गोरखाका कोटहरु र लिगलिग कोट
यदुप्रसाद अधिकारी/गोरखा
धार्मिक ऐतिहासिक सामाजिक महत्व बोकेका कोटहरु नेपालमा वाईसे र चौवीसे राज्य स्थापना छुनुपूर्व वि.स.चौधौं, पन्ध्रौं शताव्दी तिर स्थापना भएको अनुमान गरिन्छ । त्यस्ता कोटहरु ऐतिहासिक गोरखा जिल्लामा ३६ वटा छन् । ती कोटहरु मध्ये लिगलिगकोट ऐतिहासिक कोट हो ।
सिराञ्चोक कोट पुरानो र अग्लो ठाउँमा रहेको कोट मानिन्छ । त्यसका अलवा गोरखा वरिपरिका कोटहरु र सबभन्दा दुर्गममा रहेको लापुकोट, मान्वुकोट, काम्लाकोट हाल भग्नावशेशको रुपमा छन । खोर्लाकोट जँहा परापूर्वकालमा घले राजाले राज्य गरेका थिए भनिन्छ । गोरखाको निर्वाचन क्षेत्र नं. २ मा रहेको ऐतिहासिककोट मध्ये सिराञ्चोककोट थालाजुङ, छोप्राक, जौवारी, गाँखु र हर्मी गा.वि.स को शीर हो । यो कोट समुन्द« सतहदेखि १९, २५ मिटर अग्लो स्थानमा रहेको छ । ६०० मिटर क्षेत्र ओगटेको यस कोटमा जेठो भाइलो र कान्छो कोटको भग्नावशेष देखिन्छ । यहाँ टुँडिखेल पनि छ । जसको निर्माण काल प्रमाणित हुन सकेको छैन । डरलाग्दो पातलमा रहेको यस ठाउँको तल जोगीको कुटी पनि छ ।
द्रव्यशाहले लिगलिगकोटमा विजय गरेपछि गंणेश पाण्डेको नेतृत्वमा १६१६ मा यसकोटको ३ वटा कोट नै कब्जा गरेका थिए रे भनिन्छ । पछि सिराञ्चोककोटको नाममा विं.स. १९१८मा श्रीनाथगण र नँया श्रीनाथगण स्थापना भएकोले पनि सामरिक महत्वका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
गोरखा जिल्लामा ३६ वटा कोट भएको वताइन्छ यी कोटहरु अझै आधिकारिक रुपमा प्रमाणित हुन वाँकी छन । वुढी कोट (ढुंगाको मूर्तिलाई फोटो खिच्दा देवीको जस्तो फोटो देखिन्छ भनी स्थानीय ऋषि खनाल वताउँछन ) देउरालीकोट, च्याङ्गलीकोट, लकांकोट, लादिकोट, देवकोट, ताकुकोट, गोरखाका तल्लोकोट, माझकोट र उपल्लोकोट, वुङ्गकोट, तान्द्राङ्गकोट, आरुकोट, वोर्लाङ्गकोट (जंगवहादुरको मामाघर) गढीकोट (सिरानडाँडाको ठुडे सिम्जुङ्ग), धुवाकोट, वारपाककोट, खोर्लाकोट, लापुकोट, भुमेकोट, सुलिकोट, रुपाकोट, मिरकोट, लिगलिगकोट, हर्मीकोट, सिराञ्चोक (श्रीनाथकोट जेठो, माइलो, कान्छो), काम्लाकोट, मान्वुकोट, मनकामना (कोटगाउँ), फुजेलकोट, घ्याल्चोककोट, अजिरकोट, सिम्जुङकोट खिन्पु (अपुन) आदि रहेका छन । 
संक्षेपमा, नेपालका कोटहरु मध्येकाल वि.स. ९२६ देखि वि.स. १८३० को समयमा वनेका हुन भनिन्छ । कोट शव्द कुट, कोट्ट, कोतवाट वनेको हो । यसको अर्थ सुरक्षाको लागि हतियार राख्ने सुरक्षित ठाउँ भन्ने वुझिन्छ । खुकुरी, तरवार, खुँडा आदि हतियार कोटमा राखिन्थ्यो । हिन्दू धर्म र अन्य धर्म मान्नेले आफू र आफ्ना समर्थकलाई रक्षा गर्ने हतियार राखेको ठाउँ लाई कोट भनिन्छ ।
मगरभाषामा लिङ लिङ भनेको राम्रो सुन्दर प्रकृतिक दृश्य हुन्छ । लिगलिग घले मगरको राज्य थियो भने अर्को तर्फ लिख लिखको अर्थ सिमाना पनि हुन्छ । यहाँ गोरखा जिल्लाको आँपपीपल गाविस वडा नै ४ मा पर्ने लिगलिग कोटवाट नेपालको एकीकरणको शुरुवात भएको थियो भन्ने इतिहास पाइन्छ । त्यस वेला लिगलिगमा राजा हुनको लागि दौड जित्न आवश्यक थियो जस अनुससार दौडमा जसले जित्थ्यो त्यो राजा हुन्थ्यो । धेरै पटक मगर राजा भएका थिए, कुनै समयमा सार्की नेपाली पनि राजा भएका थिए रे भनिन्छ । १४३७ मि.उच्चाइमा रहेको यस कोटमा १६०४ मा दलसुर घलेमागरले जितेर प्रत्येक वर्ष विजय दशमीको दिनमा प्रथम भई ११ वर्ष सम्म राजा भए भनिन्छ ।
यही क्रम अनुसार विजया दशमीको अवसर पारेर दौडको तयारीको क्रममा जुटेका मगरहरु भुसुण्डे शिवालयमा भेुला भई मासु रक्सीखाई मातेर मसलमा तेल लगाई मालिस गरिरहेका अवसर छोपी गोरखा उपल्लो कोटका खड्का मगर राजाको दमनवाट असन्तुष्ट भाइभारदारहरुले लम्जुङ्गमा द्रव्यशाहलाई भेट गरी माथिल्लोकोटलाई आक्र्रमण गर्न पहिले लिगलिगकोट कव्जामा लिनुपर्ने सल्लाह दिई द्रव्यशाहलाई छोप्राकमा ल्याएर राखे र हरिभञ्ज्याङ्ग, आँपपिपल हुँदै लिगलिगकोट गद्दीमा राखी कटुवालवाट उर्दी गर्न लगाई विजय भएको घोषणा गरेको किंवदन्ती रहेको छ । भीमनिधि तिवारीले भने चेपे र मस्र्याङ्गदीको दोभानमा भेला भई दौड शुरु गरियो र उक्त दौडमा द्रव्यशाहले पनि भाग लिएर दौड जिती राजा भए भनी उल्लेख गरिएको छ । अर्को किंवदन्ती अनुसार भने दौडमा भाग लिएका अन्य प्रतिस्पर्धी पाँच जानालाई काटेर मारी द्रव्य शाह आफू राजा भएका हुन् भनिन्छ । अहिले पनि त्यहाँ पाँच चिहान देख्न सकिन्छ । लिगलिगकोटलाई ७०० लिगलिग पनि भनिन्छ । द्रव्यशाहलाई सर्वैश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, भगिरथ पन्त, नारायण अर्याल, गणेश पाण्डे, मुरलीधर खवास आदिले सहयोग गरेर राजा वनाए भनिन्छ ।
लिगलिगमा द्रव्यशाहले न्याय अन्यायको छानविन गर्न वनाएको सभा चौतारो आँपपिपल गाविस ३ वोहोरा गाउँमा छ । लिगलिगकोट दरवारको दक्षिणतिर एउटा बाह्रै महिना पानी नसुक्ने कुवा छ जसलाई द्रव्यपानी पँधेरो भनिन्छ । यहाँ फूलपाती डाँडा, कटुवाल चौतारो, फूलपाती पर्सर्ने मैदान आदि छन । दरवारको सुरक्षा गर्नको लागि पाँचवटा गडीहरु वनाइएको छ गडीलाइ पर्खालले घेरिएको छ जस मध्धे २ वटा गडीहरु जीर्ण अवस्थामा पुगेका छन् । कोटमा इष्ट देवीको रुपमा कालीकालाई ठूलो दशै र चैते दशैमा विषेश पूजा गरिन्छ । यहाँ कर्मचारी राखिएकोछ र ३०० मुरी धान फल्ने खेत यस दरवारको गुठी रहेको छ । लिगलिगकोटको सेरोफेरोमा रहेका विभिन्न ठाउँलाई निम्नानुसार उल्लेख गरिएको छः
१. सभा चौतारो– भारदार र जनता भेलाभइ सफा गर्ने ठाउँ ।
२. दर्खेपानी – लिगलिगकोटवाट आधा घण्टा टाढा रहेको कुवा जहाँ संधै पानी हुन्छ ।
३. धोवी धारा– धोवीले लुगा धुने ठाउँ ।
४. फूलपाती डाँडा– यो दर्खेपानी माथि पर्छ, षस्ठीको दिनमा कन्याहरु पालुङ्गटार जान्छन ।
फूलपातीको दिन फूलपाती ल्याई जम्मा भएर कोटमा फूलपाती भित्रयाउने गर्छन ।
५.कटुवाल चौतारो– गाउँलेलाई नयाँ कुरा थाहा दिन कटुवाल कराउने ठाउँ ।
६. फूलपाती पर्छने मैदान– सप्तमीको दिन भिमसेन थानमा ल्याई कालिकाको मन्दिरामा स्तोत्र मालश्री गाएर भित्रयाउने ठाउँ र टीकाको दिन रुसे पानीको पँधेरामा फूलपाती सेलाउने ठाउँ ।
७. नाइवारी – दारी कपाल काट्ने ठाउँ हो , यो वोहरा गाउँ माथि पर्छ ।
८. पाँच चिहानं– द्रव्यशाहका सेनाले दलसुर मगरका समर्थकलाई मारिएको ठाउँ लाई पाँचचिहान भनिन्छ ।
९.घलेवारी– घलेहरुको वस्ती भएको ठाउँ ।
१०. लिगलिगे चौतारो– व्यायाम गर्ने ठाउँ, यसलाई टुँडिखेल पनि भनिन्छ ।
११. लिगलिगेकोट गुठी– खेत पाखोको तिरोवाट जम्मा भएको पैसावाट पूजा गर्न वनाइएको कोष । दरवार वरिपरि कालिका माई, भूमे, भीमसेनथान, द्रव्य देवीको स्थान छ । पाँच गढी मुलकोट माथि छ, भारदारहरुको वैठक दोश्रो कोठामा वस्थे रे भनिन्छ । लिगलिगकोटको विकास गर्नको लागि २०६६ सालमा लिगलिगकोट विकास अभियान स्थापना भएको छ । यसले विजया दशमीको उपलक्ष्यमा इतिहासलाई झल्काउने दौड प्रतियोगिता गरिरहेको छ । त्यस क्षेत्रको विकासको लागि लिगलिग साहित्य समाज र पालुङटार नगर विकास समितिका विभिन्न संस्थाहरुले काम गरिरहेका छन् । 
लिच्छविकालका शिवदेव द्धितीयको अभिलेखमा गोरखा केन्द्र शासित थियो भन्ने प्रमाण फेला पर्दछ । जनपथ शब्द र भट्टराग शब्दले पनि सो कुराको पुष्टि गर्छ । १५औं शताब्दीपछि विभिन्न विभाजित नेपालको एकीकरणको शिलान्यास द्रव्यशाहले १६१५ आश्विन शुक्ल विजया दशमीबाट शुरु गरेका हुन् । उनका उत्तराधिकारीले विशाल नेपालको एकीरण गरे । नेपालमा २०६४ सालमा भएको संविधान सभाले गणतन्त्रको घोषणा गरी राजतन्त्रको विधिवत् अन्त्य ग¥यो । २०७२ साल आश्विन ३ गते नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा गरेको छ । संघीय नेपालमा विकास कस्तो हुन्छ भनेर राष्ट्रवादी नेपालीहरु टुलुटुलु हेरिरहेका छन् ।



