×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रश्न गर्ने पुस्ता

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बच्चु बिक  

    दलीय सर्वसत्तावाद र तिनका ‘सिन्डिकेट’ शक्तिकेन्द्रलाई सार्वजनिक रूपमै प्रश्न गर्ने नयाँ पुस्ता सक्रिय रहुञ्जेलसम्म जीवन्त बौद्धिक समुदायप्रतिको आशा जीवितै रहनेछ।

    ३० वर्षे पञ्चायती निरंकुशतापछिको २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालीले आफ्नो दिन फिर्ने भरोसा गरेका थिए। दिन त फेरियो, तर दैनन्दिनका समस्या फेरिएनन्। प्रजातान्त्रिक व्यवस्थाको अभ्यासमा कच्चा राजनीतिक दलहरू स्वार्थको लुछाचुँडीमै अल्झिए।

    २०५२ सालमा माओवादीको दशकलामो सशस्त्र विद्रोहले दलीय राजनीतिलाई सम्हालिन दिएन। हिंसा–प्रतिहिंसाले देशको राजनीतिक, आर्थिक मात्र होइन सामाजिक अवयवसमेत कमजोर बनायो। भूराजनीतिको आयाम फेरियो। २०६२/६३ को माओवादीसहितको जनआन्दोलनले राजा ज्ञानेन्द्र शाहको ‘कु’ मात्र होइन, राजतन्त्र नै समाप्त गर्‍यो। देश धर्मनिरपेक्षतासहितको संघीय गणतन्त्रमा प्रवेश गर्‍यो। मुलुकमा संक्रमणसहितको शान्ति भित्रियो। नेपाली आँखामा ‘नयाँ नेपाल’ देखिन थाल्यो।

    सन् २०११ को जनगणनामा नेपालको कुल जनसंख्याको ४०.३ प्रतिशत युवा (१६–४० वर्षभित्रका) छन्। युवामध्ये पनि २०४६ सालपछिका पुस्ताको संख्या बढी छ। तर, विडम्बना, आफ्नो जीवनकालमा दुई/दुई वटा ठूला आन्दोलन व्यहोरेको पुस्ताले लोकतन्त्रको वास्तविक आत्मानुभूति भने गर्नै पाएका छैनन्।

    समस्या फेरि पनि राजनीतिक दलहरूको अक्षमतामै देखिएको छ। हिजो अनुभवहीनताबाट गुजि्रएका दलहरूमा आज सर्वसत्तावाद हावी भएको छ। यो सोचाइले आफूबाट असहमतको घाँटी निमोठ्नेसम्मको आकांक्षा पालेको छ। संदिग्ध शक्तिकेन्द्रहरू बनाएर मौनतालाई नयाँ संस्कार बनाउने कुनियत पालेको छ।

    तर, पञ्चायती ‘भूत’ पालेका नेता, प्रशासक जो–कोहीले पनि नबुझ्ेको के हो भने पछिल्लो तीन दशकमा हुर्किएको पुस्ताले अरू केही नसिके पनि प्रश्न गर्न सिकेको छ। प्रश्नले अन्तरसंवाद जन्माएको छ। र, यस्तो संवादले उल्लेख्य रूपमा फस्टाएका सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन्।

    प्रश्न गर्ने अनि आवश्यक परे सडकमै ओर्लने यिनै सचेत पुस्ताको बौद्धिक हस्तक्षेपले देशको उज्यालो भविष्यको संकेत गरेको ढुक्कले भन्न सकिन्छ। ‘पब्लिक इन्टेलेक्चुअल’ का प्रारम्भिक तहमा देखिएका यी नयाँ अनुहारबाट जनताले केही न केही आशा राख्न थालेका छन्। यो, यी अनुहारको अवसर र चुनौती दुवै हो।

    शिवानी सिंह थारू
    जनआन्दोलनका दोषी लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को प्रमुख आयुक्त बनाउने सरकारको निर्णयलगत्तै २५ वैशाख, २०७० मा शिवानीसिंह थारूले ट्वीट गरिन्– ‘अख्तियार अब सामूहिक बलात्कृत हुँदैछ। बलात्कारी लोकमान हैनन्। चार दल बलात्कारीहरू हुन्। लोकमान त ती बलात्कारीहरूका लिङ्ग मात्र हुन्।’ अहिले पुष्टि भएको छ, थारू सत्य थिइन्।

    ट्वीटरमा ३५ हजार फलोअर्स र फेसबूकमा १७ हजार साथी भएकी लेखक तथा सञ्चारकर्मी शिवानीसिंह थारू समसामयिक मुद्दामा खरो लेख्न रुचाउँछिन्।

    टीकापुर घटना तथा भारतीय नाकाबन्दीविरुद्ध लेख्दा कतिपयले उनलाई तथानाम गाली समेत गरे। एक जना फलोअरले ‘थारू’ थर नसुहाउने भन्दै होच्याएपछि उनले लेखेकी थिइन्– ‘शिवानीसिंह अधिकारी, शर्मा, थापा होस् वा शिवानीसिंह थारू, पासवान वा यादव होस्। भारतीय नाकाबन्दी मूर्दावाद।’

    ३१ भदौ, २०७२ मा थारूले ट्वीट गरेको ‘संविधान २०७२ आउँदा लाग्यो तरकारीमा जिरा, धनियाँ पुगेकै हो। तरकारी मजाले पाकेको पनि हो। बास्ना पनि आइरहेकै छ। तर खाँदा नून नै नभएको जस्तो!’ ले उनका एकथरी समर्थकलाई भने चिढ्यायो।

    तर, गाली होस् या ताली, जुनसुकै विषयमा निर्भीक शिवानी भन्छिन्, “जब हुनुपर्ने एउटा कुरा हुन्छ, अर्कै भइराखेको पाउँछु। चित्त बुझ्दैन अनि लेख्छु।” मदानीले दहीबाट नौनी र मोही बनाएजस्तै पक्ष–विपक्षमा बहस हुँदा फाइदा नै पुग्ने उनको धारणा छ।

    भारतीय नाकाबन्दी विरुद्ध राजधानीको सडकमा उत्रिएका युवा।

    डा. समिर लामा
    प्यूठानको जिल्ला अस्पतालमा कार्यरत डा. समिर लामा ‘चित्त नबुझ्दा’ फेसबूकमा लेख्न छुटाउँदैनन्। विभागीय मन्त्री गगन थापाका कुरा चित्त नबुझेपछि उनले २ असोजमा लेखे– ‘स्वास्थ्य मन्त्रीज्यूले पैसाको अभावले उपचार नपाएको सुन्नु नपरोस् भन्नुभएको रहेछ।

    म उहाँलाई हरेक दिन दुई–चार वटा त्यस्ता खबर सुनाउन सक्छु, यदि सुन्ने मन भए। सरकारको निःशुल्क उपचार व्यवस्थाले मात्र सबै उपचार धान्नै सक्दैन, बरु बेलैमा स्तरीय र व्यवस्थित स्वास्थ्य बीमा लागू गरौं।’

    भारतीय नाकाबन्दी, मधेश आन्दोलन,भूकम्पपीडितले भोगिरहेको सास्ती र डा. गोविन्द केसीको अनशनका पक्षमा लामाले निर्धक्क सार्वजनिक टिप्पणी गरेका छन्।

    सर्वोच्च अदालतले अख्तियारका प्रमुख कार्कीको फाइल पेश गर्न दिएको आदेशमा सरकारले भूकम्पमा हराएको प्रतिउत्तर दिएपछि उनले लेखे– ‘हरिवंशः चिना हराएको मान्छे, लोकमानः फाइल हराएको मान्छे।’

    चूपचाप अस्पतालमा काम नगरेर किन बोलिहिंडेको? धेरै साथी उनलाई यसै भन्छन्। “एमबीबीएस, एमडीका कुनै पनि किताबमा गरीब, असहाय बिरामीलाई निःशुल्क वा आफ्नै पैसा खर्च गरेर पनि उपचार गर्नु भन्ने लेखेको थिएन”, डा. समिर भन्छन्, “त्यो त आफ्नो विवेकले गर्ने हो।” लाग्छ, लामा विवेकका चिकित्सक हुन्।

    पार्वती सुब्बा
    पारु लिम्बूका नामले ट्वीटर र फेसबूकमा सक्रिय सुब्बा सिरहास्थित नेपाल रेडक्रस सोसाइटी, वास परियोजनामा काम गर्छिन्। र, चित्त नबुझेको कुरामा सामाजिक सञ्जालमा लेख्छिन्।

    मधेश आन्दोलन होस् या लिम्बूवान बन्द, थरूहट प्रदर्शन होस् या खसको विरोध, सुब्बा देखेको कुरा भन्न डराउँदिनन्।

    “जातिवाद, क्षेत्रीयवाद, अतिवादमा विश्वास गर्दिनँ, त्यसका विरुद्ध लेख्छु, बोल्छु”, उनी भन्छिन्। हालै मात्र उनको ‘द मधेश आई नो’ लेख छापिएपछि मधेशका कुरा किन कोट्याएको भन्नेहरूको जवाफमा उनले ट्वीट नै गरिन्– ‘गलतलाई गलत भन्न नसक्नु पनि गुलामी नै हो।’

    कसैको पनि पक्ष नलिएर बोल्दा गाह्रो नहुने विश्वास बोकेकी सुब्बा गाली गर्ने, डराउने, धम्क्याउनेसँग सहज रूपमा बहस गर्छिन्। त्यसो त उनले ट्वीटरको बायोमै लेखेकी छिन्– ‘म साधारण जनता हुँ। राष्ट्र मेरो लागि सर्वोपरि हो। न मैले कुनै पार्टीको झोला बोकेकी छु, न कुनै सिद्धान्तको खोल ओढेकी छु। देखेको बोल्छु, बुझ्ोको भन्छु, नबुझेको सिक्छु।’

    शिवानी न्यौपाने
    झण्डै एक वर्षअघि उनको दोस्रो उपन्यास निस्कियो, क्रसिङ स्याडोज। तर, न्यौपानेलाई ट्वीट र फेसबूक स्टाटसले बढी चिनाएको छ।

    अम्बे ग्रुप अफ इन्ड्रस्टिजकी एसिस्टेन्ट डाइरेक्टरसमेत रहेकी उनले नाकाबन्दीका बेला न्यूयोर्क टाइम्स लाई मेन्सन गर्दै लेखिन्– ‘यदि कसैलाई सम्पादकीय लेख्न लगाउनुहुन्छ भने कृपया तथ्य जाँच्नुहोला! भारतबाट नेपालमा व्यापार रोकिएको होइन। भारतले नेपालमाथि नाकाबन्दी लगाएको हो।’

    नाकाबन्दी, मधेश आन्दोलन, डा. गोविन्द केसीको अनशन, सर्वसाधारणले भोगेका दैनिक समस्यामा लेख्दा पक्ष र विपक्षमा उनलाई कतै ‘देशद्रोही’ त कतिले ‘काठमाडौंकी एलिट’ भनी होच्याएका पनि छन्। तैपनि उनी बोलिरहेकी छन्, किन त? “कतिपय विषय देश र समाजको विरुद्धमा गइराखेको देख्छु, चित्त बुझ्दैन लेख्छु” शिवानी भन्छिन्, “आफूलाई हानिनोक्सानी होला भनी चूप लाग्दिनँ।”

    भूषण यादव
    ‘तस्वीर साँच्चिकै बोलेछ आज! २ नम्बर प्रदेशका २ नम्बरी मसिहा २ चारा घोटाला विशेषज्ञ’, भारतको विहारमा लालुप्रसाद यादव र मधेशी दलका नेताहरू बसेको तस्वीर देखेपछि १८ माघ, २०७२ मा वीरगञ्जका पत्रकार यादवले यस्तो ट्वीट गरे।

    अनि त के चाहियो र? कति आन्दोलनकारीले उनलाई मार्नेसम्मको धम्की दिए। उनी भन्छन्, “गलत हुँदा बोल्ने हो। यो देशमा को सुरक्षित छ र?”

    नाकाबन्दीविरुद्ध चर्को रूपमा आफू कार्यरत कान्तिपुर दैनिक, फेसबूक, ट्वीटरमा लेख्दै आएका यादव आफूले उत्पीडनविरुद्ध बोलिरहेको तर्क गर्छन्।

    ‘धराशायी कृषिक्षेत्र, रुग्ण उद्योगधन्दा, हुलाकी राजमार्ग निर्माणमा राज्यको उदासीनता नै मधेश पछाडि पर्नुका मूल कारण भएको बताउँदै उनले लेखेका छन्– ‘सदियौंदेखि मधेशमा जसको हैकम चल्यो। गाउँमा कामदारलाई आफ्नो बराबरीमा बस्न समेत दिएनन्। बाउ/बाजे काठमाडौंमा बसे। उनीहरू नै उत्पीडित छन् रे!’

    विनिता गुरुङ
    पहिचानको आन्दोलन चर्किरहेकै बेला विनिता गुरुङको ‘अति भो पहिचानको राजनीति’ शीर्षकको लेख छापियो। लेखमा उनको भनाइ थियो– ‘घृणा र विग्रहको बीउ रोप्ने यस्तो साम्प्रदायिक राजनीति र राजनीतिज्ञहरूको पिछलग्गु बनिरहने कि साहस जुटाएर यस्तो राजनीतिको भर्त्सना गर्ने?’

    स्वाभाविक थियो, अमेरिकामा विद्यावारिधि गरिरहेकी गुरुङको यो लेखको आलोचना सबैभन्दा बढी जनजाति समुदायबाटै भयो। तर, नयाँ संविधानमा नागरिकताका विषयमा महिलामाथि भएको विभेद, महिलामाथि हुने घरेलु तथा लैङ्गिक हिंसाका विषयमा बोल्न छुटाइनन्।

    पढेलेखेका पुरुषहरूले पनि महिलामाथि गर्ने दुर्व्यवहारलाई इङ्गित गर्दै उनले १९ वैशाख, २०७३ मा ट्वीट गरिन्– ‘केटी मान्छेलाई रेस्पेक्ट पाउन कि चाउरी परेको बूढी देखिनुपर्ने कि भाउजू हुनुपर्ने। बिहे नगरेको केटीलाई त सोझै नाम किटेर तिमी भन्ने। सोमत नभएकाहरू!’

    सरला गौतम
    ‘ए, काँतरहरू अझै बमको सहारा! स्कूलमा त्यो पनि? यो जुनी यसरी नै विताउने हो, मतिहीनहरू?’ काठमाडौंका विद्यालयमा बम राखिएपछि ४ असोजमा सरला गौतमले यस्तो ट्वीट गरिन्।

    धर्मनिरपेक्षता पक्षपातीहरूले नै चाडपर्वका पक्ष/विपक्षमा बोल्न थालेपछि आक्रोशित उनले ट्वीट गरिन्– ‘एउटा तरीका के देख्दैछु भने हिन्दू सम्प्रदायको चाडको विरोध गर्दा प्रगतिशील, अरू सम्प्रदायको चाडको समर्थन गर्दा प्रगतिशीलता! यो पनि अर्को अति!’

    लेखक/पत्रकार गौतम आफूले सबैखाले विभेद र हिंसाविरुद्ध विचार राख्दै आएको बताउँछिन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ढुलमुलका विषयमा भर्खरै उनले ट्वीट गरेकी छिन्– ‘एक काँधमा लोकमान, अर्को काँधमा सुमार्गी। गाह्रो छ प्रचण्ड कमरेडलाई। धन्न सहयोगी, सहकर्मीहरू हुनुहुन्छ!’

    जेबी विश्वकर्मा
    अनुसन्धाता तथा लेखक जेबी विश्वकर्माले ५ असोज, २०७२ बिहान ट्वीट गरे– ‘मधेशमा जारी आन्दोलनको जतिसक्दो छिटो राजनीतिक समाधान खोजिनुपर्छ।

    आन्तरिक राजनीति धुमिल हुँदा बाहिरकाले खेल्ने ठाउँ पाउँछन्।’ त्यही साँझदेखि मधेश आन्दोलनलाई सघाउँदै भारतले नेपालमाथि नाकाबन्दी शुरू गर्‍यो।

    मिडियाले सामाजिक असमानताका विषयलाई वास्ता नगरेकोमा उनको असन्तुष्टि छ। नेपाली मिडियामा दलित, सहभागिता र विषयवस्तु पुस्तकका लेखक समेत उनले नयाँ संविधान आउनुभन्दा तीन महीना अगाडि नै सचेत गराएका उनले पुनर्संरचनासम्बन्धी विवादमा २० पुस, २०७२ मा यस्तो ट्वीट गरेका थिए– ‘अरूलाई रूपान्तरण हुनुपर्छ भन्दै उपदेश दिने तर आफू चाहिं सत्ता, शक्ति र सम्पत्तिमाथिको आधिपत्य छोड्न नचाहने, अनि कसरी हुन्छ पुनर्संरचना?’

    विदुषी ढुंगेल
    ‘इट्स टाइम टु वेकअप एन्ड एक्ट’ लेखेको फेसबूक प्रोफाइल पिक्चर बदलेर डा. गोविन्द केसीको आठौं अनशनमा पक्षमा समर्थन जनाउन आह्वान गर्दै उनले पुछारमा लेखिन्– ‘विदुषी ढुङ्गेल, साउनी, बोधी बुक्स एन्ड बेक्स।’

    साहुनी र अनुसन्धाता ढुङ्गेलका लागि ट्वीटर र फेसबूक न्यायिक तथा सामाजिक आन्दोलनका लागि सचेत बनाउने थलो बनेको छ। अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग्दै गरिएको प्रदर्शनमा उनले प्रहरीको कुटाइ समेत खाइन्।

    छाउपडी प्रथा होस् कि नागरिकतामा महिलामाथिको विभेद, नाकाबन्दीले पारेको अप्ठ्यारो होस् कि भूकम्पपीडितका दुःख, उनले बोल्न र लेख्न छाडेकी छैनन्। ढुङ्गेलको विशेषता, उनी पत्रिका र सामाजिक सञ्जालमा लेख्न जति रुचाउँछिन्, सडकमा त्योभन्दा बढी भेटिन्छिन्।

    ‘दशैं सकियो, तराई बलिरहेकै छ, नाकाबन्दी चालू छ, बुद्धिजीवी अझै व्यर्थको झगडा गरिरहेका छन्, राजनीतिज्ञलाई कुनै वास्तै छैन’ ठीक एक वर्षअघि ८ कात्तिकमा उनले यस्तो ट्वीट गरेकी थिइन्।

    रुविना महतो
    ८ भदौ, २०७२ मा कैलालीको टीकापुरमा थरूहटको आन्दोलनका नाममा डेढ वर्षे बालक र एसएसपीसहित आठ प्रहरीको हत्यापछि सबैले थारू समुदायमाथि गाली गर्न थाले। त्यतिबेला रुविना महतोको ट्वीट थियो– ‘केही अपराधीका कुकृत्यका लागि समुदायलाई नै दोष नदेऊ।

    भड्काववादीहरू त यही चाहन्छन् कि यो घटनालाई पहाडेविरुद्ध थारू स्वरूप दिन सकियोस्।’ रुविना स्तम्भकार पनि हुन्।

    खुला समाज, सामाजिक न्याय, विधिको शासन, मानवअधिकार जस्ता विश्वव्यापी मान्यताका पक्षमा अडिग रहेर पत्रपत्रिकामा लेख्दै आएकी उनका ट्वीट र स्टाटसले सामाजिक सञ्जालमा बहस सिर्जना गरिरहेको हुन्छ।

    ‘लोकमानतन्त्रको लागि हो नेपालीले लडेको? उनी कानून, संविधान सबैभन्दा माथि हुन्? नेताहरू उनका अगाडि यति लाचार? जनतालाई धोका भएको छ’ – १४ साउन, २०७३ मा आफ्ना १६ हजार फलोअर्समाझ उनले अर्को ट्वीट गरिन्– ‘लोकतान्त्रिक अधिकार र पद्धतिको यो हदसम्म अवहेलना, आज लोकमानको कुरामा चूप बस्यौं भने पछुताउने मौका समेत मिल्ने छैन।’

    विवेक पौडेल
    राजनीति, इतिहास, अर्थतन्त्रदेखि धर्म र खेलकुद समेतमा लेख्ने लेखक/स्तम्भकार पौडेल फेसबूक र ट्वीटरमा पनि उम्दा छन्।

    माओवादी सरकार परिवर्तनको खेलमा सहभागी हुन थालेपछि पौडेलले इन्फोग्राफसँगै लेखे– ‘माओवादी युद्धले दुईदशक खेर मात्र फालेन, नेपाली विदेशिने क्रम पनि ह्वात्त बढायो।’

    भारतीय नाकाबन्दीको विरोध तथा भूकम्पपीडित, डा. गोविन्द केसीको अनशनको पक्षमा निरन्तर लेख्दै आएका विवेकले जातीय–क्षेत्रीय आन्दोलनको विरोधमा ६ वैशाख, २०७३ मा गरेको ट्वीट पिन गरेरै राखेका छन्– ‘मैले देखेकोः नेपाली बजारमा आश्रित सबै जातका मानिस मिल्ने, समाधान गर्ने भन्छन्। कलमवाला, विकास–वाला, विदेशी पैसावालाहरू जलाऔं, काटौं।’

    सरस्वती सुब्बा
    राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव सुब्बा ट्वीटर र फेसबूकमा राजनीतिक, आर्थिक, सामाजिक मुद्दाहरूमा तिखो टिप्पणी गर्छिन्।

    पहिलो संविधान दिवसका दिन उनले लेखिन्– ‘संविधानले सबैलाई उज्यालो प्रदान गरेको छ। सेतो वा कालो दिन होइन! हाम्रो मनले कालो वा सेतो छुट्याउन नसकेको हो! संविधानको सकारात्मक उपयोग गरौं।’

    टीकापुर घटनापछि हिंसा भड्काउन खोज्नेहरूका विरुद्ध खरो उत्रिएकी उनका ४२ हजार फलोअर्स छन्।

    भारतीय नाकाबन्दी, जातीय–क्षेत्रीय आन्दोलनका विरुद्धमा बोल्दा उनको समुदायलाई लिएर केहीले विरोध गरेपछि २७ वैशाख, २०७३ मा सरस्वतीले ट्वीट गरिन्– ‘म लिम्बू हूँ, मलाई जात अनुसारको बेग्लै अधिकार चाहिंदैन। आउनुस्, जात अनुसार अधिकार खोज्ने कुकर्मको शान्तिपूर्ण विरोध गरौं!’

    श्रेय पौडेल
    बेलायतमा अध्ययनरत श्रेय पौडेय चित्त नबुझेको कुरा पत्रपत्रिकामा मात्रै लेख्दैनन्, फेसबूक र ट्वीटरमा पनि टाँस्छन्। कन्पि्क्लक्ट स्टडिजमा एमएस्सी गरिरहेका श्रेय समसामयिक नेपालका मुद्दाहरूसँगै विदेशका बारेमा पनि लेख्छन्।

    नाकाबन्दी, भूकम्पपीडित, सत्ताको खेल, नेताहरूको विदेशमा हुने उपचार, डा. गोविन्द केसीको अनशनलगायतका विषयमा ट्वीटर र फेसबूकमा लेखेका उनले सामाजिक न्याय, महिलामाथिका हिंसाका विषयमा पनि कडा टिप्पणी गरेका छन्।

    श्रेयले १४ कात्तिक, २०७२ मा ट्वीट गरे– ‘म नास्तिक र हिन्दू हुँ। दुवै सम्भव छ। पशुपतिनाथको मन्दिरमा गएर पूजा गर्छु तर राज्यले मेरो धर्मको संरक्षण गरेको देख्न चाहँदैन।’

    अनिल भट्टराई
    विद्यावारिधिका लागि हाल अमेरिका रहेका अनिल भट्टराई २०६२/६३ को आन्दोलनमा सडकमै थिए भने यति बेला ट्वीटर र फेसबूकमा छन्। नेपाल साउथ एशिया सेन्टरका निर्देशक भएर काम गरेका उनी समसामयिक विषयमा लेख्छन्, बोल्छन्।

    अनिलले ६ असोजमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई प्रश्न गर्दै ट्वीट गरे– ‘बाराभले कुन नाकमुख अघि सारेर असल राजनीति गर्छु भन्दै हिंड्ने हुन्? नेपालमा सबैखाले सिंहासनमा कुरुप नाङ्गा बाबाहरू विराजमान छन्।’

    साउथ एशिया इन्ष्टिच्यूट अफ एड्भान्स स्टडिजका सिनियर रिसर्च फेलो अनिल सामाजिक मुद्दाहरूमा पनि सटिक टिप्पणी गर्छन्।

    डा. गोविन्द केसीको अनशनलाई जोडेर लेखे– ‘नेपालका अधिकांश घरपरिवारको ढाडमा स्वास्थ्य र शिक्षाको खर्चको ठूलो बोझ छ।’

    अरविन्द सिंह
    वीरगञ्जको नेपाल रेलवे माविका शिक्षक अरविन्द सिंह दिनभरि विद्यार्थीलाई पढाएर पनि चूप लाग्दैनन्। उनकै भनाइमा, भारतीय नाकाबन्दी र मधेश आन्दोलनका विरोधमा फेसबूकमा चर्को लेखेपछि मार्न भनी केही युवा आए।

    मार्न खटाएकै मान्छेलाई भेटेर ‘तैंले बन्दूक बोकेर आए पनि चित्त नबुझेको कुरा लेख्न छोड्ने होइन’ भनेका उनी विवेकले चूप लागेर बस्न नदिने बताउँछन्।

    नाकाबन्दीबीच तराई/मधेशमा नयाँ संविधान जलाइरहेका बेला उनले खुशियाली मनाउन फेसबूकमा आह्वान नै गरे। पहिलो संविधान दिवस मनाउँदा पनि उनले स्टाटस लेखे– ‘तिमी जति सक्छौ कालो दिवस मनाऊ, ब्ल्याक इङ्गित गर। तिम्रो मनको अन्धकार चिर्न हामी दियो बाल्छौं र बालिरहने नै छौं। हाम्रो संविधान, हाम्रो शान।’

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.