×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्रकारितामा भ्रष्टाचार

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पृष्ठभूमि

    वर्तमान संसारमा सुसूचित गर्नेमात्र हैन सुशासन स्थापनाका सन्दर्भमा पनि पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ ।  पारदर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । पत्रकारिता पारदर्शिता बढाउने महत्त्वपूर्ण औजार हो भने सुशासनको स्थापना पारदर्शितामा मात्र सम्भव हुनसक्छ । विविध प्रकरणमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्न मिडियाले निर्णायक भूमिका निर्वाह गरेको अहिले पनि सम्झनै पर्ने हुन्छ ।
    भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय उपयोगी होलान् तर व्यावसायिक पत्रकारिता सबैभन्दा प्रभावकारी उपाय हुन सक्नेमा विवाद छैन । यस सन्दर्भमा खोजी पत्रकारितामार्फत् मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्छ । विश्वका अन्य देशमा  झैँ नेपालमा पनि पछिल्लो समयमा पत्रकारिताको बिस्तारै संस्थागत हुँदैगएको छ । साथै, दुःखद पक्ष के छ भने पत्रकारिताभित्र विकृति पनि बिस्तारै बढ्दैछ । यस्तै एउटा विकृति हो – भ्रष्टाचार ।
     
    पत्रकारिता र भ्रष्टाचार 
    भ्रष्टाचार र अनियमितता प्रायः अपारदर्शितामा मौलाउँछन् । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधि जनताबाट लुक्ने अवस्था हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँछ । पत्रकारिताको महत्त्व यहाँनिर बढ्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने, अँध्यारो चिरेर उज्यालोको निर्माण गर्ने अर्थात् अनियमितता सार्वजनिक गरेर खबरदारी गर्ने विश्वास गरिन्छ । पत्रकारिताले पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा हुनु अस्वाभाविक पनि होइन । पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको साक्षी हाम्रै सन्दर्भ पनि छ ।
    माथि उल्लेख गरियो, पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रण र यसका माध्यमबाट सुशासन कायम गर्ने विषयमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुन्छ । पत्रकारिताले जनतालाई सुसूचित गरी चेतना जगाउँछ र सम्बन्धित पक्षबीच खबरदारी गर्ने कार्य गर्छ । जनतालाई अनियमितताविरुद्ध आवाज बुलन्द गर्न अभिप्रेरित गर्छ भने दोषीलाई कठघरामा ल्याई कानुनी प्रक्रियाका लागि हौस्याउने गर्छ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो ।
    तर, भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय उपकरणका रूपमा स्थापित मिडिया जब आफैँ भ्रष्टाचारको मतियार बनेको आरोप लाग्छ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खबरदारी र पहरेदारी गर्ने नैतिक क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्था उत्पन्न हुन्छ । यस्तत्र अवस्था लोकतन्त्रका लागि त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो । यो अवस्था स्वयं पत्रकारिता जगतका लागि झन् बढी घातक हुन्छ ।
    साख र विश्वसनीयताको संकट
    मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लागेका अनेकौं उदाहरण छन् । यस्तो आरोप सम्बद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्वन्धित मिडियाका लागि अझ बढी दूर्भाग्यपूर्ण हुन्छ । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनीयता र साख तल्लो स्तरसम्म गिर्न पुग्छ । यसरी खस्केको साख पुनःस्थापित गर्न सकिँदैन । सकेमा पनि पुरानै अवस्थामा पुर्‍याउन निकै कठिन हुन्छ ।
    करिब दुई वर्षअघि यस्तै अवस्थाको समना गर्नुपरेको थियो भारतीय टेलिभिजन च्यानल जी टीभीले । यसका दुईजना पत्रकारले कोइलाको खरिद विक्रीका सम्बन्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यस घटनापछि उक्त च्यानलको विश्वसनीयतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो । यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेवारी त्याग गरेका थिए ।  भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्युज’ को प्रवृत्तिको बाहुल्य भएको अनुभव गरिन थालेको छ । विश्लेषकहरूले यस प्रवृत्तिलाई व्यावसायिक पत्रकारिताको ‘भाइरस’ भनेर भयावह अवस्थातर्फ संकेत गर्ने गरेका छन् । यस प्रवृत्तिअन्तर्गत विज्ञापनका रूपमा प्रकाशित वा प्रसारित हुनुपर्ने सामग्री रकम लेनदेनका आधारमा समाचारका रूपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रसारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने अभ्यास पर्छ । यस प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना हुन पुगेको छ । पछिल्ला दिनमा स्टिगं अपरेसनहरू मोलमोलाइ र सौदावाजीका माध्यमका रूपमा प्रयोग हुन थालेको पाइएको छ ।
    हामी पनि समस्याग्रस्त
    छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै दुःखद अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ ।
    केही दिनअघिको कुरा हो, नापी कार्यालयका एकजना कर्मचारीले यस पंक्तिकारलाई एउटा अनलाइनको हवाला दिँदै आफ्नाविरुद्ध एउटा समाचार प्रकाशित गरी एक लाख रुपैयाँ माग गरेको र नदिए थप सामग्री प्रकाशित गर्ने धम्की दिएको बताएका थिए । पंक्तिकारले निजलाई प्रेस काउन्सिलमा उजुरी गर्न सल्लाह दिएको सन्दर्भको उल्लेख गर्नु यहाँ जरुरी छ । सम्भवतः तिनले काउन्सिलमा उजुरी गरेका छन् वा गर्ने तयारीमा छन् । यस्तो आरोप अहिले नेपालका थुप्रै अनलाइनले बेहोरिरहेका छन् । परिणामतः अनलाइनहरू अहिले विश्वसनीयताको संकटमा छन् ।
     विसं २०५२/५३ तिरको कुरा हो । नेपाली पत्रकारिताको आकाशमा एकैपटक धेरै ‘ब्रोडसिट’ अखवार अस्तित्वमा आए । तीमध्ये केही बन्द भइसकेका छन् भने केही अहिले पनि प्रकाशित भइरहेका छन् । त्यसबेला अस्तित्वमा आएका अखवारहरू विविध आरोपबाट आरोपित भए । यस्ता आरोपमा मूलतः कालो धनलाई सेतो बनाउने प्रयास केन्द्रित थियो भन्ने गरिएको छ । कुनैलाई एलसी घोटालाको परिणाम, कुनैलाई आपराधिक आम्दानीको उपज त कसैलाई व्यापार चोख्याउने दाउका रूपमा हेरियो । यी आरोपमा सत्यता कति छ त्यसको लेखाजोखा भविष्यले बिस्तारै गर्दै जाला तर एउटा सत्य के हो भने यस्ता सञ्चारमाध्यम आरोपमुक्त हुन नसक्दा तिनले विश्वसनीयताको संकट भने बेहोर्नुपर्‍यो । भ्रष्टाचारको सन्दर्भ केलाउने हो भने निश्चय पनि यस्ता आरोप महत्वपूर्ण हुन्छन् ।
    यस्तै करिब तीन वर्ष पहिले आफूलाई पत्रकार भनेर दाबी गर्ने एक जनाले ‘हिडेन (लुकाइएको) क्यामेरा’को सहयोगमा स्टिङ अपरेसनका नाममा विभिन्न पेसाकर्मीसँग रकम असुलीको धन्दा चलाएको स्मरणीय छ । निज पत्रकार भन्नेको बदनियतको सिकार एक जना चिकित्सक पनि बनेको सार्वजनिक भएको थियो । कथित पत्रकारले निज चिकित्सकसँग पनि रकमको माग गरेको खुलासा भएको थियो ।
    यस्तै एक मासिक पत्रिकाले चार पाँच वर्षपहिले एउटा सुरक्षा निकायविरुद्ध लगातार समाचार सम्प्रेषण गरेको र पछि उक्त निकायले पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेको घटना पनि निकै चर्चामा आएको थियो । पत्रिकालाई काउन्सिलले कारबाही गरेको थियो ।
    यसैगरी विगतमा नेपाल प्रहरी प्रत्यक्षतः जोडिएको सुडान घोटालाका सम्बन्धमा पनि मिडिया विवादमा आएको स्मरणीय छ । सुडान घोटालाका सम्बन्धमा केही सञ्चारमाध्यम घोटालाको खुलासाका दिशामा सक्रिय रहेको पाइयो भने केही सञ्चारमाध्यम सुडान मिसनमा भ्रष्टाचार नभएको प्रमाणित गर्न कस्सिएका थिए ।
    यस्तै अवस्था सुडान घोटालाअघिको लाउडा र चेज एयर विवादका सम्बन्धमा पनि देखिएको थियो । कतिले यसको विरोध गरे भने कतिले यसको समर्थन गरेका थिए । दुवैथरी मत असन्तुलित थिए । यी प्रकरणमा सन्तुलित समाचार सामग्रीको नितान्त अभाव थियो । यसकापछाडि सम्बद्धहरूको भ्रष्ट आचरण जिम्मेबार थियो भनियो भने अस्वाभाविक हुनेछैन । रकम लेनदेनको सन्दर्भ निकै चर्चामा आएको थियो ।
    विगतको ०६२/०६३ को जनआन्दोलनको समयमा देशमा क्रियाशील तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले केही पत्रकारलाई ‘बक्सिस’ वितरण गरेको समाचार जनआन्दोलनपछि सार्वजनिक भएको थियो । त्यसो त त्यसमा नाम मुछिएका धेरैजसोले विभिन्न निकायबाट सफाइ पनि पाएका थिए तर यस घटनापछि जनताले पत्रकारलाई हेर्ने दृष्टिकोणमा नकारात्मक परिवर्तन आएको अनुभव गरिएको थियो ।
    यस्तै विगतमा एक स्वास्थ्य मन्त्रीको सचिवालयबाट वितरण गरिएको र पत्रकारले स्वीकार गरेको ‘नगद उपहार’ को विवरण पनि निकै चर्चामा आएको थियो । यसरी वितरण गरिएको उपहार केही पत्रकारले स्वीकार गरे पनि एक जना पत्रकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि यस प्रकरणको खुलासा भएको थियो ।
    यस्तै केही सञ्चारमाध्यम बैंकिङ अपचलनका लागि पनि आरोपित छन् । यस्ता माध्यमले स्रोत खुल्न नसकेको सम्पत्ति लगानी गरी वैध बनाउने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।
    यसैगरी नेपालका टेलिभिजन र रेडियो पनि अपवाद छैनन् । यी माध्यम र यसमा कार्यरत सञ्चारकर्मी पटकपटक विवादमा आइरहन्छन् । विगतमा मेडिकल कलेजहरू र तारे होटलको सेयरको सन्दर्भ नेपाली सञ्चारमाध्यममा बडो जोडतोडका साथ उठेको यहाँ उल्लेख्य छ । केही सञ्चारमाध्यममाथि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक वा अनौपचारिक सहयोग प्राप्त गरी अपारदर्शी ढंगबाट सञ्चालित रहेको आरोप लाग्ने गरेको छ ।
    यस्ता मिडियाका कभरेजमा भ्रष्टाचार भएको थियो कि थिएन भन्न कठिन छ तर जनमानसमा एक किसिमको जिज्ञासा भने उत्पन्न भयो र त्यसको सम्बोधन हुन सकेन । यो सत्य हो । प्रश्न उठ्छ, यस्ता कभरेज खोजी समाचारका प्रमाण हुन् ? मोलमोलाइका आधार हुन्र ? भ्रष्टाचारका नमुना हुन् ? वा मिडियाविरुद्धको सुनियोजित षडयन्त्र ? उत्तर कठिन छ ।
    उपत्यका र उपत्यकाबाहिरबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिका यदाकदा विवादमा तानिने गरेका छन् । यस्ता प्रकाशन राजनीतिक गुट उपगुटबाट, व्यावसायिक घरानाबाट र कतिपय अवस्थामा आपराधिक छवि भएकाहरूबाट पनि सञ्चालन गर्ने गरिएको आरोप लागेको छ । यस्ता प्रकाशनको उद्देश्य नै बार्गेनिङ, ब्द्याकमेलिङ गर्ने, डराउने, धम्क्याउने र आर्थिक स्वार्थ पूरा गर्नु हो भनेर जनमानसमा चर्चा चल्नुलाई व्यावसायिक पत्रकारिताको प्रतिष्ठाका दृष्टिले सम्भवतः कसैले पनि उचित ठहर्‍याउन सक्दैन । यस्ता चर्चा जति उत्कर्षमा पुग्छन् पत्रकारिताको साख त्यति नै स्खलित हुन्छ ।
    अन्त्यमा 
    माथि उल्लेख गरिएका सन्दर्भहरू अन्तिम होइनन् । बरु यी त केही उदाहरणमात्र हुन् । यस्ता अनेकौ घटना छन्, सबैको चर्चा यहाँ सम्भव छैन र आवश्यक पनि छैन । । दुःखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने घटनाको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो अवस्था निर्माणका लागि पत्रकार र पत्रकारितासम्बन्धी संस्थामात्र जिम्मेवार भने छैनन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्र, राजनीतिक कार्यकर्ता, सुरक्षा संयन्त्रसँग सम्वद्ध निकाय पनि जिम्मेवार हुन्छन् । यी निकाय आफ्नो स्वार्थसिद्धिका लागि मिडियालाई प्रयोग गर्न तम्सन्छन् र मिडिया जानिँदो नजाँनिदो ढंगले भ्रष्टाचारमा मुछिन पुग्छ । यस्तै मुद्दा मामिलालाई प्रभावित गर्न पनि मिडियाको अवाञ्छित प्रयोग गरिने आरोप लाग्ने गरेकोछ । यो क्रम राजधानीमा मात्र सीमित छैन बरु राजधानीबाहिर मोफसलमा पनि यस्ता घटनाका अनेकौं उदाहरण छन् । पछिल्ला दिनमा प्रेस काउन्सिलमा यस्ता उजुरी पर्ने संख्यामा लगातार वृद्धि भइरहेको छ जो पत्रकारिताका निम्ति लाजमर्दो अवस्था हो । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकार स्वयं भ्रष्टाचारको आरोपमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुःखद छ । समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी साबित हुनुपर्ने मिडिया नै यस्ता अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुन्छ भने त्यस समाजमा कस्तो अवस्थाको सिर्जना हुन्छ ?
    baahrakhari

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.