ठमेलमा रमाउँदै पर्यटक। तस्बिर रजेन्द्र केसी
सुजित महत/नविन अर्याल/राजु बास्कोटा
काठमाडौः लुटिने डरले ट्याक्सी ठमेल जान मान्थेनन्, दिउँसै लुटिने ठाउँ भनेर चिनिन्थ्यो । अहिले ठमेल रातभर जागा हुन्छ । ठमेलको ‘पर्पल हेज’ मा शुक्रबार रक ब्यान्डको लाइव प्रस्तुति हेर्न पश्चिमा पर्यटकका साथै नेपाली ग्राहकको भीड ९ बजेपछि बल्ल सुरु हुन्छ । मध्यरातमा त्यो भीड नजिकैको ओएमजी डिस्कोतिर झुम्मिन थाल्छ । डिस्कोमा ठेलमठेल भएपछि बाउन्सरले ग्राहकलाई बाटोमै रोकेर पालैपालो छिराउन थालेपछि सडकमै भीड लाग्न थाल्छ । ओएमजीमा शुक्रबार रातभर डान्स गरिरहेका युवायुवती फेला पार्न सकिन्छ ।
ठमेलमा जन्मिएका प्रत्युष वन्तका अनुसार गणेशमान सिंहको घर भएको बाटो (चाक्सीबारी) धेरै पछिसम्म अँध्यारो हुने बाटो थियो । जेपी स्कुलबाट क्षेत्रपाटी जाने मोडमा फोहोरको डुंगुर हुन्थ्यो । मामाघर किलागलबाट भोज खाएर फर्कंदा जेपी स्कुलबाट घरतिर मोडिने बाटोमा अँध्यारो हुने भएकोले लुटिने डरले मेन ठमेलको बाटोबाट काठमाडौं गेस्टहाउस हुँदै घुमेर घर पुग्थे ।
अहिले मुलुकमा आउने ८० प्रतिशत पर्यटक ठमेल पुग्ने अनुमान छ । यहाँका होटेलमा ६ हजार जति कोठा छन् । व्यवसायी तेजेन्द्र श्रेष्ठका अनुसार ठमेलमा कम्पनी/फर्म/सल लगायतको संख्या पाँच हजार पुग्न थालेको छ । नौ सय जति घर छन् । तर, ती घरमा बस्ने स्थानीय निकै कम भैसके । कति घर बेचेर सरे, कतिले घर भाडामा दिएर अन्त बस्न थाले ।
ठमेल नरसिंह राणा परिवारको थलो थियो । धेरै जग्गा त्यही परिवारको थियो । नरसिंह राणाको दरबार किनेर काठमाडौं गेस्ट हाउस खोलेपछि ठमेल विस्तारै पर्यटकीय गन्तव्य बन्न थालेको ठानिएको छ । सन् १९५३ मा तेञ्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथा चढेपछि नेपाल पश्चिमा पर्यटकमाझ चिनिएको मानिन्छ । त्यहीबाट पर्यटक आउन सुरु भयो । होटेल/रेस्टुरेन्ट व्यवसायी श्यामसुन्दर कक्षपतीका अनुसार हिप्पी युग सुरु हुनु अघिसम्म वर्षमा एक हजारको हाराहारीमा पर्यटक आउँथे । पर्यटकका लागि पूर्वाधार थिएन ।
मरुहिटी र पिगल्ली (सुङ्गुर पाल्ने भएकाले पर्यटकले दिएको नाम) मा बस्थे । मरु काठमाडौंको पुरानो वस्ती, घर पनि पुरानै थिए । कक्षपतीका अनुसार तिनै पुराना घरलाई डेन्टिङ पेन्टिङ गरी रेस्टुरेन्ट र लज बनाइएको थियो । यस्तो अवस्था धेरै वर्ष लम्बिएन । बरु, लम्बिँदै गएको अमेरिका–भियतनामा युद्धले पर्यटन उद्योगमा क्रान्ति ल्याउनेवाला थियो । सन् १९५५ मा सुरु भएको अमेरिका–भियतनाम युद्ध लम्बिँदै गएपछि, निराश पश्चिमा पर्यटक शान्तिको खोजीमा नेपाल आउन थाले ।
ठमेल नरसिंह राणा परिवारको थलो थियो । धेरै जग्गा त्यही परिवारको थियो । नरसिंह राणाको दरबार किनेर काठमाडौं गेस्ट हाउस खोलेपछि ठमेल विस्तारै पर्यटकीय गन्तव्य बन्न थालेको ठानिएको छ ।
त्यसपछि मरुहिटीको पर्यटन झोंछेमा सर्यो । झोंछेमा लज र रेस्टुरेन्ट बढ्न थाले । झोछें ‘फ्रिक स्ट्रिट’ भनेर चर्चित थियो । सन् १९६८ मा दार्जिलिङबाट पहिलोचोटी काठमाडौं आउँदा झोछेंमा लाउड म्युजिक बजाएर हिप्पी मध्यरातसम्म झुमेको देखेको सम्झिन्छन्, दिनेश राई ।
सन् १९६० को दशक हिप्पी पर्यटन र झोंछेको दशक थियो । अमेरिका-भियतनामा युद्ध सकिएपछि (१९७५) नेपालको पर्यटनमा परिवर्तन आयो । अनुसन्धानकर्ता मार्क लित्चीले लेखेअनुसार सन् १९७० को दशकमा नेपालमा ‘एडभेन्चर टुरिजम’ सुरु भयो । हिप्पी ट्रेल भनिने अफगानिस्तान, पाकिस्तान, भारत हुँदै सडक मार्गबाट पर्यटक आउन कम हुँदै बन्द भयो । हवाईमार्गबाट आउने पर्यटक गाँजा/चरेशको नशामा डुबेर नाच्दै गाउँदै हिँड्ने खालका थिएनन् ।
लित्चीका अनुसार १९७० को दशकमा आएका पर्यटक आरामदायी बसाइ खोज्ने खालका थिए । तिनले अट्याच बाथरुमसहितको सफा कोठा चाहन्थे । झोछें यस्तो सेवा दिन सक्ने अवस्थामा थिएन । हिप्पी मुभमेन्टले झोंछे बदनाममात्र भएन, यसको विस्तारको ठाउँ पनि भएन । सडकको छोटो धर्सोको दुईतिरका घर/पसल नै थियो झोंछे । यहाँ पर्यटकीय गतिविधि बढाउन सक्ने अवस्था थिएन ।
सन् १९७० मा कर्ण शाक्यको परिवारले नरसिंह राणा परिवारसँग किनेको पुरानो दरबार मरमत गरी १० कोठाको काठमाडौं गेस्ट हाउस खुल्यो । कक्षपतीका अनुसार काठमाडौं गेस्ट हाउस खुल्दा त ठमेल सुनसान थियो । एक्लै जान डर लाग्ने । फाट्टफूट्ट घर देखिन्थे, बाँकी खेतैखेत थियो । खेतकै बीचमा टाढाटाढा घर देखिन्थे । गणेशमान सिंहको ठूलो कम्पाउन्ड भएको घर थियो ।
final hamrotools
शाक्यले ठमेलमा गेस्ट हाउस खोल्दा सुनसान ठाउँमा कसरी होटेल चल्छ भनेर प्रश्न उठ्थ्यो । शाक्यले आफ्नो किताब ‘सोच’ मा लेखेअनुसार त्यतिबेला ठमेलको गल्लीमा भुत आउने हल्ला चल्थ्यो । तर, समय बलवान भयो । विस्तारै ठमेलमा पर्यटक बढ्न थाले, सँगसँगै पर्यटकीय व्यवसाय पनि । यही क्रममा ठमेल प्रवेशद्वार नजिकै तिब्बतीयनको उत्से रेस्टुरेन्ट खुल्यो । त्यो निकै चल्ने चर्चित थियो । अहिले उनले होटेल उत्से खोलेर चलाएका छन् । सन् १९७६ मा खुलेको केसीज रेस्टुरेन्ट अहिले पनि चलिरहेकै छ ।
झोछेंका पर्यटन व्यवसायी, जो चाहेर पनि घरधनीका कारण सेवा गुणस्तरीय र विस्तार गर्न सकिरहेका थिएनन्, ठमेलतिर सर्न थाले । कश्मिरी र तिब्बतीयन मूलका व्यापारी ठमेल आए । महेन्द्रले भन्सार छुटको सुविधा दिएपछि मनाङ्गे व्यापारीको हातमा पैसा आयो, तिनलाई पनि ठमेलले तान्यो । अग्लाअग्ला घर बने । मध्मवर्गीय पर्यटकले खोज्ने रुम भएका होटेल बने । भुइँतलामा रेस्टुरेन्टका साथै पर्यटक लक्ष्यित सामानका पसल खुल्न थाले । पदयात्रा जानेका लागि सामग्री पाइने पसल, ब्रान्डेड पसल सबै छन्, ठमेलमा । सबै किसिमका सेवा सुविधा ठमेलमै उपलब्ध हुन थाल्यो ।
ठमेल आएपछि पर्यटकलाई सेवा खोज्दै अन्यत्र जानै नपर्ने भयो । ठमेलमा अहिले पनि १० डलरमा आरामदायक रुम पाउन सक्छ । पाँच तारे मल्ल होटेल नजिकै छ । काठमाडौं गेस्ट हाउस, वैशाली आदि तारे होटेल ठमेलभित्रै छन । ‘यति सानो एरियामा ठमेलले पर्यटकका लागि सबैथोक छ’, अर्थशास्त्री रामेश्वर खनाल भन्छन्, ‘यस्तो ठाउँको विकल्प अर्को ठाउँ उदाउन सम्भव हुन्न ।’ अन्तर्राष्ट्रियस्तरमा चर्चित लक्जरी होटेल ब्रान्ड मेरियट, अलफ्ट सेराटन पनि ठमेलमा आउँदैछन् । निर्माणाधिन छायाँदेवी सेन्टरमा मल्टिप्लेक्ससहित सपिङ सेन्टर, पर्यटकीय सेवा र ठूलो पार्किङ हुनेछ । यसले ठमेलको गुणस्तरीय पर्यटनमा थप टेवा पुर्याउने कक्षपतिको ठम्यार्इं छ ।
ठमेलका पुराना पर्यटन व्यवसायी तेजेन्द्र श्रेष्ठका अनुसार पर्यटन व्यवसाय चम्किन तीन कुरा आवश्यक हुन्छ, नम्बर १ लोकेसन, नम्बर २ मा लोकेसन नम्बर र ३ मा पनि लोकेसन । त्यसपछि मात्र पूर्वाधार, गा“स÷बास आदिका कुरा आउँछन् । सा“गुरो र बदनाम हुँदै गएको झोंछेपछि पर्यटकीय गन्तव्यका लागि नयाँ ठाउँ चाहिएको थियो । ठमेलसँग लोकेसनको फाइदा थियो । ठमेल सहरको बीच भागमा छ । त्यसअघिको गन्तव्य झोंछे, स्वयम्भु नजिकै छन् । दरबारमार्गदेखि वीरअस्पताल सबै नजिक । ‘लोकेसनमा पूर्णभएकाले यसमा फटाफट पूर्वाधार बने, पर्यटक ओइरिए’, उनी थप्छन् ।
विकृतिको डंगुर पनि बन्दै छ, ठमेल । डान्स रेस्टुरेन्ट, मसाज आदिका कारण ठमेल बदनाम पनि हुने गर्छ । मसाजका नाममा सेक्स व्यापार चम्कियो । तेजेन्द्रका अनुसार स्थानीय तहबाटै यसको समाधान पनि गरियो । पुलिसलाई पछि लाएर उनी आफै मसाजको विकृति बन्द गराउन लागिपरेका थिए । मसाजमा कण्डम फेला परे बन्द गराइएको थियो । यसपछि मसाजमा सेक्स व्यापार गरेको पाइए घरधनीलाई जवाफदेही हुने भनियो । यसपछि त घरधनीले यस्ता मसाजलाई घरबाट निकाल्न थाले । ‘केही महिनामै ठमेलमा सञ्चालित दुई सय ५० भन्दा बढी मसाज ५० मा झरे’, उनी भन्छन् ।
ठेलमठेल ठमेल
ठमेल अहिले साँघुरो भइसकेको छ । साँघुरा सडकको दुवै छेउमा कोचाकोच घर छन् । सवारीको संख्या बढेको बढ्यै छ, पार्किङ गर्ने ठाउँ छैन । साँघुरा सडकमा कुदाइने सवारीका कारण पर्यटक पनि निश्चिन्त घुमफिर गर्न सक्ने अवस्था छैन । ठमेल पूरै जाममा परिरहन्छ ।
वन्तका अनुसार उनले बाल्यकालमा देखेको ठमेलमै साँघुरो सडकको दुईतिर घर बन्न थालेका थिए । यहाँका सडकलाई फराकिलो बनाउने सम्भावना थिएन, अहिले कुरै भएन । घर निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ, पार्किङ गर्ने कम्प्लेक्स निर्माण गर्नुको विकल्प छैन । ठमेलको बाहिरैपट्टि ठूल्ठूला अन्डरग्राउन्ड पार्किङ अर्को विकल्प हो । ठमेललाई ‘नो भेहिकल जोन’ बनाउने कुरा धेरै उठ्यो ।
तर, बाहिर जाने गाडीले पनि ठमेलको बाटो प्रयोग गर्छन् । एडीबीले ठमेलको सडकमा ढुंगा विच्छाउने भनिए पनि अहिलेसम्म सिन्को भाँचिएको छैन । पर्यटकले बर्खामा हिलो र हिउँदमा धुलो सहनुपर्छ । ठमेलले भत्किएको सडक, गाडी बाइकको भीडभाड, सडक पेटीमा पसल, जथाभावी झुन्ड्याइएका टेलिफोन, केवल, इन्टरनेटका तार, जथाभावी होर्डिङ बोर्ड भएको ठाउँका रूपमा पहिचान बनाउन थालेको छ ।
ठमेलमा दलाली र ठगी बढेको छ । पर्यटक हरेक पाइला पाइलामा दलालको सामान गर्नुपर्छ । ट्याक्सी, होटेल, डान्सबार, दोहोरी, मसाजलगायतमा ठगिएको गुनासो छ । दिनेश राईका अनुसार सन् १९८० को दशकमा पर्यटकको मनोरञ्जनका लागि ठमेलका रेस्टुरेन्टले अंग्रेजी सिनेमा देखाउँथे । रेन्टुरेन्टको बाहिरपट्टि हरेक दिन त्यो दिन देखाइने सिनेमाको नाम लेखिएको हुन्थ्यो ।
पश्चिमा पर्यटक सिनेमा हेर्दै खाइरहेका हुन्थे । सन् १९८० दशकको अन्ततिर ‘लाइव ब्यान्ड’ सुरु भयो । ठमेलमा पर्यटकले रक, ज्याजको स्वाद पनि पाउन थाले । डान्सबार सन् २००० पछि खुल्न थालेका हुन् । डान्सबारले शान्त वातावरण खोज्ने पर्यटकलाई भड्कायो । पछिल्लो केही वर्षयता विकृति थपिएको छ । पहिला डान्सबारमा ठगी हुँदैन थियो । अहिले बाटो बाटोमा कुरेर बस्ने दलालले पर्यटकलाई डान्सबारमा जान फकाउन थाल्छन । साँझ परेपछि पाइलैपिच्छे दलालले डान्सबार लैजान खोज्छन् ।
डान्सबार छिरेपछि लुटिएको अनुभव नगर्ने सायदै कोही हुन्छन् । बिल तिर्ने बेलामा मनलाग्दी रकम भनिदिन्छन, प्रश्न गर्दा बाउन्सरबाट कुटिन्छन् । ‘भद टुरिस्ट ठमेलमा बस्नै नचाहने अवस्था भयो’, होटेल वैशालीका सञ्चालक विशाल कैठ गुनासो गर्छन् । उनले दुई दशकअघि होटेल सुरु गर्दा पश्चिमा भद्र पर्यटकनै उनका ग्राहक हुन्थे । केही वर्ष अघिदेखि मानसरोवर जाने भारतीय पर्यटकका कारण होटेल भरिन थाल्यो । अब ती पाहुँना ठमेल आएप नि सकेसम्म ठमेलबाहिर बस्न खोज्छन् ।
ठमेल ज्याठा रोड चाइनिज व्यापारको बर्चश्व छ । होटेल, रेस्टुरेन्टदेखि सैलुनसम्म चाइनिजकै छन्, ग्राहक पनि चाइनिज हुन्छन् । घरधनीलाई अरुबाट पाइरहेको भाडाभन्दा दोब्बर भाडा अफर गर्दै त्यो क्षेत्रमा चाइनिज व्यापारीले अरुलाई विस्थापित गरिरहेका छन् । ‘यही रफ्तार रहे पूरै ठमेल चाइना टाउन हुन एक दशक पनि लाग्दैन’, तेजेन्द्र भन्छन् । चाइनिज व्यापारीको कारोबार पारदर्शी नहुने अरु व्यवसायीको आरोप छ । भ्याट तिर्दैनन्, सर्भिस ट्याक्सको मतलब छैन, यसैले अरुभन्दा बढी भाडा दिए पनि ग्राहकलाई सस्तोमा सेवा दिने गरेको तिनको आरोप छ ।
पर्यटकीय गन्तव्य हुन्छ भन्ने थिएन
प्रत्युष वन्त, अनुसन्धाता
ठमेलमा हुर्किदा (जन्मः २०२२ साल) त्यो ठाउँ यस्तो पर्यटकीय गन्तव्य हुन्छ भन्ने सोच्ने अवस्था थिएन । काठमाडौं गेस्ट हाउस थियो, त्यति मतलब थिएन । यो होटेल चर्चामा छ भन्ने लागेको थिएन । त्यसको महत्व म हाइस्कुल पुग्दा थाहा पाएँ । ठमेलका सडकमा गुच्चा खेल्थ्यौं, फुटबल ‘अन द रोड’ खेलिन्थ्यो । पर्यटन र ठमेल जोडिएर आउँछ भन्ने मेरो दिमागमा २०३६ सालपछि आएको होला । त्यसअघि मेरो लागि ठमेल मेरो घर, मेरा नातागोता/साथी भएको काठमाडौंको एउटा ठाउँ थियो । बाल्यकालमै केही साथीका परिवार ठमेलको सम्पत्ति बेचेर बालुवाटारतिर बसाइसर्दा सहरभन्दा कति टाढा गए भनेर कुरा हुन्थ्यो ।
चाक्सीबारी मार्ग भनेर भनिने जेपी स्कुलदेखि काठमाडौं गेस्टहाउसम्मको बाटोमा ४/५ वटा घर थिए । हाम्रो घर, गणेशमानको घर, नरसिंह राणाको घर थियो । नरसिंह राणा परिवारको घर पुरानो ठमेलको बाटो र अस्कल जाने बाटोतर्फ फैलिएको थियो । ठमेलको मुख्य प्रवेशद्वारबाट अस्कल जोड्ने ठाउँ, नरसिंह क्याम्पको दोबाटोबाट गल्कोपाखा जाने बाटो नरसिंह परिवारको भूभाग थियो । पर्यटक त काठमाडौं गेस्ट हाउस खुल्नुअघि नै देखिन थालेजस्तो लाग्छ ।
तैपनि पर्यटक भित्रिएको मिति सन् १९७० भन्ने गरिन्छ । जे होस, १९७० को मध्यतिर पर्यटक आउन थालेको राम्रै सम्झिन्छु । ठमेलमा हुलका हुल पर्यटक आउन थालेको १९८० पछि हो । त्यसपछि पुराना घर पर्यटकलाई सेवा दिन गेस्ट हाउस बनाइन थालियो, रेस्टुरेन्ट खुले । त्यसैबेला ठमेलका पुराना घर भत्काएर ५/६ तले घर ठड्याउन थालियो । तैपनि १९८४ मा पढ्नका लागि विदेश लाग्दासम्म ठमेलको परिवर्तन स्वभाविक गतिको थियो । पर्यटक भरिभराउ भएको ठमेल भइसकेको थिएन ।
बीचबीचमा घर आउँदा पनि नातागोता भेट्नै व्यस्त हुन्थे, ठमेललाई नियाल्न पाइन । १९९२ मा अनुसन्धानका लागि फर्किंदाचाहिँ पूरै भीडभाडयुक्त पर्यटकीय गन्तव्य भैसकेको थियो । मेरा बाल्यकालका साथीका परिवारले ठमेल छाडिसकेका थिए, घर बेचेर वा भाडामा लगाएर ।
पर्यटक आउन थालेपछि स्थानीय पनि व्यापार गर्न हौसिए । ऋण लिएर व्यापार सुरु गरे, नगद आउन थाल्यो । तर, नगदको व्यवस्थापन गर्न नजान्दा मैले चिनेका धेरैले दुःख पाए । कतिपयले ठमेल छोडेर जानु पर्यो । सम्पत्ति बेचेर ऋण तिर्न बाध्य भए । जसले सम्पत्ति भाडामा लगाए, बाहिर घर बनाएर बसे, उनीहरूको राम्रो भयो ।
धेरैपछि ठमेलले ‘इभिनिङ लाइफ’ पिकअप गर्यो, त्यसका लागि ढिलोसम्म रेस्टुरेन्ट खोल्न थालियो, चर्को म्युजिक बज्न थाले । बल्ल ठमेलमा बस्न नसक्ने मनमा पर्न थाल्यो । बस्न नसकिने भएपछि १० वर्षअघि ठमेल छाडियो ।
अहिले जुन ग्रेटर ठमेल भनिन्छ, क्रमशः पर्यटकीय बन्दै गएका हुन् । सबैभन्दा पहिला काठमाडौं गेस्ट हाउसबाट सात घुम्ती, त्यसपछि काठमाडौं गेस्ट हाउसबाट जेपी स्कुल, त्यसपछि अस्कलबाट दक्षिण जाने बाटो र ज्याठाको बाटो, ज्याठा र चाक्सीबारीको बाटो र अन्तिममा चाक्सीबारीबाट गल्कोपाखा जाने बाटो ठमेलजस्तो बनेका हुन् ।
ठमेलसँग मेरो नाता धेरैचोटी अन्त भयो । बाल्यकालमै साथीको परिवारले ठमेल छाड्दा अन्त भयो, १९९४ र १९९५ को बीचमा मेरो बाजे र उहाँको भाइ बित्नुभयो । मेरो बाल्यकालको ठमेल सिध्धियो । बाजेको पालामा मेरो घरमा हुने जमघट बन्द भयो । अहिले मेरो बाल्यकाललाई परिभाषित गर्ने ठमेल छैन । ठमेलमा नातेदार र साथी कोही पनि छैनन् । ठमेलले मलाई तान्दैन पनि ।
पिलग्रिम्स बुक थियो, मार्टिन चौतारीमा लाइब्रेरी बनाएपछि त्यसले पनि तान्न छोड्यो । ठमेलको घरको एउटा कोठामा मेरा किताब छन् यसका लागि ठमेल बेलाबेला जान्छु । दुई दशकमा विदेशीले पनि ठमेलबारे धेरै लेखेका छन् । तर, त्यो बढाइँचढाइँ लाग्छ । नेपाल आउने टुरिस्ट ठमेल पुग्छन् भन्नु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन् भन्नु जस्तै हो । एउटै एयरपोर्ट छ, पुगिहाल्छन् । ठमेललाई ‘ग्लोरिफाई’ गरिएको छ, प्रमुख पर्यटकीय गन्तव्य भनिएको छ, पुगिहाल्छन् नि ।
annapurnapost.



