फाल्गुन २५, २०७२- नेपाली समाजलाई आमूल परिवर्तन गर्ने क्रान्तिकारी योजनासहित २०५२ सालमा सुरु भएको माओवादी आन्दोलन उत्कर्षमा पुग्दै थियो। त्यही बेला ६ कक्षामा अध्ययनरत मीरा राई माओवादीसँग नजिकिएकी थिइन्। ‘टिन एज’ प्रवेशसँगै उनी माओवादीको पूर्णकालीन कार्यकर्ता भएर घरबाट निस्किइन्।
‘महिलाहरू घाँस–दाउरामै सीमित थिए। त्यसैले माओवादीमा लागेर महिला र हाम्रो समाजका लागि केही गर्ने सपना देखेको थिएँ,’ सानोदुम्मा, भोजपुरकी मीरा भन्छिन्, ‘अहिलेको राजनीतिक अवस्था देखेर दु:ख लाग्छ। तर, दु:ख मानेर बस्नुहुन्न। म नकारात्मक सोच्दिनँ। सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।’ सहयोगी छापामारका रूपमा माओवादीका केही मोर्चामा सहभागी भएकी उनी भन्छिन्, ‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो। समाजमा पनि त्यस्तै समानता ल्याउन माओवादीमा गएकी थिएँ। युद्धमा थुप्रै महिलाले योगदान दिएका थिए। तर, अहिले समान अधिकार नदिएकामा चाहिँ दु:ख लाग्छ।’
नेपाली समाजमा पुरुषले जस्तै महिलाले पनि सम्हालिने अवसर पाउनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘पुरुषलाई पटक–पटक अवसर दिइन्छ। हाम्रो समाजले महिलालाई पनि फेरि सम्हालिने अवसर दिनुपर्छ। मौका पायो भने न अघि बढ्ने हो। महिलालाई अवसर दिने र त्यसलाई निर्धक्कसँग उपयोग गर्न पाउने वातावरण समाजले बनाइदिनुपर्छ। त्यसमा एकाग्र भएर लागेपछि महिलाले पक्कै पनि सफल भएर देखाउँछन्।’
२०६२–६३ को जनआन्दोलनपछि माओवादीको सिन्धुली शिविरमा पुगेकी उनलाई नेपाली सेनामा समायोजन गर्दा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहर्याएको थियो। यसले आर्थिक विपन्न परिवारलाई सहयोग गर्ने उनको सपना शिविरमै टुटेको थियो। तर, उनी घर फर्किनन्। सिन्धुलीमै रहेर एसएलसी उत्तीर्ण गरिन्। १८ महिने कृषि पनि पढिन्।
शिविरमा छँदा पीएलए स्पोर्ट्स क्लबले सञ्चालन गर्ने हरेक खेलमा सहभागी भइन्। कराँते, फुटबल, भलिबल, कपर्दी र एथलेटिक्स खेल्न भ्याइन्। उनी पैसा कमाउन वैदेशिक रोजगारमा जाने सोचसहित राजधानी प्रवेश गरेकी थिइन्। मलेसियाका लागि भिसा पनि लगाइन्। तर, कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लको सल्लाहमा त्यो पासपोर्ट थन्क्याएर उपत्यकाका डाँडातिर छिटोछिटो पाइला चाल्न थालिन्।
उनी ९ चैत, २०७० मा हिमालयन आउटडोर फेस्टिबलको ५० किमि रेसमा दौडिइन् पनि। फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको रेसमा पहिलो नै भइन्। त्यही दिन दौडिनुपर्ने थाहा नपाए पनि पहिलो भएपछि उनको जीवनको बाटो नै मोडियो। बन्दुक समातेर समाज परिवर्तन गर्न हौसिएकी उनी हतियाररहित सफलताका लागि दौडिन थालिन्।
हिमालयन आउटडोरको सफलतापछि उनी उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेसमा एकाग्र भइन्। हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा मात्र होइन, इटाली र हङकङसहित लगातार ६ रेस जितिन्। स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १४ मध्ये आठमा स्वर्ण जितेकी छन्।
माघ, २०७१ मा हङकङमा भएको एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिन्। अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबैभन्दा ठूलो सफलता हो।
अल्ट्रा रेसको आयोजना र प्रवद्र्धन गर्ने संस्था ट्रेल रन नेपाल र स्पोर्ट्स वेयर कम्पनी ‘सलोमन’ को सहयोगमा दौडिंदै आएकी उनी कोर्स रेकर्डसहित मोन्ट ब्लान्कको सफलतासँगै चर्चित भएकी थिइन्। सन् २०१५ को स्काइरनर वल्र्ड च्याम्पियनको होडमा स्वीडेनकी एमिली फोर्सबर्गसँग पछाडि परेकी उनी २०१६ मा विश्व च्याम्पियन बन्ने अभियानमा छिन्। त्यसका लागि उनी दुई सातापछि युरोप प्रस्थान गर्दैछिन्।
‘यो वर्ष च्याम्पियन बन्ने कोसिस गर्नेछु र त्यसैको लागि अहिले मिहिनेत गरिरहेकी छु,’ यो सिजन वल्र्ड सिरिजका ५ रेसमा दौडिने योजना बनाएकी २७ वर्षीया उनले सोमबार बताइन्। हिमालयन आउटडोरमा सहभागी हुँदा उनलाई अल्ट्रा रेस के हो भन्ने पनि थाहा थिएन। ‘मुस्ताङमा दौडेपछि अल्ट्रा भनेको यही हो भन्ने थाहा भयो,’ उनले भनिन्। कमब्याटमा करिअर बनाउन असफल भएकी उनलाई अल्ट्रा रेसले विश्वमै प्रख्यात बनाएको छ। अहिले राजनीतिबाट टाढा रहेकी उनी दौडमै एकाग्र छिन्। उनले भविष्य पनि अल्ट्रा रेसमै देखेकी छन्।
ekantipur




















