गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जसका प्रभावले अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ ।
सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएकाे छ ।
तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ । मधेस र कोशी प्रदेशका तराई भेगका केही ठाउँमा चट्याङसहित वर्षा हुनेछ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भने भारी वर्षाको जोखिम रहेकाे महाशाखाले जनाएकाे छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



