श्रीरामसिंह बस्नेत
विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता महान् दार्शनिक कार्ल माक्र्सले ‘एसियामा अङ्ग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र भीमसेन थापा थिए’ भनेका थिए भने उनकै आसयलाई पछ्याउँदै नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले ‘भीमसेन थापा नेपालका मात्र नभई एसियाकै महान् नेता हुन्’ भनेका छन् । त्यसो त उनीभन्दा धेरै अघि श्री ३ जङ्गबहादुर राणाले ‘हामी सबै बजिरहरूमध्ये ठूला बुद्धिमान बजिर भीमसेन थापा हुन्’ भन्न हिच्किचाएनन् । उनीभन्दा अझ एक कदम अघि बढेर श्री ३ चन्द्रशमशेर जबराले त ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भनेर भीमसेन थापाको महत्व माथि लालमोहर लगाएका थिए । (स्रोत ः मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य, लेखक– ज्ञानु ढुङ्गेल) । आज तिनै राष्ट्रसपुत भीमसेन थापाको २४४औँ जन्मजयन्ती हो । नेपालको इतिहास अत्यन्तै रोचक, घोचक र रोमाञ्चक छ । परापूर्वकालदेखिकै इतिहास पल्टाउँदा अनेकौँ ऐतिहासिक पात्रका भूमिकाले हामीलाई उद्वेलित बनाउँछ । तर पनि स्वदेशी, विदेशी इतिहासकारहरूले मुख्यतया तीन पात्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राष्ट्रसपुत भीमसेन थापा र राष्ट्ररक्षक जङ्गबहादुर राणाका बारेमा जति शब्द अरूका बारे खर्चेको पाइँदैन ।
राजा महेन्द्रको शासनकालमा परापूर्वकालदेखि विभिन्न क्षेत्रबाट देशलाई असाधारण योगदान गर्ने महान् व्यक्तित्वहरूको छनोट गरी राष्ट्रिय विभूतिहरू निर्धारण गर्ने काम भयो । साहित्यकार बालकृष्ण समको संयोजकत्वमा रहेको उच्चस्तरको एक समितिले त्यो काम सम्पन्न गरेको थियो, यद्यपि उक्त समितिले गरेको काम गुनासोरहित भने थिएन । महाकवि देवकोटा, विद्यापति, राष्ट्र एकीकरणका नायकहरू बहादुर शाह, अभिमानसिंह बस्न्यात आदिलाई समितिले बिर्सिएको थियो भने प्रजातन्त्र पुनस्र्थापनापछि सयौँ सहिदका साथै केही विभूति पनि थपिए तर त्यो पनि अपुरो नै रह्यो । तर, भीमसेन थापालाई सुरुदेखि नै कुनै पूर्वाग्रह नराखी राष्ट्रले विभूतिको सम्मान दिँदै आएको देखिन्छ । विक्रम संवत् २०२६ मा सरकारले हुलाक टिकटको माध्यमबाट पनि उनको सम्मान गरेको छ ।
नेपाली इतिहासको अति नै संवेदनशील कालखण्डमा विसं १८६३ देखि १८९४ को ३१ वर्षसम्म देशको सर्वेसर्वा भई जिम्मेवारी सम्हालेका जनरल थापाका पोल्टामा जस र अपजस दुवैको भारी रहेको पाइन्छ । सर्वसाधारण नेपालीले भीमसेन थापा भन्नेबित्तिकै सबैभन्दा पहिले र सजिलैसँग धरहरालाई सम्झन्छन् । उनले विसं १८८२ मा बागदरबारको नजिक तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीको नाममा एउटा र आफ्नो नाममा एउटा गरी समानान्तर रूपमा दुईवटा धरहरा ठड्याएका थिए । तर, दुर्भाग्यवस विसं १८९० भदौ १२ गते साँझ र राति गरी दुईपटक आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो । पछि पूरै ध्वस्त भएको धरहरालाई छोडी केहीमात्र क्षति भएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनःनिर्मित धरहरा एक सय वर्षपछि अर्थात् विसं १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले धरहरा पुननिर्माणलाई उच्च प्राथमिकता दिई दुई वर्षभित्रै अर्थात् विसं १९९२ मै त्यसको पुनःनिर्माण सम्पन्न गरे । जुन धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ । धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
भीमसेन थापाले धरहरामात्र बनाएका होइनन्, त्यसको नजिकै सुन्धारा पनि बनाएका थिए, जो अद्यापि छँदै छ । केही वर्ष अघिसम्म पनि काठमाडौँ सहरी क्षेत्रभित्र खासगरी डेरा गरी बस्ने मानिसले नुहाउने, लुगा धुने अविरल सङ्लो पानी आउने सार्वजनिक धाराका रूपमा उपभोग गरिँदै आएको ऐतिहासिक सुन्धाराको मुहान कर्मचारी सञ्चय कोष कार्यालयले हाल काठमाडौँ मल रहेको विशाल भवन बनाउँदा नष्ट भएका कारण सुन्धारामा पानी आउन बन्द भएको स्थानीयहरूको भनाइ छ । भीमसेनले पाल्पाको रिडी, गोरखाको बोर्लाङ्, बुङ्कोट, काठमाडौँको लगन आदि स्थानमा पनि आफ्ना कीर्ति राखेका छन्, जो अहिले जीर्ण अवस्थामा पुगिसकेका छन् ।
भीमसेन थापाको योगदानमा कमाराकमारी प्रथा उन्मूलन एक प्रमुख हो । धनी वर्गले गरिब परिवारलाई ऋण दिएर त्यसको बदलामा त्यस परिवारका छोराछोरीलाई विनापारिश्रमिक कमाराकमारी बनाउने चलनलाई थापाले विसं १८८७ मा लालमोहरमार्फत प्रतिबन्धित गरे । उनको यो नीतिप्रति घरमा कमाराकमारी राख्ने परम्परा भएका भारदार, शक्तिशाली र सम्पन्न वर्ग आदि थापासँग निकै रुष्ट भए । त्यतिखेरको परिप्रेक्ष्यमा यो निकै ठूलो कदम थियो ।
त्यतिखेरको समाजमा दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने अत्यन्तै गलत चलन व्याप्त थियो । यसले समाजमा एकप्रकारको विकृति र परिवारमा विग्रहसमेत ल्याएको थियो । मुख्तियार थापाले विसं १८९३ मा लालमोहरमार्फत यो कुप्रथामाथि पनि प्रतिबन्ध लगाए । यसैगरी ब्राह्मण, क्षेत्री परिवारमा समेत प्रचलित मामा र फुपूका छोराछोरीबीच हुने विवाहलाई पनि उनले प्रतिबन्ध लगाए । तत्कालीन समाजमा अस्वाभाविक वैवाहिक सम्बन्धमाथि राज्यले नै रोक लगाउनुलाई क्रान्तिकारी कदम मान्नुपर्दछ ।
काठमाडौँ उपत्यकाका विशेषगरी नेवार जातिमा धार्मिक, साँस्कृतिक पर्वमा आफ्नो क्षमताभन्दा बढी खर्च गरी भोजभतेर गर्नुपर्दा अधिकांश नेवार परिवार ऋणमा चुर्लुम्म डुब्न बाध्य थिए । यो मर्का बुझेर उनले विसं १८८८ मा एक लालमोहर जारी गरी भोजभतेरमा गर्ने खर्च र पुरोहितले पाउने दानदक्षिणाको सीमा तोकिदिए र त्यसलाई उल्लङ्घन गर्ने यजमान र पुरोहित दुवैलाई दण्ड–सजायको समेत व्यवस्था गरेका थिए ।
भीमसेन थापाले गरेका सुधारमा वेठवेगार हटाउनु पनि महत्वपूर्ण मानिन्छ । वेठवेगार भनेको समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहु महाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथा हो । शोषणको यो रूप तत्कालीन भारत, चीन र तिब्बतमा समेत व्याप्त थियो । थापाले विसं १८८७ मा एक लालमोहर जारी गरी राजदरबार, सेना र युद्धसम्बन्धी काममा बाहेक अरू काममा परिश्रमिक नदिई कसैले कसैलाई कुनै पनि काम लगाउन नपाउने, त्यसो गरेमा दण्डसजायको भागिदार हुनुपर्ने नियम बसाले ।
आर्थिक क्षेत्रमा पनि उनले महत्वपूर्ण सुधार गरेका छन् । जमिनको नापी, मालपोत निर्धारण, मोही र तल्सिङबीच बाली लिने दिने कुरामा हुने गरेको किचलो समाधान गर्न लालमोहर, नगद ऋणमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था, धानचामलको सरकारी मूल्य निर्धारण, भ्रष्टाचार नियन्त्रण प्रयास, नेपाल आउन चाहने विदेशीका लागि राहदानीको अनिवार्यता आदि उनका उल्लेखनीय आर्थिक सुधारका प्रयास हुन् । नगद लेनदेनको प्रचलन अत्यन्त न्यूनमात्र रहेको त्यस समयमा सरकारी कर्मचारीहरूले सेवाग्राही सर्वसाधारणको घर–गोठमा गई दुहुनो गाई, खसी, बोका आदि लिन्थे । उनले त्यसरी घुस खाने कर्मचारी र खुवाउने सेवाग्राही दुवैलाई दण्डित गर्ने व्यवस्था गरे ।
नेपाली सेनाको प्रधानसेनापतिसमेत भएका भीमसेन थापालाई नेपालीले सम्झिनुपर्ने अर्को मुख्य कारण हो– सेनाको आधुनिकीकरण गर्ने कार्यलाई उनले दिएको पहिलो प्राथमिकता । उनले नेपालका सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको समेत सहयोग लिएको पाइन्छ । सेनालाई आधुनिक तालिम, हतियार, पोसाक, व्यारेक, युद्धमा जाँदा भरिया दिने आदिको व्यवस्था उनकै देन हो ।
अरू कतिपय देशका इतिहासजस्तै नेपालको इतिहास पनि रगतले लत्पतिएको छ । पृथ्वीनारायणजस्ता सुयोग्य राजाका कारण देशको निर्माण भयो भने सुरेन्द्र, रणबहादुर, राजेन्द्रजस्ता नालायक र स्त्रीलम्पट राजाहरूका कारण अनावश्यक हत्या हिंसा पनि हुन गयो । पागलपनको हदमा पुगेका राजा रणबहादुर आफ्नै भाइद्वारा मारिए भने बुद्धिहीन राजा राजेन्द्रको कमजोरीका कारण भीमसेन थापाको अमानवीय अन्त्य र कर्मठ माथवरसिंह थापाको हत्या गराइयो ।
भीमसेन थापा भन्नेबित्तिकै उनको व्यक्तित्वसँग नेपाल–अङ्ग्रेज युद्ध र सुगौली सन्धि पनि जोडिएर आउँछ । भारतका विभिन्न राजा रजौटाहरूसँग अङ्ग्रेजहरूले सन्धि–सम्झौताकै माध्यमबाट आफ्नो प्रभुत्व जमाएका थिए । नेपालसँग पनि त्यस्तै सन्धि गर्न भारतमा रहेको इस्ट इन्डिया कम्पनीबाट आएको प्रस्तावलाई भीमसेनले अस्वीकार गरेका कारण नेपाल–अङ्ग्रेज युद्ध भएको थियो । यसमा भीमसेनले सन्धि गरेर भए पनि युद्ध टार्नुपथ्र्यो भन्ने तर्क एकथरीको पाइन्छ भने सन्धि गरेको भए नेपालको अवस्था पनि भारतका अन्य राज्यको जस्तै हुन्थ्यो र नेपाल पनि भारतमा बिलय हुन बाध्य हुनुपथ्र्यो भन्ने तर्क पनि जोडदार रूपमा रहेको छ । युद्धमा नेपाली पक्षले पहिले जितेका भू–भाग भारतलाई नै फर्काउने सर्तमा विसं १८७३ ( सन् १८१६ मार्च) मा बाध्यतावश सुगौली सन्धि भयो । यस सन्धिका कारण नेपालले जितिसकेको भू–भाग पनि गुमाउनु परयो भनेर भीमसेनको आलोचना गर्नेहरू पनि छन् भने लडाइँमा जितेको भू–भाग फिर्ता गरेर भए पनि नेपालको मूल थलो र सार्वभौमिकता जोगाएको भनेर उनको प्रशंसा गर्नेहरू पनि छन् । जे भए पनि, जमिनको भौतिक क्षति बेहोर्नुपरे पनि सुगौली सन्धिका कारण नै नेपालले एक सार्वभौम स्वाधीन राष्ट्रका रूपमा विश्वसमक्ष मान्यता पाएको तथ्यलाई भने नकार्न सकिँदैन । त्यही मान्यताका आधारमा पछि जङ्गबहादुर र चन्द्रशमशेर युरोपको ऐतिहासिक राजकीय भ्रमण गर्न सफल भएका थिए भने काठमाडौँमा ब्रिटिस आवासीय राजदूत रहने व्यवस्था भयो ।
भीमसेन थापालाई दुईपटक सफाया पाइसकेको विष मुद्दा दरबारिया षड्यन्त्रको घेरामा पारेर तेस्रोपटक पुनः दोहोयाएर आत्महत्या गर्न जसरी बाध्य पारियो, त्यस्तै नेपालमा राष्ट्रहित गर्ने नेतृत्वको उछित्तो काढ्ने प्रवृत्ति बेलाबखत देखिने गरेकै छ । संसारका कुनै पनि व्यक्ति कमीकमजोरीबाट पूर्णतया मुक्त हुँदैनन्, चाहे ती महात्मा गान्धी हुन् वा माओत्से तुङ । भीमसेन थापाका पनि कमीकमजोरी नभएका होइनन् तर समग्रमा हेर्दा उनी राष्ट्रप्रति इमानदार एक सपुत थिए । त्यसैले आजको दिन उनलाई सम्झनु राष्ट्रिय विभूतिप्रति वर्तमान पुस्ताको एक कर्तव्य हो ।
(लेखक पत्रकार हुनुहुन्छ । )




















