मोहसिन अलि मियाँ
इश्लाम एक धार्मिक नाम । मुस्लिम जातिय पहिचान । कतिपयलाई लाग्दो हो इश्लाम धर्मावलम्बी र मुस्लिम फरक हुन । कतिले त म संग जिज्ञासा पनि राख्छन् । स्वभाविककै हो नेपालमा ९५ प्रतिशत त गैर मुस्लिम नै छन् । तर यतिका भिडमा सयौबर्षदेखि धार्मिक र जातिय सद्भाव र मेलमिलाप कायम रहनु संसारभरका मानवलाई चुनौती नै हो र उदाहरण पनि ।
भनिन्छ चार जात छत्तिस वर्णको फुलबारी हो नेपाल । यहाँ धेरै धर्म मान्ने मानिस छन्, सयौ जात छन् । तर हरेकका आ–आफ्नै पहिचान छ, भाषा छ भेषभुषा अनि रिति छ । त्यस्तै हरेक धर्म र जातमा समेत आ–आफ्नै पहिचान बोक्ने र इतिहास लाई साक्षी राख्ने सबैको फरक–फरक पात्रो (क्यालेण्र) पनि छन् । जस्तै बिक्रम सम्बत, नेपाल सम्बत, हिजरी सम्बत, इस्वी सम्बत यस्तै यस्तै । तर सबै सम्बतहरुमा समान बाह्र महिनै हुन्छन ति मध्ये धार्मिक, जातिय, राष्ट्रिय वा कुनै पनि हिसाबले बाह्र महिना मध्ये सबै महिनाको आ–आफ्नै बिशेषता, महत्व र गुण पनि अबस्य नै हुने गर्दछ । चाहे त्यो हिन्दुमा होस या मुस्लिममा चाहे इशाइमा होस या अरु कुनै पनि धर्म र जातमा नै किन नहोस ।
संसारमा धेरै धर्महरुको भिडमा इश्लाम छुट्टै पहिचान र बिशेषता बोकेको धर्म हो यसमा कुनै विवाद छैन । यो धर्म मान्ने अनुयायीलाई मुस्लिम वा मुसलमान शब्दले सम्बोधन गरिन्छ नेपालमा मात्रै होइन संसार भर । इश्लाम धर्ममा पनि धेरै पर्वहरु छन् । जुन तपाईहरु माझ कुनै परिचित छन त कुनै अपरिचित पनि हुन सक्छन् ।
धेरैको एउटै जिज्ञासा हुन्छ रमजान पर्व हो ? होइन बिलकुलै होइन । रमजान महिनाको नाम हो । इश्लामिक क्यालेण्डर अनुसार नबौ महिनाको नाम नै रमजान जस्तो बिक्रम सम्बतमा पौष । यो नबौ महिना रमजान भर मुस्लिमहरु एक महिने ब्रत बस्छन् भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर यो सत्य नै हो, सयौ हजारौ बर्षदेखि संसार यसरी नै चल्दै आएको छ । आठौ ‘साबान’ महिनाको अन्तिम दिन आकाशमा बेलुका अर्ध चन्द्रमा देखे लगत्तै सुरु हुने ‘रमजान’ महिनाको पहिलो तारिख देखि रमजान महिनाकै अन्तिम तारिखको दिन पुन आकाशमै अर्ध चन्द्रमा देखे पछि समाप्त हुने यो महिना भर सक्षम मुस्लिमहरुका लागि एक महिने ब्रत (रोजा) अनिबार्य (फर्ज) हो । यो इश्लामिक धार्मिक पवित्र पुस्तकहरुमा उल्लेख छ ।
मलाई धेरैले जिज्ञासा गर्छन् ः ‘पानी पनि नखाने ?’ जवाफ हुन्छ ः ‘नखाने । खाएर नि ब्रत बसिन्छ र ?’ उल्टै प्रतिप्रश्न मेरो । हो रमजानमा एक महिना सम्म रोजा (ब्रत) बस्ने गरिन्छ । तर यसको आफ्नै प्रक्रिया छ इतिहास छ । जब इश्लामका प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैही वसल्लमलाई दुश्मनहरुले अत्याधिक सताउन थाले त्यस पछि उहाँ र उहाँका अनुयायी समेत मक्का बाट हिज्रत (प्रस्थान) गरेर मदिना गएको दुई बर्ष पछि देखि रोजा (ब्रत) सुरु भएको भन्ने प्रमाण कुरान सरिफ बाट पाउन सकिन्छ । यस महिना दया, माया, क्षमा, जहन्नम (नर्क) बाट मुक्तिका र पारस्पारिक सहानुभुतिको महिना पनि भन्ने गरिन्छ । यस महिना भर जन्नत (स्वर्ग) को ढोका खोलिन्छ र जहन्नम (नर्क) को ढोका बन्द गरिन्छ र शैतानलाई शाङ्लाले बाधिन्छ यसैगरी मानिसको प्रगति मार्ग खुल्छ र पूण्यकार्यको लागी बाटो सहज हन्छ पवित्र हदिसहरुमा उल्लेख छ ।
यस महिनामा अरु महिनाको तुलनामा पूण्यमा बृद्धि गरिन्छ, नफ्फिल नमाजको पूर्ण फर्ज नमाज सरह र फर्ज नमाज अरु महिना भन्दा यो महिना सत्तरी फर्ज (अनिबार्य) नमाज कायम गरे समान हुनेछ । नमाज पढ्नेहरुको दुवा (पुकार) मात्र अल्लाहले स्विकार गर्नेछन् । अर्को सत्य कुरा यसै महिनामा नै पवित्र धर्मिक ग्रन्थ महान कुरान सरिफ अवतरीत भएको थियो र जुन संसारका सम्पूर्ण मुस्लिमहरुको मार्ग दर्शन हो ।
रोजा (ब्रत) ईश्लामको आधार स्तम्भ मध्ये चौथो स्तम्भमा पर्छ । रोजा जसलाई अरबिक भाषामा सियाम भनिन्छ जस्को अर्थ रोक अर्थात बिहान सूर्य उदाउनु भन्दा केहि समय पूर्व देखि सूर्यस्त नहुन्जेल सम्म कुनै पनि किसिमको खान पिन लगायत हरेक प्रकारको गलत कार्यबाट आफुलाई रोक्न सक्नु नै रोजा हो । एक महिना सम्म अल्लाहका लागी रोजा (ब्रत) बसेर अल्लाहको अपसना, इबादत (प्रार्थना) को उदेश्यले बिहान सबेरै (सूर्य उदाउनु भन्दा पहिल्यै) देखि लिएर बेलुका सूर्यस्त नहुन्जेल सम्म कुनै पनि चिज खान, पिउन, यौन जन्य कुनै पनि क्रियाकलाप गर्न, जुवा तास खेल्न लगायत कुनै पनि गलत कृयाकलाप बाट आफूलाई जोगाउनु नै रोजा (ब्रत) को मुख्य मर्म हो, उदेश्य हो ।
प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाल लगायत एशियन देशहरुमा आजै जेठ ४ गते शुक्रबारबाट रोजा (ब्रत) सुरु भएको छ । अन्य देशमा भने बिहिबारबाटै सुरु भइसकेको छ । रमजान महिना त्यो पवित्र तथा परोपकार महिना हो जसमा अल्लाह मानवका लागी भलाई र कल्याणको काम गर्नेहरुको लागी पूण्यमा बृद्धि र पापबाट मुक्ति दिलाउने छ । त्यसैले प्रत्येक मुस्लिमहरुले मन, बचन र कर्म अनुसार यसको पालना गर्न सक्नु पर्छ । हरेक सक्षम मुस्लिमका लागी रमजानको महिना पुण्य कमाउने एक सुवर्ण अवसर पनि हो भन्ने धार्मिक मान्यता रहेको छ ।
मुस्लिमहरुले बिशेष गरी बिभिन्न सामाजिक कार्यका लागी तथा गरिब, दिन दुखिहरु लाई आर्थिक तथा जिन्सी दान दिने प्रचलन यस महिनामा अलि बढि रहेको पाइन्छ ।
रमजानको महिनामा मुस्लिम समाजमा बिशेष गरेर सेवाई (खानेकुराकोे परिकार) खाने चलन छ । बिहान सुर्य उदाउनु भन्दा पहिले बाट बेलुका सुर्यस्त नभए सम्म केहि नखाई रोजा (ब्रत) बस्ने र बेलुका रोजा बिशेष गरी खजुर, पानी, सेवाइ, चिनी, फलफुल लगायत अन्य मिठो खाने कुरा खाएर रोजा (ब्रत) लाई तोड्ने गरीन्छ । यसले आफ्नै महत्व बोकेको छ ।
अन्त्यमा, यस पवित्र महिना रमजानको सुखद अबसरमा नेपालभर छरिएर रहेका सम्पूर्ण नेपाली मुस्लिमहरुलाई अल्लाहले एक महिना भर पुरा रोजा (ब्रत) लगायत सम्पूर्ण क्रियाकलाप सहि सुन्नत तरिकाले गर्ने तोफिक (सामर्थ) तथा नसिव (भाग्य) प्रदान गर्नेछन्, पूर्ण आशा र बिश्वासका साथ आस्थावान सम्पूर्ण प्रति रमजान मुवारक ।
सदाचारको अर्को नाम रोजा
सदाचारको अर्को नाम रोजा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















