प्रदीप गिरी

झन्डै आठ वर्ष लामो भारत आत्मनिर्वासनपछि बीपी कोइराला २०३३ पुस १६ गते नेपाल फर्कनुभयो। कोइरालाको प्रत्यागमनले अब त ४० वर्ष टेक्यो। नेपालको प्रजातान्त्रिक इतिहासमा यो एक महत्वपूर्ण तिथि भएको छ।
केही वर्षअघि मात्रसम्म नेपाली कांग्रेसले १६ गते पुसलाई औपचारिक रूपले ‘मेलमिलाप-दिवस’का रूपमा मनाउँदै आएको थियो। अब त कांग्रेसमा त्यस्तो जाँगर पनि देखिँदैन, तर आजको राष्ट्रिय संकटको सन्दर्भमा कोइरालाको प्रत्यागमनको मर्म केलाउनु सान्दर्भिक हुनेछ।
२०१७ साल पुस १ गते बहालवाला प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन निरंकुश राजा महेन्द्रले गिरफ्तार गरी जेल हालेका थिए। त्यसपछि उहाँलाई लगातार आठ वर्ष थुनामा राखियो। ३०-३१ अक्टोबर १९६८ मा कोइराला कारागारमुक्त हुनुभएको थियो।
अब कोइरालाको कारागार मुक्तिपछि राजा महेन्द्रले सुस्तरी तर निश्चित रूपमा संवैधानिक प्रक्रियाद्वारा पञ्चायती व्यवस्थाको प्रजातान्त्रिकीकरण गर्दै जानेछ भन्ने आम धारणा थियो। तर त्यो सब केही हुनुअघि नै कोइराला भारत जानुभयो। भारतबाट उहाँका कडा वक्तव्यहरू आउन थाले । पञ्चायती व्यवस्थामा सुधार हुने कुरा हराएर गयो। कोइरालाका वक्तव्यहरू पनि उग्रतर हुँदै गए।
सन् १९७५ को वर्ष कोइरालाका निमित्त त्रासद रह्यो । सिंगो दक्षिण एसियाका निमित्त त्यो वर्ष राजनीतिक उथलपुथलले भरिएको थियो । त्यसमा पनि इन्दिरा गान्धीद्वारा सिक्किमको विलयको घटना नेपाली राजनीतिका दृष्टिले विशेष महत्वपूर्ण थियो। मई १९७५ मा भारतमा सिक्किम विलय गरियो । स्वयं भारतभित्र पनि यस घटनालाई लिएर कडा आलोचना गरिएको थियो।
२६ जुन १९७५ मा इन्दिरा गान्धीले भारतमा ‘इमर्जेन्सी’को घोषणा गरिन्। इमर्जेन्सीको घोषणाका साथ इन्दिरा गान्धीले जयप्रकाश नारायण, चन्द्रशेखर, अटल विहारी वाजपेयी, अशोक मेहतालगायत यावत् राजनीतिज्ञलाई गिरफ्तार गरेकी थिइन्।
यिनीहरू सबै बीपीका मित्र थिए, नेपाली जनआन्दोलनका पक्षधर थिए। अब बीपीले भारतबाट प्रजातान्त्रिक नेपालको आन्दोलनलाई मद्दत गर्छ भन्ने सोच्नुको कुनै अर्थ थिएन। तैपनि बीपी नेपाल फर्कने मनस्थितिमा पुगिसक्नुभएको थिएन भन्ने गोरखपुरको भाषणबाट प्रस्टिन्थ्यो।
यस तथ्यको सविस्तार वर्णन इन्दिरा गान्धी, राजा वीरेन्द्र र बीपी कोइरालाको त्यो अप्ठ्यारो त्रिकोणात्मक माखेसाङ्लो कनकमणि दीक्षितद्वारा सम्पादित ‘स्टेट अफ नेपाल’मा उल्लेख भएको छ। बाँकी कुरा तत्कालीन नेपालका लागि भारतीय राजदूत रसगोत्रको प्रकाशोन्मुख आत्मकथामा विस्तारमा वर्णन होला।
इन्दिरा गान्धीले राजा वीरेन्द्रसँगको सम्बन्ध सुधार्ने प्रयास थालिन्। यस दिशामा भारतले नै फेरि पहल गर्यो। तद्नुरूप राजा वीरेन्द्रले बीपी कोइरालालाई नेपाल फर्काउन इन्दिरा गान्धीलाई आग्रह गरे । यस्तै परिस्थितिमा बीपी कोइराला नेपाल फर्कनुभएको थियो।
आफू नेपाल फर्कने कुरालाई कोइरालाले एउटा मौलिक राजनीतिक व्याख्याका साथ अगाडि सार्नुभयो। ‘नेपालको राष्ट्रिय अस्तित्व खतरा भएकाले मैले नेपाल फर्कने निर्णय गरेँ’ भन्ने उहाँको कथपोकथन रह्यो । कोइरालाको प्रत्यागमनले नेपाली कांग्रेस र नेविसंघमा नवजीवनको सञ्चार गर्यो।
कोइरालाको राजनीतिक समझदारीबाट राजा वीरेन्द्रसमेत थोरै भए पनि प्रभावित भए । २०३६ सालको जनमतसंग्रह भयो। नेपालको राजनीतिक वातावरण खुकुलो हुँदै गयो।
कोइरालाले आफू नेपाल फर्कनुभएको परिस्थितिको विस्तृत वर्णन कहीँ पनि गर्नुभएको छैन। आत्मवृत्तान्त उहाँको प्रमुख कृति हो। त्यहाँ उहाँले आफ्नो जीवनसँग सम्बन्धित घटनाको स्पष्टीकरण दिनुभएको छ । आफ्नो कारागार मुक्तिको घटनालाई एउटा खास ढंगले प्रस्तुत गर्नुभएको छ।
आत्मवृत्तान्तअनुसार कारागार मुक्तिको सम्पूर्ण जस भाइ गिरिजाप्रसाद कोइरालाले पाएका छन्। यस विषयमा अरू पात्रहरूको कथा प्रकाशमा आउन सकेन। तर आफ्नो आत्मनिर्वासनलाई कोइरालाले भूलका रूपमा स्वीकार गर्न संकोच मान्नुभएको छैन।
उहाँले एकपटक मात्र इन्दिरा गान्धीलाई भेटेको कुरा किटेरै भन्नुभएको छ। तर इन्दिरा गान्धीका दरबारियाहरूसमेतले उहाँलाई भेटिरहेको कुरा उल्लेख गर्नुभएको छ। तर ती भेटमा के-कस्ता कुरा हुन्थे, भनिएको छैन। बंगलादेशमा हतियार पठाएको कुरालाई पनि बीपीले केही अचम्मको रूपमा संकेत गर्नुभएको छ।
अहिले मुख्य कुरा केही अरू नै छन् । आज मधेस आन्दोलनको निहुँमा भारतबाट व्यापार-पारवहनका सन्धिका आधारमा सहज रूपमा आउनुपर्ने सामानमा अवरोध भएको छ। यसै आन्दोलनले मधेसको जनजीवन पनि कष्टकर बनाएको छ। यस प्रसंगले नेपाल-भारतका सम्बन्धका कुरा पनि उठिरहेको छ।
यस सिलसिलामा पृथ्वीनारायण शाहदेखि राजा त्रिभुवन, महेन्द्र हुँदै बीपी कोइराला, राजा वीरेन्द्रसम्मको राष्ट्रियता विषयक धारणा छलफलमा आइरहेका छन्। बीपीको राष्ट्रवादको प्रसंगको पनि चर्चा भइरहन्छन्। इन्दिरा गान्धीका पालामा ‘उनले सिक्किमपछि नेपाललाई खाने योजना बनाएकी थिइन्, त्यस योजनामा बीपीले सहमति जनाउनुभएन, त्यसैले उहाँलाई नेपाल फर्कन बाध्य गराइयो’ भन्ने जस्ता कुरा पनि आइरहेका हुन्छन्।
त्यति मात्रै होइन, २०१७ साल पुस १ मा राजा महेन्द्रले बीपीलाई गिरफ्तार गर्नुमा समेत तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको समेत सहमति थियो भन्ने चर्चा पनि चल्छ।यस्ता प्रस्तुतिहरूले समग्रमा बीपी कोइरालाको राजनीतिक र कूटनीतिक समझदारीको उपहास मात्र गरेको छ।
बीपीको उचाइँको न्यूनीकरण गरेको छ। बीपीलाई भारत र नेपालको कूटनीतिक सन्बन्धको सीमा राम्ररी ज्ञान थियो। एउटा बलियो छिमेकीसँग व्यवहार गर्दा के-कस्तो सम्बन्धको निर्वाह के-कसरी गर्न सकिन्छ, त्यो उहाँले बुझ्नुभएको थियो।
नेपाल प्रत्यागमनको उहाँको राजनीतिको केही जटिलता अवश्य थिए। इन्दिरा गान्धीको तानाशाहीको महत्वाकांक्षाबाट उहाँ अवश्य उद्विग्न हुनुहुन्थ्यो। बीपी भारत जानु हुँदा प्रजातन्त्रका निमित्त भारतले केही सहयोग गर्छ कि भन्ने उहाँको अपेक्षा थियो।
फेरि त्यतिञ्जेल पार्टीका कार्यकारी अध्यक्ष सुवर्ण शमशेरको हेडक्वार्टर पनि त्यहीँ थियो। त्यसैले पार्टीगत सरसल्लाहले पनि प्रारम्भिक महिनामा बीपी हिन्दुस्तान जानु आफैंमा आश्चर्यजनक थिएन। बीपीका निमित्त भारत-प्रवासमा थप अर्को आकर्षण थियो, उहाँको परिवारको बसोवास बनारसमा नै थियो।

तर पछि गएर बीपीले आफ्ना अनुयायीहरूलाई खास गरेर भाइ गिरिजाप्रसादलाई ओखलढुंगा-काण्डको र हाइज्याकिङको दुस्सासहिक घटनाक्रमबाट रोक्न सक्नुभएन। यस घटनाको वास्तविकताको सर्वाधिक यथार्थ वर्णन सर्वोच्च नेता गणेशमान सिंहको ‘अदालत बयान’ मा भेटिन्छ।
सानो देशले अघि बढ्दा बडो सोच्नुपर्छ। कुनै कचिंगल पर्दा ह्वात्तै अघि बढिहाल्नु पनि हुँदैन । ह्वात्तै अघि बढ्दा पछि गएर पछि हट्न अप्ठ्यारो पर्छ। जो भएको इज्जत पनि हरिने, हुर्मत जाने डर हुन्छ। बीपीले भारत वा चीनसँग व्यवहार गर्दा यस्तो गल्ती कहिल्यै गर्नुभएन।
ओखलढुंगा-काण्डको एउटै राम्रो परिणाम के भएको थियो भने यस काण्डले कोइरालाको नेपाल प्रत्यागमनलाई अनिवार्य बनायो।भारतका राजनीतिज्ञमध्ये बीपीको सर्वाधिक मधुर सम्बन्ध जयप्रकाश नारायणसँग रह्यो। जयप्रकाशसँग उहाँको घनिष्ट भावनात्मक सम्बन्ध थियो।
त्योबाहेक भारतको सिंगो समाजवादी आन्दोलनले उहाँलाई आफ्नो आदर्शको रूपमा हेर्थ्यो। समाजवादी आन्दोलनका साथीहरूमाझ उहाँ लोकप्रिय पात्र हुनुहुन्थ्यो। तर इन्दिरा गान्धीले यी सारा नेतालाई थुनिन्। यस पृष्ठभूमिमा इन्दिरा गान्धीसँग अवश्य पनि उहाँको राम्रो सम्बन्ध हुन सक्दैनथ्यो।
तर सम्बन्ध साह्रै खराब थियो भनेर भन्ने ठाउँ पनि छैन । अझै गिरिजाबाबुको कुरा पत्याउने हो भने त इन्दिरा गान्धीले बीपीलाई विशेष आशा र विश्वासको दृष्टिले हेर्थिन्। (हेर्नुस् गिरिजाप्रसाद कोइरालाको आफ्नो कथा)
बीपीले आफ्नो सुन्दरीजल-डायरीमा भारतीय नेताहरूको पटकपटक उल्लेख गर्नुभएको छ। यी सबै उल्लेख ऐतिहासिक छन्। जवाहरलाल नेहरू र उहाँको सम्बन्धको कथा त अझ रोचक र भावुक छ । त्यो रोचकता र भावुकतालाई सम्झनामा राख्दा उहाँहरूको सम्बन्ध प्रतिस्पर्धात्मक थियो भन्ने कुनै ठाउँ देखिँदैन।
बीपीको व्यक्तित्व सर्वथा बेग्लै किसिमको थियो । उहाँलाई भेट्ने मानिस उहाँबाट अनिवार्य रूपमा प्रभावित हुन्थ्यो। उहाँलाई साहित्य, कला, दर्शन हरेक विषयको जानकारी थियो । जवाहरलाल नेहरू पनि त्यस्तै मानिस थिए । उहाँहरू दुवैले गान्धीबाट आफ्ना राजनीतिक संस्कार प्राप्त गरेका थिए।
फेरि दुवैका पिता पनि प्रभावशाली मानवीय व्यक्तित्वका स्वामी थिए । दुवैको स्वभावमा अरू जेसुकै भए पनि छोटोपन थिएन। त्यसो हुँदा नेहरूले ईष्र्यावश बीपीलाई अपदस्थ गर्नका निमित्त राजा महेन्द्रलाई प्रोत्साहित गरे भन्नु नेहरूको उदात्त चरित्रको अवमूल्यन मात्र हो।
बीपी स्वयं यस्ता कुरामा सतर्क हुनुहुन्थ्यो । आफू प्रधानमन्त्री रहँदा नेहरूसित सुमधुर सम्बन्ध राख्न कुनै कसर बाँकी राख्नुभएको थिएन। कतिपय लेखकहरूले बीपी कोइरालाको चीन भ्रमण वा इजरायलसँगको दौत्य सम्बन्धलाई लिएर नेहरू कुपित थिए भन्ने अनुमान गरेका छन्।
यता आएर नेहरूको तत्कालीन चिठीपत्रहरू छापिएका छन् । बीपीले आफ्ना कूटनीतिक पहलहरूबाट नेहरूलाई सुसूचित राख्ने गर्नुभएको थियो भन्ने ती पत्रहरूबाट जाहेर हुन्छ । एउटा सानो मुलुकले आफूभन्दा बलिया राष्ट्रसँग व्यवहार गर्दा सम्बन्धित नेताको व्यक्तित्वको ठूलो भूमिका हुन्छ।
बीपी एक व्यक्तित्ववान् प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँसँग भेट्ने जोसुकै पनि उहाँबाट प्रभावित हुन्थे। त्यसैले नेहरू, लालबहादुर शास्त्रीसँग बीपीको कहिल्यै पनि सम्बन्ध चिसिएको थिएन। हो, इन्दिरा गान्धीको कुरा बेग्लै हो।
साना देशले ठूला र बलियासँग कूटनीतिक व्यवहार गर्दा केही नबुझिनहुने पक्षहरू छन्। यूनएनओ अन्तर्राष्ट्रिय कानुनका नजरमा साना र ठूला, दुर्बल र सबल राष्ट्र प्राविधिक दृष्टिले एकैनासका अधिकार उपभोग गर्छन्। तर कानुनी वा प्राविधिक अधिकार कहिल्यै पनि वास्तविक अधिकार हुँदैन।
वास्तविक अधिकारको यथार्थ बेग्लै हुन्छ। सानो देशले अघि बढ्दा बडो सोच्नुपर्छ। कुनै कचिंगल पर्दा ह्वात्तै अघि बढिहाल्नु पनि हुँदैन । ह्वात्तै अघि बढ्दा पछि गएर पछि हट्न अप्ठ्यारो पर्छ। जो भएको इज्जत पनि हरिने, हुर्मत जाने डर हुन्छ।
बीपीले भारत वा चीनसँग व्यवहार गर्दा यस्तो गल्ती कहिल्यै गर्नुभएन। फलस्वरूप भारत र चीनसँगको कार्यव्यवहारमा उहाँ जहिले पनि उत्तीर्ण हुनुभयो । कोइरालाले नेहरूको वक्तव्यको प्रतिवाद गर्दा वा सगरमाथाको स्वामित्वको विवाद टुंग्याउँदा त्यो कौशल प्रदर्शन गर्नुभएको थियो।
तर यस्तो कौशल एकतर्फी पनि थिएन। उहाँको तालमा ताल मिलाउने महापुरुष पनि नेहरू र माओत्से तुङजस्ता व्यक्तित्वका स्वामी थिए। अहिलेको समस्या के छ भने यहाँ समकालीन नेतृत्वको त्यो उचाइ छैन । फलस्वरूप नेपाली जनताले दुःख पाइरहेका छन्। भारत पनि व्यथित छ।
बीपीको प्रधानमन्त्रित्वकालमा अनेकनले संस्मरण लेखेका छन्, बीपी स्वयंले लेख्नुभएको छ । ती सबै संस्मरणबाट बीपीको कूटनीतिक कौशलको सार बुझ्न सकिन्छ । नेहरूले संसद्मा बीपीको गिरफ्तारीको कडा प्रतिवाद गरेका थिए।
त्यो उनले मनको लहडमा पक्कै गरेका थिएनन् । कोइरालाप्रतिको सद्भावको त्यो द्योतक थियो । त्यति मात्रै होइन, भारत-चीन सीमा संघर्षको दुर्याेग नभएको भए २०१७ सालपछिको घटनाक्रम पनि यस्तै रहँदैनथ्यो भन्ने ठाउँ छँदै छ।
annapurnapost




















