×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५५ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चिहानबाट ब्यूँतिन खोज्दा

  •  
  • सोमबार, असार ०६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माेहन मैनाली

    लाङटाङ उपत्यकाको सिङदुम गाउँ काठमाडौंबाट उति टाढा छैन् । यहाँको आकाशबाट ५० किलोमिटर जति सोझो उत्तर र दुई किलोमिटर जति आकाशतिर ठाडो हानिँदा सिङदुम पुगिन्छ । रसुवाको सदरमुकाम धुन्चेसम्म गाडीमा र त्यसपछि पैदल हिँड्दा चार दिन लगाएर हामी त्यहाँ पुगेका थियौं वैशाखको अन्तिम हप्ता ।

    त्यतिबेला यहाँका बारीका स–साना पाटा चारैतिर पर्खालले घेरिएको हुनपर्थ्यो । वैशाखको अन्तिममा यी पाटामा करु उम्रेर एक बित्ता अग्ला भइसक्नुपर्ने थियो । अपरान्ह चल्ने बतासले तिनका पात हल्लाउनुपर्थ्यो । खैरो माटोमा आलुका हरिया बुच्का पलाइसकेको हुनुपर्थ्यो ।

    तर त्यहाँ त्यस्तो थिएन । बारीका पर्खाल भत्किएका थिए। एकाध बाहेक अरु सबै पाटा बालीविहीन थिए ।

    सिङदुममा यस्तो भएको यो दोस्रो वर्ष हो । पोहर किसानले आफ्ना बारी घेर्ने पर्खाल ठीकठाक पारेका थिए । बारीमा करु छरेका थिए, आलु रोपेका थिए । वैशाख १२ गते भुइँचालो आउने बित्तिकै हिउँपहिरो आयो। साह्रै हुर्रिएर आएको थियो त्यो हिउँ एक घण्टामा ३०० किलोमिटर पार गर्ने हिसाबले । त्यसैले यो धेरै शक्तिशाली थियो । त्यसले बारीका पर्खालका ढुङ्गा बारीभरि हुत्याइदियो । त्यो हिउँ निकै बाक्लो थियो । लामो समय पग्लिएन । त्यसले बाली मासिदियो ।

    सिङ्दुम ६ महिना जति निर्जन बन्यो । अहिले यो ठाउँ तङ्ग्रने कोशिश गर्दैछ ।

    गएको वैशाखको अन्तिम हप्ता लाङटाङबाट क्यान्जिङ जाने बाटो छेऊको, उजाड घरको आँगनमा एकजना मानिस भुत्ते, खिया परेको खुर्पामा रेती लगाएर धार निकाल्दै थिए । हामी उनलाई भेट्न गयौं । छिमे तामाङ रहेछन् । भुइँचालो गएपछि यहाँ अरु मानिसजस्तै छिमेले पनि गाउँ छाडेका थिए । गएको कात्तिकदेखि बडो दुःखले यहाँ गुजारा गर्दैछन् ।

    “यी घर टाकटुक भत्कायो । यो पछि बनाको (मर्मत गरे जस्तो गरेको) । अब बस्ने ठाउँ छैन…अब के गर्नु सर ? सरहरुले केही गर्दिनु भए हुनेथियो । सरहरुले विचार गर्दिन सक्दैन होला!” यसो भन्दा उनको अनुहार मायालाग्दो थियो ।

    “हामी त पत्रकार हौँ । तपाईँहरूका कुरा ठाउँमा पुर्‍याउन मात्र सक्छौं,” मैले भनेँ ।

    “सरहरूलाई धर्म (पुण्य) हुन्थ्यो यति कुरा ठाउँ ठाउँमा पुर्‍याइदिए,” हाम्रो कामलाई राम्रो मानिदिएकोमा म दङ्ग परें ।

    “उता मूल घर त थोपै छैन,” उनले भने ।

    उनको मूल घर लाङटाङमा थियो । यहाँको त गोठ जस्तो रहेछ । लाङटाङको घरघडेरीको नामोनिसान नरहेको कुरा बुझाउन उनले “थोपै छैन” भने ।

    “यसपालि आलु किन नलगाएको ?” मैले छिमेलाई सोधेँ ।

    “पर्खालै थिएन । पर्खाल भर्खर लगाएको ।”

    यतातिर जंगली र घरेलु जनावरले बाली नबिगारुन भनेर बारी पर्खालले घेर्ने चलन छ । पर्खालले नघेरिएको बारी बाली लगाउन लायक हुँदैन ।

    धन्न ओखलढुंगाका मान्छे काम गर्न यहाँ आएछन् र छिमेले बारीमा पर्खाल लगाउन सके । ज्याला चाहिँ अलि बढी –दिनको रु. १,१५०– दिनु परेछ ।

    हामी कुराकानी गर्दै गयौं ।

    – यसपालि आलु तरकारी खान फाटफुट मात्रै लगाएको छ । बँदेलले खानै दिँदैन । अव के गर्ने ?

    – बँदेलले दुःख दिन्छ ?

    – अम्मामामा बँदेलले जोतेर हैरान पार्छ । राम्रो पर्खाल लगाउन सक्दैन । के गर्न सक्दैन । …बँदेलले सारै दुःख दिन्छ । मार्न पाइँदैन । मारौं भने निकुञ्जले चेपी हाल्छ । वन्यजन्तु सुरक्षाका लागि उनीहरू बसेको छ ।

    (यो ठाउँ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ) ।

    – दुःख दिने जनावर पनि मार्न पाइँदैन ?

    – हामीले कोशिश पनि गरेको हो। (निकुञ्जमा) निवेदन पनि दिएको । ‘हुँदैन, एउटा जनावर मार्‍यो भने १०० वर्ष जेलमा बस्नुपर्छ’ भन्छ । हामीलाई धेरै सारो समस्या छ । …सरहरूले सहयोग गरिदियो भने कति राम्रो हुन्थ्यो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लाङटाङमा मानिसलाई दुःख दिने बँदेल मार्न नदिए पनि अर्को एक संरक्षित क्षेत्रमा मानिसलाई दुःख नदिने, सुधा जनावर मार्न भने लाइसेन्स दिन्छ । ती जनावर मार्ने अनुमति जनावरले दुःख दिएका गाउँलेलाई होइन, सबैभन्दा बढी पैसा तिर्न सक्ने नेपाली र विदेशी शिकारीलाई दिन्छ । मानिसले पाएको दुःख निवारणका लागि वन्यजन्तु मार्न पाइँदैन, पैसा तिर्न सक्नेको मनोरञ्जनका लागि, मारिएको जनावरका छेउमा बन्दूक बोकेर फोटो खिच्नका लागि भने वन्यजन्तु मार्न पाइन्छ ।

    सिङदुम, मुन्डु र लाङटाङ डाँडाको १० प्रतिशत जति बारी अनौठोसँग जोतेको देखेको थिएँ । छिमेसँग कुरा गरेपछि थाहा भयो त्यो बँदेलको काम रहेछ ।

    छिमे तामाङको बारी

    “एकदमै समस्या भयो यसपालि त । अव के गरेर खाउँ, के गरेर खाउँ?,” छिमेले भने ।

    छिमेको भनाइ उनकै मुखबाट

    समुद्र सतहबाट साढे तीन हजार मिटर अग्लो ठाउँ । यति अग्लो ठाउँमा जीवन यापन गर्न यसै पनि कठिन हुन्छ । त्यसमाथि पोहर घर गयो, घडेरी गयो । लाङटाङ, चम्की र गुम्बा डाँडा जस्ता ठाउँका त बारी पनि गए । आफन्त बिते । यहाँका मानिसले त्यत्रो महिना घर छाडेर अन्यत्र शरण लिँदा खर्चै भयो ।

    यहाँको आम्दानीको मुख्य बाटो पर्यटन थियो । एक वर्षमा १४ हजार जति पर्यटक यहाँ आउँथे । भुइँचालो पछि एक वर्षसम्म पर्यटकका नाममा चरोमुसो कोही आएन । नाक र चौरीको दूध चीज कारखानालाई बेचेर यहाँका मानिसले आम्दानी गर्थे । भुइँचालो जाँदा दूध बेच्ने याम शुरु हुन आँटेको थियो । भुइँचालो र हिउँपहिरोले मान्छे भगाएपछि चौंरी, नाक र तिनका बाच्छाको स्याहार गर्ने र दूध दुहुने कोही भएन । ६४ वर्ष अघि खुलेको चLज कारखाना पहिलो पटक बन्द भयो । दूध किनबेच हुने कुरै भएन । त्यसमाथि भुइँचालो आउनुअघि हिउँदमा लाङसिसा कुनामा आएको पहिरोले १०० वटा जति याक मारिसकेको थियो ।

    लाङटाङमा भुइँचालो एक्लै आएको थिएन । आफूभन्दा ठूला र साना अरू विपतलाई पनि साथ लिएर आएको थियो ।

    “त्यसो भएर सर तपाईँहरुले अलिकति सहयोग गर्दिए एकदम धर्म (पुण्य) हुन्थ्यो । त्योभन्दा ठूलो धर्म के हुन्थ्यो ! सरकारले पनि अलिकति सहयोग गर्दिए हुन्थ्यो,” छिमेले भने ।

    छिमेको कुरा सुन्दा मैले केही दिन पहिले ठूलो स्याब्रुमा भेट भएका नामूद गफाडी टुरिस्ट गाइडले भनेको सम्झिएँ-  साँच्चैको नेपाली हो भने उसले अरु बेला माग्न सक्दैन, सारै आपत पर्दा मात्र माग्न सक्छ । साँच्चैको नेपाली हो भने उसले अर्थोक माग्नै सक्दैन, लत मेटाउने कुरा (खैनी, सूर्ति, जाँडरक्सी र लागू पदार्थ) मात्र माग्न सक्छ ।

    साँच्चै आपत आइनलागेको भए छिमेले यसरी सहयोग माग्दैनथे ।

    बँदेलले गर्ने बदमासीबाट मुक्ति दिन सके छिमेलाई अलिकति भए पनि ढाढस हुँदो हो । तर यो काम गर्न मेरा बुताले भ्याउँदैन । म त यो कुरा आम सञ्चारमाध्यममार्फत् ठाउँ (वन मन्त्रालय) मा पुर्‍याउन मात्र सक्छु ।

    काठमाडौं फर्केपछि यसो खोजी हेरेको यो कुरा मैले पुर्‍याउनै नपर्ने रहेछ । वन मन्त्रालय अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्जलाई लाङटाङमा एक बर्ग किलोमिटरमा १८ वटा बँदेल छन् भन्ने थाहा रहेछ । यी बँदेलले कति नोक्शान गर्छन् भन्ने पनि उसलाई थाहा छ । उसले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ– बँदेलले सबैभन्दा बढी नोक्शानी लाङटाङ क्षेत्रमा गर्छ । एक वर्षमा एक घरको ४५ हजार रुपैया जति बँदेलले नोक्शान गर्छ । आलु उसले सबैभन्दा बढी बिगार्ने बाली हो ।

    छिमेले अहिले भोगेजस्तो समस्या आउँछ, त्यसको हल गर्नुपर्छ भन्ने कुरा वन तथा भू–संरक्षण मन्त्रालयलाई आजभन्दा ३१ वर्ष पहिले नै थाहा रहेछ । त्यसैले वन्यजन्तु संरक्षण तथा वन्यजन्तु नियमावलीमा यसको उपचारको व्यवस्था गरेको रहेछ । त्यस व्यवस्थाको उपयोग यस अघि कम्तीमा एक पटक गरिसकिएको रहेछ । नपत्याए २०४२ साल भदौ १७ गते प्रकाशित नेपाल राजपत्र भाग ३, खण्ड ३५, संख्या २१ हेरे हुन्छ । त्यसमा भनिएको छः

    “वन तथा भू–संरक्षण मन्त्रालयको सूचना

    श्री ५ को सरकारले वन्यजन्तु संरक्षण तथा वन्यजन्तु नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल अधिराज्य भित्र सम्पूर्ण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षसँग जोडिएको खेत खला बारीमा आउने जंगली बन्देललाई अर्को व्यवस्था नभएसम्म हानिकारक घोषित गरेको छ ।
    हानिकारक घोषित भएको जंगली बन्देललाई खेत खला बारीमा आएका बखत खेत वा बारीका धनीले विना इजाजत पक्रन, धपाउन, लखेट्न, मार्न सक्नेछ र मारेमा आफैँले निजी प्रयोग गरी सोको सूचना राष्ट्रिय निकुञ्ज तथा आरक्षको कार्यालयमा दिनुपर्ने गरी तोकेको हुँदा सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    हानिकारक बँदेल

    आज्ञाले,
    जितेन्द्रलाल मास्के
    श्री ५ को सरकारको सचिव”

    (छिमेलाई सहयोग गर्न माथिको ब्यहोरामा “श्री ५ को” भनेका ठाउँमा “नेपाल” र तत्कालीन सचिवको नाम भएका ठाउँमा बहालवाला सचिवको नाम राखेर र “अधिराज्य” भन्ने शब्द हटाएर नेपाल राजपत्रमा सूचना छपाए पुग्छ ।)

    यस्तो व्यवस्था गर्दा बँदेल मासिँदैन रहेछन् भन्ने कुरा अहिले जताततै प्रशस्त बँदेल भएबाट नै प्रष्ट भएको छ । निरंकुश पञ्चायती व्यवस्थाले बँदेल पीडित जनतालाई जे जस्ता सहुलियत दिएको थियो ती सहुलियत लोकतन्त्रले दिनु नहुने भए त जे निहुँ पारे पनि भयो !

    समस्या अर्को पनि रहेछ । लाङटाङ गाउँमा भेटिएका सुब्बा तामाङले बताए— एक वर्षपछि अब त घर बनाउँ भनेर काठ काट्दा सरकारले हामीसँग पैसा असुल्यो ।

    हैन होला, सरकार यति निर्दयी कसरी हुनसक्छ भनेर निकुञ्जलाई सोधेँ, हो रहेछ । वन मन्त्रालयले प्रति क्युबिक फुट १०० रुपैयाँ राजश्व लिने लालचा देखाएछ । वनले लिएको यो रकममाथि अर्थ मन्त्रालयले १३ रुपैया भ्याटमा राल चुहाएछ ।

    भूकम्पपीडितले घर बनाउन काठ काट्दा सरकारले वनको राजश्व र अर्थको भ्याट असुल्छ

    १९९० सालमा भुइँचालो जाँदा नेपालमा जहानिया राणा शासन थियो । त्यतिबेला घर बनाउन कर्कट पाता विदेशबाट ल्याउँदा भन्सार छुट दिएको रहेछ, रोपवेको ढुवानी भाडा घटाइदिएको रहेछ, काठ काट्न जंगल खुलाइदिएको रहेछ । भुइँचालोले घर भत्काएका मानिसले घर बनाउन काठ काट्दा सरकारले त्यसमा कर लगाएको रहेनछ ।

    छिमे र छिमेजस्ता मानिसले अहिले त्यस्तो सहयोग मागेका हुन् जुन राणा प्रधानमन्त्रीले आफ्ना रैतीलाई उनीहरुले नमागिकन दिएका थिए । राणाशासन रैतीप्रति जति दयालू भएको थियो लोकतन्त्र सर्वाधिकार सम्पन्न लोकप्रति त्यति दयालू हुन मिल्दैन !

    सरकार निर्दयी भएको अर्को पनि घटना लाङटाङ निकुञ्जमा भेटियो ।

    लाङटाङ जाने बाटोमा लामा होटल भन्ने ठाउँ छ । चालीस वर्ष अघि, थोरै मात्र पर्यटक आएका बेलामा सरकारलाई चाङदाममा होटल खोलाउनुपर्छ भन्ने लागेछ । उसले प्रोत्साहन दिएकाले धादिङका राजबहादुर गुरुङ त्यहाँ गएर ‘लामा होटल’ खोले । यो ठाउँको नामै बदलिएर लामा होटल भयो । २०७३ वैशाखको अन्तिम हप्ता तिनै राजबहादुरसँग उनकै होटलमा भेट भयो । भुइँचालोपछि उनले होटल खोलेको दुई दिन मात्र भएको थियो । हामी उनको होटलका पहिलो ग्राहक थियौं । हामीले खाजा खाए वापत दिएको पैसा राजबहादुरले तीनचोटि ढोगे र भने, “एक वर्षपछि रातो पैसाको मुख देख्न पाइयो !”

    “पैसाको मुख देख्न (आम्दानी गर्न) नपाएर के भो र ! निकुञ्जले पैसा तिर्न आइज भनी पूर्जी काटिसक्यो, फोन गरेर तागेता गरिसक्यो !” राजबहादुरकी जहान पासाङ तामाङ गुरुङले भनिन् ।

    सरकारी जग्गामा बनाएका ५३ वटा होटलले निकुञ्जलाई वर्षेनी सलामी (रोयल्टी) बुझाउनुपर्छ । राजबहादुरको होटल ख वर्गमा पर्छ । उनले वर्षको ४५ हजार रुपैयाँ निकुञ्जलाई बुझाउनुपर्छ । एक वर्षसम्म होटलबाट कमाइ भएको छैन । होटल र सामान कति बिग्रयो अन्दाज छैन । यसपालिको वसन्त याम सकिन लाग्दा जम्मा एक हजार रुपैयाँ कमाइ भएको छ । निकुञ्जले ‘पैसा तिर्न आइज भनी पूर्जी काटिसक्यो’ भन्ने सुन्दा मलाई पत्यार लागेन । सरकारले निर्दयी साहूले जस्तो ब्यबहार गर्दैन भन्ने लाग्यो । तर निकुञ्जलाई सोधेको हो रहेछ ।

    “सरकारले मिनाहा दिएको छैन । आन्तरिक लेखा परीक्षक र महालेखा परीक्षकले ‘बक्यौता जसरी पनि असल्नू’ भन्ने निर्देशन दिएका छन् । त्यसैले पूर्जी काटेका हौं,” निकुञ्जका टेम्पा लामाले भने ।

    १९९० सालको भुइँचालोपछि श्री ३ जुद्ध शमशेरले कसो गरेका रहेछन् भनी खोजेँ । उनले भनेका रहेछन्– “…बाँकी बक्यौता, दण्ड जरिवाना हाल धरपकड गरी असूल तहसील नगर्नू ।”

    पासाङले सरकारलाई आकाशका तारा खसालिदेऊ भनेकी होइनन् । ‘हामीसँग ब्यबहार गर्दा त्यस्तै विवेक लगाइदेऊ जुन विवेक श्रीपेच ओढेका श्री ३ महाराजले आफ्ना रैतीसँग ब्यबहार गर्दा उपयोग गरेका थिए’ मात्रै त भनेकी हुन् । लोकतन्त्रमा विवेक भन्ने कुरा अटाउँदैन भने त बेग्लै कुरा !

    छिमे, सुब्बा र राजबहादुरका कुरा सुन्दा मलाई डेभिड गिल्मोरले लेखेको, पिंक फ्लोइडले गाएको गीत “चिहानबाट ब्यूँतन खोज्दा (कमिङ ब्याक टु लाइफ)” सुनिरहे झैँ लाग्यो जसमा शुरुमै भनिएको छः

    म थङ्थिलो भएका बेला तिमी कहाँ थियौ?
    मैले ब्यग्रतापूर्वक पर्खिइरहेका बेला
    म बेसहारा, आहत भएका बेला तिमी कहाँ थियौ?…

    यहाँ तिमी भनेको सरकार हुनसक्ला जसले चोटमाथि चोट थपिदियो, समाज परिवर्तनका कुरा गर्ने हामी हुन सकौंला जो सरकारले यसरी चोट थप्दा रमिते मात्र बनेका छौं । म त नाजबाफ छु । आशा छ, तपाईँसँग यसको चित्तबुझ्दो जबाफ छ ।

    अन्नपूर्ण पोस्ट दैनिकको परिशिष्टाङ्क फुर्सदमा २०७३ असार ४ गते प्रथम पटक प्रकाशित । यसमा प्रिन्ट संस्करणमा भएको एउटा त्रुटी सच्याइएको छ । 

    लाङटाङको पछिल्लो अवस्थासम्बन्धमा साउथ एशिया चेकले तयार गरेका यी सामग्री पनि हेरे राम्रोः

    southasiacheck

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.