कन्टिर–बाबू किङ्कर्तव्यविमूढ छन्– के भन्ने, किन भन्ने, कति भन्ने, कस–कसलाई भन्ने ?
कहिलेकाहीँ त कन्टिर–बाबू बहुत दिक्दार हुन्छन्, कति भन्नु, कति बोल्नु, बोलेरे के पो हुन्छ भनेजस्तो लाग्छ । तर मनको अर्को पक्षले तत्काल विद्रोह गर्छ र भन्छ– ल, किन नबोल्ने ? हामीले नबोले कसले बोल्छ ? हामीले नै प्रश्न गर्न र बोल्न छोड्ने हो भने त यी भातका सत्तुरहरू झन्–झन् साँढे हुँदै जान्छन् ।
कन्टिर–बाबूले आमहड्ताल गर्नुहुन्न, यसले आमजनतालाई सास्तीमात्र दिन्छ भनेर सुरुमै चेताएका हुन् । मरिजाउँ झप्रमहरूले मानेनन् र जनतापिराहा आमहड्ताल गरी छाडे । यिनले आमहड्तालका नाममा सडक तान्डवमात्र गरेनन्, गति-मति पनि छाडे ।
कन्टिर–बाबू माथामा हात राखेर सोचिरहेका छन्– विगतमा बन्द–हड्ताल गर्नुहुन्न, जनताले दुख पाउँछन् भनेर घोषणा गर्ने, प्रतिबद्धता जनाउने, सञ्जालमा पोस्ट्याउनेमा झप्रम र यिनका पछुवाहरू पनि थिए । तर के गर्नु बगुलाको चाल उस्तै छ, ‘ हम नहीँ सुधरेङ्गे टाइपको ।
कन्टिर–बाबू झोक्किँदै भन्छन्– अरे यार तिमीहरू नासमझ छौ, ठिक छ नसुध्र तर त्यो कमाइखाने श्रमजीवीका दुःखबारे थोरै भए पनि सोच । श्रमजीवीको, श्रमको मूल्य र पसिनाको महत्त्व नबुझ्ने तिमीहरू केको कमनिस्ट ? कन्टिर–बाबूका अनुसार तिमीहरू सत्ता र शक्तिका चाकरमात्र हौ, भुइँ तहका जनतासँग तिमीहरूको केही लेना–देना छैन ।
कन्टिर–बाबूको प्रश्न छ– आमहड्ताल भन्दै एकाबिहानै काठमाडौँको गोङ्गबुमा ट्याक्सी जलाएर खुब वीरता देखाए जस्तो लाग्या छ ? तर कठैबरी ‘ त्यो त वीरता होइन, कायरता पो हो । श्रमजीवीमाथिको अन्याय र अत्याचार हो ।
आफूहरू पजेरो, प्राडो, कार, मोटरसाइकल, स्कुटीमा घुमेर उपत्यका सयर गर्ने अनि जनताले एक पाइला हिँड्न पनि नपाउने ? ए, नेता–शासकले जे पनि गर्न पाउने अनि जनता तिनका रैती हुन् र तिनले केही पनि गर्न नपाउने ? आफू भने सुरक्षा–गार्डका बीचमा छोपिएर हिँड्ने, जनतालाई चाहिँ खुलमखुला सुरक्षाकर्मीहरूको डन्डा खुवाउने ?
कन्टिर–बाबू विस्मित छन्, ट्याक्सी जलाएको घटनाबारे यिनको बहाना सुनेर । सरकारी भिजिलान्तेको घुसपैठ भयो रे ! तैट, यो त सदाबहार बहाना हो सबैखाले भिजिलान्तेहरूले प्रयोग गर्ने ।
कन्टिर–बाबूले सुन्या छन्– गोेङ्गबुमा हड्ताल कमान्ड गर्ने जिम्मा पिएचडी रावललाई दिइएको थियो रे, उनले घटनाको जिम्मा लिनुपर्दैन ? कहाँ थिए ती ? के तिनी बसपार्कतिर पापा हेरेर बसेका थिए ?
हड्तालका क्रममा काठमाडौँदेखि महेन्द्रनगरसम्म पत्रकारहरूको मानमर्दन गरिएको सुनेका कन्टिर–बाबू भन्छन्– होस गर, यस्तै गतिविधिका कारण तिमीहरू जनतामा अलोकप्रिय भइरहेका छौ । प्रतिगमन सच्याउन साँच्चै जनताको साथ चाहिएको हो भने आफ्नो उल्टा चाल सुल्टाऊ, होइन भने जहन्नुममा जाऊ !
साभार : koshionline




















