निहित स्वार्थ सिद्धि गर्न जहिल्यै निमुखा जनतालाई अचानो बनाउने प्रवृत्ति भएका असत्तीहरू देखेर कन्टिर–बाबू दिक्दार बनेका छन् । उनी नेता भनाउँदाका काम–कुराबाट निरन्तर क्षुब्ध छन् ।
सबैले सबै काम जनताकै नाममा गर्ने रे ! अनि त्यो जनता भनाउँदाको स्वीकृति भने नचाहिने ? उल्टै त्यही जनताले तिरेको करको ढाडमा टेकेर जनताको टाउकोमा गिर खेलेको–खेल्यै गर्ने ?
हुँदाहुँदा ओल्बाले राजतन्त्रको भूत घुमिरहेको ठाउँ अघिल्तिर उभिएर जनताका नाममा थर्काउने रे भनेको सुनेका कन्टिर–बाबू सोध्छन्– थर्काउनचाहिँ कसलाई थर्काउने हो ? राजतन्त्रको भूतलाई कि राजतन्त्रलाई भूत बनाउने जनतालाई ?
उता झप्रमहरूले जनताका लागि स्वाधीनता, लोकतन्त्र, गणतन्त्र अनि सङ्घीयता सुनिश्चित गर्ने रे ‘ बन्द–हड्ताल गरेर । कन्टिर–बाबूलाई थाहा छ अहिले जनताका महान् हितैषी भएर सडकमा देखापरेकाहरू पनि हिजो जनताका नाममा सकुञ्जेल मिलेर भकुर्नेहरू हुन्, जो अहिले नाना पालिसदार कुरा गरिरहेछन् । कन्टिर–बाबू मधेसतिर प्रचलित उखान सौ चुहे खा के बिल्ली हज को चली सम्झिँदै भुत्भुताउँछन्– जनतालाई सास्तीमा पारेर बडो आन्दोलन गर्ने भा‘का ‘ तोरीहरू !
यता कन्टिर–बाबूले नबुझेको कुरो नि ओल्बा त महसुर नै भए । तर ओल्बाको इख लिएर अरू पनि महसुरै हुनुपर्ने ? यो त उही चोर–चोर मौसेरा भाइ भने जस्तो भएन र !
त्यसै त ओल्बाले संविधान र कानुनबाहिरको काम गरेर एकपछि अर्को जगहँसाइ गरिरहेका छन् । जनतालाई दिक्क लगाइरहेका छन् । त्यसमाथि आम–हड्ताल, नेपाल बन्दको भुक्तमान थोपरेर जनतालाई थिलथिलो बनाउन थालेका छन् ।
कन्टिर–बाबूले बिर्सेका छैनन्– चुनावका बेला यिनैले ‘व्यक्ति होइन विधिको शासन संस्थागत गछौँ, नेपाल बन्द गर्दैनौँ’ भनेका थिए । तर कठै ! कति चाँडो यिनले लाज–घिन केही नमानी थुकेको थुक चाटेका !
उता विधिको शासन मिचेको–मिच्यै गर्ने र यता त्यसरी मिच्न नदिने भन्दै बन्द–हड्तालको सहारा लिने दुवैका काम एक–अर्काविरोधी भए पनि तीन कुरा भने मिलेको देखेर कन्टिर–बाबू छक्क परेका छन् । दुवै पक्ष एउटै पार्टीका चट्टा–बट्टा हुन्, दुवैले यी काम जनताको नाममा गरेको भनेका छन्, दुवैले यी काम आफूहरूको रहर होइन बाध्यता भएको बताएका छन् ।
त्यसो त विधिको शासन मिच्ने ओल्बालाई सच्याउन कन्टिर–बाबू जति बेला पनि साथ दिन तयार छन् तर कुनै पनि बहानामा गरिने आम जनतालाई मारमा पार्ने बन्द–हड्तालका पक्षमा छैनन् ।
बन्द आव्हानकर्तालाई कन्टिर–बाबू सोच्न आह्वान गर्छन्ं– कोरोना कहरबाट थिलथिलो भएको श्रमजीवी परिवारमा बन्दको असर के पर्छ ? बन्दले उद्योग, व्यवसाय, शिक्षा, यातायात क्षेत्रमा कति क्षति हुन्छ ? यातायात नभएर बिरामीले ज्यान गुमाउनुको पीडाबोध कस्तो हुन्छ ? परीक्षा दिन नपाउँदा विद्यार्थीमाथि के बित्छ, ? अनि यस्तै गतिविधि गर्ने हो भने तिमीहरूको र ओल्बाको मूर्खतामा के फरक भो ? दुवै बराबर जनपीडक भएनन् र ?
साभार : koshionline


