटा टड्कारो चीज देखियो । त्यो हो नेपाली जनता र सरकारबीचको फाटो । राष्ट्रपतिको स्वागत समारोह र कार्यक्रमले नेपाल सरकारको नेपाली जनतामाथि रत्ति पनि विश्वास नरहेको देखियो । काठमाडौँका जनताले भारतका राष्ट्रपतिलाई हेर्न र देख्न पनि पाएनन् । सडकमा उभिएर अभिवादन गर्न पनि पाएनन् ।
राष्ट्रपतिको अनुहार टीभी र फेसबुकमा मात्र देख्न पाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा देखिएको जनलहर नदेखिएको मात्र होइन, कतै आउन नै दिइएन । सञ्चारमाध्यममा नेपाली जनताले भव्य स्वागत गरे भनेर भनियो तर वास्तवमा नेपाली जनतालाई नै टाढा राखियो । विदेशी राष्ट्रप्रमुखको भ्रमणमा सुरक्षाको व्यवस्था मिलाउनु स्वाभाविक नै हो ।
तर उनी भ्रमण गर्ने बाटोमा एकजना मानिस पनि बस्न र उभिन पनि नदिनु अस्वाभाविक देखियो । जनताका नाउँमा आउने, बस्ने, घुम्ने, कुरा गर्ने तर जनतालाई नै आँखा अगाडि पर्न नदिने र जनताबाटै तर्सिएको देखाउने गर्दा जनताबाट पाहुनाको हानि-नोक्सानी हुने अथवा विरोध हुने शंका गरिएको देखिन्छ । अबदेखि विदेशी पाहुना आउँदा नेपाली घर छोडेर कतै टाढा घुम्न जाओस् भन्ने सन्देश दिएको छ ।
दोस्रो कुरा, नेपालको सरकार र अधिकारीहरूले भ्रमण सफल भएको र भारत र नेपालको सम्बन्ध अरू गाढा भएको बताएका छन् । भ्रमणमा के उपलब्धि भएर यस्तो भनिएको हो, नेपाली जनताले थाहा पाएका छैनन् । बिग्रेको सम्बन्ध सुध्रिएको भनिएको छ । के बिग्रेको थियो र के सुध्रिएको भन्ने पनि प्रस्ट छैन । नेपाल र भारतको सम्बन्ध बिग्रेको विगत वर्षको नाकाबन्दीले हो । त्यसबारेमा त दुवै पक्षबाट उच्चारणसम्म पनि गरिएन ।
जहाँसम्म मधेसको समस्या छ सो यथावत् नै रहिआएको छ । यो भनाइबाट कतिसम्म बुझ्न सकिन्छ भने सुध्रिएको र गाढा सम्बन्धबाट वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू यथावत् कायम रहनेछन् र उनीहरूलाई पदस्थापन गर्न भारतले कोसिस गर्ने छैन । केपी शर्मा ओलीको सरकारलाई जसरी अपदस्थ गरियो, त्यसको तुलनामा वर्तमान सरकारको जीवन सुरक्षित भएको संकेत गरिएको मान्नु पर्दछ ।
तेस्रो कुरा, राष्ट्रपति मुखर्जीको भ्रमणकालमा सुरक्षाको निकै चर्चा भयो । त्यसैअनुसार सुरक्षाको व्यवस्था पनि सुदृढ पारियो । काठमाडौंको सडकमा कफ्र्यु लागेको आभास भयो । आतंकवादीबाट कतिको खतरा थियो भन्ने सबै सार्वजनिक हुने कुरा होइन । नेताहरू जनताबाट टाढा बस्न नमाने पनि सुरक्षाकर्मीहरूले आफ्नो कर्तव्य निर्वाह गरिहाल्छन् । पाहुनाको सुरक्षाको जिम्मा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा राखिएको भन्ने जानकारी पनि दिइएको हो । सुरक्षाको व्यवस्था खल्बल्याउने अथवा चुनौती दिने काम कतैबाट दिइएको देखिएन ।
यसबाट एउटा आजसम्म थाहा नभएको तथ्य खुलेको छ । त्यो हो सेनाको सुरक्षा व्यवस्था बलियो र प्रभावकारी छ । त्यसलाई नेपाली जनताले सहर्ष स्वीकार गर्दछन् र सराहना पनि गर्दछन् । ठाउँठाउँमा भारतको विरोधमा प्रदर्शनी र कालो झन्डा देखाउने प्रयत्न भएको भए पनि सुरक्षा व्यवस्थामाथि कसैले खलल पुर्याउने प्रयत्न गरेनन् । यसबाट यो पनि प्रस्ट हुन आयो कि नेपाली सेना शान्ति सुरक्षा कायम गर्न अगाडि सरेको अवस्थामा नेपाली जनताले स्वीकार नै गर्ने छैनन् । राष्ट्रपति मुखर्जीको भ्रमण कतिको सफल भयो भन्ने कुरा विवादास्पद छ, तर सेनाको सुरक्षा व्यवस्थाको कुशलता भने विवादरहित निस्केको छ ।
चौथो कुरा, भारतीय नेताहरू भारतकै अंग मानिने कश्मीरको भ्रमणमा जाँदा जुन प्रकारको सुरक्षाको व्यवस्था देखिन्छ, त्यस्तै प्रकारको माहोल नेपालको राष्ट्रपतिको भ्रमणमा पनि देखियो भनेर भनियो । भनाइको तात्पर्य नेताहरू जाने बाटोमा कफ्र्यु नै लाग्ने गर्दछ । बजार सबै बन्द गराइन्छ । सडकमा कसैलाई पनि आउन दिइँदैन । अगाडि पछाडि सेनाले घेरिएको हुन्छ । सबैतिरबाट खतराको महसुस हुन्छ । आफ्नो लक्षमा नपुग्दासम्म सुरक्षाको कडा निगरानी रहन्छ ।
हुन त कश्मीर र नेपालको कुनै तुलना हुन सक्दैन तैपनि राष्ट्रपतिको भ्रमणले समान दृश्य खडा गरेको मान्नु पर्दछ । यसबाट नेपालमाथि भइरहेको थिचोमिचोको व्यवहारबाटै कश्मीरको सम्झना दिलाउने अवस्था आएको भारतले महसुस गर्नुपर्ने हो । अर्कोतिर भारतअगाडि लम्पसार पर्दा नेपालको गति पनि कति तल गिर्दो रहेछ भनेर नेपाली नेताहरूले पनि बुझ्नुपर्ने हो ।
कश्मीरको समस्या भारतको लागि एउटा कहिल्यै निको नहुने माइग्रेन जस्तो टाउको दुखाइ हो । त्यहाँ भारतीय नेताहरू जाँदा सुरक्षाको सवाल उठ्नु स्वाभाविकै हो । तर नेपालजस्तो मैत्रीपूर्ण देश र जनताका बीचमा पनि यस्तो सुरक्षाको खतरा महसुस गर्नु अस्वाभाविकै हो । त्यसकारण भारतले नेपालमाथि अचाक्ली गर्न छोडोस् र नेपालले भारतप्रति लम्पसार हुन छोडोस् भन्ने सन्देश पनि यो अविस्मरणीय भ्रमणले दिएको छ ।
नेताहरू जाने बाटोमा कफ्र्यु नै लाग्ने गर्दछ । बजार सबै बन्द गराइन्छ । सडकमा कसैलाई पनि आउन दिइँदैन । अगाडि पछाडि सेनाले घेरिएको हुन्छ । सबैतिरबाट खतराको महसुस हुन्छ । आफ्नो लक्षमा नपुग्दासम्म सुरक्षाको कडा निगरानी रहन्छ । नेपालजस्तो मैत्रीपूर्ण देश र जनताका बीचमा पनि भारतले सुरक्षाको खतरा महसुस गर्नु अस्वाभाविकै हो ।
पाचौँ कुरा, एउटा राष्ट्राध्यक्षलाई नेपालले जति सम्मान र स्वागत गर्नुपर्ने हो, त्योभन्दा धेरै भारतीय राष्ट्रपतिलाई दिइयो भन्ने गुनासो सर्वत्र सुनियो । भारत र चीनका राष्ट्रपति नेपालको भ्रमणमा आउँदा सार्वजनिक बिदा दिएकोमा जनताले निको मानेनन् । यसको सर्वत्र गुनासो र विरोध भयो । यसबारेमा प्रधानमन्त्री दाहालले स्पष्टीकरण पनि दिए, तर फितलो । यो निर्णय सबैसँग सल्लाह गरेर गरेको भने । सल्लाह गर्नु उनको कर्तव्य हो तर निर्णय गर्नु उनको अधिकार हो ।
आफ्नो गलत निर्णयको जिम्मेवारी अरूको काँधमा राख्नु आफ्नै नालायकी ठहरिन्छ । अर्को कुरा जनताले आवतजावतमा यति धेरै अवरोध खडा होला भन्ने अन्दाज गरेका थिएनन् । त्यसैले उनीहरूले पाहुनाको बसाइ र भ्रमणलाई बोझ सम्झिए । कति मानिसहरूले पाहुना फर्केपछि बोझ नै हल्का भएको अभिव्यक्ति पनि दिए । यसबाट यो पनि प्रस्ट देखियो कि नेपालको सरकार जनताको भावना र विचारबाट कति टाढा रहेछ ।
छैटौँ कुरा, आखिर जनताले विरोध गर्न चाहे भने कुनै पनि किसिमले गर्न सक्ने रहेछन् भनेर पनि देखिन आयो । काठमाडौँमा कालो झन्डा लिएर हवाई अड्डा पुगेकोमा गिरफ्तार त गरियो तर सञ्चारमा सो तथ्य खुलेपछि त्यसको उद्देश्य पूरा भयो । पाहुनालाई नेपालीहरूले सितिमिति कालो झन्डा देखाउँदैनन् । तर यसपटक यो काम गरिएको खुलस्त भयो ।
सामाजिक सञ्जालमा यो कुरा फैलियो । पोखरामा मानिसहरूले बलुनमा कालो झन्डा राखेर उडाए । आखिर नेपाली जनमानसमा केही चोट पुगेकाले नै यस्तो गरिएको भनेर मान्नुपर्नेमा न भारत न नेपालका सरकारी अधिकारीहरू स्विकार्न तयार छन् । उनीहरू विरोधीहरूलाई चीनबाट प्रेरित भएको नै मान्छन् मानौँ नेपालमा भारतले जेजस्तै गरे पनि नेपाली जनताले शिरोपर गर्दछन् ।
भारतको आलोचना गर्नेहरू जन्मौटे या भरौटे विरोधी हुन् भन्ठान्छन् । त्यसैले यसमा अरूको मात्र दोष देख्छन् र आफ्नो विचार र व्यवहारमा कुनै पनि परिवर्तन गर्नुनपर्ने ठान्छन् । यसै घनचक्करमा नेपाल र भारतको सम्बन्ध बिग्रेको देखिन्छ । सुध्रिएको सम्बन्ध कस्तो हुने रहेछ भनेर हेर्न नै बाँकी छ ।
annapurnapost




















