किरण लोहनी/उज्यालो ।
गोरखा, माघ २८ – अरुको भरमा हिँडडुल गर्नुपर्ने कुप्रो परेको शरीर, सडक किनारमै भएपनि अलि एकान्त र जंगल छेउको अस्थायी टहरो अनि कुकुर र बिराला साथी । चलचित्रको कथा जस्तो लाग्ने यो यथार्थ हो, ४८ वर्षकी माइलीमाया अर्थात लालकुमारी श्रेष्ठको । .jpg)
वैैशाख १२ को भूकम्पपछि ठाउँठाउँ चहार्दै उहाँले यो ठाउँमा वास पाएको दुई महिना जत्ति मात्रै भएको छ । गोरखा सदरमुकामबाट आधाघण्टाको पैदलदूरीमा रहेको नारेश्वर रातमाटेस्थित सडक किनारको सार्वजनिक जग्गामा सह्रदयीहरुले बनाइदिएको टहरामा लालकुमारी एक्लै बस्दै आउनुभएको छ । १४ वर्षको उमेरतिरबाट सुुरु भएको ढाड दुख्ने समस्या बढ्दै जाँदा उहाँलाई हिँडडुल गर्नै नसक्ने अवस्थामा पुर्यायो ।
छरछिमेकले बेलाबेला भरथेग गरिदिएपनि उहाँले अरु सबै काम घस्रिँदै घस्रिँदै एक्लै गर्दै आउनु भएको छ । म पुग्दा उहाँ काखमा बिरालो च्यापेर टहरोको ढोकैमा बसिरहनुभएको थियो । केहीबेर अरु कुरा गरेपछि उहाँले आफ्नो ४८ वर्षे जीवन भोगाइ सुनाउन थाल्नुभयो ।
मेरो नाम लालकुमारी श्रेष्ठ हो, तर सबैले मलाई माइलीमाया भन्छन् । हामी तीन दिदी बहिनीमध्ये माइली भएकैले मलाई सबैले माइलीमाया भनेर बोलाउन थाले । हुन त हाम्रो एकजना दाइ पनि हुनुहुन्छ, तर आफ्नै पारामा हिँड्नुहुन्छ । मेरो जन्म २०२४ सालमा गोरखाको मसेल गाविसमा भएको हो । हाम्रो परिवारको कतै जग्गा जमीन थिएन, अर्काको जग्गामा बस्ने क्रममा म त्यहाँ जन्मिएको । पछि हामी बसाई सर्दै सर्दै गोरखाको नारेश्वर भन्ने ठाउँमा आइपुग्यौं । म १२/१३ वर्षको हुँदा वरपरकाहरुले नजिकैको एकजनासँग बिहेको कुरा गराए । बिहेनै भनेर अहिलेको जस्तो जग्गे र बाजागाजा, भोजभतेर केही भएन, तर मेरो सिउँदोमा उहाँको सिन्दूर चाहिँ पर्यो । बिहे गरेको केही समयपछि मलाई ढाड दुख्ने समस्या देखियो । बेलैमा उपचार हुन नपाएपछि म कुप्रिन थालें ।
उहाँ आफ्ना पुराना कुरा सुनाउँदै हुनुहुन्थ्यो । .jpg)
भर्खरै बिहे भएका श्रीमानबाट हेलाँ भएपछि त्यसै भौंतारिएर हिँड्न थालें । बुबा आमा बितिसक्नुभएको थियो । दिदि र बहिनीहरु पनि बिहे गरेर हिँडिसकेका थिए । म अपाङग एक्ली भएँ । कहिले कसको घरमा, कहिले कसको घरमा शरण लिँदै हिँड्न थालें । बैशाखको भूकम्प जानुअघिसम्म यहीँ परको गोरखकाली प्रावि नजिकै एउटा पुरानो घरमा बस्दै आएकी थिएँ । भूइँचालोले घरपनि लड्यो । त्यसपछि त्यही स्कुल नजिकै अरुले बनाईदिएको टहरोमा बस्न थालें । कसैले चामल, कसैले तरकारी सहयोग गर्थे । पानी चाहिँ अरुले ल्याईदिए भने आफैंले भात पकाउन सक्थें । आफूले केही गर्न नसक्ने, सँधै कत्ति अरुको भरमा बाँच्नु भनेर धेरै पटक मर्न पनि खोजें तर सकिनँ । कसैले पनि नदेख्ने ठाउँमा गएर बस्न पाए हुन्थ्यो जस्तो लागिरहन्छ । मरे पनि जंगलतिरै मर्छु भन्ने पनि लाग्छ ।
यसरी आफ्नो कुरा सुनाउँदा पटक पटक भक्कानिएकी लालकुमारीलाई अहिले भने अलि सन्तोष लागेको छ । उहाँ अहिले बस्दै आएको टहरो गोरखकाली प्राविका प्रधानाध्यापक रमेश श्रेष्ठले बनाइदिनु भएको रहेछ । ‘स्कुलको छेउमा भएकाले विद्यार्थीहरु जाने जिस्क्याउने गर्न थाले, अनि मैले अलि पर छुट्टै टहरो बनाइदिएको ।’ रमेशकै सहयोगमा केही भाडाकुँडा र एक बोरा चामल सहयोग पाउनुभयो । वरपरकाले पानी ल्याइदिए भने आफैं भात पकाउन सक्नुहुन्छ, पानी नभएको दिन भोकै । दिसापिसावका लागि पनि घस्रेरै जानु पर्ने उहाँले बताउनुभयो ।
दिनरात टहरोमा एक्लै बस्नुपर्दा दिक्क लागेपछि कुकुर र बिरालोसँग कुरा गर्ने गरेको उहाँले सुनाउनुभयो । ‘खै कताबाट हो, डुल्दै एउटा कुकुर टहरोमा आइपुग्यो, अलिकति भात दिएँ, त्यसपछि बेला बेला आउँथ्यो” लालकुमारी भन्नुहुन्छ, ‘अहिले त सँधै यहीँ बस्छ ।’ बिरालो चाहिँ पहिलेको टहरोमा सानैमा पालेको उहाँले बताउनुभयो । ‘बेला बेला अँत्यास लाग्छ, यिनीहरुसँगै कुरा गर्छु’ भावुक हुँदै लालकुमारी भन्नुहुन्छ, ‘कहिले एक्लै हाँस्छु, कहिले एक्लै रुन्छु, मन आत्तिएको बेला त यिनीहरुको पनि भर लाग्छ ।’ .jpg)
उहाँ अहिले बस्दै आएको टहरो नजिकै बहिनीको घर छ । तर आफूलाई सँधै उनीहरुको बोझ बनेर बस्न मन नलागेको उहाँले बताउनुभयो । शिक्षक रमेशकै सहयोगमा क वर्गको अपाङगता परिचयपत्र बनाउनुभएको छ उहाँले । ‘कार्ड बहिनीसँगै छ’ लालकुमारीले भन्नुभयो, ‘बेला बेला पैसा दिन्छे ।’ भूकम्पपछि जिल्लामा पुननिर्माणको हल्ला चल्न थालेको हउाँले पनि चाल पाउनु भएको छ । तर उहाँले भने न १५ हजार, न त न्यानोको १० हजार रुपैयाँ सरकारका तर्फबाट एक पैसा पाउनु भएको रहेनछ ।
‘घरजग्गा नहुनेलाई दिँदैनन् रे बाबु’ उहाँले सुनाउनुभयो । उहाँले सुनेजस्तो जिल्ला दैवी प्रकोप उद्धार समितिले घरजग्गा नभएका सुकुम्वासीहरुलाई राहत रकम उपलब्ध गराएको छैन । केन्द्रबाटै यसबारेमा ठोस निर्णय नआएको समितिका सदस्यहरु बताउँछन् । सँधै अरुको सहयोगमा बाँचेर साध्य हुँदैन भन्ने उहाँलाई लाग्छ । अनि के गरेर आफैं बाँच्नु हुन्छ त ? लालकुमारीले उत्साहित हुँदै भन्नुभयो, ‘गीत गाउन सक्छु नि, बिहे बर्तुनमा गीत गाइदिएर पनि दुईचार पैसा त कमाउन सक्छु जस्तो लाग्छ ।’ तर अर्काले बोकेर यताउता गर्नु पर्ने उहाँलाई त्यस्ता कार्यक्रममा लगिदिनु चाहिँ कसले ? तैपनि एउटा गीत सुनौं न त भन्ने आग्रहपछि लालकुमारीले गाउनुभयो ।




















