
- विनोद ढकाल-
लापुवेशी : पाँच दिने औपचारिक भ्रमणका लागि चैत ६ गते नेपाल आएका बेलायती राजकुमार ह्यारी पूर्व निर्धारित कार्यक्रम अनुसार चैत ११ गते फर्किनुपर्ने थियो। तर उनले भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका लागि थप ६ दिन बस्ने जानकारी दिए र अलप भए।
काठमाडौंमा ह्यारी कहाँ गए भनेर कौतुहल भइरहेका बेला उनी पुगेका थिए गोरखाको मध्य क्षेत्रको गाउँ लापुवेशीको प्रभातकिरण माविको भवन बनाउन।
चैत ११ गते लापु पुगेका ह्यारीले त्यसदिन राम्रो स्वागत पाए। यद्यपी उनी ह्यारी हुन् भन्ने कुरा त्यहाँ पनि गोप्य राखिएको थियो। उनलाई लापु पुर्याउन सहजीकरण गर्ने टिम रुबिकनका उमेश पुनले गाउँमा टेलिफोन गरेर ‘ठूलो मान्छे आउँदै हुनुहुन्छ स्वागत राम्रोसँग गर्नु’ भनेपछि स्थानीय गुरुङ परम्परा अनुसार स्वागत गरिएको थियो। स्थानीयले लापु होटल नजिक फूल र खादा ओढाएर स्वागत गरे।
ह्यारीको स्वागत भइरहँदा प्रभातकिरण माविका शिक्षक विज्ञान कुमालले मोवाइलले खिचेका थिए। उनले साथीहरुलाई फोटो देखाउँदै ‘यी त ह्यारी जस्तो छ नि’ भने तर कसैले पत्याएनन्। ‘भोलिपल्ट सिडिओ, एसपीले समेत ह्यारी आएको हो भनेर सोध्न थाले, त्यही दिन बेलुका गोरखाबाट पत्रकारहरु पनि आइपुगे’ उनले भने।
ह्यारीले गोप्य राख्न चाहेपनि उनी लापुमा भएको खबर फैलियो। शिक्षक कुमालले भने ‘त्यसपछि उनी रिसाएर फोटो खिच्नै दिएनन्, २/३ दिनपछि बल्ल दिन थाले।’ लापुमा ह्यारीको गतिविधि सामान्य थियो। उनको गतिविधि देखेर प्रधानाध्यापक जीव गुरुङको अनुमान थियो ‘तल ( काठमाडौं) तिर मिडियाले दुःख दिएर लुक्न आएको जस्तो लाग्यो।’

ह्यारी बसेको लापु होटल। उनी फोटोमा देखिएको भवनको छेउको कोठामा बसेका थिए
के खान्थे ह्यारी, कहाँ सुत्थे?
ह्यारीसँगै विद्यालयमा श्रमदान गर्ने १८ जनाको टोली थियो, जसमा १५ जना वेलायती। ती सबै ह्यारीकै उमेर समूहका थिए। उनी होटलमा बस्दा र काममा जाँदा प्राय समूहमा नै हुन्थे। ह्यारीको खाने आनिबानीबारे सोध्दा लापु होटलकी सञ्चालिका सुकमाया गुरुङ धेरै खुलिनन्।
उनले मेनु ल्याएर देखाइन् र भनिन्, ‘ह्यारीले खाएको यीनै कुरा हुन्।’ कुराकानीकै क्रममा उनले केही जानकारी पनि दिइन्। गुरुङका अनुसार ह्यारीले बिहान अरुले जस्तै तिब्बतियन ब्रेड र चपाती अम्लेट खाएर ८ बजेतिर काममा जान्थे। ‘खानामा उनका लागि छुट्टै केही बनाइँदैनथ्यो। अरुले जे खाए उनले पनि त्यही खान्थे। बिहान हामी अम्लेट र तिब्बतीयन ब्रेड बनाउँथ्यौं’ उनले भनिन्।
त्यसपछि ह्यारी दिउँसो १२ बजे खाना खान आउँथे। ह्यारीले दाल, भात तरकारी पनि चाखे। तर नियमित भने खाएनन्। उनी फ्राइड राइस र चाउमिनमा रुची राख्थे। लापुवेशीमा धेरै मासु नपाइने भएकाले ह्यारीले आलुकै तरकारी खाए।
खाना खाएर रुबिकन युकेको टोली १ बजे फेरि भवन निर्माण गर्न जान्थे। अनि साँझ परेपछि मात्रै फर्किन्थे। बेलुका कामबाट फर्केपछि नुहाउँथे,खाना खान्थे अनि सुतिहाल्थे।
ह्यारी फर्किएपछि लुगा उठाइएको अवस्थामा उनी सुतेको कोठा।
ह्यारी लापु होटलको कोठा नम्बर १० मा बसेका थिए। त्यो एक तले भवनको भुइँ तल्लामा भान्साकोठा र खाना खाने ठाउँ थियो। माथि दुईवटा कोठा थियो कोठा नम्बर ९ र १०। ह्यारीले मूलबाटो तर्फको कोठा नम्बर १० रोजे।
रुबिकन टोलीसँगै विद्यालय निर्माणमा स्थानीय वासिन्दाले पनि श्रमदान गरेका थिए। स्थानीय आइपाल गुरुङका अनुसार ह्यारी सहितको टोली थकाइ नमारी काम गरेको गर्यै गर्थे। ‘१२ बजेदेखि १ बजेसम्म खाना खाने समयमा मात्र आराम गर्थे। १ बजे फर्किएपछि लगातार काम गरिरहन्थे’ उनले भने।
राजकुमार ह्यारीले औपचारिक भ्रमणकै क्रममा लमजुङको एक विद्यालयमा विद्यार्थीहरुसँग भलिबल खेलेका थिए। सायद उनी भलिबलको पारखी थिए त्यसैले लापुमा पनि खेले। उनीसँग स्थानीय युवाहरु विद्यालयका शिक्षक र विद्यार्थी पनि भलिबल खेले। ह्यारीले शिक्षक श्याम नेपालीको त नाम नै भलिबल म्यान राखिदिए। ‘युआर नट ओन्ली टिचर यु आर भलिबल म्यान भन्थे मलाइ’ उनले भने ‘मेरो धेरै सटहरु चेक गरिदिए।’ फर्किने अघिल्लो दिन १५ गते लापुवेशीमा आयोजित कार्यक्रममा ह्यारी स्थानीय गुरुङ पोशाक लगाएर रमाए।
pahilopost



