हरि अधिकारी
कृष्णप्रसाद भट्टराईको युवा मन अंग्रेज सरकारको थानामा थुनुवाहरूलाई कसरी केरकार गरिँदो रहेछ, हेर्नका लागि व्यग्र भयो।
‘गोपालजी हम लोगों को भी बुलाएंगे?’
‘किन बोलाउँदैनन् ? अवश्य बोलाउँछन्। तर सामान्य फौजदारी अभियोगका थुनुवाहरूसँगको कारबाही सकिएपछि। क्या तुम बाहर क्या हो रहा है देखना चाहोगे?’, गोपालप्रसादले भाइलाई सोधे।‘हाँ गोपालजी मन तो कर रहा है।’ गोपालप्रसादले अलि उँचो आवाजमा सेन्ट्री बसेको पुलिसको सिपाहीलाई बोलाए ।
फलामे ढोकाको खापा अलिकति उघारेर चिहाएको त्यस सिपाहीलाई गोपालप्रसादले थोरै अनुुरोध र धेरै आदेशको पुुट भएको स्वरमा भने, ‘भितर बहुत उमस है । हम लोग फारिग भी होना चाहते है । दरोगाजीको बोलो कि हमें बाहर आने दे।’
एकैछिनमा तुलसी रामायणको दोहा भट्भट्याउने उही सब-इन्स्पेक्टर फौजदार सिंह ढोकामा देखा पर्यो।
‘कहिए नेताजी क्या हुआ?’, उसले चरम् अवज्ञाका साथ सोध्यो।
‘होना क्या है ? हम लोगोंको बाहर आना है।’
‘शौक से आइए । ए लखनवा ! दरवाजा खोल दो ! ये स्वराजी हैं, नेता हैं, ये बाहर आना चाहते हैं तो चाहते हैं । निकालो इनको बाहर’, फौजदार सिंहले व्यंग्य त गरेको हो तर कसमाथि गरेको हो थाहा नपाउने गरी आदेश दियो।
थुनुवा-कोठाको अग्लो ढोकाबाट बाहिर निस्केर आँपको रूख भएको चौतारोमा आइपुगेका कृष्णप्रसादले देखे- थाना बसेको मूलघरको दुई सय गज जति पर खबडाको छाना भएका दुई-तीनवटा साना कटेजजस्ता देखिने घरहरू छन्। तिनै घरहरूमध्ये एउटाको अगाडि घुमाउने वि श्राम-छहारी बनाइएको छ। त्यसमा हालिएको एउटा अग्लो काठको कुर्सीमा बसेको छ- उच्च दर्जाको जस्तो देखिने एकजना पुलिस अफिसर। उसको कुममाथि पित्तलका केही फुली टल्किइरहेका छन्।
त्यस अफिसरको ठीक सामुन्नेदेखि थुनुवा कोठा भएको थानाको मुख्य भवनको सानो आँगनसम्म ५० जना जति मानिसलाई लहरै टुक्रुक्क बसाइएको छ र सबैलाई दुवै कान समाउन लगाइएको छ। त्यसरी पुलिसको भाषामा मुर्गा बनाइएकाहरूमा कलिला पाका सबै उमेर वर्गका मानिसहरू छन्। देख्दैमा थाहा हुन्छ, ती मुर्गाहरूमध्ये अधिकांश गरिब-अकिञ्चनहरू नै छन्। दुई-चारजना हुने-खाने वर्गकाजस्ता पनि छन् तर लाजले, अपमानबोधले र ग्लानीले हुन सक्दछ, तिनीहरूले आफ्नो शिरलाई दुई घुँडाका बीचमा लुकाएका छन्।
अफिसरको अगाडिपट्टि एउटा ठूलो टेबिल छ र त्यसमाथि छन् दुईटा क्यानभासका थैलाहरू, जसको मुख खोलिएको छ। त्यस टेबिललाई देव्रे पारेर अर्को एउटा मध्यम दर्जाको जस्तो लाग्ने पुलिस अफिसर उभिएको छ। उसले हातमा लिएको छ- एउटा मजबुत छडी।
आधा घन्टाभन्दा बढी मुर्गा भएर अफिसरको आदेशमा ढाड सोझ्याउँदै गरेको उसको पिँड्युुलामा छडीको गतिलो प्रहार गरेर डीएसपीको सहायकले उसलाई सोधेको थियो, ‘तेरा नाम क्या है रे साला?’
कृष्णप्रसादले देखे केरकार चलिरहेको छ। चरम् उत्सुकताले हुरुक्कै भएका उनी अलिकति अगाडि बढे।उनलाई केरकार गरिरहेको ठाउँ नजिक जाँदा पनि कसैले रोकतोक गरेन। टेबिलको आडमा उभिएको अफिसरले अलिकति हाँसेर स्वागत झैँ गर्यो।
उनले अंग्रेज बहादुरका पुलिस अफिसरहरूले गरेको केरकार नजिकैबाट हेरे।उनले थाहा पाए- मुर्गा बनेका थुनुवाहरू सोही अवस्थामा सर्दै सर्दै केरकार गर्न बसेको डीएसपीको सामुन्ने पुग्नुपर्ने रहेछ। त्यहाँनेर पुगेपछि पालो परेको थुनुवालाई तन्किएर उभिने आदेश दिइने रहेछ।
ऊ उभिएपछि सबैभन्दा पहिले टेबलनेर उभिएको अफिसरले, ‘बोल वे चोट्टे क्या नाम है तेरा’, भनेर पिँड्युलामा सुम्लो उठ्नेगरी छडीले हान्ने रहेछ । ठाउँ-ठाउँमा काँढाका उभारसमेत भएको त्यो घँगारुको छडीको प्रहार सहन नसकेर धेरैजना त क्वाँ-क्वाँ गरेर रुने रहेछन्।
साँच्चै भन्ने हो भने केरकारमा खासै केही हुँदो रहेनछ। मुख्य हाकिम डीएसपी त बोल्दा पनि बोल्दो रहेनछ। उसको सम्पूर्ण ध्यान थुनुवाहरूले लगाएको सुनका औठी, सिक्री, घडी अनि साथमा भएको पैसा आफ्ना अगाडि राखिएको टेबलमाथिका क्यानभासमा थैलीमा हालिए कि कसैले हाल्न छुटायो, त्यतैतिर मात्र केन्द्रित हुने रहेछ। त्यो केरकार थुनुवाहरूलाई नाङ्गेझार पार्ने एउटा नाटक मात्र पो रहेछ।
वास्तवमा कुन थुनुवामाथि मुद्दा चलाउने र कसलाई पिटपाट-लुटपाट गरेर छोडिदिने भन्ने कुरा थानाका अफिसरहरूले केरकार सुरु गर्नुभन्दा पहिले नै तय गरिसकेका हुँदा रहेछन्।
आश्चर्य, क्षोभ र आक्रोशको तरंगमा पौडँदै उत्रँदै कृष्णप्रसाद भट्टराईले त्यस दिन बिहान काशी कोतवालीको प्रांगणमा अंग्रेज सरकारको पुलिसका भारतीय अधिकारीहरूले थानाका थुनुवाहरूमाथि गरेको अमानवीय व्यवहारको प्रत्यक्ष अनुभव गरे । अंग्रेजहरूले आफ्नो राजमा कानूनको शासनको पूर्ण प्रत्याभूति छ भनेर गर्दै आएको प्रचार पूर्णतः झुटो लाग्न थाल्यो उनलाई । सम्पूर्ण भारतवर्ष अत्यन्तै घटिया स्तरको पुलिस राज्यमा परिणत भइसकेको कुरामा उनी विश्वस्त भए।
उनी त्यहाँ भएकै बेलामा केरकारको अर्को एउटा केस डीएसपीको सामुन्ने ल्याइयो।थुनुवा थियो गोलो पोक्चे मुहार भएको एउटा बंगाली किशोर। १८-१९ वर्षको हुँदो हो। ठूला बाटुला आँखामा ज्योति कम हुँदै गएको थाहा भएपछि उसका प्रोफेसर बाबुले पावरको चश्मा लगाइदिएका थिए। ऊ बासिन्दा त थियो कलकत्ताको तर फुपूको घर वनारस आएको थियो केही दिन पहिले मात्र।
फुपूको घर भएको टोलमा कसैले एउटी केटीलाई जिस्काइदिएको निहुँमा स-सानो झडप भएको थियो- अघिल्लो दिन। त्यही केसको छानबिन गर्न भनेर पुुलिस हावामा लाठी घुुमाउँदै आएको थियो र जसलाई भेट्यो, उसैलाई पक्रिने क्रममा ऊ अनाहकमा फेला परेको थियो।
आधा घन्टाभन्दा बढी मुुर्गा भएर अफिसरको आदेशमा ढाड सोझ्याउँदै गरेको उसको पिँड्युलामा छडीको गतिलो प्रहार गरेर डीएसपीको सहायकले उसलाई सोधेको थियो, ‘तेरा नाम क्या है रे साला? ‘
अपमान र पीडाको दंशले संज्ञाशून्य झैं भएको ऊ एकछिन त बोल्नै सकेन। उसले लगाइराखेको, मोटो फ्रेम भएको पावरदार चश्मा मुनिबाट दुई थोपा आँसु तपक्क झरे। उसले झन्डै अस्फुट स्वरमा भन्यो, ‘आमी बलाई चक्रोबोर्ती।’ ‘मोहल्ले में मारपिट खूब कर सकता है और यहाँ हलक से आवाज नहीं निकलती? ‘, भन्दै पुलिस अफिसरले फेरि छडी उज्यायो।
यसपटक भयाक्रान्त त्यो बंगाली किशोर थुचुक्कै बस्यो।
त्यतिबेलासम्म केरकारमा बसेको मुख्य अधिकारी डीएसपीलाई पट्यार लाग्न थालिसकेको थियो। उसले आजको आम्दानीको मोटामोटी हिसाब गरिसकेको हुँदो हो। अब बाँकी थुनुवाहरूलाई छिटोछिटो टुंग्याइदिन हतारिएको थियो ऊ। इन्स्पेक्टर तारिक बेगले थुनुवाहरूमाथि फुइँ झारेको र उनीहरूलाई आतंकित बनाएको दृश्य पनि धेरै भएर उसलाई रमाइलो लाग्न छोडिसकेको थियो।
‘बेग इसको छोड दो’, डीएसपीले हाई काढ्दै आदेश दियो।’लगता है इस छोकरे के पास तो कुछ भी नहीं है’, इन्स्पेक्टर बेगले डीएसपीले मात्र सुन्ने गरी भन्यो।
‘क्या बेग तुम भी, देखते नहीं हो ? उसकी नाडी पर सावर-प्रिमा चमक रही है’, डीएसपीले पनि त्यस्तै मसिनु स्वरमा जवाफ दियो।
ती दिनहरूमा मध्यमवर्गीय भारतीयहरूको संसारमा वेस्ट-इन्ड वाच कम्पनीको सावर-प्रिमा मोडेलको घडीको ठूलो नाम थियो। ती मानिसहरू जसले रोलेक्स, ओमेगा, कातिए, पातेक-फिलिपजस्ता महँगा नाडीघडी किन्ने हैसियत राख्दैनथे, उनीहरूको पहिलो रोजाइमा पदथ्र्यो सावर-प्रिमा।
कलकत्ता विश्वविद्यालयमा पूर्वीय दर्शन पढाउने प्रोफेसर बालेन्दु चक्रवर्ती पनि पर्दथे मध्यम-वर्गमै। त्यसैले उनले छोरा बलाईलाई उसले म्याट्रिक पास गरेको खुुसीयालीमा अघिल्लो वर्ष एउटा सावर-प्रिमा उपहार दिएका थिए।
‘अरे ओ बंगाली मानुस् तुम जा सकते हो। हाँ, पहले इधर आ जाओ, अपनी घडी उतारकर उस ब्याग में डालो और चलते बनो’, इन्स्पेक्टर तारिक वेगले रुखो स्वरमा आदेश दियो।
बलाईलाई रिहा हुने भएको कुराको हर्ष र घडी गुमाउनुपर्ने भएको कुराको विस्मात् एकैचोटी भयो। ऊ खिस्रिक्क पर्यो।
‘पन ए घडी क्यों? येटा आमार् बाबार् प्रिजेन्ट। नहीं दे सकता? ‘, उसले डराइडराई यति भन्यो।
‘घडी दे नहीं सकता? तो तुम माछेर झोल इसी थाने में सडते रहो’, इन्स्पेक्टरले आत्मविश्वास खस्किएको तर अलि चर्को स्वरमा भन्यो र मुुर्गा बनेको अर्को थुनुवालाई उभिने आदेश दियो।
बंगाली ठिटोले रुन्चे अनुहार लगायो। अब के गर्नुपर्ने हो, उसले सोच्नै सकेन । सहारा खोजेझैं करुण दृष्टिले चारैतिर हेर्यो। आफू पनि संकटमा परेका कसैलाई पनि उसका बारेमा कुनै मतलव थिएन । कसैले पनि उसको वास्ता गरेन। ऊ हताशाको गर्तमा भासिएझैं थुचुक्क बस्यो।
अलिक परबाट त्यो जुगुप्सा जगाउने दृष्य हेरिरहेका कृष्णप्रसाद भट्टराईको मनमा हलचल भइरहेको थियो। उनी घृणा, पीडा, असहायपना र आक्रोश घालमेल भएर बनेको चरम् उत्तेजक संवेगको भुमरीमा फसेझैं भएका थिए। उनलाई ठूलो स्वरमा चिच्याएर त्यो गह्रुगो वातावरणलाई छिन्नभिन्न पारिदिने हुटहुटीले गाँज्दै ल्याएको थियो । उनको मुटुको चाल अचानक बढेर आएको थियो, गाला रन्किएर आएका थिए।
उनको कण्ठबाट उनले पत्याउनै नसक्ने एउटा भद्दा गालीका साथ ती पुलिस अफिसरहरूको कुकृत्यका विरोधमा कडा प्रतिवादका शब्दहरू निस्कनै आँटेका बेलामा उनले आफ्नो पिठ्युँमा कसैले हलुका धाप मारेको चाल पाए । उनी पछाडि फर्किए । देखे- दाइ गोपालप्रसाद गम्भीर मुद्रामा सामुन्ने उभिएका छन्।
गोपालले आफ्नो चोरऔंला ओठसम्म पुर्याएर संकेत गरे- चूप लाग। कृष्णप्रसादको आवेग रोकियो, त्यति नै बेला गोपालले सुस्त स्वरमा भाइलाई सम्झाए।
‘यह पुलिस थाना है भैया किसुन। यहाँ इन्हीं अफसरोंका राज चलता है। यह लोग पकड कर लाए हुए लोगों के साथ कुछ भी कर सकते है। कसैलाई पनि अदालतमा पेस गर्नुअघि जे पनि गर्न सक्छन् यहाँका यी जल्लादहरूले। ज्यादा सम्भावना छ तिमी र भानिज अदालतमा पुगेपछि छुट्ने छौ। तर यहाँ इन लोगों ने झुटा केस बना दिया तो कुछ भी हो सकता है। तुम्हे जेल भी जाना पड सकता है। इसलिए अभी तुम चूप ही रहो।’
‘तो इस पुलिस अत्याचार के खिलाफ कुछ भी नहीं किया जा सकता है? ‘
‘हाँ, त्यस्तै ठान। पुलिस महानिर्देशक या कलेक्टर्स अफिस में कम्प्लेन कर सकते हो। लेकिन होता कुछ नहीं। पूरी सिस्टम ही सडियल है। इस सिस्टम को बदलना होगा।
इस के लिए सबसे पहले अंग्रेजों को खदेड्ना पडेगा हिन्दुस्तान से। स्वराज आएगा तो थाने वगैरह में भी बदलाव आयगी। इन जैसे अकिञ्चन लोगोंको भी जनअधिकार मिलेगा’, गोपालप्रसादले गुरु गम्भीर स्वरमा स-सानो वक्तव्य नै दिए।
विद्रोहको भावनामा छड्किरहेका कृष्णप्रसादका शब्दहरू उनको घाँटीभित्रै अड्किए। आक्रोशको कारण विकृत भएको उनको युवा अनुहार पहेँलो देखियो। उनी दाजुबाट मात्र होइन, आफैंबाट पनि भाग्न चाहेझैं टाढा शून्यतिर हेर्न थाले।
माघ महिनाको उत्तर भारत, बिहानको समय कलिलो घामले छोएर शुभ्र र आनन्ददायक बन्दै गएको वातावरण। हलुका नीलो तुवाँलोको मलमली च्यादरमा बेरिएका आसपासका बस्तीहरू र मैदान- थाना परिसरबाट देखिने परिदृश्य साँच्चिकै मनमोहक थियो।
तर कृष्णप्रसाद भट्टराईको हृदय जुन अथाह पीडामा टन्किरहेको थियो त्यसले परिवेशको सौन्दर्यलाई उनको नजरबाट पूरै अर्थहीन बनाइदिएको थियो।उनका आँखा टिल्पिल भएको देखेर दाइ गोपालप्रसादको मुटु कटक्क भयो।
(सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीलाई केन्द्रमा राखेर हरि अधिकारीले लेखेको उपन्यास ‘एक्लो नायक’को एउटा अंश )
annapurnapost




















