एकछिन केही बर्ष अगाडि फर्किऔं । जतिबेला राजेश हमाल, आर्यन सिग्देल र जीवन लुइटेलका चलचित्रले बजारमा शुन्य कारोबार गरिरहेका थिए, चलचित्रकर्मी आत्तिए । चलचित्र नै चल्न छाडेपछि अब के गर्ने कसो गर्ने भन्ने ठूलै बहस भयो । यही बहसको बिचमा चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरेको थियो । तर, बोर्डको तयारी चलिरहँदा निर्देशक निश्चल बस्नेतको ‘लुट’ चलचित्र रिलिज भयो । यो चलचित्रले बम्पर व्यापार मात्र गरेन, चलचित्र क्षेत्रमा सुख्खायाममा मनुसुन नै बनेर बषिर्यो । सबैजना लुटको व्यापारले मसक्क भए । चलचित्र नचलेर चसक्क भएको चलचित्रकर्मीको छाती दुख्न छाड्यो । सबै जना लुट किन चल्यो भनेर विश्लेषण गर्न छाडेर यस्तै खालको चलचित्र बनाउन कस्सिए ।
लुटको व्यापारले चलचित्र क्षेत्रलाई फाइदा मात्र भएन, विकृती पनि निम्तियो । दुई अर्थ दिने शब्द राखेर जो पनि निर्देशक भए । यही बेलामा हो, एटीएम, जिगिलो, बर्बाद जस्ता तल्लो स्तरका चलचित्रको निर्माण भएको ।
चलचित्र क्षेत्रका लागि सेलिव्रेटी निर्देशक बनेका निश्चललाई चलचित्र क्षेत्र हाँक्ने ड्राइभरदेखि थुप्रै उपमा लगाएर विश्लेषण गरियो । निश्चलले दोश्रो चलचित्र टलकजंग भर्सेस टुल्के राम्रै बनाए, लुट २ सम्म आइपुग्दा चिप्लिए । अहिले उनी चलचित्र बनाउन भन्दा पनि खेल्न र आइटममा नृत्य गर्न बढी व्यस्त छन् ।
नेपाली चलचित्र क्षेत्र थोरै कुरामा रमाउने र थोरै कुरामा दुखी हुने ठाउँ हो । यहाँ, कसैले मैले केही नयाँ गरौ भनेर नै सोच्दैनन् । एउटाले जे कुरामा पैसा कमायो, त्यसकै पछि लाग्ने ठूलो रोग छ । हो, यही रोगले हो चलचित्र क्षेत्रलाई कहिले पनि उभो लाग्न नदिएको ।
लुटको ह्याङबाट मुक्त हुन नपाउँदै सिरियलमा जमेका दिपक-दीपाको जोडी ठूलो पर्दामा आयो । उनीहरुले कमेडी कथामा चलचित्र बनाएर पैसा कमाउन थाले । अब, अरुलाई पनि यस्तै चलचित्र चाहियो । चलचित्रकर्मीले यो वुझेनन् कि कसले हसाउँदा दर्शक हाँस्छन्, कसले रुवाउँदा दर्शक रुन्छन् । हसाउँनै नजान्ने पनि कमेडी कलाकार भए, कमेडीको क नवुझेका पनि चलचित्रका निर्देशक भए । अहिले फेरि चलचित्र क्षेत्रमा दर्शक हराएको सूचना जारी गर्नुपर्ने अवस्था आएको छ ।
छक्का पन्जा ३ चलेपछि सुस्ताएको चलचित्र बजार चलमलाउन सकेको छैन । बरु, हलमा दर्शक आएनन् भनेर निराशा सुरु भएको छ । छक्का पन्जा ३ चल्दा चलचित्रले बम्पर कमाउन थाल्यो भनेर उफि्रएका चलचित्रकर्मी अहिले २-४ वटा चलचित्र नचलेपछि फेरि दुखेसो पोख्दै टाउकोमा हात राख्न थालेका छन् । कसैले पनि कस्तो चलचित्र बनाउँदा चल्छ भनेर विश्लेषण गरेका छैनन्, मात्र चलचित्र चल्न छाड्यो भनेर चिन्तित छन् ।
चलचित्र चलेन भनेर संकटकाल लगाउँदैमा दर्शक हलसम्म आइपुग्ने होइनन् । यसका लागि राम्रो चलचित्र बनाउन आवश्यक छ ।
बर्षमा बन्ने सय चलचित्रमा सबै चल्नपर्छ भन्ने छैन । यो कुनै पनि चलचित्र बजारमा संभव हुने कुरा होइन । दर्शकलाई मन परेको, हेर्न मन लागेको चलचित्र हेरेका छन् र ती चलचित्रले पैसा पनि कमाएका छन् ।
एउटा चलचित्र चल्दा रमाएर अब बबाल नै हुन्छ जस्तो गर्ने चलचित्रकर्मी दुई वटा चलचित्र नचल्दा निराश भएर किन खुम्चन्छन् ? चलचित्र नचल्दा किन चलेन, कस्तो चलचित्र बनायो भने चल्छ, दर्शक के खोजिरहेका छन् भनेर न यहाँ कुनै चलचित्र सम्बन्धी संघसंस्थाले नै अनुसन्धान गर्न आवश्यक ठानेका छन्, न चलचित्रको कथा बनाउने समयमा ती चलचित्रकर्मीले नै सोच्न सकेका छन् । मात्र, हलमा रिलिज भएको चलचित्र जस्तो सुकै होस्, बम्पर हुनुपर्छ भन्ने आशा राखेर चलचित्र चल्दैन ।
नेपाली चलचित्र नचलेका होइनन्, राम्रा नबनेका हुन् । दर्शकको मन नछोएका हुन् । आफूले केही साथीभाइसँग हेर्दा राम्रो छ है भनेर मुस्कुराउँदैमा चलचित्र राम्रो हुँदैन । मानिसको मन र मस्तिष्कमा चलचित्रले प्रभाव पार्न सक्नुपर्छ ।
अपवादको रुपमा हेर्दा, केही चलचित्र राम्रो बनेर पनि चलेका छैनन् । सायद, ती चलचित्रले दर्शकसम्म पुर्याउन आफूलाई नसकेको हुनुपर्छ ।
राम्रो चलचित्र चलेका छन् र पैसा पनि कमाएका छन् । तर, बर्षमा बन्ने सय बढी चलचित्र, त्यसमा आधा भन्दा बढी झुर र केही औषत चलचित्र बोकेर चलचित्र चलाउँदैमा चल्दैन ।
सबैभन्दा पहिले हामी कहाँ चुक्यौ विश्लेषण गरौं । एउटा चलचित्रकर्मीको चलचित्र चलेकै दिनमा त्यसलाई सक्नपर्छ भनेर दाह्रा किटेर नबसौ । कोही चलचित्रकर्मी बक्स अफिसमा नचल्दा बेलुकी मदिरा पार्टीमा रमाउन छाडौं ।
सबैभन्दा पहिले चलचित्रकर्मी-चलचित्रकर्मीविच अर्काको बस्तुलाई सम्मान गर्ने बानी सिकौं । चलचित्र हेर्न आउने दर्शकलाई हलको गेटमा बसे, कुनै चीया पसलमा बसेर झुर छ भनेर विज्ञापन नगरौ ।
यो मनोदशाबाट माथि नउठेसम्म बर्षमा चल्ने भनेका आधा दर्जन चलचित्र नै हुन् । बाँँकी चलचित्र किन चलेनन् भनेर विश्लेषण गर्नुभन्दा पनि थोरै तर गुणस्तरिय चलचित्र बनाउन कसरी सकिन्छ र त्यसको मार्केटिङ कसरी गर्न सकिन्छ भनेर सोचौ । आज सुटिङ सकेर भोली रिलिज गर्दैमा चलचित्र चल्दैन ।
कमजोरी हामी आफैमा छ । पैसा तिरेर हेर्ने दर्शकले मन लागे हेर्छन्, मन नलागे हेर्दैनन् । चलचित्र हेर्ने संकृतीको विकास गराउन आवश्यक छ । यसका लागि सुरुवात चलचित्र क्षेत्रले नै गर्ने हो । एउटा चल्दा मसक्क, दुइटा चल्दा चसक्क हुने बानी छाडौं ।
onlinekhabar




















