×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतीय राष्ट्रपतिलाई खुलापत्र

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नकर नेपाल

    महामहिम राष्ट्रपति महोदय,

    हाम्रो देशमा पाल्नुभएको उपलक्ष्यमा, सार्वभौम र स्वतन्त्र राष्ट्र नेपालको एउटा जागरुक राष्ट्रप्रेमी नागरिकको हैसीयतमा म तपाईंलाई यो पत्र लेख्दैछु। हाम्रो सबै भन्दा नजिकको छिमेकी राष्ट्रका प्रमुख अठार वर्षपछि नेपाल आउनुभएको यो ठूलो अवसर हो र यहाँलाई नेपालमा सहर्ष हृदयदेखि नै स्वागत गर्ने हाम्रो ठूलो चाहना छ। हरेक नेपालीले यहाँलाई त्यसरी नै मुटुदेखि स्वागत गर्ने आदर्श अवस्था नै दुवै देशको लागि हितकर हुन्छ भन्नेमा हामीलाई विश्वास छ। तर पनि राष्ट्रपति महोदयले अहिले सम्म बुझिसक्नु भयो होला, त्यो यसपाला हुनै सम्भव भएन।

    यहाँको स्वागतमा हाम्रो देशको सरकारले कुनै कमी छोडेको छैन। गणतन्त्र नेपालका राष्ट्रपति आफैं विमानस्थलमा पुगेर यहाँलाई स्वागत गर्नुभएको छ। यहाँले देखिसक्नु भयो, ध्वजा-पताकाहरु र तोरणहरुले यहाँको आगमनलाई रंग्याइएको छ। यहाँ आउने दिन विशेष बिदाको घोषणा गरेर सम्मानको औपचारिकतालाई जनताको सहर्षताले सहज बनाउन पनि खोजिएको छ। तर तपाईंका नेपालस्थित दूतहरुलाई यो यस्तै शब्दमा भन्न अप्ठेरो भयो होला, म यहाँ प्रस्ट सँग भन्छु – त्यसको असर भने जनमानसमा ठ्याक्कै उल्टो भएको छ। र, ‘तपाईंलाई यहाँ स्वागत छैन’ भन्ने नाराका साथ यहाँको सामाजिक सन्जाल गुन्जिएको छ। हिमालयकाखको यो ‘शान्ति-क्षेत्र’मा फेरी एकपल्ट भारत-विरोधको विस्फोट हुन पुगेको छ।

    हाम्रो देशलाई ‘माया गरेर’ यसरी आउनुभएका यहाँलाई अतिथि सत्कार गर्न पनि कन्जुस्याइँ गर्ने सानो चित्त भएका हामी होइनौं। केही हदसम्म यो असभ्यताका लागि म यहाँसँग व्यक्तिगत रुपमा क्षमा माग्न चाहन्छु। शिष्टताको मर्यादाले डोर्‍याउन खोज्दा पनि मेरो दिल खुलेको छैन, यसमा मलाई साह्रै दु:ख लागेको छ। हामी कतै धेरै भावुक त भएनौं भन्ने आत्मालोचना हामी नेपाली जनताले गर्नेछौं। तर महामहिम राष्ट्रपति महोदय, यहाँले पनि यो विचार अवश्य गर्नुहोला- भौगौलिक रुपमा यति नजिक भएको देशका जनता भावनात्मक रुपमा यति टाढा किन ?

    तपाईं यस्तो समयमा नेपाल आउनुभएको छ, जब हामी हिमाल-पहाड-तराइमा अलग अलग नाममा चाडपर्वको रमाइलोमा हर्षोल्लासित छौं। हाम्रो संस्कृति लगभग मिल्दो-जुल्दो भएको हुनाले तपाईंले बुझ्नुहुन्छ, जसरी बंगालमा पूजाको समयमा पन्ध्र दिनसम्म सम्पूर्ण वातावरण नै अपरिमित हर्ष र उल्लासमा रङिएको हुन्छ, हाम्रो लागि यो समय त्यस्तै हो। तर एक वर्षअघि भूकम्पको त्रासदीपछि सुस्त-सुस्त थामिन खोजेका हामी नेपाली जनताले यस्तो महत्वपूर्ण समयमा र मुश्किल अवस्थामा नाकाबन्दी खेप्न पर्‍यो।

    हाम्रो मानसपटलमा त्यो भूकम्प पछिको कहालीलाग्दो अवस्था पष्चात आइलागेको नियोजित विपदा अझै ताजै छ। तपाईंको सरकारले नाकाबन्दी प्रकरण पूर्णत: आन्तरिक कारणले गर्दा हुन पुगेको हो र भारतको यसमा केही दोष छैन भनेर प्रचार गरेको छ। त्यही ‘न्यारेटिभ’ अमेरिकाको नेत्रित्वमा वैदेशिक शक्तीहरुलाई पनि मान्य बनाइएको छ। चीनको बिरोधी खेमामा उभिएर स्वार्थ गाँसिन पुग्दा पश्चिमी तागत सँग भारतको पनि स्वार्थ मिल्न पुग्यो र नेपालको चित्कार कसैले सुनेन।

    भारत सरकारले यो औपचारिक रुपमा घोषणा गरेको नाकाबन्दी होइन भनेर भनेपनि यहाँलाई यो कुरो छर्लङ थाहा छ र हामीलाई पनि कुनै शंका छैन। पोहोर साल दसैं तिहारका बेला हाम्रा घर भत्केका थिए, भान्सामा आगो बल्ने अवस्था थिएन, एम्बुलेन्समा हाल्ने तेल थिएन, अस्पतालमा औषधी थिएन। र तपाईंको सरकार हाम्रो संविधान निर्माण प्रकृयाको असन्तोषको बदला हामीलाई भोकै राखेर लिँदै थियो। माफ गर्नुहोला राष्ट्रपति महोदय, हामीले यति छिट्टै बिर्सन सकेनौं।

    अहिले म आफ्नै व्यक्तिगत कुरा गर्छु। म नेपाली नागरिक हुँ, तर केही समय अघिसम्म भारतीय सेनामा राष्ट्रपतिको कमिशन-प्राप्त अधिक्रितको रुपमा तपाईंको राष्ट्र भारतको सेनामा पूर्ण निष्ठा र कर्मठताका साथ सेवा गरीरहेको थिएँ। स्वतन्त्र राष्ट्र नेपालको नागरिकले अर्को देशको सेनामा भर्ती भएर त्यो देशको लागि ज्यान दिनु उचित हो कि होइन? यो कस्तो सार्व-भौमिकता हो? आदी इत्यादी प्रश्नसँग जुध्दै मैले आफ्नो वयस्क जीवनको ठूलो भाग दुविधा र आन्तरिक संघर्षमा बिताएँ।

    म आफ्नो इच्छाले नै भारतीय सेनामा गएको थिएँ। र भारतीय सेनाले विदेशी देशका नागरिकलाई सेनामा राख्नु र त्यसमाथि पनि कुनै भेदभावबिना मान-पदवी र पदोन्नतिका सम्पूर्ण अवसरहरु दिइनु नेपालीहरुले त्यो संगठनबाट आर्जन गरेको अटुट विश्वासको संकेत हो, यसका लागि हामी कृतग्य नै छौं। केही छिट्पुट व्यक्तिगत घोंघोंचाई बाहेक मैले नेपालीहरुप्रति भारतीय सेनामा कुनै संस्थागत भेदभाव देखिन, भोगिन। यो सम्बन्ध र संस्थाको पारीपक्वताको परिचायक हो।

    म खुलेर यहाँ भन्न चाहन्छु राष्ट्रपति महोदय – भारतीय सेनामा नेपालीहरु प्रति कुनै संस्थागत भेदभाव छैन। साथै, जोखिमपूर्ण लडाईंमा गोर्खा रेजिमेन्टलाई पठाइन्छ भन्ने धारणा पनि गलत हो। यो नेपालमा फैलिएको भ्रम र मिथ्या मात्र हो। वास्तवमा भारतमा नेपाल र नेपालीहरुको हित चाहने समूहमा गोर्खा रेजिमेन्टका जनरलहरु नै छन्, नाकाबन्दी प्रकरणमा मोदी सरकारको कडा विरोध गरेर आवाज उठाउने तीनै थिए।

    तर महामहिम राष्ट्रपति ज्यु, यहाँ अवगत नै हुनुहुन्छ होला, भारतको अन्य संयन्त्रमा र आम-जनतामा भने त्यो सदाशयता पाउन गाह्रो छ र त्यसको अनुभूति हरेक नेपालीले धेरैपटक गरेका छन्। म सँग प्रत्यक्ष कुराकानीमा ‘र’ का पूर्व अधिकारीले मधेस आन्दोलनको बेला यहाँका विभिन्न सशस्त्र समूहहरुलाई ‘र’ ले हातहातियार दिएर सहयोग गरेको स्विकार गरेका छन्। विडम्बना, ती सशस्त्र समूहले नेपालमा हत्या र हिंसाबाट आतंक मच्चाइरहेका थिए। उनीहरुलाई सघाएको स्विकार्ने अधिकृत सेनाबाट ‘र’मा गएका थिए, र म त्यही भारतीय सेनामा पूर्ण निष्ठाका साथ आफ्नो तन र मन समर्पित गरेर सेवा गरिहेको थिएँ।

    मेरो द्विविधा र आत्मग्लानी तपाईं कल्पनासम्म पनि गर्न सक्नुहुन्न राष्ट्रपति महोदय! म लज्जित थिएँ, आक्रोशित थिएँ। यही आक्रोशले मेरो दुविधाको पनि अन्त्य गर्‍यो। काठमाडौंस्थित तपाईंको दूतावासमा मैले भारतीय राष्ट्रपतिलाई लेखिएको आफ्नो राजीनामा पत्र र ‘भारतीय राष्ट्रपतिको कमिशन’ पत्र बुझाउँदा त्यहाँका पदाधिकारीले ठूलो अहमका साथ यो घोषणा गरे – ‘यो कदमले पुरै सिस्टम तेरो पछि लाग्नेछ। तँ ठूलो मुश्किलमा पर्नेछस्।’ मेरै देशमा तपाईंको दूतावासमा यो सम्मको धम्की खेपेर पनि वहाँलाई विनम्रतापूर्वक त्यही कुरा भनें जुन पत्रमा लेखिएको थियो, मेरो विवेकले मलाई त्यहाँ सेवा गर्न दिएन।

    तर महामहिम राष्ट्रपति महोदय, त्यो भनेर नेपालको र भारतको ‘सिस्टम’ नै तेरो पछि लाग्नेछ भन्ने ठूल्याइँ र आँट ती पदाधिकारीलाई कहाँबाट आयो? मलाई भारतीय सेनामा मैले सेवा गर्नु गलत हो भन्ने आफ्नो निर्णय प्रति रहेको बाँकी शंका पनि उनको त्यो व्यवहारले अन्त्य गर्‍यो। यस्तो हेपाहा प्रवृत्ति हामीले धेरै भोगेका छौं, देखेका छौं। त्यसले हामीलाई भित्रैसम्म घोच्छ, झस्काउँछ र आक्रोशित पार्छ। यसै कारण, यहाँलाई स्वागत गर्न हाम्रो स्वाभिमानी मनले मान्दैन।

    भारतमा हाम्रो इतिहास पढाइन्न। धेरै भारतीयहरुलाई नेपाली स्वाभिमानको जरो कहाँ छ भन्ने थाहा छैन। नेपाली इतिहास लेख्ने भारतीयहरुले पनि तथ्यलाई अर्कै रुपमा पढाएका छन्। यहाँ अवगत नै हुनुहुन्छ, भारतको राष्ट्रियता अंग्रेज-विरोधी भावनाबाट नै विकसित हुन पुगेको हो। तर नेपालको सन्दर्भमा त्यो लागु हुँदैन। भारतमा अंग्रेजहरु हावी हुन भन्दा अगाडिका तीन शक्तिशाली राष्ट्रहरु, पन्जाब, मराठा र गोर्खा मध्य गोर्खा मात्र तीन शतक पछिसम्म बाँच्न सफल छ। हाम्रो शिरपोश र कम्मरमा भिरेको खुकुरीमा त्यो इतिहासको गौरव छ, तर त्यो भारतमा बुझिँदैन।

    राष्ट्रपति महोदय, विगतमा रमाएर वर्तमानको परिस्थिति बिर्सिएर कुनै फाइदा छैन, हामीले बुझेका छौं। तर अहिलेको अवस्थामा पनि हामीले असल छिमेकीबाट राखेका अपेक्षाहरुको भारतले बारम्बार तिरस्कार गर्दै आएको छ।

    तपाईं कुटनीति बुझ्नुहुन्छ। हामी भू-परिवेष्ठित छौं, निकासको लागि हामी भारतप्रति आश्रित छौं। र यसै कारण ‘नाकाबन्दी’ को ब्रह्मास्त्र भारतलाई प्राप्त छ। तर, एउटा सार्वभौम राष्ट्रको संविधान बनाउने प्रक्रियामा ९० प्रतिशत भन्दा बढीको बहुमतले पारित संविधानलाई तपाईंको सरकारले स्वागत गरेन। त्यसलाई निहुँ बनाएर त्यो ब्रह्मास्त्रको प्रयोग भयो। कसरी तपाईंलाई स्वागत गरौं?

    हो, हाम्रा आन्तरिक किचलाहरु छन्, हामी संवेदनशील परिस्थितिमा छौं र समाज सौहार्द तर निक्कै गतिशील छ। हाम्रा सामाजिक समानवयका समीकरणहरु तीब्र रुपमा फेरिँदैछन। तर राष्ट्रपति महोदय, हाम्रा किचलाहरुलाई थप बल दिने गरी गरिने प्रत्यक्ष-अप्रत्यक्ष हस्तक्षेप पछि के साँच्चै तपाईं आमजनताको मनमा भारत र भारतीयप्रति सद्भावको अपेक्षा गर्नुहुन्छ? हामीलाई माफ गर्नुहोस्, न हामी बुद्धु छौं, न त्यति धेरै उदार!

    महामहिम राष्ट्रपति महोदय, तपाईं मात्र औपचारिक राष्ट्रप्रमुख भएको हुनाले सद्भाव बाहेक अरु यो तीर्थ यात्राको केही उद्देश्य छैन भन्नेहरु यहाँ धेरै छन्। तर हामी सबै त्यसो मान्दैनौं। व्यक्तिगत रुपमा तपाईं भारतको राजनीतिमा प्रभावशाली व्यक्तिका रुपमा मानिनुहुन्छ। संस्थागत रुपमा पनि एउटा सन्देश पक्कै तपाईंले भारतमा आम जनता, राजनीतिज्ञ तथा सरकारलाई दिन सक्नुहुन्छ।

    राष्ट्रपति महोदय, तपाईं पशुपतिनाथ जानुहुन्छ, जानकी धाम जानुहुन्छ। पोखरामा भूतपूर्व भारतीय सैनिकहरुलाई सम्बोधन गर्नुहुन्छ। तर, यही समय धरानमा २० वर्षे राइफलम्यान ‘बिमल तमाङ’ की बुढी आमा रोएर बसेकी छन्। तपाईंको देशको सीमा रक्षाका लागि कश्मिरमा खटिएका बिमलको भर्खरै पाकिस्तानी गोली लगेर मृत्‍यु भएको छ। उनलाई भेट्ने प्रयास गर्नुहोस्, एउटा फोटो खिचेर लैजानुहोस्।

    तपाईंलाई यो नेपाली मनको भित्रैदेखि अनुरोध छ – जुन दिन तपाईंको सरकारका नेपाल नीति बनाउनेहरुले विमल तमाङकी आमालाई सम्झेर निर्णय लिनेछन्, त्यो दिन सबै नेपाली मनले यहाँलाई शीर झुकाएर नमन गर्नेछन्। अहिलेलाई भने हामी माफि माग्न बाध्य छौं। तपाईंको यात्रा शुभ रहोस्!

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.