शिवप्रसाद उप्रेती
टाउको दुख्ने, ज्वारो आउने, हाडजोर्नी र ज्यान दुख्ने, रिङ्टा लाग्ने बिरामीहरु बताउँछन् । ‘हेल्थपोष्ट गएर सुई पनि लगाएको थिएँ’ बिरामी हस्तबहादुर गुरुङ भन्छन् ‘तर एकदुई दिन ठिक भएजस्तो भयो, फेरि उस्तै छ ।’ एकमहिना अघि झाडापखाला फैलिएर बिरामी परेकाहरुलाई फेरि ज्वारोले सताएको उनको भनाइ छ ।
‘मेरै घरमा चार जना बिरामी छन्’ उनले भने ‘पहिले झाडापखला चल्यो । एक महिना पनि भएको छैन, फेरि यो बेथाले सुताएको छ ।’ गरिखाने बेलामा गाउँले सबै बिरामी परेको उनले बताए ।
केही दिनअघि टहरै उँडाउने गरी हावाहुरी चलेदेखि यो रोग फैलिएको अर्की बिरामी सार्किमा गुरुङ बताउँछिन् । ‘ठूलो हुरीले तल(सहरतिर)को रोग ल्यायो कि के हो’ उनी भन्छिन् ‘त्यो दिनदेखि गाउँका घरघरै बिरामी छन् ।’ गाउँका १५ बर्षभन्दा मुनिका र ४० बर्षभन्दा माथिकाहरु बिरामी भएका स्थानीय विश्व गुरुङको भनाइ छ ।
युवाहरु भने बिरामी भएपनि कामको तनाबले मिचेको उनी बताउँछन् । ‘धेरैजसो बुढाबुढी बिरामी छन्’ समाजसेवी गुरुङ भन्छन् ‘६०, ७० बर्षभन्दा माथिका उमेरका तीन चार जना त मरि पनि सके । उमेर पुगेर पनि हुनसक्छन् ।’
गाउँका बालबालिका सबै बिरामी भएपछि सहर बजारमा पढ्न गएका बालबालिकाहरु बार्षिक परीक्षा सकेर गाउँ फर्कन पनि डराएको उनी बताउँछन् । ‘सहरमा पढ्न गएका बालबच्चाहरु अहिले बार्षिक परीक्षा सकेर घर फर्कने बेला हो’ उनी भन्छन् ‘तर रोग फैलिएको छ भनेर गाउँमा आउन डराएर सहरमै बसेका छन् ।’रोग फैलिए पनि गाउँको स्वास्थ्य संस्थामा औषधी छैन । सिटामोटल, सिप्रो, एण्टिबायोटिक औषधी सकिएको उहिया स्वास्थ्य चौकीका इन्चार्ज कमलबहादुर रावत बताउँछन् । ‘दैनिक २० जना भन्दा बढि बिरामी आउँछन्’ उनी भन्छन् ‘हिजो अस्तिसम्म त सिप्रो दिने गरेको थिएँ । ज्यान दुख्यो भन्नेहरुलाई दुखाइ कम गराउने सुइ लगाएर पनि पठाएको थिएँ । तर अब औषधी सकियो ।’ धेरैजसो बिरामीको फोक्सो खराब भएको उनी बताउँछन् ।
यसअघि पनि औषधी अभाव भएर उपचार गर्न समस्या भएको अर्का अहेब शुभनारायण दास बताउँछन् । ‘एक महिनाअघि पनि गाउँभरि बिरामी भए । औषधी अभाव भयो ।
भिलेज सपोर्ट अर्गनाइजेशन र मिलनालदाक भन्ने संस्थाले औषधी दिएर काम चलाएका थियौं’ उनले भने ‘अहिले पनि रोग फैलियो । एन्टिबायोटिक चाहिन्छ । छैन । एउटै बिरामीलाई छ, सात दिनको मात्रा चलाउनु पर्छ । तर चाहिने औषधी सकिएको छ ।’ बिरामीमध्ये ८० प्रतिशतलाई छातीको समस्या भएको उनको भनाइ छ । भन्छन् ‘समस्या ठूलै छ । हेल्थपोष्टको भरमा पनि हुदैन । तल(सहरमा) लैजानु पर्ने अबस्था छ ।’
उहियाको समस्या बारे जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानीले जानकारी दिए ।
गाउँभरि बिरामी भएको उहियाका बिरामीहरु धामी, झाँक्रीको भरमा छन् । चेतनाको अभावका कारण उनीहरु भाइरलका कारण बिरामी भएपनि झारफुक गरेर उपचार गरिरहेका छन् ।
गाउँमा दिनहुँजसो घरघरै झाँक्रीले ढ्याङ्ग्रो ठटाएर उपचार गराइरहने स्थानीय स्वास्थ्य संस्थाका अहेब कमलबहादुर रावतको भनाइ छ । ‘सतप्रतिशत बिरामी घरेलु उपचारमै निर्भर छन्’ उनी भन्छन् ‘अहिले साँझ परेपछि घरघरमा ढ्याङ्ग्रो बज्न सुरु हुन्छ । बिरामीलाई टाइफाइड भएको छ, तर उनीहरु कुखुरा काटेर उपचार गरिरहेका छन् ।’
बिरामीको अनुपातमा हेल्थपोष्ट आउनेको संख्या ज्यादै न्यून भएको उनको भनाइ छ । ‘हामीले त हेल्थपोष्ट आऊ उपचार गरिदिन्छौं भन्ने हो’ उनी भन्छन् ‘हामीले बाटो देखाइदिने हो, हात समातेर लैजान सकिदैन ।’ गाउँको चलनै घरेलु उपचार गराउने रहेको बिरामीका आफन्त डिलबहादुर सुनार बताउँछन् । ‘हुन त ज्यानभित्र बिग्रेको होला’ बिरामी सुनिता बिकलाई झाँक्री लगाएर उपचार गराइरहेका उनी भन्छन् ‘तर हाम्रो चलनचल्तीले यस्तै गरिरहेको हो । कहिलेकहीं प्याट्ट निको पनि भइदिन्छ ।’
धामीझाँक्रीले नारी हेरेर देवती रिसाएर बिरामी भएको कि भूतप्रेत लागेर बिरामी भएको पत्ता लगाउने उनको विश्वास छ । ‘देवता रिसाएका भए भाले चढाएर पूजा गर्ने, भूतप्रेतले दुख दिएको थाहा भए पोथी काटेर उपचार गरिने उनले बताए ।
गाउँमा जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावका कारण धामीझाँक्रीको बिकल्प अपनाएको स्थानीय समाजसेवी बिश्व गुरुङको भनाइ छ । ‘बिरामी हुन्छ । जान्नेले जसोजसो गर भनेको छ, त्यही गर्ने त हो नि’ उनी भन्छन् ‘ठूलो अस्पताल लैजाउँ, हेलिकोप्टरमा लान पैसा छैन ।
बोकेर लान तीन दिन लाग्छ । अनि गाउँले पुरानै तरिकाले उपचार गर्न बाध्य हुन्छन् ।’ गाउँमा स्वास्थ्य सम्बन्धी काम गर्न आएका संस्थाले पनि जनचेतना नजगाएको र हेल्थपोष्टमा सुबिधा थप नगरेको उनको गुनासो छ ।
जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बिरामीहरुले डाक्टर घरघरमा आइदियोस् भन्ने चाहेको बताए । ‘बिरामी स्वास्थ्यसंस्था जाँदैनन् । घरघरमा डाक्टर आइदियोस् भनेर अल्छी गरेर बस्छन्’ उनले भने ।
daraundi



